विद्युत आपूर्ति : प्राधिकरण : ९९७० मे.वा.घन्टा / निजी क्षेत्र : १७९१० मे.वा.घन्टा / आयात : २११६ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९९९६ मे.वा.घन्टा/ उच्च माग : १४४० मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

आँधीखोला जलाशय निर्माणमा ‘जुर्मुराए’ राजनीतिक दलदेखि उद्यमी व्यवसायीसम्म

२०७८ जेठ २९

काठमाडौ । १८० मेगावाटको आँधीखोला जलाशय जलविद्युत् आयोजना निर्माणमा स्याङ्जाका राजनीतिक दल, उद्योगी व्यवसायी, नीति निर्माता एवं कर्मचारीतन्त्रसम्मले समान मत राखेका छन् । स्याङ्जा पत्राकार समाज, नेपालले शनिबार (जेठ २९ गते) आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा आयोजना निर्माणमा जोड दिइएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस संगठन विभाग प्रमुख एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जिल्लाको विकासमा हरेक तह र तप्काले एउटै आवाज बनाएर जानुपर्ने बताए । ‘आज लाखौं मान्छे विदेशीएका छन्, गाउँघर खाली भएका छन्, खेतबारी बाँझा भएका छन्,’ उनले भने, ‘यसलाई कसरी सदुपयोग गर्ने कसरी चलायमान बनाउने भन्नेमा लाग्नुपर्छ ।’

सञ्चालनमा रहेको देशकै ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ आँधीखोला लगायत जलविद्युत् आयोजना निर्माण भएकाले अब आँधीखोला उच्च बाँध निर्माणमा ध्यान दिनुपर्ने श्रेष्ठको धारणा थियो । उच्च बाँध आयोजनालाई पर्यटकीय दृष्टिकोणले पनि विकास गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले अहिले आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ । जलाशयबाट तल्लो गल्याङ बजार डुबानमा पर्ने हुँदा त्यहाँका बासिन्दाले आयोजना निर्माणको निर्णय चाँडो गरिदिन पनि माग गर्दै आएका छन् ।

यसैगरी, निवर्तमान कृषि मन्त्री पद्माकुमारी अर्यालले सहर तथा व्यवस्थित बस्ती विकास, सडक निर्माण एवं जिल्लाको विकासमा पत्रकारको अहम् भूमिका हुनुपर्ने बताइन् । ‘पर्यटन तथा धार्मिकस्थल जो अत्यन्त महत्त्वपूर्ण छन्, यिनलाई हमीले बाहिर उजागर गर्न सकेका छैनौं,’ उनले भनिन्, ‘विकास निर्माण तथा समृद्धिमा सुरुदेखि नै पत्रकारलाई सहभागी गराउन ढिला भइसकेको छ ।’

‘समृद्धिका लागि सञ्चार’ अभियानका साथ सरकारले अब विकास निर्माणमा पत्रकारको भूमिका किटान गरेको उनको अभिव्यक्ति थियो । जिल्लाको विकास निर्माणमा धेरै काम अगाडि बढेको हुँदा तिनलाई सार्थक निष्कर्षमा पुर्याउन पत्रकारले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनले दोहोर्याइन् । उनका अनुसार हाल जिल्लामा १८ वटा पुल सुरु गरेर काम सम्पन्न गर्नुपर्नेछ । पत्रकारको ध्यान त्यहाँ जानुपर्छ ।

निर्माण भइरहने ढिलासुस्तीबारे कलम चलाएर दबाबकारी भूमिका खेल्न पनि उनले पत्रकारहरूलाई आग्रह गरिन् । ‘नराम्रो कामको खबरदारी गर्ने र राम्रो कामको प्रंशसा गर्ने गर्नुपर्यो,’ उनले भनिन्, ‘पालिकाहरूले केही राम्रो काम गरेको हुँदा त्यसको उजागर गर्न आवश्यक छ ।’

कालीगण्डकीमा जलयातायात सञ्चालन गरेर पर्यटकीय विकासमा नयाँ आयाम थप्नुपर्ने उनको धारणा छ । जिल्लाको विकासमा यसको ठूलो महत्त्व रहेको हुँदा यसलाई छिटो कार्यान्वयन गर्नुपर्ने पनि उनको भनाइ छ ।

जिल्लाबासी प्रशासक एवं रक्षा सचिव रेश्मिराज पाण्डेले पनि जलविद्युत्, पर्यटन तथा कृषि उद्यमशीलताको विकासमा जोड दिए । उनले आँधीखोला जलाशय निर्माणमा अझ बढी जोड दिँदै यसलाई बिजुली, सिँचाइ र पर्यटकीय दृष्टिकोणले अगाडि बढाउनुपर्ने धारणा राखे ।

