काठमाडौँ । भारतीय सरकारले ऊर्जा क्षेत्रको महत्त्वाकांक्षी लक्ष्य हासिल गर्दै देशलाई विकसित राष्ट्रको स्तरमा पुर्याउने प्रयास स्वरूप सन् २०४७ सम्म आफ्नो नवीकरणीय ऊर्जाको उत्पादन क्षमता २००० गिगावाट पुर्याउने भएको छ ।
भारतीय सञ्चारमाध्यम अनुसार उसले यसै वर्षको सेप्टेम्बरमा गैर-जीवाश्म क्षमता ३०० गिगावाट नाघिसकेको छ । युनियन सरकारले आफ्नो आगामी विकासको चरणलाई तीव्रताका साथ अघि बढाउँदै सन् २०३० सम्म ५०० गिगावाट पुर्याउने लक्ष्यलाई सक्रियताका साथ पछ्याइरहेको छ । द्रुत गतिमा विकास भइरहेको यो दक्षिण एसियाली मुलुकले सन् २०३६ सम्म ९०० गिगावाट पुर्याउने लक्ष्य राखेको छ ।
मङ्गलबार नयाँ दिल्लीमा आयोजित 'भारत रिन्युएबल इनर्जी समिट एन्ड एक्स्पो २०२६' मा बोल्दै भारतको नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्रालयका उच्च अधिकारी जीवनकुमार जेठानीले सरकारको सन् २०३० पछिको महत्त्वाकांक्षी कार्ययोजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा दिइएको जानकारी अनुसार, भारतले हालसम्म ६५ लाख (६.५ मिलियन) घरधुरीमा सौर्य ऊर्जा जडान (सोलराइज) गरिसकेको छ । मार्च २०२७ सम्म १० लाख (१० मिलियन) घरधुरीमा यो सुविधा पुर्याउने लक्ष्य राखेको छ ।
भारतले सन् २०७० सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य लिएको छ । कोप २६ मा भारतले सन् २०३० सम्म आफ्नो कूल विद्युत्को ५० प्रतिशत हिस्सा नवीकरणीय ऊर्जाबाट उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।