विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नेपालमा ऊर्जा विकासको सन्दर्भमा हामी ८३,००० मेगावाट जलविद्युत् तथा अपार सौर्य ऊर्जाको सम्भाव्यता र हाइड्रोजनको भविष्यबारे कुरा गर्छौँ । यथार्थमा आज पनि देशमा कुल ऊर्जा खपतको ६८ प्रतिशत परम्परागत जैविक स्रोतबाट प्राप्त ऊर्जाको उपयोग भइरहेको छ । आधुनिक ऊर्जा खपतको हिस्सा जम्मा ३२ प्रतिशत छ । ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने सपना देखेको देशलाई यो तस्वीरले गम्भीर प्रश्‍न उठाउँछ– के हाम्रो नीति सपनाको तहमा पुगेको हो ?

सरकारले सन् २०३६/३७ सम्म २४,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । यो महत्वकांक्षी भए पनि सही छ तर उत्पादन लक्ष्य लिएर मात्रै पुग्दैन । आयोजना निर्माण गरी विद्युत् उत्पादन गर्न सकिने भए पनि प्रसारण पूर्वाधार पर्याप्त छैन । अनुमति लिन दर्जनौँ सरकारी निकाय धाउनुपर्छ । लगानीकर्ता आउँछन्, अल्मलिन्छन् र फर्कन्छन् । यी समस्या समाधान नगरी २४,५०० मेगावाट कागजमै सिमित रहन्छ ।

छरिएको ऊर्जा नीति

नेपालसँग जलविद्युत् नीति र ग्रामीण ऊर्जा नीति छ । वैकल्पिक ऊर्जाको कार्यविधि पनि छ तर यी सबैलाई एउटै धागोले उनेको एकीकृत ऊर्जा नीति छैन । संघीय सरकारका ऊर्जा, वन र अर्थ मन्त्रालय, स्थानीय सरकार जस्ता प्रत्येक निकाय आ–आफ्नै सुरताल र लयमा चलिरहेका छन् ।

श्रीलंका र रुवाण्डाले एकीकृत ऊर्जा नीति ल्याएपछि लगानी र कार्यान्वयन दुवैमा उल्लेख्य सुधार गरेका छन् । नेपालले पनि अब त्यस्तै एउटा नीति ल्याउनुपर्छ, जसले सन् २०३५ सम्ममा बायोमासमाथिको निर्भरता ४० प्रतिशतमा झार्ने र खाना पकाउनमा ७० प्रतिशत विद्युतीकरण गर्ने बाध्यकारी लक्ष्य समेट्छ ।

एकद्वार नीति र नेइकाको आवश्यकता

५० मेगावाटमाथिको विद्युत् आयोजना निर्माण गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, लगानी बोर्ड र स्थानीय सरकार सबैको ढोका ढक्ढक्याउनुपर्छ । ती सबैसँग समन्वय गर्नुपर्ने कानुनी बाध्यताले लगानीकर्ता बहुनिकाय समन्वयको भुलभुलैयामा अल्झन्छन् र निराश हुन्छन् ।

यो झण्झटबाट मुक्त हुन एउटा यस्तो एकद्वार संयन्त्र स्थापना गर्नु आवश्यक छ, जसले १८० दिनभित्र अनुमति दिने कानूनी दायित्व पूरा गर्न सकोस् । त्यो भनेको प्रधानमन्त्री कार्यालय अन्तर्गत ‘नेपाल लगानी तथा समन्वय प्राधिकरण (Nepal Energy Investment and Coordination Authority, NEICA) को स्थापना हो । साथै, ‘फिच रेटिङ’, ‘एस एण्ड पि ग्लोबल रेटिङ’, ‘मुडिज रेटिङ्ग’जस्ता अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीहरूसँग समन्वय गरी नेपालको ऊर्जा क्षेत्रमा लगानी सुरक्षित र विश्वसनीय रहेको सन्देश दिन सकिन्छ, जसले विदेशी लगानीकर्ताको आत्मविश्वास बढाउनुका साथै लगानी लागत पनि घटाउन मद्दत पुर्‍याउने छ ।

