विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ११, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मनाङ-मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्ने १३५ मेगावाट क्षमताको मनाङ-मर्स्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ एक्जिम (आयात–निर्यात) बैंकले झण्डै २४ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने टुङ्गो लागेको छ ।

बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडको अग्रसरतामा अगाडि बढाइएको आयोजनामा शुक्रबार (मंसिर ७ गते) एक्जिम बैंकसहित अन्य स्रोत जुटाई लगानी व्यवस्थापन गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ तथा नेपालका लागि चिनियाँ राजदूत चेन सोङको उपस्थितिमा आयोजनाको वित्तीय व्यवस्थापन तथा निर्माण शुभारम्भ भएको घोषणा गरिएको छ ।

आयोजनामा एक्जीम बैंकले १ अर्ब २४ करोड २५ लाख चिनियाँ युआन अर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर (करिब २३ अर्ब ७३ करोड रुपैयाँ) ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य श्रोतवाट जुटाइएको कम्पनीले जानकारी दिएको छ । यस आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी (करिब ४३ अर्ब ७३ करोड रुपैयाँ) अनुमान गरिएको छ ।

आयोजना प्रवर्द्धक कम्पनीमा बिपिसीसहित चिनियाँ लगानीकर्ताहरु एसीआईजी इन्टरनेशनल लिमिटेड, सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाईईसी इन्टरनेशनल कम्पनी लिमिटेड तथा यी कम्पनीहरूको संयुक्त लगानी रहेको एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इनभेष्टमेन्ट कम्पनी प्रालिको संयुक्त लगानी रहेको छ ।

८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजी लगानी हुने आयोजनामा स्वपुँजीको २० प्रतिशत बिपिसी तथा ८० प्रतिशत चिनियाँ लगानीको हिस्सा रहनेछ । साथै, कम्पनीले आयोजनास्थल आसपासका स्थानीय बासिन्दालाई प्रचलित कानूनको अधिनमा रही शेयर उपलब्ध गराउने योजना जनाइएको ।

बिपिसीका अनुसार हाल आयोजनाको निर्माण ई–पिसी (अध्ययन, खरिद तथा निर्माण) मोडलमा चिनियाँ कम्पनी सिनो हाइड्रो ब्यूरो ७ कम्पनी ले गरिरहेको छ । चीनको नर्थ–वेस्ट इन्जिनियरिङ कम्पनी परामर्शदाता रहेको आयोजनाको सम्पूर्ण निर्माण कार्य ४२ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आंशिक–जलाशय यो आयोजना मनाङ जिल्लाको चामे र नासों गाउँपालिकामा पर्दछ । कम्पनीका अनुसार यसको ग्रस हेड ४३० मिटर रहने जनाइएको छ । आयोजनाको बाँध चामे गाउँपालिका वडा नं. ३ कोतोमा तथा विद्युत्‌‌गृह सोही गाउँपालिकाको वडा नं. ९ मा निर्माण हुनेछ । ६ किलोमिटर मुख्य सुरुङ निर्माण गरी मर्स्याङ्दी नदीको पानी विद्युत्‌गृहसम्म ल्याइने छ । आयोजनाबाट वार्षिक ७६६ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

यो आयोजना सहित यिनै स्वदेशी तथा विदेशी कम्पनीहरुको संयुक्त शेयर लगानीमा मर्स्याङ्दी नदीमा क्यास्केड अवधारणामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामध्ये यो पहिलो आयोजना हो । मनाङ र लमजुङ जिल्लामा अवस्थित अन्य दुई आयोजनामा १३९.२ मेगावाटको लोअर-मनाङ-मर्स्याङ्दी र ३२७ मेगावाटको अप्पर-मर्स्याङ्दी–२ रहेका छन् । यी तीन वटै आयोजनाको कूल जडित क्षमता ६०१.२ मेगावाट र लागत १ अर्ब २० करोड अमेरिकी डलर अनुमान गरिएको छ । ३ वटै आयोजना छुट्टाछुट्टै कम्पनीमार्फत निर्माण गरिने जनाइएको छ ।

नेपालमा हालसम्म हेजिङ प्रणालीमा स्पष्टता नभएको, कोभिड–१९ महामारीको असर, जग्गा अधिग्रहण र रुख कटानीका चुनौती एवम् सन् २०२१ मा मनाङमा आएको बाढीको सामना गर्दै निर्माणलाई निरन्तरता दिइएको छ ।

कसले के बोले ?

उक्त आयोजनाको वित्तिय व्यवस्थापन समारोहमा नेपालका मन्त्री द्वय, चिनियाँ राजदूत लगायतले महत्वपूर्ण धारणा राखेका थिए । समारोहमा उपस्थित वक्ताहरूको मन्तव्यलाई संक्षिप्तरूपमा सम्पादन गरी तल उल्लेख गरिएको छ :

दीपक खड्का (मन्त्री : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय) : बिपिसीको अगुवाई र समन्वयमा मनाङ-मर्स्याङ्दीसहित तल्लो मनाङ-मर्स्याङ्दी र माथिल्लो मर्स्याङ्दी–२ अगाडि बढ्नुलाई महत्वपूर्ण उपलब्धि मानिएको छ । यसबाट सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनमा राखेको लक्ष्य पूरा गर्न ठूलो मद्दत पुर्‍याउनेमा विश्वस्त हुन सकिन्छ । यसरी आयोजना निर्माण गर्न अग्रसर भएका कम्पनीलाई मैले व्यक्तिगत तथा मन्त्रालयको तर्फबाट प्रोत्साहित गर्न चाहन्छु । बिपिसीले विश्वासनीय लगानीकर्ता भित्र्याएकोमा यसबाट नेपालको ऊर्जा विकासमा थप विदेशी लगानी आकर्षित हुनेमा आशावादी हुन सकिन्छ ।

