काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) कर्मचारी संघको आगामी जेठ ३०/३१ गते काठमाडौँमा हुने १३औँ केन्द्रीय महाधिवेशनमा महेश्वरदत्त पनेरुले उम्मेदवारी घोषणा गरेका छन् । आगामी तीन वर्षे कार्यकालका लागि ट्रेड युनियन अभ्यासको मुख्य योजनासहित उनले उम्मेदवारी दिएका हुन् ।
‘साझा संस्था, श्रमिक र सरोकारवालाको हितमा कर्मचारी संघको १३औँ केन्द्रीय महाधिवेशन’ भन्ने मूल नाराका साथ आफू चुनावी मैदानमा उत्रिएको उनले बताए । प्राधिकरणभित्र ट्रेड युनियन र आम–श्रमजीवीमाझ सक्षम, इमानदार र सरल स्वभावको रूपमा चिनिएका उनले आलोचनाको घेरामा रहेको ट्रेड युनियन अभ्यासलाई सभ्य, जवाफदेही र सुशासनयुक्त श्रमजीवीमैत्री बनाउने लक्ष्य लिएका छन् ।
अध्यक्षका प्रत्यासी पनेरुले आफू विरासतको आवरणबाट नभई श्रमिकको मैदानबाट स्थापित हुन खोजेको बताए । आफूलाई प्रविधि, प्रशासन र ट्रेड युनियन पद्धतिमा अभ्यस्त युवा टिम एवम् अनुभवी पुस्ताको साथ तथा समर्थन रहेको उनको दाबी छ ।
त्यस्तै, समयसापेक्ष कर्मचारीका आधारभूत आवश्यकता परिपूर्ति र संस्थाको उद्देश्य प्राप्तिमा उचित तालमेल स्थापित गर्न कार्यान्वयनयोग्य योजना आवश्यक रहेको पनि उनले बताए । यसका लागि आफू चुनावी मैदानमा उत्रिएको र विजय हुने निश्चित रहेको दाबी गरे ।
आगामी निर्वाचनमा पनेरुसँगै इन्जिनियरिङ निर्देशनालय अन्तर्गत ५औँ तहमा कार्यरत टंक अधिकारीले समेत अध्यक्षमा उम्मेद्वारी दिएका छन् । पनेरु भने वितरण तथा ग्राहक सेवा निर्देशनालयमा ५औँ तहमा कार्यरत छन् । अधिकारीलाई वर्तमान अध्यक्ष जनार्दन भट्टराईको समर्थन रहेको र पनेरुलाई अन्य कर्मचारीहरूले सघाइरहेको बताइएको छ ।