एक पालिका, एक मेगावाट

राष्ट्रिय योजना आयोगको ‘नेपालमा स्वच्छ ऊर्जाको सर्वव्यापी पहुँचका लागि सबैका लागि दिगो वितरित/विकेन्द्रीकृत ऊर्जा  उत्पादन तथा ग्रिड पहुँच '(Universalizing Clean Energy in Nepal : A Plan for Sustainable Distributed Generation and Grid Access to All, SUDIGGAA)सम्बन्धी अध्ययनले ७५३ पालिकामा ५०० किलोवाट वा सोभन्दा बढीको वितरित/विकेन्द्रीकृत ऊर्जा उत्पादनका लागि सम्भाव्य स्थानको पहिचान गरेको छ । जसमध्ये २२१ पालिकामा प्रतिपालिका १ मेगावाट जलविद्युत् आयोजना, ४८१ पालिकामा प्रतिपालिका १ मेगावाट सौर्य ऊर्जा, ५० पालिकामा बायोमास विद्युतीकरण आयोजना र १ पालिकामा वायु ऊर्जाको सम्भाव्यता औँल्याइएको छ । साथै, प्रत्येक आयोजनामा ‘ब्याट्री इनर्जी स्टोरेज सिस्टम’ एकीकृत गर्दा ऊर्जा आपूर्तिमा निरन्तरता र विश्वसनीयता उल्लेख्य रूपमा बढ्ने एवम् ग्रीडको स्थायित्व सुनिश्चित हुने समेत अध्ययनको निष्कर्ष छ ।

वितरित उत्पादनले भोल्टेज सुधार गर्छ, ‘लाइन लस’ घटाउँछ, स्थानीय सरकारलाई राजश्व दिन्छ र भूकम्प, बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोपका बेला विद्युत् आपूर्तिलाई भरोसायोग्य बनाउँछ । यस्ता आयोजना सरकार आफैँले नबनाई निजी क्षेत्र र पालिकाको साझेदारीमा बनाउनुपर्छ । यो दृष्टिकोणले ऊर्जा सुरक्षालाई केन्द्रबाट नभई स्थानीय तहदेखि निर्माण गर्ने दृष्टिकोण अर्थात् ‘बटम अप एप्रोच’को आधार तयार गर्नेछ जसले उत्पादन विविधिकरणसँगै भौगोलिक सन्तुलन पनि सुनिश्चित गर्नेछ । अन्ततः यसले राष्ट्रिय ऊर्जा सुरक्षाको दीर्घकालीन दृष्टिकोणलाई सुदृढ बनाउँदै नेपाललाई ऊर्जा–आत्मनिर्भर र ऊर्जा–सुरक्षित राष्ट्रतर्फ अघि बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने छ ।

कानुनी बाधा

सौर्य ऊर्जा विकासमा रहेको नीतिगत अवरोध हटाउन आवश्यक छ । वर्तमान कानुनी व्यवस्थाले कृषियोग्य जमिनमा सौर्य परियोजना स्थापना गर्न रोक लगाएको छ । तराई क्षेत्र सौर्य विकीरण (सोलार रेडिएसन) का दृष्टिले अत्यन्त उपयुक्त भए तापनि त्यस क्षेत्रमा सौर्य ऊर्जाको विकास अवरुद्ध हुने अवस्था छ ।

व्यवहारिक रूपमा जग्गाको उपयोग ऊर्जा उत्पादन वा कृषि सम्बन्धी निर्णय जग्गाधनीलाई नै दिनु उपयुक्त हुन्छ, राज्यद्वारा पूर्ण रूपमा प्रतिबन्धित गर्नु हुँदैन । साथै खोलाका बगर जस्ता सरकारी बाँझो जमिन पहिचान गरी सम्भाव्य लागत परिपूरण (भायबिलिटी ग्याप फण्डिङ– भिजिएफ), सहित टेण्डर मार्फत आयोजना विकास गर्न सकिने स्पष्ट नीति आवश्यक छ । हाल १० मेगावाटसम्म मात्र लागु हुने वातावरणीय प्रभाव मूल्याङ्‌कन (इआइए) सीमा जलविद्युत् सरह अर्थात् ५० मेगावाटसम्म विस्तार गर्नु आवश्यक छ । यस किसिमको सुधारले परियोजना विकास समय १२ देखि १८ महिनासम्म घटाउन सकिने छ ।

समग्रमा सौर्य ऊर्जा नेपालमा जलविद्युत्ंको पूरक मात्र नभई ऊर्जा सम्मिश्रणको महत्त्वपूर्ण हिस्सा बन्दै गएको छ । यसको प्रतियुनिट लागत पनि जलविद्युत्ंसँग प्रतिष्पर्धी हुँदै गएको अवस्थामा यस्ता नीतिगत अवरोध हटाउनु ऊर्जा रूपान्तरणका लागि अत्यावश्यक छ ।

अनुदान र निजी क्षेत्रको भूमिका

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लागु गर्दै आएको नवीकरणीय ऊर्जा अनुदान नीति प्रारम्भिक बजार विकासका लागि उपयोगी सिद्ध भए पनि हाल बजार परिपक्व भइसकेको अवस्था छ । निजी क्षेत्र सक्रिय छ, आपूर्ति श्रृङ्‍खला स्थापित छ । नवीकरणीय ऊर्जा प्रविधिहरू व्यावसायिक रूपमा प्रतिस्पर्धी भइसकेका छन् । यस्तो अवस्थामा अग्रिम (अपफ्रन्ट) अनुदान प्रणालीले निजी लगानीलाई विस्थापित गर्ने जोखिम बढाउँछ । तसर्थ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान ढाँचालाई क्रमशः नतिजामा आधारित लगानी (रिजल्ट बेस्ड फाइनान्सिङ–आरबिएफ) तर्फ रूपान्तरण गर्नु आवश्यक छ । 

आरबिएफको मुख्य उद्देश्य निजी क्षेत्रले पहिचान गरेका जोखिमहरू (जस्तै, माग जोखिम, महसुल भुक्तानी नहुने (ट्यारिफ डिफल्ट) जोखिम, अफग्रिड क्षेत्रमा ग्रिड विस्तारपछि हुने जोखिम) लाई न्यूनीकरण गर्नु हो । अग्रिम अनुदान होइन वास्तविक परिमाण (नतिजा) का आधारमा मात्र भुक्तानी गर्ने व्यवस्था लागु गर्नु हो । साथै, नीजी क्षेत्रलाई उपकरण आपूर्तिकर्ता (भेण्डर) को रूपमा होइन, ऊर्जा परयोजनाको रूपमा स्थापित गर्नुपर्छ । यसले उनीहरूलाई परियोजनाको डिजाइन, निर्माण, सञ्चालन तथा दीर्घकालीन रूपमा सञ्चालनका लागि जिम्मेवार महसुस गराउँछ ।

रुफटप सौर्य र लघुजलविद्युत्

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सन् २०१६ को अध्ययनले काठमाडौँ, पोखरा र विराटनगर तीन सहरमा मात्रै २ हजार ६०० मेगावाटभन्दा बढी रुफटप सौर्य क्षमता रहेको पुष्टि गरेको छ ।औद्योगिक कोरिडोर क्षेत्रका ठूला छतमा अनिवार्य रुफटप सौर्य राख्‍ने व्यवस्था र नेट मिटरिङलाई व्यवहारिक बनाउने नीतिले सरकारी अनुदानबिनै ठूलो क्षमता थप्न सकिन्छ । साथै, राष्ट्रिय स्रोतहरूको प्रभावकारी उपयोग सुनिश्चित हुन्छ ।

अर्कोतर्फ, नेपालमा २ हजारभन्दा बढी लघुजलविद्युत् आयोजना छन्, जसले करिब ३ लाख ५० हजार घरधुरीमा विद्युत् दिइरहेका छन् तर राष्ट्रिय प्रसारण लाइन पुगेपछि ती आयोजना बन्द हुने अवस्थामा छन् । यसले राष्ट्रिय लगानी र स्थानीय ऊर्जा पूर्वाधार दुवैको उपयोग घटाउने जोखिम सिर्जना गर्छ । यसलाई रोक्न निजी क्षेत्रका लागि स्पष्ट ढाँचा तयार गरी क्लष्टर दृष्टिकोण अपनाएर र सामुदायिक राजश्व बाँडफाँटसहित सरलीकृत विद्युत् खरिद सम्झौता (पिपिए) दर तथा ग्रिडमा आबद्ध गर्ने प्रक्रिया लागु गर्न सकिन्छ । यसरी यी आयोजनालाई राष्ट्रिय ग्रिडमा एकीकृत गर्दा राष्ट्रिय स्रोत त्यतिकै खेर जाने अवस्था रोकिन्छ । ऊर्जाको अधिकतम उपयोग पनि सुनिश्चित हुन्छ ।