‘आँधीखोला जलाशयलाई अगाडि बढाउनुपर्छ तर बूढीगण्डकी बनाउनु हुँदैन, बूढीगण्डकीमा सरकारले ६३ अर्ब रुपैयाँ क्षतिपूर्ति दियो,’ उनले भने, ‘यसले चितवन र काठमाडौंको जग्गाको भाउ बढाएर अब सरकारले जग्गा अधिग्रहण नै गर्न नसक्ने स्थितिमा पुर्यायो भने त्यहाँका मान्छे बसाइँ सरेर आफ्नो थातथलो भुल्ने भए ।’ आँधीखोला निर्माण गर्दा ‘ल्यान्ड पुलिङ’ अवधारणा अपनाएर जहाँ आयोजना बन्ने हो त्यहाँभन्दा माथिको क्षेत्र अर्थात् नदीका दुवैतर्फ बस्ती बसाल्ने योजनामा जानुपर्ने उनको भनाइ छ ।

नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङले पनि आँधीखोला जलाशय निर्माणमा सबै जिल्लाबासी, विचार राख्नेहरू एक हुनुपर्ने बताए । ‘आयोजना पर्यटकीय दृष्टिकोणले निर्माण गरी मिर्मीदेखि गल्याङसम्म मोटर बोट सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘धार्मिक पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको सेतीवेणी जस्ता चर्चित स्थलहरूको प्रचार पुगेको छैन ।’

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अघिकृत डा. धनञ्जय रेग्मीले पर्यटकलाई आकर्षित गरेर केही दिन घुमाउन मिल्ने स्थानहरूको विकासमा जोड दिनुपर्ने बताए । यस्तै, नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले अब स्याङ्जाका नागरिक जागिर र लाहुर जानमा मात्र केन्द्रित नरही कृषि र पर्यटन उद्यममा लाग्नुपर्ने बताए ।

स्याङ्जाका सफल व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अम्बिकाप्रसाद पौडेलले आयोजना छनोट तथा नीतिगत तहमा समस्या रहकाले यसमा पत्रकारले कलम चलाउन जरुरी रहेको बताए । ‘जिल्लाको समृद्धिका लागि व्यवसायीलाई बाटो देखाइदिने काम भएको छ, यसले त्यहाँ व्यवसायका सम्भावनाको ढोका खुलेका छन्,’ उनले भने ।

पुतलीबजार, भीरकोट र वालिङ नगरपालिकाका मेयरहरू सीमा क्षेत्र, छायाराम खनाल र दीलिपप्रताप खाँडले जिल्लाको सर्वाङ्गिण विकासमा पत्रकारको भूमिकाका विषयमा अमूल्य मत राखेका थिए । यस्तै, व्यवसायी शोभाकान्त पौडेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले समेत जिल्लाको विकासमाथि प्रकाश पारेका थिए ।

यसैगरी, कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाकी सभापति सीता सुन्दास, नेकपा माओवादीका नेता शैलेन्द्र घिमिरे, एमालेका जिल्ला नेता पारश शर्मा र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जिल्लाको विकासका सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए ।

समाजले प्रकाशन गरेको २०७८ सालको भितेपात्रो विमोचन तथा ‘स्याङ्जाको विकासमा समाजको आवश्यकता र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । दुई भागमा बाँडेर सम्पन्न गरिएको कार्यक्रमको पहिलो खण्डमा नेपाली काँग्रेसका संगठन विभाग प्रमुख श्रेष्ठ र निवर्तमान कृषि मन्त्री अर्यालले भित्तेपात्रो विमोचन गरेका थिए ।

अध्यक्ष इन्द्रबहादुर रिजालको अध्यक्षमा भएको कार्यक्रममा समाजकी उपाध्यक्ष अनिता विन्दु तथा महासचिव अनिल गिरीले जिल्लाको विकासमा समाजको भूमिका, औचित्य र आवश्यकता माथि प्रकाश पारेका थिए । अध्यक्ष रिजालले समाज तथा जिल्लाबासी पत्रकारहरूले समृद्धिका लागि पुलको काम गर्ने बताए । यस्तै, गिरीले ‘वैभवशाली स्याङ्जा’ निर्माणमा सबैको हातेमालो जरुरी रहेको प्रस्ट पारे ।

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit