विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

कुनै पनि मानिस जन्मिनासाथ सु–परिचित हुँदैन । हुर्काइसँगै उसले गर्ने कर्मले मान्छेको पहिचान स्थापित गर्दै लैजान्छ । निरन्तरता र लगनशीलताले नै मान्छेको भविष्य निर्धारण गर्छ । एउटा कम्पनीको हकमा पनि यही तथ्य लागु हुन्छ । सञ्चालक तथा कर्मचारीहरूको लगनशीलता र मेहनतले नै कम्पनीको भाग्य र भविष्य निर्धारण गर्छ । समाजमा अमिट छाप छोडेकाहरू सयौँ वर्षसम्म चर्चामा रहिरन्छन् । ठीक यसैगरी, कुनै पनि क्षेत्रमा विशिष्ठता हासिल गरेका कम्पनी कालान्तरसम्म उदाहरणीय बनिरहन्छन् । त्यस्ता कम्पनीले बनाएका परियोजना सिकाइका रूपमा उपयोग समेत हुने गर्दछन् । आज हामी यस्तै एउटा कम्पनीलाई यहाँ प्रस्तुत गर्दैछौँ, जो आज मात्रै होइन, वर्षौँसम्म नेपाली जनजनको मनमष्तिष्कमा बाँचिरहने छ । सुदूरको अपि हिमाल जस्तै आम मानिसको नजरमा चम्किलाे भई छाइरहने छ ।

२०६० को दशकमा सुदूरपश्चिमको दार्चुलामा नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको चमेलिया जलविद्युत् आयोजनाको खुबै चर्चा थियो । सो आयोजना निर्माण गर्ने भनिएको वर्षौँ भइसकेको भए पनि ठोस प्रगति हुन सकेको थिएन । सुदूरपश्चिमवासीमा यो आयोजना कहिल्यै पनि नबन्ने हो कि भन्ने निराशा थियो । यस्तो अवस्थामा अपि हिमाल जस्तै अटल र उच्च अठोटका साथ अपि पावर लिमिटेडले दार्चुलामा नौगड गाढ नदीको पानी उपयोग गरी ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत् आयोजना बनाउन कम्मर कस्यो ।

उत्पादन अनुमति पाएको २ वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य थियो । विद्युत् प्राधिकरणको चमेलिया आयोजना बन्न वर्षौँ लागिरहेको पृष्ठभूमिमा २ वर्षभित्र निजी क्षेत्रको अर्को जलविद्युत् आयोजना बनिसक्नेमा स्थानीय सर्वसाधारण आश्वस्त हुन सक्ने कुरै भएन । ‘२ वर्षभित्रै जलविद्युत् आयोजना बनाउने लक्ष्य लिने अपि पावरलाई ऊर्जा क्षेत्रकै जानकारहरूले समेत गिज्याएको हिजो जस्तै लाग्छ,’ कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले भने । तर अपिसँग अपि हिमालको जस्तै उच्च मनोबल, दृढ सङ्कल्प र इच्छाशक्ति थियो । 

नेतृत्वको प्रष्ट दिशानिर्देश, आयोजनामा संलग्न कर्मचारीको मेहनत र लगन तथा स्थानीयवासीको साथ-सहयोगले अपि पावरले सो आयोजना १७ महिनामै निर्माण सम्पन्न गरेर सबैलाई चकित पारिदियो । यतिसम्म कि विद्युत् प्राधिकरणले वर्षौँअघि शुरू गरेको आयोजनाको निर्माण पूरा गर्न अपिकै आयोजनाको बिजुली प्रयोग गर्नुपर्‍यो । अपिको उक्त यस आयोजनाले २०७२ साल भाद्र २ गतेदेखि व्यवासायिक विद्युत उत्पादन गरिरहेको छ । सुदुरपश्चिम प्रदेशमा निजी लगानीबाट सञ्चालन भएको यो नै पहिलो आयोजना हो । सुदुरपश्चिमलाई लोडसेडिङमुक्त बनाउन यस आयोजनाको ठूलो भूमिका देखिन्छ ।  

