विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ चैत १५, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सिइओ छनोट प्रक्रिया

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) ले प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि आवेदन दिएका आवेदकहरूको संक्षिप्त सूची सार्वजनिक गरेको छ । इच्छुक १२ आवेदकमध्येबाट तोकिएको योग्यताका आधारमा ७ जनालाई छोटो सूचीमा पारिएको हो ।

उक्त सूचीमा पर्नेहरूमा रामजी भण्डारी, केदारराज सिलवाल, जितेन्द्र चौधरी, महेन्द्र पौडेल, रोशन अग्रवाल, रोहिणी पौडेल र सागर श्रेष्ठ रहेका छन् । यीमध्ये एक जना प्राधिकरणका अवकाश प्राप्त उच्च कर्मचारी तथा तीन जना बहालवाला हुन् । छोटो सूचीमा पर्नेहरूको प्रस्तुतिकरण चैत १४ गतेदेखि १६ गतेसम्म निर्धारण गरिएको छ । त्यस्तै, अन्तर्वार्ता भने चैत १७ र १८ गतेका लागि तय गरिएको आरपिजिसिएलले जनाएको छ ।

यसअघिका सिइओ डा. नेत्रप्रसाद ज्ञवालीको पदावधि गत माघ १४ गते सकिएपछि पद रिक्त भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तत्कालका लागि मन्त्रालयकै सहसचिव सागरराज गौतमलाई उक्त पदको जिम्मेवारी दिएर पठाएको छ । आरपिजिसिएलले माघ २८ गते पदपूर्तिका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको थियो ।

छोटो सूचीमा परेका ७ आवेदक को हुन् ?

रामजी भण्डारी : भण्डारी प्राधिकरणको उपकार्यकारी निर्देशकको जिम्मेवारीबाट अवकाश प्राप्त व्यक्ति हुन् । गत माघ ११ गते अवकाश भएका उनले करिब ३ दशक प्राधिकरणका विभिन्न कार्यालय, वितरण केन्द्र, क्षेत्रीय कार्यालय र निर्देशनालयमा रहेर कुशलता पूर्वक जिम्मेवारी सम्हालेका थिए । अवकाशअघि उनी इन्जिनियरिङ निर्देशनालयको जिम्मेवारीमा थिए ।

नेपाल टेलिकमबाट सरकारी सेवा सुरु गरेका भण्डारीले २०५४ साल कात्तिकमा प्राधिकरणको इन्जिनियर भएर प्रवेश गरेका थिए । सेवाको सुरुमा पोखरा क्षेत्रीय कार्यालयअन्तर्गत विभिन्न वितरण केन्द्रमा रहेर जिम्मेवारी सम्हालेका थिए । यस क्षेत्रीय कार्यालयमा २ पटकसम्म प्रमुखको जिम्मेवारी सम्हालेका उनले २०४९ सालमा कोलम्बो प्लानअन्तर्गत भारत सरकारले प्रदान गर्ने छात्रवृतिमा अलिगढ मुस्लिम विश्वविद्यालयबाट चार वर्षे ‘ब्याचलर इन इलेक्ट्रिकल इन्जिनियरिङ (बिई) गरेका छन् ।

२०६६ सालमा आन्तरिक प्रतिस्पर्धाबाट नवौँ तहमा बढुवा भएका भण्डारीले राहुघाट जलविद्युत् आयोजनाको सुरु चरणको काम गरेका थिए । सोही वर्ष खुला प्रतिस्पर्धाबाटै दशौँ तहमा नाम निकाल्न सफल भएपछि उनले सिँगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनमा आयोजनाको प्रमुख भएर जिम्मेवारी निर्वाह गरे । यसबीच उनी पोखरा क्षेत्रीय कार्यालयको प्रमुख (क्षेत्रीय निर्देशक), सामुदायिक विद्युतीकरण विभाग, ऊर्जा दक्षता विभाग र योजना विभागमा रहेरसमेत जिम्मेवारी निर्वाह गरे । उत्पादनबाहेक सबै विभागमा काम गरेका भण्डारी उपकार्यकारी निर्देशकको ५ वर्षे सेवाको नियमानुसार निवृत्त भएका हुन् ।

