विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

जतिसुकै ठूला आयोजना पनि ५ वर्षमा सम्पन्न हुन्छन्, तर माथिल्लो तामाकोसीको समयावधि मात्रै होइन, लागत पनि ११ वर्षसम्म शृंखलाबद्ध रूपमा थपियो

असार ०७२ मा सम्पन्न हुनुपर्ने माथिल्लो तामाकोसी परियोजना सुरु भएको ११ वर्षमा पनि सम्पन्न नहुने भएको छ । पटक–पटक म्याद र लागत थप्दै पछिल्लोपटक मंसिर ०७७ मा कम्तीमा पनि पहिलो युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादन लक्ष्य लिइएकोमा त्योसमेत पूरा भएन । त्यति मात्रै होइन, आगामी वैशाख ०७८ भित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने आयोजनले बताए पनि त्योसमेत पूरा नहुने देखिएको छ । 

जतिसुकै ठूलो विकास आयोजना पनि सामान्यतया ५ वर्षभित्र सम्पन्न हुनुपर्छ । तर, भारतीय ठेकेदार कम्पनीले समयमा पेनस्टक पाइप एवं एक्स्पान्सन ज्वाइन्ट पाइप उपलब्ध गराउन र जडान गर्न नसकेको बहानामा आयोजना ११ वर्षमा पनि अधुरै छ । पछिल्लो समय आयोजनाको लट–२ को ठेकेदार टेक्सम्याको रेलवे एन्ड इन्जिनियरिङ कम्पनीले एक्सपान्सन ज्वाइन्ट पाइप बनाउन ढिलाइ गरेको आयोजनाले जनाएको छ । उसले माघसम्ममा पाइप जडान गर्नुपर्ने समयसीमा तोकिएको थियो । त्यसलाई पर्खिंदा आयोजना थप ६ महिना ढिला हुने भएकाले डिजाइन नै परिवर्तन गरिएको अपर तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । 

‘परामर्शदाता र प्यानल अफ एक्सपर्टको राय–सुझाबअनुसार एक्स्पान्सन ज्वाइन्ट पाइप राख्ने ठाउँमा वैकल्पिक पाइप राखेर उत्पादन थाल्ने तयारीमा छौँ,’ उनले भने । चाँडै उत्पादन थाल्ने लक्ष्यका साथ पूर्वनिर्धारित डिजाइनलाई अन्तिम अवस्थामा आएर परिवर्तन गरिएको र त्यो गुणस्तरीय रहेको उनको भनाइ छ । डिजाइन परिवर्तन पनि प्रयोग हुने, पाइप गुणस्तरीय नहुने वा जोखिम हुने हल्ला चले पनि सही नभएको उनको भनाइ छ । तर, नयाँ डिजाइनको पाइप पनि उही भारतीय ठेकेदार कम्पनीले ल्याउनेछ ।

नयाँ कार्यतालिकाअनुसार वैकल्पिक पाइप ल्याउने र फिट गर्ने काम फागुनसम्ममा सम्पन्न गरिने आयोजनाले जनाएको छ । त्यसपछि चैतभित्रमा सबै प्राविधिक पक्षको परीक्षण गरिनेछ । ‘वैशाखदेखि व्यावसायिक उत्पादन थालिने पछिल्लो समयसीमा हो,’ उनले भने, ‘तर, सम्पूर्ण काम सम्पन्न भएपछि पनि परीक्षणका लागि कम्तीमा तीन महिना समय लाग्ने कारणले वैशाखसम्म आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेमा शंका छ । नयाँ कार्यतालिकाअनुसार पहिलो युनिट चार्ज भएको २ हप्तामा अर्को युनिट चार्ज गर्न गरिनेछ । त्यसपछि ढिलोमा पनि असारसम्ममा सबै ६ युनिटबाट विद्युत् उत्पादन हुनेछ ।’ 

निर्माण थालिएको ११ वर्षसम्म शृङ्खलाबद्ध रूपमा म्याद थपियो 
५ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित साउन ०६७ मा सुरु गरिएको बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण थालिएको अहिले १० वर्ष ७ महिनामा हिँडिरहेको छ । सुरुमा निर्धारित लक्ष्यअनुसार असार २०७२ मा आयोजना पूरा हुनुपर्ने थियो । लक्ष्यअनुसार काम त भएको थिएन नै, त्यसमाथि ०७२ वैशाख १२ मा गएको भूकम्पले आयोजनास्थल जाने सडकमै भने क्षति पुर्‍यायो । आयोजनाको सुरुङलगायत संरचनामा भने खासै असर पारेन । सडकमार्गका कारण झन्डै डेढ वर्ष निर्माण कार्य रोकियो । त्यसपछि ०७५ को पुसदेखि आयोजना सञ्चालनमा ल्याउने लक्ष्यका साथ ०७३ मंसिरबाट काम पुनः सुरु गरियो ।