कम्पनीले दोस्रो आयोजनाको रूपमा ८ मेगावाटको अपर नौगड गाढ जलविद्युत् आयोजना पनि यसै नदीमा निर्माण गरेको छ । प्रथम आयोजनाभन्दा करिब ५ किलोमिटर माथिल्लो तटमा बाँध बाँधेर अपर नौगाड गाढ आयोजना निर्माण गरेको छ । यस आयोजनाले २०७६ कात्तिक १३ गतेबाट व्यवसायिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत् प्रवाह गरिरहेको छ ।

यसरी, शुरू भएको अपि पावरको यात्रा थप उचाईतर्फ लम्किरहेको छ । सुदूरपश्चिमबाट शुरू भएको अपि पावरको यात्रा अहिले सुदूर पूर्वतर्फ अग्रसर छ । विद्युत् आयोजनाहरू विकास गर्न निजी कम्पनी (प्राइभेट लिमिटेड) को रूपमा २०६० असार ५ गते अपि पावर स्थापना गरिएको थियो । कम्पनीमा जनसहभागिता व्यापक गराउने उद्देश्य राखी २०७० साउन ६ गतेदेखि पब्लिक कम्पनीमा रुपान्तरण गरियो । हाल कम्पनीमा हाल करिब डेढ लाख शेयरधनी सदस्य छन् । नेपालमा रहेका कुल डिम्याट खातामध्ये २ देखि ३ प्रतिशत खातामा अपि पावरको शेयर रहेको छ । शुरूमा कम्पनीमा १०० कित्ता शेयर हुने शेयरधनीको शेयर अहिले बढेर ४०० कित्ता पुगेको छ । कम्पनीले मुनाफालाई बोनस शेयरको रूपमा लगानीकर्तालाई वितरण गर्ने नीति लिएको छ । र, मुनाफा भएको रकमले अन्य नयाँ आयोजना निर्माण गर्ने गरेको छ । साथै समय–समयमा आवश्यकता अनुसार हकप्रद मार्फत पनि रकम जुटाउँदै आएको छ । 

यसै नीतिको कारण ८.५ मेगावाटको जलविद्युत् आयोजना बनाएर उदाएको यस कम्पनी कम्पनी हालको अवस्थामा ६२.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने कम्पनी भएको छ । १०० करोड चुक्ता पुँजीबाट शुरू भएको कम्पनीको चुक्ता पुँजी अहिले करिब ६०० करोड भइसकेको छ ।

अहिले कम्पनीले हाइड्रो मात्र नभई सोलार आयोजनाबाट पनि विद्युत् उत्पादन गरी देशको कुल ऊर्जा उत्पादनमा ठूलो योगदान पुर्‍याइरहेको छ । हाल कम्पनीले तीन वटा सोलार आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ । सुदूरपश्चिमको दार्चुलादेखि सुदूरपूर्वको ताप्लेजुङसम्म आयोजना निर्माण गरी कम्पनीले देशभर आफ्नो सशक्त उपस्थिति देखाएको छ । जलविद्युत् आयोजना ३० वर्षपछि सरकारीकरण हुने भएकोले कम्पनीले एउटा आयोजना सरकारीकरण भएपछि त्यसले कम्पनीको आम्दानी नगुमोस् भनेर केही वर्षको अन्तरालमा नयाँ–नयाँ आयोजना निर्माण गरिरहेको छ ।