केदारराज सिलवाल : सिलवाल हाल प्राधिकरणको प्रसारण निर्देशनालयअन्तर्गत मध्यम भोल्टेज ग्रिड विकास विभागको निर्देशक (११औँ तह) को जिम्मेवारीमा छन् । इन्जिनियर पद (७औँ तह) बाट २०६५ सालमा प्राधिकरण सेवामा प्रवेश गरेका उनले २०५८ सालमा भारतको आसाम युनिभर्सिटी रिजनल इन्जिनियरिङ कलेजबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बिई तथा काठमाडौँ विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा एमई गरेका छन् । उनीसँग काठमाडौँ विश्वविद्यालयअन्तर्गत नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा ५ वर्ष अध्यापन गरेको अनुभवसमेत छ ।

उत्पादन विभागअन्तर्गत सुनकोसी जलविद्युत् केन्द्रको इन्जिनियर भएर सेवा प्रवेश गरेका सिलवालले ८औँ तहमा बढुवा भएपछि वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत ३३ केभी प्रसारण लाइन आयोजनाहरूमा काम गरे । २०६९ सालमा ९औँ तहको बढुवापछि २०७६ सालसम्म विभिन्न प्रसारण लाइन आयोजनाहरूको प्रमुखको जिम्मेवारी रहे । उनकै नेतृत्वमा चिलिमे–त्रिशूली २२० केभी, हेटौँडा–कुलेखानी–स्युचाटार १३२ केभी, रामेछाप–गज्र्याङ–खिम्ती १३२ केभी जस्ता प्रसारण लाइन निर्माण भएका थिए ।

१०औँ तहमा बढुवा भएपछि प्रदेश डिभिजन कार्यालय हेटौँडा, आयोजना व्यवस्थापन निर्देशनालय, गण्डकी प्रादेशिक कार्यालय पोखराको प्रमुख लगायत विभागमा प्रमुख भएर जिम्मेवारी सम्हालेको अनुभव छ । ११औँ तहमा बढुवाभएपछि भने एक वर्षभन्दा बढी समयदेखि उनी प्रसारण निर्देशनालयअन्तर्गत मध्यम भोल्टेज ग्रिड विकास विभागको निर्देशकको जिम्मेवारीमा छन् । 

जितेन्द्र चौधरी : चौधरी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्रध्यापनरत व्यक्ति अर्थात् एसोसिएट प्राध्यापक हुन् ।

रोहिणी पौडेल : पुल्चोक क्याम्पसबाटै इन्जिनियरिङ पूरा गरेका पौडेल प्राधिकरण ९औँ तहका कर्मचारी हुन् । हाल उनी वानेश्वर वितरण केन्द्रको प्रमुखको जिम्मेवारीमा छन् ।

रोशन अग्रवाल : अग्रवालले पनि पुल्चोक क्याम्पसकै इन्जिनियरिङसम्मको अध्ययन गरेका छन् । हाल उनी प्राधिकरणले निर्माण गरिरहेको डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाको मुख्य जिम्मेवारीमा छन् ।

सागर श्रेष्ठ : पुल्चोक क्याम्पसकै उत्पादन श्रेष्ठ हाल जनकपुर इन्जिनियरिङ कलेजका प्रिन्सिपल हुन् ।

महेन्द्र पौडेल : इलेक्ट्रिकल इन्जिनियर पौडेल निजी क्षेत्रका विभिन्न संघ संस्थामा कार्यरत छन् ।

कसले थेग्ला ज्ञवालीको विरासत ?