हतार नगरौँ, योजना बनाऔँ

नेपालमा यदि २० प्रतिशत घरधुरीले इन्डक्सन चुलो प्रयोग गर्ने हो भने राष्ट्रिय ग्रिडमा करिब १ हजार १०० मेगावाटसम्म अतिरिक्त उच्च (पिक) माग थपिन्छ । यद्यपि, खाना पकाउने लोडको लोड फ्याक्टर अत्यन्तै कम हुने भएकाले यो ‘युटिलिटी’का लागि आर्थिक रूपमा आकर्षक देखिँदैन किनकी २४ घण्टामा सीमित घण्टामात्र उपयोग हुने भए पनि बिहान र साँझको पिक (उच्च) माग धान्न कन्डक्टर, सबस्टेसन, ट्रान्सफर्मर लगायत वितरण पूर्वाधारको ठूलो स्तरोन्नति आवश्यक पर्छ । यस्तो उच्च लगानी आवश्यक भए पनि उपयोग कम हुने भएकाले यो व्यावसायिक रूपमा आकर्षक देखिँदैन । साथै प्रणाली विस्तारको लागत समेत उल्लेख्य रूपमा बढाउँछ ।यसको समाधानका लागि ‘टाइम अफ युज’ महसुल नीति लागु गर्नु आवश्यक छ । यसले लोड व्यवस्थापनमा सुधार ल्याउनुका साथै पूर्वाधार विस्तारलाई क्रमिक रूपमा अगाडि बढाउन सहयोग पुर्‍याउने छ ।

हरित हाइड्रोजन र मलखाद

पछिल्ला केही वर्षमा हरित हाइड्रोजनको चर्चा बढेको छ तर ‘हाइड्रोजन ल्याडर’को अन्तर्राष्ट्रिय विश्लेषण भन्छ, ‘हाल आर्थिक एवम् व्यावहारिक रूपमा एक मात्र प्रयोग हो– औद्योगिक फिडस्टक विशेष गरी एमोनियाबाट मलखाद उत्पादन ।’ नेपालले सबै रासायनिक मल आयात गर्छ । मल आयात प्रतिस्थापन गर्न हाइड्रोजनको उपयोग खाद्य सुरक्षाको दृष्टिले सही छ । सवारी साधान र खाना पकाउनका लागि भान्सामा हाइड्रोजनको प्रयोग हालसम्म व्यवहारिक भइसकेको छैन । यसका लागि ब्याट्री इलेक्ट्रिक र इन्डक्सन पहिले नै सस्तो र प्रभावकारी बनिसकेका छन् ।

नीतिगत खाँचो 

उल्लिखित सुधारका विषय नयाँ अवधारणा होइनन्, यी वर्षौँदेखि नेपालको ऊर्जा बहसका हिस्सा हुन् । फरक केवल यत्ति हो कि अब ढिलाई गर्नका लागि समय बाँकी छैन । नेपालसँग प्रचुर जलस्रोत एवम् सौर्य सम्भावना, घट्दो प्रविधि लागत र लगानीकर्ताको स्पष्ट रुचि सबै उपलब्ध छन् । कमी भनेको केवल स्पष्ट नीति, संस्थागत समन्वय र कार्यान्वयनको दृढताको हो ।

भारत, चीन, बंगलादेश जस्ता देशहरू नवीकरणीय ऊर्जा रूपान्तरणमा तीव्र गतिमा अघि बढिरहेका छन्, जसले क्षेत्रीय ऊर्जा भविष्यको दिशा निर्धारण गर्ने छ । नेपाल अझै पनि निर्णायक मोडमै छ । अवसर खुला छ तर सँधै नरहन सक्छ । अब प्रश्न सम्भावनाको होइन, कार्यान्वयनको हो । यो दशक पर्खिने समय होइन, निर्णायक कदम चाल्ने समय हो ।

मल्लिकले संयुक्त राज्य अमेरिकाको हार्बड केनेडी स्कुलमा एमपिए स्नातकोत्तर, आइआइटी दिल्लीबाट पावर सिस्टममा स्नातकोत्तर तथा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका छन् । उनीसँग विश्व बैंक र युएनडिपीका विभिन्न परियोजनामा काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस

जीवन मल्लिक

मल्लिक ऊर्जा अनुसन्धाता हुन् ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३