साथै सरकारीकरण नहुने सोलार आयोजना, कृषि उत्पादन, हाउजिङ निर्माण लगायतला क्षेत्रमा लगानी गरिरहेको छ । एउटा ‘अम्ब्रेला अर्गनाइजेसन’को रूपमा अपि पावरले जलविद्युत् र सोलारबाहेक अन्य थुप्रै क्षेत्रमा लगानी गरी लगानीलाई विविधिकरण गरिरहेको छ । अब कम्पनीले नवीनतत हाइड्रोजन ऊर्जा उत्पादनको लक्ष्य लिएको छ भने थप लगानी विविधिकरणका लागि पानी उत्पादन गर्ने र अपार्टमेन्टसमेत निर्माणको तयारी गरिरहेको छ । यसरी कम्पनीले द्रूत गतिमा दिगो ‘ग्रोथ’ गर्दै एउटा अब्बल र उत्कृष्ट कम्पनीको रूपमा स्थापित भएको छ ।

३ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न

कम्पनीले हालसम्म ३ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले दार्चुलामा ८.५ मेगावाटको नौगड गाढ, ८ मेगावाटको अपर नौगड गाढ र ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना सुदूरपश्चिमकै ठूलो जलविद्युत आयोजना हो ।

यी ३ मध्ये ८.५ मेगावाटको नौगड गाढ जलविद्युत् आयोजनाले निर्माण अवधिमा लिएको सबै ऋण तिरेर मुक्त भइसकेको छ । यस आयोजनाबाट कम्पनीले वार्षिक २३ करोड आम्दानी गर्छ । ८ मेगावाटको अपर नौगड गाढ जलविद्युत् आयोजनाले पनि वार्षिक २३ करोड नै आम्दानी गर्छ । ४० मेगावाट क्षमताको अपर चमेलियाले भने वार्षिक १ अर्ब ३५ करोड आम्दानी गर्छ । यसरी कम्पनीले जलविद्युत आयोजनाबाट वार्षिक १ अर्ब ८१ करोड आम्दानी प्राप्त गर्ने देखिन्छ । 

३ वटा सोलार आयोजना सम्पन्न

कम्पनीले ३ वटा सौर्यविद्युत् आयोजना (सोलार प्लान्ट) निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ । ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार, १ मेगावाटको ढल्केबर सोलार र १ मेगावाटको सिमरा सोलार आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ ।

यी ३ वटै आयोजना निर्माका लािग कम्पनीले लिएको ऋण चुक्ता गरिसकेका छ । यी आयोजनाबाट कम्पनीले क्रमशः ४ करोड ५० लाख, १ करोड १५ लाख र १ करोड १५ लाख रूपैयाँ वार्षिक आम्दानी गर्छ । यसरी सोलार आयोजना र जलविद्युत् आयोजना गरी कम्पनीको कुल वार्षिक आम्दानी १ अर्ब ८७ करोड ८० लाख रूपैयाँ हुन आउँछ ।

७ कम्पनीमा शेयर लगानी

अपि पावरले विभिन्न ७ वटा अन्य कम्पनीमा शेयर लगानी गरेको छ । कम्पनीले इङ्गवा हाइड्रोपावर लिमिटेडमा २५ प्रतिशत शेयर लगानी गरेको छ । इङ्गवा हाइड्रोको कुल चुक्ता पुँजी ६० करोड रहेकोमा अपि पावरको १५ करोड रुपैयाँ लगानी छ । आईपीओ निष्काशन गरी शेयरबजारमा समेत सूचीकृत भइसकेको यस कम्पनीले ९.७ मेगावाटको माथिल्लो इङ्गवा खोला जलविद्युत् आयोजना निर्माण गरी २०८० चैत्रदेखि व्यापारिक उत्पादन गरिरहेको छ । आर्थिक वर्ष २०८१/८२ देखि यस आयोजनाले अपि पावरलाई लाभांश दिन सक्ने आकलन कम्पनीको छ ।

त्यस्तै अपि पावरले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा ३२ करोड ९२ लाख बराबरको शेयर लगानी गरेको छ । यस आयोजनाले ११ मेगावाट क्षमताको माथिल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८१ फागुनमा विद्युत उत्पादन गर्ने लक्ष्य छ । कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । आईपीओ निष्काशन गरेपछि कम्पनीमा अपि पावरको स्वामित्व ४५ प्रतिशत पुग्ने छ ।

