विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २१, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ओठमाथि कालो जुँगा र आँखामा पावरदार चस्मा । शिरमा भादगाउँले टोपी, टोपीमा क्रस खुकुरी । अक्सर सेतो कमिज र कालो पाइन्ट । खुट्टामा कहिले कालो छालाको जुत्ता, कहिले स्पोर्टस । वर्षका अधिकांश महिना वा भनौं दिन उनको पहिरन यही हुन्थ्यो । जाडोमा कालो ज्याकेट थपिन्थ्यो । ढाडमा भिरिरहने एउटा कालो ब्याग कहिल्यै छुट्दैनथ्यो । यो हुलिया भएको व्यक्ति प्रायः मसँग कलंकी चोकदेखि खसीबजार (हाल भाटभटेनी) अनि सीता पेट्रोलपम्पसम्म ठोक्किइरहन्थ्यो ।

प्रायः दिनहु यसरी ठोक्किनुको एउटै कारण मेरो र उनको बसाइको भौगोलिक दूरी उस्तै–उस्तै हुनु । म कहिले पैदल त कहिले मोटरसाइकलमा हुन्थेँ । तर, उनी सधैं पैदल । सार्वजनिक सवारी (बस, माइक्रो वा टेप्पो) मा चढ्न औधी रुचाउने । म कार्यालय जाने–आउने क्रममा कति पटक कलंकी चोक र कालीमाटीमा भेट हुन्थ्यो ।

एक–दुई पटक मोटरसाइकलमा लिफ्ट पनि दिएँ कि ! सधैं हसिलो दिव्य मुहार । सेता दाँत हिमाल जस्तै चम्केको अनुभति हुन्थ्यो । शिरमाथि क्रस खुकुरीवाला टोपीले मलाई सधैं उनीप्रति श्रद्धा जगाउँथ्यो । यति भनिसकेपछि हुलियाको कौतुहलतालाई यहीँ बिट मार्दै म उनको नाम बताउँछु । उनी अरू कोही नभएर नियाज अहमद हुन्, जो विद्युत् प्राधिकरणमा २९ वर्ष काम गरेर अवकास पाए ।

कपिलवस्तुको पत्थरदैयामा जन्मेको एउटा मुसलमान आफ्नो स्वाभिमानलाई देशको अस्तित्वसँग जोड्छ । शिरमा हरहमेशा देशको पहिचान बोकेर हिँड्छ र इमान्दारिताको पहरेदारी गर्छ । राष्ट्रप्रति यो भन्दा ठूलो समर्पण के हुन सक्ला र ! यस्तै–यस्तै भावना हरेक नागरिकमा हुने हो भने यहाँ किन चाहियो हिन्दू राष्ट्र ? किन चाहियो धर्म सापेक्षता ?

व्यक्तिपिच्छेको रणसंग्राम; म हिन्दू, म बुद्धिष्ट, म मुसलमान, म क्रिष्टियन म यो त्यो ! यो सबै किन ? आखिर शिरमा हिमाल (टोपी) छ । छातिमा नेपाल छ र रगतमा नेपाली बगेको छ भने यो भन्दा साँचो राष्ट्रियता कहाँ भेटिएला ? सायद भूगोलभित्रको राष्ट्रियतालाई यसले फराकिलो क्षेत्रफलमा विस्तार गर्न सक्छ ।

हो, यसैले हिमाल, पहाड र तराई जोड्ने । हिन्दू, मुसलमान, बुद्धिष्टबीच भाइचारा कायम राख्ने । यद्यपि, व्यवहारमा यो अपवादमात्र देख्न र सुन्न पाइन्छ । त्यही एउटा अपवाद पनि हो, पत्थरदैयाको नियाज अहमद । जसले आफूलाई इमान्दारिताको साँचोमा ढालेर थाकेन ।
...
प्रसंग मोडौं, पेशागत नाताले म नियाजलाई करिब एक दशकदेखि चिन्छु । र, यो अवधिमा मैले माथि वर्णन गरेको हुलियाभन्दा पृथक उनलाई कहिल्यै पाइनँ । प्राधिकरणमा करिब ३ दशक सेवा गरेर अवकास प्राप्त यी कर्मठ इन्जिनियर आज अस्पतालको शैयामा मृत्युसँग जुधिरहेको सुन्दा मन खिन्न भयो ।

उपचार खर्च नजुटेर छटपटिइरहेको अवस्था कारुणिक लाग्यो । सहयोगका लागि सामाजिक सञ्जालमा उठेका आवाज देखेर गर्व लाग्यो । उनका लागि सहयोगको हातेमालो गर्नेहरू अधिकांश सरकारका पूर्वप्रशासकहरू नै देखिए । बहालवाला केही सचिव पनि त्यो लाइनमा उभिए । यो बडो सुखद पक्ष हो । तर, ती प्रशासक नियाज जतिकै इमान्दार हुन सके कि सकेनन् ? यो उनीहरू नै जानुन् ।