यो लक्ष्य पनि पूरा भएन । लट–२ को ठेकेदार टेक्सम्याकोको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस ०७६ भित्र एक युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादनको लक्ष्य राखियो । त्यो लक्ष्य पनि पूरा नभएपछि त्यसपछि ०७७ को असार मसान्तभित्र पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । संरचनाको फिनिसिङ, परीक्षणलगायत कार्य भने ०७६ को चैतभित्र पूरा गर्ने लक्ष्य थियो । तर, त्यो पूरा भएन । त्यसपछि फेरि सारेर मंसिर ०७७ मा पूरा गर्ने बताइयो, जुन पूरा भएन । अहिले आएर वैशाख ०७८ सम्म पूरा गर्ने नयाँ लक्ष्य निर्धारण गरिए पनि त्यो पूरा हुने अवस्था छैन । 

यसअघि तोकिएको समयभन्दा ढिलो गरी माथिल्लो र तल्लो ठाडो सुरुङमा १ सय ३४ पेनस्टक पाइप जडानमा ढिलाइ हुँदा असारमै विद्युत् उत्पादन गर्ने लक्ष्य तुहिएको थियो । ०७६ असारदेखि सुरु भएको ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने काम माघसम्म (८ महिना)मा सक्ने लक्ष्य थियो । तर, साढे ४ महिना ढिला पेनस्टक पाइप जडान सम्पन्न भएको थियो । ३ सय ५ मिटर लामो माथिल्लो सुरुङमा ६१ पेनस्टक पाइप जडान गर्ने काम १४ असारमा सम्पन्न भएको थियो । माथिल्लो ठाडो सुरुङ जडान कार्य लट–२ को ठेक्का प्याकेजअन्तर्गत हाइड्रो मेकानिकल सामानको आपूर्ति तथा जडान कार्यको ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेलवे इन्जिनियरिङले गरेको हो । 

त्यस्तै, ३ सय ६७ मिटर अग्लो तल्लो सुरुङमा पेनस्टकको अन्तिम पाइप जडान कार्य गत जेठमा सम्पन्न भएको थियो । तल्लो ठाडो सुरुङमा ७३ वटा पेनस्टक पाइप जडान गरिएका छन् । आयोजनाको ३ सय ७३ मिटर गहिराइको तल्लो ठाडो सुरुङमा पाइप जडान कार्य लट–३ अन्तर्गत पावरहाउस निर्माण कार्यका लागि छानिएको ठेकेदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले गरेको हो । त्यस्तै, दुवै सुरुङमा पेनस्टक पाइप आपूर्ति तथा जडान गर्ने ठेक्का पाएको टेक्सम्याकोले आपूर्ति र जडानमा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा एन्ड्रिजलाई दिइएको थियो । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २३ पुस ०७५ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । 

दोब्बरभन्दा बढी खर्च
निर्माण अवधि दोब्बरभन्दा धेरैले बढेको आयोजनाको अनुमानित लागत ७६ अर्ब रुपैयाँ पुग्दै छ । थालनी हुँदा ब्याजबाहेक ३५ अर्ब रुपैयाँमा यो आयोजना सम्पन्न गर्ने उल्लेख थियो । त्यसवेला सम्पन्न हुँदासम्म ब्याजसहित ४८ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको थियो । तर, अहिले ब्याज र अमेरिकी डलरको अधिमूल्यनबाहेक नै ५२ अर्ब रुपैयाँ लागत पुगेको प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिए । आयोजनाको वित्तीय व्यवस्थापन हुँदा एक अमेरिकी डलरको मूल्य ७२ रुपैयाँ रहेको र आयोजना सम्पन्न भइसक्दा अधिकतम ८० रुपैयाँ पुग्ने प्रक्षेपण थियो । तर, अहिले त्यसमा धेरै ठूलो परिवर्तन आउँदा पनि लागत बढेको, तर अन्य आयोजनासँग तुलना गर्दा अत्यधिक नभएको आयोजना व्यवस्थापन पक्षको भनाइ छ । ‘अहिले पनि प्रतिमेगावाट लागत १७ करोडभन्दा तल नै छ,’ श्रेष्ठले भने । काम लगभग सकिएकाले अब ब्याज र कर्मचारीमा हुने खर्च मात्र आयोजनाको लागत बढाउन सहायक रहनेछन् । 

गत आव ०७६/७७ को चैतमा काम सम्पन्न हुँदा आयोजनाको लागत ७३ अर्ब ६८ करोड पुग्ने आकलन थियो । यसअघि चैत ०७६ मा आयोजना सम्पन्न गर्दा लागत ५१ अर्ब ९४ करोड र निर्माण अवधिको ब्याज २१ अर्ब ७४ करोड गरी कुल लागत ७३ अर्ब ६८ करोड हुने अनुमान गरिएको थियो । ०७२ को भूकम्प र ठेकेदारको ढिलाइका कारण आयोजनाको समय लम्बिँदा लागत बढेर निर्माण अवधिको ब्याजबाहेक नै ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ संशोधित अनुमान थियो । त्यसपछि निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संशोधन गरियो । आर्थिक वर्ष ०६५/६६ मा आयोजनाको अनुमानित लागत ब्याजसहित कुल ४८ अर्ब ५१ करोड रुपैयाँ थियो ।

नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३