अपि पावरले ७ करोड ५ लाख रूपैयाँ शेयर लगानी गरेर आफ्नो सहायक कम्पनीको रूपमा अपि हाइड्रो मेकानिकल लिमिटेड स्थापना गरेको छ । यसले अपि पावरलाई वार्षिक १० प्रतिशत लाभांश दिने अनुमान छ । यस कम्पनीले जलविद्युत आयोजनाहरूको लागि आवश्यक हाईड्रो मेकानिकल उपकरणहरू निर्माण गर्दछ । जलविद्युत आयोजनाहरू समयमा निमार्ण सम्पन्न गर्न चाहिने फलामका सामानहरू (पेनस्टक पाइप, गेट, बाइफर्केशन, ट्रान्सर्याक, बेलमाउथ आदि) यस कम्पनीले उत्पादन गरिरहेको छ ।

अपि पावरले अपि चमेलिया पावर लिमिटेडमा २ अर्ब २० करोड लगानी गरेको छ । यस कम्पनीले ३० मेगावाटको त्रिशुली गल्छी जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । हाल आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता गर्ने चरणमा पुगेको छ । विद्युत् खरिद सम्झौतापछि २०८१ को अन्त्यसम्ममा आयोजना निर्माणको चरणमा जाने छ ।

नेपालमा उत्पादित ऊर्जा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने उद्देश्यका साथ २०७५ चैत्र ११ गते नेपाल पावर एक्सचेन्ज लिमिटेड दर्ता भएको छ । यस कम्पनीमा पनि अपि पावरले १० लाख रूपैयाँ लगानी गरेको छ । यस कम्पनीले विद्युत् व्यापारको अनुमति पाएपछि अपिले आफ्नो लगानी बढाएर १ करोड पुर्‍याउने तयारी गरेको छ । यस कम्पनीले अपि पावरलाई वार्षिक ५ देखि १० प्रतिशत लाभांश दिने अनुमान छ ।

अपि पावरको भगिनी संस्थाको रूपमा मकालु डेभलपर्स लिमिटेड र लटीनाथ कन्स्ट्रक्सन रहेका छन् । यी कम्पनीले अपि पावरलाई आवश्यक पर्ने सिभिलतर्फको सामग्री उत्पादन गर्दछन् । जलविद्युत् आयोजना निर्माण लागि चाहिने मेशिनरीबाहेक मेकानिकल र सिभिलतर्फको सामान अपि पावर आफैँले उत्पादन गर्छ । आफैँले उत्पादन गर्दा जलविद्युत् आयोजना समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने र खर्च पनि घटाउन सहयोग पुगेको कार्यकारी सञ्चालक न्यौपाने बताउँछन् ।

पिउने पानी र अपार्टमेन्टमा लगानी विस्तारको तयारी

शेयरधनीलाई बढी प्रतिफल दिन र लगानी विविधिकरण गर्न कम्पनीले पिउने पानी उत्पादन गर्ने र अपार्टमेन्ट निर्माण गर्ने तयारी पनि थालेको छ । अपि पावरले १ अर्ब ३५ करोड लगानीमा अपि स्प्रिङ लिमिटेड नामक कम्पनी स्थापना गरेर ‘अपि’ नामको पानी बजारमा ल्याउने तयारी गरेको छ । दार्चुलास्थित घट्टेगाड खोलाको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेर आर्थिक वर्ष २०८१/८२ बाट पिउने पानी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । सो पानी सुदूरपश्चिमा नै खपत हुनेछ । हाल मिनरल वाटर र प्रोसेस्ड वाटर गरी दुई प्रकारका पानी उत्पादन गर्ने कम्पनीको तयारी छ । यसले कम्पनीको संस्थागत सामाजिक कार्य र ब्राण्ड प्रवर्द्धन दवै कार्य सहज हुने विश्वास कम्पनीले लिएको छ ।

यस अलावा कम्पनीले ललितपुरको झम्सिखेलमा १२० करोडमा अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले २१ करोड लगानीमा अपि इन्फ्रा लिमिटेड स्थापना गरेर अपार्टमेन्ट निर्माण गर्न ३ रोपनी जग्गा पनि खरिद गरिसकेको छ । अपार्टमेन्ट १० तले हुने, त्यसमा ४५ वटा सुविधासम्पन्न युनिट हुने र २ वर्षमा निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । अपार्टमेन्ट निर्माण गर्न कम्पनीको रिजर्भले नै पुग्ने र थप ऋण वा हकप्रद शेयर जारी गर्नु नपर्ने कम्पनीको भनाइ छ । निर्माण सकिएपछि अपार्टमेन्टबाट २० देखि ३० करोड आम्दानी हुने कम्पनीको प्रक्षेपण छ । 

हाइड्रोजन उत्पादन

जलविद्युत् (हरित ऊर्जा) बाट हाइड्रोजन ऊर्जा, अमोनिया तथा रसायनिक मल उत्पादन गर्न ‘नमुना रियोजना’का रूपमा १ मेगावाट क्षमताको हाइड्रोजन आयोजना निर्माण गर्न अपि पावर कम्पनी लागि परेको छ । भारतको नयाँ दिल्लीमा कार्यालय रहेको ग्रिनजो पावर प्रालिसँग सहकार्य गरेर कम्पनीले नेपालमा ग्रिन हाइड्रोजन उत्पादन गर्ने तयारी गरिरहेको छ । सरकारले हाइड्रोजन नीति ल्याए पनि नेपालमै हाइड्रोजन उत्पादन गर्न छुट्टै ऐन, नियमावली र कार्यविधि नै आवश्यक पर्ने कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेको भनाइ छ । कुन सामान ल्याउन भन्सार शुल्क कति हुने, उत्पादनपछि कसरी वितरण हुने, करका दरहरू कति हुने लगायतका सबै विषयमा प्रष्ट हुन पनि छुट्टै हाइड्रोजन ऐन, नियमावली र कार्यविधि चाहिने उनी बताउँछन् । 

बैंकको साथ

बैंकहरूको वित्तीय सहयोग नभएको भए अपि पावरले आजको दिनमा ६२.५ मेगावाट विद्युत् उत्पादन गर्न सम्भव हुने थिएन । कम्पनीका आयोजनाहरू निर्माणमा नेपाल बैंक, नेपाल एसबीआई बैंक, साविकको बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक), प्रभु बैंक, प्राइम कर्मसियल बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, साविकको सेञ्चुरी बैंक (हाल प्रभु बैंक), नबिल बैंक, तथा कर्मचारी सञ्चय कोष लगायतले वित्तीय सहयोग प्रदान गरेका छन् । कम्पनीले ८.५ मेगावाट क्षमताको नौगाड गढ आयोजना र तीन वटै सोलार आयोजना निर्माण गर्न लिएको ऋणको सावाँ र ब्याज छुट गरी यी आयोजनालाई ऋणमुक्त बनाइसकेको छ ।

राजस्व र रोजगारीमा योगदान

आजको दिनमा ६२.५ मेगावाट विद्युत् उत्पादन गरिरहेको अपि पावरले देशको राजस्वमा पनि ठूलो योगदान दिइरहेको छ । कम्पनीले विद्युत् विकास विभागलाई बिजुली बिक्रीको २ प्रतिशतको दरले रोयल्टी प्रदान गरिरहेको छ । त्यस्तै हरेक हाइड्रो आयोजनाबाट प्रतिवर्ष प्रतिमेगावाट १ लाख रूपैयाँ रोयल्टी तिरेर नेपाल सरकारको राजस्वमा योगदान दिइरहेको छ । साथै कम्पनीले आयोजना निर्माणको क्रममा हजाराैँ रोजगारी सिर्जना गरेको थियो । आयोजना निर्माण सम्पन्न भएपछि हालसम्म पनि कम्पनीले आफ्नो केन्द्रीय कार्यालय र आयोजना स्थलमा गरी ८० जनाभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ ।