पृथ्वी सुब्बा गुरुङ (मन्त्री : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय) : नेपाल र चीनबीचको दरिलो साझेदारीले हाम्रो जलविद्युत् विकासमा नयाँ आयाम थपेको छ । मर्स्याङ्दी नदी बेसिनमा यी आयोजनाहरू निर्माण भइरहँदा त्यहाँ लगानीको ढोका खुलेको छ । साथै, स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने हुँदा यसले त्यहाँको जनजीवनलाई माथि उठाउने नै छ । मनाङ-मर्स्याङ्दी लगायत अन्य आयोजना निर्माणमा मेरो सहयोग रहनेछ । म लमजुङ जिल्लाको जनप्रतिनिध भएको हुँदा पनि यो आयोजना विकासमा मेरो पूर्ण साथ रहन्छ ।

चेन सोङ (नेपालका लागि चिनियाँ राजदूत) : नेपाल र चीनबीच सन् १९५५ देखि दौंत्य सम्बन्ध गाँसियो । त्यो नै हाम्रो सहकार्यको पहिलो खुड्किलो थियो । आजसम्म आइपुग्दा यही सम्बन्धका कारण अनेक साथ, सहयोग र सहकार्यमा धेरै कामहरू भएका छन् । ती काममध्येको मनाङ-मर्स्याङ्दी निर्माणको शुभारम्भ पनि एक हो । हामीले मर्स्याङ्दी नदी बेसिनमा निर्माण हुने ३ आयोजनामा एक्जिम बैंकमार्फत १.२ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छौँ । यसबाट नेपालको जलस्रोतको उच्चतम सदुपयोग त हुन्छ नै यहाँको विद्युत् प्रणाली पक्कै सुधार हुनेछ ।

हामी सन् २०२५ मा नेपाल–चीन दौंत्य सम्बन्धको ७०औं वर्षगाँठ मनाउँदै छौँ । यो सहकार्यलाई निरन्तरता दिँदै हामीले जलविद्युत्, सौर्य, वायु, बायोमास र हरित हाइड्रोजन विकासमा एक साथ मिलेर काम गर्नुपर्ने छ । मलाई विश्वास छ, मनाङ-मर्स्याङ्दी आयोजना समयमै पूरा हुनेछ र यसमा दुवै देशले निकट रहेर निरीक्षण गर्दै निर्माण पूरा गर्न पूर्ण सहयोग गर्नेछन् ।

टेकबहादुर गुरुङ (सांसद, मनाङ) : विकासको पहिलो आधार सडक नै हो । लमजुङको बेँसीशहरदेखि मनाङको चामेसम्मको सडक पूर्ण स्तरोन्नति हुन सकेको छैन । यही कारण आयोजनाका उपकरण बोकेर जाने ठूला–ठूला ट्रकहरू जान सक्ने अवस्था छैन । प्रथमतः यो सडक मर्मत तथा स्तरोन्नति हुनुपर्छ । १३ वर्ष लगाएर नेपाली सेनाले सडकको ट्र्याक खोले पनि सरकारले बजेट तथा कार्यक्रममा प्राथमिकता नदिँदा थप काम हुन सकेको छैन । सडक राम्रो हुन सके जलविद्युत् आयोजना पनि समयमै पूरा हुन सक्छ । यो आयोजना निर्माणबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुने आशा गरिएको छ । अतः बिनाअवरोध यो आयोजना पूरा होस् ।

पद्म ज्योथि (अध्यक्ष : बिपिसी) : मनाङ-मर्स्याङ्दीको वित्तिय व्यवस्थापन तथा निर्माण शुभारम्भको घोषणा गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ । चिनियाँ एक्जिम बैंकको साथले हामीलाई काम गर्न थप प्रेरणा मिलेको छ । यसले नेपालको दिगो विकाससँगै अन्तर्राष्ट्रिय सम्बन्धलाई दरिलो बनाएको अनुभूति भएको छ । हामीले जग्गा अधिग्रहणमा अनेक समस्या झेल्दै, कोभिडको महामारी खप्दै र मर्स्याङ्दी नदीमा आएको बाढीको असरलाई व्यवस्थापन गर्दै कामलाई अगाडि बढाएका छौँ । यसमा सरकारको पूर्ण साथ र सहयोग रहेकोमा अगामी दिनमा पनि त्यसले निरन्तरता पाउनेमा विश्वस्त छौँ ।

ली वेनजी (महाप्रबन्धक : सिचुआन प्रोभिन्सियल इन्भेष्टमेन्ट ग्रुप कम्पनी लि.) : चीन नेपालको लगानी साझेदारमात्र नभएर असल छिमेकी पनि हो । हामी हिजोदेखि नै हातमा हात मिलाएर काम गर्दै आएका छौँ । हाम्रा राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणपछि दुवै देशबीचको सहकार्य अझ निकटरूपमा अगाडि बढेको महसुस गरेका छौँ । मनाङ-मर्स्याङ्दीको निर्माणमा जोडिनु हिमालयपारिको निस्वार्थ सहयोगमात्र नभएर जलविद्युत् विकासको सहकार्य पनि हो । कोरोना महामारी जस्तो विपद्मा समेत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) र आयोजना विकास सम्झौता (पीडीए) सम्पन्न भएकोमा हामी आत्मविश्वासले भरिएका छौँ । यहाँ उद्योग र प्रविधिको प्रस्फुट गर्दै आयोजना पूरा गर्न हामी प्रतिबद्ध छौँ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३