काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि छोटो सूची (सर्ट लिष्ट) मा परेका आवेदकहरूको प्रस्तुति र अन्तर्वार्ताको समय तोकिएको छ । कूल आवेदक (६ जना) मध्ये महिला आवेदक उषा खतिवडाको योग्यता नपुगी सूचीबाट बाहिरिएको हुँदा बाँकीको प्रस्तुतिकरण अन्तर्वार्ता हुने भएको हो ।
५ आवेदकहरूमा अरुण रजौरिया, वासुदेव भण्डारी, प्रजेशविक्रम थापा, लक्ष्मण पौडेल र विजयकुमार श्रेष्ठ रहेका छन् । प्रतिस्पर्धा अन्तर्गत प्रत्येक उम्मेद्वारले एचआइडिसिएलको आगामी विकास र विस्तारका लागि भावी योजनासहित प्रस्तुतिकरण र अन्तर्वार्ता दिनुपर्ने प्रावधान रहेको छ । कम्पनीका अनुसार प्रस्तुतिकरणका लागि यही जेठ ८ र ९ गते तथा अन्तर्वार्ताका लागि ११ र १२ गतेको मिति तोकिएको छ ।
अरुण रजौरियाः हाल एचआइडिसिएलमै नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका उनले नर्वेबाट जलविद्युत्मा एमएस्सी (स्नातकोत्तर स्वर्णपदक) गरेका छन् । उनले यस क्षेत्रमा करिब २७ वर्षदेखि सक्रियरूपमा काम गर्दै आएका छन् । १० वर्षदेखि कम्पनीको दोस्रो वरियतामा कार्यरत उनी नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) का अध्यक्षसमेत हुन् ।
पेशागत हिसाबले उनीसँग झन्डै डेढ दशक निजी क्षेत्रका जलविद्युत् आयोजनामा काम गरेको अनुभव छ । निजी क्षेत्र तथा सरकारी संस्थाको कार्यानुभवसँगै पछिल्लो समय व्यवस्थापकीय जिम्मेवारीमा समेत उनले आफूलाई निपुण गराउँदै ल्याएका छन् ।
इन्जिनियरिङमा अति विशिष्ट प्रथम श्रेणीसहित स्वर्ण पदक प्राप्त (भारत सरकारको कोलम्बो प्लान छात्रवृति) उनले नर्वे सरकारको कोटामा छात्रवृति अन्तर्गत नर्वेजियन युनिभर्सिटीबाट जलविद्युत्मा स्नातकोत्तर (मास्टर इन टेक्नोलोजी- हाइड्रोपावर) मा पनि स्वर्णपदक प्राप्त गरेका छन् ।
प्रजेशविक्रम थापाः मेकानिकल इन्जिनियर तथा एमबिए (स्नातकोत्तर) सम्मको अध्ययन गरेका उनले जलविद्युत् विकासअन्तर्गत अध्ययन, डिजाइन, निर्माणलगायत क्षेत्रमा २५ वर्ष लामो अनुभव हासिल गरेका छन् । उनी नेपाल विद्युत् प्राधिकरणको सहायक सान्जेन जलविद्युत् कम्पनीमा लामो समय काम गरी चिलिमे इन्जिनियरिङ कम्पनी लिमिटेड (चेस्को) मा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएका हुन् ।
नेपालको औद्योगिक विकासका प्रणेता एवम् नेपाल आयल निगम र गोरखकाली रबर उद्योगका संस्थापक सुवर्णविक्रम थापाका सुपुत्र प्रजेश जलविद्युत् विकासका क्षेत्रमा कुशल, इमानदार र क्षमतावान व्यक्तिका रूपमा परिचित छन् । उनी विगत ७ वर्षदेखि चेस्कोको प्रमुखको जिम्मेवारीमा छन् । उनले अमेरिकाको हार्वर्ड ल स्कुलबाट लिडरसिप (नेतृत्वकला) को तालिमसमेत लिएका छन् ।
वासुदेव भण्डारीः साढे ७ वर्षदेखि एचआइडिसिएलको विभागीय प्रमुख अर्थात् मुख्य प्रबन्धक (१० तह) को जिम्मेवारीमा रहेका भण्डारीसँग १५ वर्षे पेशागत अनुभव छ । सिभिल इन्जिनियरिङमा स्नातक (ब्याचलर) गरेका उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट जलस्रोत व्यवस्थापनमा एमएस्सी (स्नातकोत्तर) सम्मको अध्ययन पूरा गरेका छन् ।
हाइड्रो कन्सल्ट इन्जिनियरिङमा करिब ९ वर्ष जलविद्युत् आयोजनाको डिजाइन र निर्माण व्यवस्थापनमा रही काम गरेको उनले इलाम जिल्लास्थित २ जलविद्युत् आयोजनामा (१० र ६ मेगावा६) आवासीय इन्जिनियरको रूपमा काम गरेका थिए ।
इन्जिनियरङ कलेजहरूमा जलविद्युत् सम्बन्धी विषयको अध्यापन गर्नुका साथै उनीसँग पाल्पा जिल्लामा वैदेशिक निकायको सहयोगमा सञ्चालित खानेपानी सम्बन्धी विभिन्न आयोजनामा करिब ५ वर्ष ओभरसियरको रूपमा काम गरेकाे अनुभवसमेत छ ।
विजयकुमार श्रेष्ठः २० वर्षको लामो अनुभव हासिल गरेका उनी कर्मचारी सञ्चय कोषको मुख्य प्रबन्धक (१० तह) को जिम्मेवारीमा कार्यरत छन् ।
लक्ष्मण पौडेलः नेपाल बैंक लिमिटेडको असिस्टेन्ट सिइओ भई काम गरिसकेका पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् ।
सिइओका लागि योग्यता
सिइओमा नियुक्तिका लागि चैत १५ गते १५ दिनको समय दिएर योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरिएको थियो । आवेदन दिने अन्तिम दिन चैत २९ गतेसम्म ६ जनाको आवेदन परेको थियो । कम्पनीका सिइओ अर्जुनकुमार गौतमको कार्यकाल सकिएकोले नयाँ सिइओ नियुक्तिको प्रक्रिया सुरु गरिएको हो ।
उक्त पदका लागि जनप्रशासन, व्यवस्थापन, व्यापार, वित्त, अर्थशास्त्र, इन्जिनियरिङ, कानुनमा वाणिज्य, कम्पनी कानुनमध्ये कुनै पनि विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेको र बैंक, वित्तीय, कोष व्यवस्थान, इन्जिनियरिङमध्ये कुनै पनि क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय, वरिष्ठ प्रबन्धक, नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा ७ वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।
त्यस्तै, प्रथम श्रेणीमा स्नातक गरी चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्थाबाट सदस्यता प्राप्त गरेको र अधिकृत स्तरको पदमा चार्टर्ड एन्काउन्टेन्टको काम गरेको १० वर्षको अनुभव भएको आवेदकसमेत उक्त पदका लागि योग्य मानिएको छ ।