काठमाडौँ । लालुपाते हाइड्रो पावर कम्पनी प्रालिले मनाङमा निर्माण गरिरहेको ४९.९५ मेगावाटको दाना खोला जलविद्युत् आयोजनाको आर्थिक तथा प्राविधिक पक्ष हेर्ने गरी टेक्नोक्वायरी कन्सल्ट प्रालिलाई नियुक्त गरिएको छ ।
यस विषयमा आज प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रो पावर, टेक्नोक्वायरी र आयोजनामा ऋण लगानी गर्ने अगुवा सानिमा बैंक लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ । टेक्नोक्वायरीले प्रवर्द्धकले तयार गरेको प्राविधिक एवम् आर्थिक विवरण रुजु गरी यथार्थ तथ्य बैंकसमक्ष पेश गर्नेछ ।
परामर्शदाताले पेश गरेको विवरणकै आधारमा बैंकिङ क्षेत्रले आयोजनामा गरेको लगानी प्रतिबद्धता अनुसार भुक्तानी गर्दै जाने प्रवर्द्धक कम्पनीले जानकारी दिएको छ । मनाङको नासो गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको सिभिल निर्माणको ठेक्का साई पावर इन्फ्रा जेभीले पाएको छ ।
९ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सानिमा बैंकसहित नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) र नेपाल एसबीआई बैंकले ७ ४७ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ ।
७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी गर्ने गरी आयोजना निर्माणको वित्तीय मोडालिटी तयार गरिएको छ । २०८० मंसिर ७ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएको आयोजनाबाट २०८४ साल कात्तिकभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाबाट वार्षिक ३००.८७२ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । जसमध्ये बर्खामा २०८.३८ गिगावाट घन्टा र हिउँद (मंसिर १५ गते–जेठ १५ गते) मा ९२.४८ गिगावाट घन्टा उत्पादन हुनेछ ।
सबै संरचना भूमिगत
आयोजनाको बाँध स्थल समुद्री सतहबाट २८२१.५ मिटरको उचाइमा रहेको छ । बाँधबाट २ वटा इन्टेक हुँदै आयोजनाको पानी भूमिगत डिसेन्डरमा पानी पुर्याइन्छ । डिसेन्डरबाट ३ किलोमिटर हेडरेस १९ किलोमिटर पेन्स्टक सुरुङबाट विद्युत्गृहमा पानी पुर्याई विद्युत् उत्पादन गरिने छ । विद्युत्गृह समुद्री सतहबाट १८२५ मिटरमा रहेको छ। विद्युत्गृहमा ३ वटा उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ । विद्युत् उत्पादन गरिएपछिको पानी ४१५ मिटर लामो टेलरेसबाट मर्स्याङ्दी नदीमा छोडिने छ । यो आयोजनाका बाँधबाहेकका धेरैजसो संरचना भूमिगत रहने छन् ।
हाल क्यु ४३.७ मा डिजाइन गरिएको यो आयोजनालाई क्यु ३४.११ मा डिजाइन गर्दा यसको क्षमता ८३.३ मेगावाट पुग्ने देखिएको छ । नीतिगत व्यवस्था गरिए आयोजनाबाट वार्षिक साढे ४ महिना ८३ मेगावाट विद्युत् उत्पादन गरी १११.९०२ गिगावाट घण्टा विद्युत् भारत निर्यात गर्ने गरी भारतको मणीकरण पावरसँग समझदारी गरिएको पनि कार्यकारी अध्यक्ष डाँगीले बताए । आयोजनाको विद्युत् प्रस्तावित २२० केभीको धारापानी सबस्टेशनमा जोडिने छ ।
आयोजनाको थप जानकारी
आयोजनाको थप जानकारी
आयोजना : दाना खोला
क्षमता : ४९.९५ मेगावाट
प्रवद्र्धक : लालुपाते हाइड्रो पावर कम्पनी लिमिटेड
सुरुङ : ३२३९.१९ मिटर
पेनस्टक : १६२४.१४ मिटर
टर्वाइन : ३ वटा, पेल्टन टर्वाइन
प्रसारण लाइन : १३२ केभी (३.५ किलामिटर)
सबस्टेसन : धारापानी
विद्युत उत्पादन तालिका : २०८३ साउन १ गते
वार्षिक सरदर उत्पादन : ३०२.२७ गिगावाट घन्टा