काठमाडौँ । ऊर्जा क्षेत्रका विभिन्न कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरिरहेका छन् । हालसम्म उपलब्ध विवरणअनुसार ऊर्जा क्षेत्रका १७ कम्पनीले बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
लाभांश दरका आधारमा हेर्दा हिलटन हाइड्रो इनर्जी लिमिटेड र चम्पावती हाइड्रोपावर लिमिटेडले सबैभन्दा बढी २०/२० प्रतिशत लाभांश घोषणा गरेका छन् ।
ताप्लेजुङमा १२ मेगावाटको सुपर काबेली खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको हिलटन हाइड्रो इनर्जीले कायम चुक्ता पुँजी ६८ करोड रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरिसकेको छ ।
यस्तै, चम्पावती हाइड्रोपावर लिमिटेडले पनि आफ्ना शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८३ असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पूँजी रु. ४० करोडको आधारमा १६ प्रतिशत (रु. ६ करोड ४० लाख) नगद लाभांश (कर सहित) र ४ प्रतिशत (रु. १ करोड ६० लाख) बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश असोज २८ गते बोलाइएको साधारण सभामा पेस गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
आशुतोष इनर्जी लिमिटेडले १८.९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ४८ करोड रुपैयाँ चुक्ता पुँजीबाट ९ करोड ९ लाख ४७ हजार ४० रुपैयाँबराबरको नगद लाभांश दिने निर्णय गरेको छ । प्रसारण लाइन निर्माणमा ढिलाइका कारण विगतका ४ आर्थिक वर्षमा करिब २८ करोड रुपैयाँ घाटा भए पनि कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
काबेली हाइड्रोपावर कम्पनीले १६.३५८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले चुक्ता पुँजी १ अर्ब ५८ करोड रुपैयाँका आधारमा २६ करोड ९२ लाख १० हजार ७ सय रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित बोनस सेयरको मूल्य १२ करोड ९० लाख ९९ हजार रुपैयाँ र नगद लाभांश ६७ लाख ९४ हजार ६५४ रुपैयाँ रहेको छ । यो लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
सुपर मादी हाइड्रोपावरले पनि १५ प्रतिशत बोनस सेयर र ०.७८९४७ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ चुक्ता पुँजीको १२ प्रतिशतका दरले १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, हिम पर्वत हाइड्रोपावरले १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । पशुपती रिन्युवेबल्स लिमिटेडले १०.३४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको चौथो वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले सौर्य ऊर्जा, जलविद्युत्, ब्याट्री इनर्जी स्टोरेज सिस्टम र ग्रिन हाइड्रोजनलगायत क्षेत्रमा आयोजना विकास गर्दै आएको छ ।
विकास हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२९६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२९६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
स्नो रिभर्स लिमिटेडले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भइसकेको यो प्रस्ताव कम्पनीको साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको आधारमा उक्त लाभांश रकम १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँबराबर हुन्छ । रकमका आधारमा भने उपलब्ध विवरणमा निफ्राको प्रस्तावित लाभांश सबैभन्दा ठूलो देखिन्छ ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनस सेयरबापत २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसा र नगद लाभांशबापत १ करोड ६ लाख ३२ हजार ३२० रुपैयाँ ८९ पैसा वितरण गर्ने जनाएको छ ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ सम्मको सञ्चित खुद मुनाफाबाट शेयरधनीहरूलाई ५.२६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले असोज ३० गते एघारौँ वार्षिक साधारण सभा डाकेको छ ।
युनाइटेड इदि मर्दी तथा आरबी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
साप्सुकालिका हाइड्रोपावर कम्पनीले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै, सुपर हेवा पावर कम्पनीले सबैभन्दा कम ३.१५७८९ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।
ऊर्जा कम्पनीहरूले घोषणा गरेको लाभांशको विवरण:
| क्र.सं. | कम्पनी | बोनस सेयर | नगद लाभांश | कुल लाभांश |
| १ | हिलटन हाइड्रो इनर्जी | — | २०% | २०% |
| २ | चम्पावती हाइड्रोपावर | ४% | १६% | २०% |
| ३ | आशुतोष इनर्जी | — | १८.९४७% | १८.९४७% |
| ४ | काबेली हाइड्रोपावर | — | १६.३५८% | १६.३५८% |
| ५ | मिड सोलु हाइड्रोपावर | १५% | ०.७८९% | १५.७८९% |
| ६ | सुपर मादी हाइड्रोपावर | १५% | ०.७८९४७% | १५.७८९४७% |
| ७ | माण्डु हाइड्रोपावर | — | १२% | १२% |
| ८ | हिम पर्वत हाइड्रो पावर | — | १०.५२६३% | १०.५२६३% |
| ९ | विकास हाइड्रोपावर | १०% | ०.५२९६% | १०.५२९६% |
| १० | स्नो रिभर्स | १०% | ०.५२६३% | १०.५२६३% |
| ११ | पशुपती रिन्युवेबल्स | — | १०.३४% | १०.३४% |
| १२ | निफ्रा | — | ५.२६३% | ५.२६३% |
| १३ | अरुण भ्याली हाइड्रोपावर | ५% | ०.२६३% | ५.२६३% |
| १४ | सानिमा मिडिल तमोर हाइड्रोपावर | — | ५.२६३% | ५.२६३% |
| १५ | युनाइटेड इदि मर्दी एन्ड आरबी हाइड्रोपावर | ५% | ०.२६३२% | ५.२६३२% |
| १६ | साप्सुकालिका हाइड्रोपावर | — | ५% | ५% |
| १७ | सुपर हेवा पावर | — | ३.१५७८९% | ३.१५७८९% |