व्यवसायिक खेती तथा बाख्रा पालन

अपि पावर कम्पनी लिमिटेडले कृषि कार्यक्रम अन्तर्गत जलविद्युत तथा सौर्य आयोजनाहरूमा कम्पनीले खरिद तथा लिजमा लिएका जग्गाहरूको अधिकतम सदुपयोग गरि व्यवसायिक कफी तथा फलफूल खेती गर्ने कार्यको थालनी गरेको छ । कम्पनीले आयोजना स्थलहरूमा आधुनिक बाख्रा पालनका लागि खोर निर्माण गरी पाइप लाइन क्षेत्र तथा सोलार प्यानलको आसपासमा घाँस रोपी व्यवसायिक रूपमा वोयर जातका बाख्रा पालन गरिरहेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्त्व

कम्पनीले आफूले अघि बढाएका तथा सम्पन्न गरेका आयोजनाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावित नागरिकप्रति सामाजिक उत्तरदायित्त्व निभाउँदै आएको छ । आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष प्रभावित क्षेत्रमा सिँचाइका लागि कार्य गरेको छ । आयोजना क्षेत्रहरूमा परेको जग्गा तथा वन क्षेत्रको उपयोग वापत त्यसको क्षतिपूर्ति स्वरूप नगद तथा जग्गा सट्टा भर्ना गरी वृक्षरोपण कार्य गरेको छ । 

यसबाहेक प्रभावित क्षेत्रमा ग्रामीण विद्युतीकरण, स्वास्थ्य चौकी, विद्यालय भवन, सामाजिक भवन, मन्दिर एंव घाट, विद्युतीय घट्ट लगायत सामाजिक–भौतिक संरचना तथा पूर्वाधारहरूको निमार्ण तथा मर्मतका कार्यहरू गरिरहेको छ । आयोजना स्थलहरूमा आवश्यक पर्ने बाटाहरूको निर्माण तथा स्तरोन्नति गर्ने काम कम्पनीले गरिरहेको छ । कम्पनीले नेपाली कृषकहरूलाई लाभ हुनेगरी विभिन्न कृषि विकासका कार्यसमेत गरिरहेको छ । 

नियमित लाभांश

हरेक वर्ष जसो लाभांश वितरण गर्ने कम्पनीमा अपि पावर पनि पर्दछ । कम्पनीले आर्थिक २०७२/७३ देखि नियमित रूपमा लाभांश वितरण गरिरहेको छ । कम्पनीले आर्थिक वर्ष (आव) २०७२/७३ मा ५ प्रतिशत, आव २०७३/७४ मा ८ प्रतिशत, आव २०७४/७५ मा ५ प्रतिशत, २०७५/७६ मा ५ प्रतिशत र २०७६/७७ मा ९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीले अपर चमेलिया निर्माणको लागि विभिन्न ४ चरणमा हकप्रद पनि निष्काशन गरेको थियो ।

कम्पनीको लाभांश र हकप्रद वितरणको विवरण 

भावी कार्यक्रम

पिउने पानीको प्रशोधन उत्पादन र अपार्टमेन्टमा लगानीबाहेक कम्पनीले भावी दिनमा बिजुलीको व्यापार गर्ने योजना बनाइरहेको छ । कम्पनीले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुई वटै तरिकाबाट विद्युत् व्यापार गर्न सरकारसँग लबिङ गरिरहेको छ । विद्युत् व्यापार नै जलविद्युत्को भविष्य भएको बोध गर्दै कम्पनीले विद्युत् व्यापारको अठोट लिएको छ । कम्पनीले सुदूरपश्चिममा बनाएको चमेलियाको आयोजनास्थलबाट ४० किलोमिटर भारततर्फ लागेपछि भारतीय ग्रिड भेटिन्छ । साथै पूर्वमा पनि ५० किलोमिटर दूरीमा नै भारतीय ग्रिड रहेको र त्यहाँसम्म पुग्ने प्रसारण लाइन आफैँले निर्माण गरेर भारतमा विद्युत् व्यापारको ढोका खुल्नेमा कम्पनी आशावादी देखिएको छ । साथै, हाल संसदमा विचाराधीन अवस्थामा रहेको विद्युत् विधयेकमा विद्युत व्यापारको लाइसेन्स निजी क्षेत्रलाई पनि दिने व्यवस्था प्रस्ताव गरिएकोले अब कम्पनीले विद्युत् व्यापारमा जाने भावी योजना बनाएको छ । साथै स्वदेशी तथा विदेशी कम्पनीसँगको साझेदारीमा १०० मेगावाटभन्दा ठूला आयोजना बनाउने लक्ष्य लिएको छ । विद्युत् प्राधिकरणले सोलार आयोजना निर्माण गर्न आह्वान गरेको बोलपत्र (टेण्डर)मा पनि अपि पावरले सहभागिता जनाएको छ । यसमार्फत आगामी आर्थिक वर्षमा थप ३० मेगावाटको सोलार आयोजना बनाउने कम्पनीको तयारी छ । टेण्डर पाएको ६ महिनाभित्र निर्माण शुरू गर्न सकिने भएकोले ३० मेगावाटको सोलार आयोजना पनि २०८१ भित्र नै शुरू गर्ने कम्पनीको योजना छ ।

त्यस्तै, सरकारले राष्ट्रिय प्राथमिकता क्षेत्रमा राखेको कृषि, पर्यटन र ऊर्जामा अपि पावरले आफ्नो उपस्थिति बढाउने तयारी गरेको छ । त्यसका लागि कम्पनीले कृषि र पर्यटन क्षेत्रमा लगानी गर्नको लागि विशेष योजना बनाएको छ । कृषिमा लगानी गर्न ठूलो जग्गा चाहिने भएकोले त्यसको सरकारले हाल प्रयोगमा नरहेका सरकारी जग्गा भाडामा दिएर सरकार र निजीक्षेत्रको साझेदारीमा पीपीपी मोडलमा अघि बढ्ने कम्पनीको योजना छ ।

साथै अपि पावरले पाथिभरा, मुक्तिनाथ र स्वर्गद्वारी जस्ता स्थानमा धार्मिक पर्यटनको योजना बनाएको छ । ती स्थानमा रिसोर्ट बनाउने र मौलिक खानाको स्वाद चखाउने गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्ने कम्पनीको योजना छ । नियामक निकायको अनुमति पाएमा ग्रिन बोन्ड निष्काशन गरेर लगानी जुटाउने  योजनामा कम्पनी छ  ।

उत्कृष्ट कम्पनी बन्ने लक्ष्य

कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपाने अपि पावरलाई नेपालमा निजी क्षेत्रको सबैभन्दा ठूलो, सबैभन्दा धेरै प्रतिफल दिने र सबैभन्दा राम्रो जलविद्युत् कम्पनीको रूपमा स्थापित गराउनु आफ्नो लक्ष्य रहेको र आफू त्यस लक्ष्य प्राप्तिमा लागिपरेको बताउँछन् । सोही कारण लगानीकर्तालाई उच्चतम प्रतिफल दिन लगानी विविधकरण गरेर जलविद्युत्, सोलार, खानेपानीदेखि अपार्टमेन्टसम्मको यात्रा तय गरिएको उनको भनाइ छ ।

हालसम्म कम्पनीले करोडौँ लगानी गरिसकेको र अब भने त्यसको प्रतिफल खाने बेला आएको न्यौपाने बताउँछन् । उनी भन्छन् ‘अपि पावर भविष्यको हिरा हो, अपि पावरको लोगोमा रहेको निलो रङ्ग जस्तै अपि पावर ‘ब्लुचिप कम्पनी’ हो, हरेक नेपालीसँग १० कित्ता नै भए पनि अपि पावरको शेयर हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३