सुन्दा वा पढ्दा अचम्म लाग्न सक्छ । एउटा इन्जिनियर उपचार खर्चसमेत जुटाउन नसकेर दयनीय अवस्थामा पुग्न सक्छ ? इन्जिनियर भन्ने वित्तिकै सुकिलो अनुहार कल्पनामा आउँछ । र, यो पेशा अंगालेको व्यक्तिले पाइला–पाइलामा पैसा टिप्छ । बोलीमै पैसाको फूल जडेको हुन्छ । यो ल्याकत नभए पनि साँझ–बिहानको छाक जोर्न र स्वास्थ्य उपचारसम्म गर्न सक्ने हैसियतको दर्जा प्रायः इन्जिनियरले बनाउँछन् ।

नियाज यी मध्येमा परेनन् । यिनी थिए त कस्ता ? प्राधिकरणका अर्का पूर्वइन्जिनियर शिवबालक गिरी सम्झिन्छन्, ‘नियाजले बढी त के कमायो र यो व्यक्तिले ठेक्कापट्टामा कानुनी प्रक्रियाअनुसार पाइने १० प्रतिशत कमिसनमा समेत कहिल्यै लोभ देखाएन ।’ सरकारी तलबमा एउटा इन्जिनियरले जिन्दगी गुजार्यो । यसमा नियाज एक्ला होलान् ।

यहाँ कानुनी प्रक्रिया छलेर अर्बौं लुड्याउनेहरूको भीड छ । देशलाई तन्नम बनाउनेहरूको नांगो नाच चलेको धेरै भयो । कोही (नियाज) कानुनले दिएको अधिकारसमेत देशलाई फिर्ता गर्न तत्पर रह्यो । यही कारण दशकौंसम्म उपत्यका खाल्डोमा बसेर पनि नियाजले आफ्ना लागि वा परिवार र दुई छोरीहरू भन्दा ज्यादा देश र इमान्दारिताको पक्षमा आफूलाई उभ्याए ।

इन्जिनियरको कमाइबाट नियाजले एउटी छोरीलाई बंगलादेशमा एमबिबिएस पढाइरहेका छन्, एउटीलाई इन्जिनियर । आफू कहिल्यै विरामी हुन्छु । ठूलो उपचार गर्नुपर्ला । त्यसका लागि चाहिन्छ भनेर उनले सायदै सोचे । आफूलाई बे्रन ट्यूमर हुन्छ भनेर पनि के सोचे होलान् र ! सोचेको भए रकम अभावले अस्पतालको शैयामा उपचार रोकिने अवस्था आउँदैनथ्यो ।

साँच्चै ऊ एउटा सडकछाप इन्जिनियर यो । जीवनभर सडकमा हिँड्यो । सडककै धुलो सुँघेर बाँच्यो । जो आज सडकबाट अस्पताल पुगेर मृत्युसँग लुकामारी खेलिरहेको छ । यो खेलमा उसलाई जिताएर मृत्युलाई हराउनुछ ।
...
कपिलवस्तुकै श्रीराम गोरखा बहुमुखी मावि बहादुरगन्जबाट सन् १९७० मा उनले एसएलसी पास गरे । त्यसपछि उनी आइएसी पढ्न भारत उत्तर प्रदेश राज्यको शिवपति अन्तर्राष्ट्रिय क्याम्पस पुगे । आइएसी सकेर काठमाडौं फर्केका उनले सुरुमा सेन्टस् जेभियर्स स्कुलमा पढाउन थालेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासे सुनाउँछन् ।

यही क्रममा सरकारले १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी जलशाय बहुउद्देश्यीय आयोजना निर्माणको चर्चा चलायो । यसका लागि २५० जना इन्जिनियर भारतको रुड्की विश्वविद्यालय पढ्न पठाउने योजना बन्यो । नियाज पनि सरकारको यही कोटामा छनोट भएर इन्जिनियरिङ पढ्न रुडकी पुगे ।

रुड्कीबाट अध्ययन सकेर फर्केपछि उनी कर्णाली चिसापानीमा होमिन पाएनन् । जुन उद्देश्यले उनी सरकारी कोटामा पढ्न गएका थिए, त्यो आयोजनाले आज पनि देशमा चर्चाको बजार पिटिरहेको छ । नियाज भने विद्युत् प्राधिकरणमा जागरे भए । इमान्दारिताका साथ काम गरिरहे ।

प्राधिकरणमा कार्यरत रहँदासम्म उनले ६९ मेगावाटको मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ३२ मेगावाटको कुलेखानी दोस्रो, १४.८ मेगावाटको मोदी र १४ मेगावाटको कुलेखानी तेस्रोमा काम गरे । सुरुङसम्बन्धी काममा बढी दख्खल रहेको हुँदा उनी यसैमा आफूलाई खरो उतार्ने प्रयास गर्थे ।

