चितवन । पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै गर्मीमा माग बढेको भन्दै ६ घण्टा विद्युत अनियमित हुने तालिका सार्वजनिक गरेको हो ।
चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत अवरुद्ध हुनेछ । अत्याधिक गर्मी र रोपाइँको समयमा अकासे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो ।
उनका अनुसार १३२÷३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा ३ सय एम्पिएरभन्दा बढी विद्युत प्रवाह गर्न नमिल्ने तर लोड ४ सय ५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भन्दै आज एक दिनका लागि तालिका सार्वजनिक गरिएको हो ।
उनले एक हप्ताभित्र विद्युत लोड व्यवस्थापनमा आएको समस्या समाधन गरिने बताए । वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा विद्युत आपूर्ति अवरुद्ध हुनेछ ।
विद्युत माग बढेर ३३ केभी डगकन्डक्टर तारमा ४ सय ५० एम्पिएरसम्म विद्युत प्रवाह हुँदा लोड धान्न नसकेको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले जानकारी दिए ।
दीर्घकालीन समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षमा नै बर्सेनी सबस्टेशनबाट विद्युत आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको उनको भनाइ छ। तालिकाअनुसार नारायणी–माडी फिडरहरूमा बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।
मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुनेछ । यस्तै जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ देखि ३ र बेलुका ९ देखि १२ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ ।