काठमाडौँ । पशुपती रिन्युवेबल्स लिमिटेडको चौथो वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १०.३४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीका ९५.६६ प्रतिशतभन्दा बढी सेयरको प्रतिनिधित्व रहेको साधारणसभा सम्पन्न भएको हो ।
यसैगरी, प्राथमिक सेयर (आईपीओ) निष्काशन प्रक्रियालाई निरन्तरता दिने प्रस्तावसमेत पारित भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अध्यक्ष डा. सन्दीप शाहले विगत आर्थिक वर्षका प्रमुख उपलब्धिहरू प्रस्तुत गर्नुका साथै आगामी रणनीतिक प्राथमिकताबारे जानकारी गराएका थिए । उनले दिगो वृद्धि र सेयरधनीको दीर्घकालीन हित सिर्जना गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । पशुपति रिन्युवेबल्सले नेपालमा सौर्य ऊर्जा, जलविद्युत् (हाइड्रो), ब्याट्री इनर्जी स्टोरेज सिस्टम र ग्रिन हाइड्रोजन आयोजनाको प्रवर्द्धन तथा विकास गर्दै आएको छ ।