उनको लगनशीलता, इमान्दारिता र कतव्र्यनिष्ठताको मूल्यांकन गरेर तत्कालीन सरकारले गोरखा दक्षिणबाहुले सुशोभित गर्यो । जतिबेला उनी कुलेखानी दोस्रोमा कार्यरत थिए । यो आयोजना पूरा भएपछि मोदीको निर्माण सुरु भयो । यहाँ पनि उनले कुशलताका साथ काम गरेको भन्दै गोरखा दक्षिणबाहु पुरस्कार दिइयो ।

नियाज काममा यतिसम्म बेहोसी भएर लाग्थे, उनलाई आफ्नो र घरपरिवारको समेत चिन्ता हुँदैनथ्यो । काममा असर पर्छ भन्ने हेतुले उनले घरबाट आएका खबर र चिठ्ठीपत्र समेत शिरानीमा थन्याउँथे । एक पटक यस्तै भयो । कुलेखानीको काममा उनी दत्तचित्त भएर लागेका थिए । घरबाट चिठ्ठी आयो । त्यो उनले डेढ वर्षपछिमात्र खोलेर पढे । यो पढिरहँदा उनका काका डेढ वर्ष अगाडि नै बितेछन् । सायद त्यतिबेला उनलाई गहिरो पश्चाता भयो ।

विदेशमा अमेरिकी डलरमा तलब पाउने जागिर वा अवसरमा पनि नियाजका आँखा गएनन् । उनी देशमै बसेर देशकै लागि गर्नुपर्छ । यहीँको माटोमा पसिना खन्याएर हरिलो भरिलो बनाउनुपर्छ भन्थे । यसरी एकल चिन्तनमा लागिरहने दुर्लभ इन्जिनियर हुन्, उनी ।

नियाजका जिल्लाबासी समेत रहेका खानेपानी सचिव बेल्बासे सम्झिन्छन्– एउटा इमान्दार इन्जिनियर जसले आफ्नो पेशाप्रतिको निष्ठालाई कहिल्यै बिर्सेन । यही कारण उसले आफ्ना लागि बिर्सेर देशका लागि गर्यो । आज ऊ अप्ठ्यारोमा छ । अब उसलाई हाम्रो खाँचो छ ।
...
‘२०३६ सालको विद्यार्थी आन्दोलनमा पक्राउ परेका नियाज हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै केही दिन जेल बसेका थिए,’ गिरीले सम्झे, ‘तर, उनले कहिल्यै राजनीतिक आस्था बोकेर हिँडेनन् । आफ्ना लागि आफ्नै परिश्रम, मिहिनेत र इमान्दारिताले गर्नुपर्छ भन्ने अठोट थियो ।’

यसो त नियाज २०६२/६३ पछि बनेको निर्वाचित सरकारका पालामा घोषणा भएको ‘१० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन’ कार्ययोजनाको कार्यदलमा थिए । यसमा उनले समन्वयकारी भूमिका खेले । देशमा पर्याप्त विद्युत् उत्पादन गरेर आर्थिक विकासको उचाई कायम गर्नुपर्छ भन्ने उनको पहिलो सर्त हुन्थ्यो ।

२०६९/७० सालमा प्राधिकरणबाट अवकास लिएका उनले केही वर्ष मेलम्ची खानेपानी आयोजनाको परामर्शदातामा काम गरे । यहाँ उनको मुख्य काम २७ किलोमिटर लामो सुरुङ सुपरिवेक्षण र अनुगमन थियो । पछिल्लो समय सिस्टम्याटिक हाइड्रो एन्ड इन्जिनियरिङ कन्सल्टेन्सीमा आवद्ध उनलाई देशप्रति समर्पित निष्ठावान सिपाही भन्दा अत्योक्ति नहोला ।

जीवनभर पेशागत धर्ममा लिन भएर लाग्ने कतव्र्यनिष्ठ इन्जिनियरको जीवन पैसाका कारण उपचार नपाएर नसकियोस् । उनको निष्ठा हरेक इन्जिनियरका लागि एउटा खुला पाठशाला हो । जहाँबाट भोलिका कर्णधारले एउटा असल बाटो पहिल्याउन सकुन्, इन्जिनियरले आफू होइन राष्ट्र बनाउँछ भन्ने ।

निष्ठा र इमान्दारिता मर्दै गएको आजको समयमा यसको बीऊ जोगाउन पनि नियाज बाच्नुपर्छ । बचाउनुपर्छ । उनलाई पश्चिमको धुरीमा कमजोर बन्दै गएका पहेंला घामका किरणझैँ अस्ताउन नदिऊँ । धर्मलाई मानवताले जितोस्, मानवतालाई प्रेमले !

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३