आरपिजिसिएलको स्थापनाकालदेखि नै त्यसको व्यावसायिक जग हाल्ने काम यसअघिका सिइओ ज्ञवालीले गरे । पहिलो ४ वर्षको कार्यकाल पूरा गरेपछि उनी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका थिए । प्रध्यापन क्षेत्र (पुल्चोक इन्जिनियरिङ क्याम्पस) बाट आए पनि कार्यकुशलता, मन्त्रालय तथा सरोकारवाला निकायसँग समन्वय गर्ने तथा निर्णय क्षमता र कर्मचारीमैत्री व्यवहारले उनले संस्थालाई एक तहको उचाइमा पुर्‍याएका छन् ।

प्राधिकरणको प्रसारण संरचना यही कम्पनीमा गाभ्ने उद्देश्यसहित समग्र क्षेत्रको विकास गर्ने गरी स्थापित संस्था उल्टो प्राधिकरणभित्र विलय गराउन दबाब दिइएको थियो । उनले यसमा कडा अडान लिएर प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत वैठकमा उपस्थित गराएर महत्वपूर्ण निर्णय गराउन सफल हुँदै आएका थिए । तालुक मन्त्रालयमा जस्तोसकुै वातावरण भए पनि सचिव, सहसचिव लगायत अधिकारीलाई विश्वासमा लिएर उनको काम गर्ने शैलीको धेरै चर्चा गर्ने गरेका छन् ।

वन वा वातावरणका समस्या हुन् वा प्रशासनिक झन्झट, यस्ता काम फत्ते गर्न तालुक मन्त्रालय, अर्थ मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयसम्म समन्वय गरेर काम गर्दै आएका थिए । कार्यकालको उत्तरार्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले समेत उनको कामको प्रशंसा गरेका थिए । गएका दुई वर्षमा मन्त्रालयबाट हुन नसकेको काम आफूले ६ महिनामा गराउन सफल भएको पनि उनले अनुभव सुनाए ।

सार्वजनिक निजी–साझेदारी (पिपिपी) मोडलका आधारमा प्रसारण लाइन विकासमा निजी क्षेत्रलाई सहभागी गराउन ज्ञवाली सफल भए । पछिल्लो ६ महिनामा उनले करिब आधा दर्जन प्रसारण लाइन सोही मोडेलमा विकास गर्ने गरी निजी जलविद्युत् प्रावद्र्धकसँग सम्झौता गराए । कर्णाली तथा भेरी कोरिडोर र बझाङदेखि अत्तरियासम्मको ४ सय केभी प्रसारण लाइन निर्माणलाई पनि उनले अगाडि बढाएका छन् । अबको नेतृत्वले यी काम पूरा गर्दै संस्थालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने चुनौती छ ।

ज्ञवालीले शून्यबाट एउटा व्यावसायिक तहसम्म पुर्‍याएको संस्थामा त्यसलाई निरन्तरता दिन सक्ने योग्य व्यक्तिको खाँचो देखिन्छ । उल्लिखित व्यक्तिहरूमध्ये यो भार थेग्न सक्ने अनुहार अध्ययन, अनुभव र विज्ञताका आधारमा समेत रामजी भण्डारी हुन सक्ने देखिन्छ । सिलवाल प्राधिकरणभित्रै कार्यरत रहेको तथा अन्य आवेदकहरू भण्डारीको तुलनामा अनुभवसिद्ध नदेखिएकोले पनि उनले प्रतिस्पर्धा जित्न सक्ने अनुमान गर्न सकिन्छ ।

उता, जनकपुर इन्जिनियरिङ कलेजका प्रिन्सिपल सागर श्रेष्ठलाई नेपाली काँग्रेस निकट इन्जिनियरहरूले आरपिजिसिएलको प्रमुखका लागि लबिङ गरिरहेको स्रोतको दाबी छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकट इन्जिनियरहरूले उनीबाटै मन्त्री खड्कालाई दबाब दिएर श्रेष्ठलाई ल्याउने तयारी भइरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । श्रेष्ठमात्र होइन, यस्ता काँचा र अनुभवहीन इन्जिनियरलाई ल्याइए यो संस्थाको हालसम्म बनेको गरिमा त भत्किने नै छ, त्यसमाथि प्राधिकरणमा बिलय हुने खतरा पनि देखिन्छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका सिइओ ज्ञवालीको पदावधि सकियो, पदपूर्तिका लागि दरखास्त आह्वान

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३