विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन २२० केभी बाह्रबिसे सबस्टेसनको ठेक्का पाएको चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्मिेटम दिएको छ । कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माणले गति लिन नसकेपछि प्राधिकरणले चीनको ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्स कम्पनीलाई सुधार गर्न ४ महिनाको अल्टिमेटम दिएको हो ।

ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनकै कारण सबस्टेसनको निर्माण कछुवा गतिमा अघि बढेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेसहितको  टोलीले बाह्रबिसे सबस्टेसन निर्माणस्थलको निरीक्षण गरी ४ महिनाभित्रमा काममा सुधार नदेखिए ठेक्का तोड्ने चेतावनी दिएको छ । 

सबस्टेसनको निर्माण २ वर्षअघिको अवस्थाबाट अघि बढ्न नसकेकाले समय सीमा तोकेर कार्यसम्पादन सुधार गर्न निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘सबस्टेसनको स्थलगत निरीक्षण गर्दा उल्लेख्य प्रगति भएको देखिँदैन,’ उनले भने, ‘अब ४ महिनासम्म हेर्ने गरी उसलाई कार्यसम्पादन सुधार गर्न भनेका छौं । यो अवधिमा पनि सुधार गरेन भने ठेक्का तोड्ने विकल्पमा प्राधिकरण पुग्छ ।’

उनले ४ महिनामा कार्यसम्पादनमा सुधार नगरे ठेक्का तोडेर सम्झौताअनुसारको कारबाही प्रक्रिया  अघि बढाउने पनि घिसिङले बताए । ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समयमा काम गर्न नसकिएको र अहिले कामले गति लिँदै गएकाले क्रमिक सुधार भइरहेको दाबी गरेका छन् ।

उनीहरूले ४ महिनामा सबस्टेसनको कामको राम्रो प्रगति हुने आश्वासन समेत दिए । ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भई नयाँ टिम आएकोले अहिले काममा केही प्रगति देखिएको उनीहरूको भनाइ छ ।

कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरु ल्याइसकेको छ । ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । २२०/१३२ केभी सबस्टेसनमा १६० एमभिए र १३२/११ केभी सबस्टेसनमा ५ एमभिएका पावर ट्रान्सफर्मरहरू रहने छन् । 

बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे ४ किलोमिटर सडक जीर्ण रहेकोले निर्माणस्थलमा सबस्टेसनमा जडान हुने उपकरण तथा निर्माण सामाग्री ढुवानीका लागि समस्या देखिएको छ । बागमती प्रदेश सरकारको लगानीमा बन्न लागेको सडकको निर्माण अलपत्र अवस्थामा रहेको हुँदा यसको असर सबस्टेसनको काममा पनि देखिएको हो ।  

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत बाह्रबिसे यही निर्माणाधीन सबस्टेसनमा जोडिनेछ । 

यसैगरी, रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसै हुँदै काठमाडौंको लप्सीफेदीसम्म आउने ४०० केभी डबल सर्किट तामाकोसी–काठमाडौं प्रसारण लाइन पनि अहिले निर्माणाधीन छ । प्रसारण लाइनअन्तर्गत न्यू खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११५ वटा टावरमध्ये ३५ वटा टावरको जग हालिएको छ भने ६ वटा उठाइएको छ । ४४ किलोमिटर यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ । 

यो लाइन बनाउन पनि बाह्रबिस सबस्टेसनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो ।  त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डरमा भारतीय कम्पनी  केइसी इन्टरनेशनल छनोट भएको थियो ।  

बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये ९८ वटाको जग हालिएको छ भने ७८ वटा खडा गरिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधलगायतका कारणले निर्माण प्रभावित भएको छ । भारतीय कम्पनी लार्सन एण्ड टर्वो (एलएण्डटी)ले ठेक्का पाएको यस  खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ । लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । यस खण्डको निर्माण ठेक्का पनि एलएण्डटीले नै पाएको छ ।

खिम्ती, तामाकोसी र भोटेकोसी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकासम्म ल्याउन तामाकोसी–काठमाडौं उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । 

प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यू खिम्ती, बाह्रबिसे र काठमाडौंको लप्सीफेदीमा ४०० केभी उच्च क्षमताको सबस्टेसन पनि निर्माण गरिरहेको छ ।   एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको हो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit