विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गुणस्तरीय विद्युत् आपूर्तिमा देखिएको समस्या दीर्घकालीनरूपमा समाधान गर्दै चुहावटसमेत घटाउने उद्देश्यले ट्वीन कन्डक्टर प्रविधिको कार्यान्वयन सुरु गरेको छ । विद्युत्को लोड (माग) बढी भएका औद्योगिक वा गार्हस्थ क्षेत्र तथा जनघनत्व बढेर आपूर्तिमा देखिएको विचलन अन्त्य गर्न यो प्रविधि अपनाइएको हो ।

प्राधिकरणले यो प्रविधि अहिले जनकपुर, चितवन र बुटवलमा कार्यान्वयनमा ल्याइसकिएको छ । त्यहाँ सफल भएको हुँदा देशका अरू ठाउँमा पनि कार्यान्वयन गर्न प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निर्देशन दिएका छन् । अहिलेसम्म भारतमा समेत कार्यान्वयनमा नआएको प्रविधि शाक्यकै पहलमा प्राधिकरणले सुरु गरेको छ ।

वितरण लाइन अर्थात् कन्डक्टर (तार) पातलो भएका ठाउँ, नयाँ पोल तथा तार विस्तार गर्न नसकिने क्षेत्र, जनघनत्व बढेका क्षेत्रमा अर्को नयाँ तार तान्न नसकिने तर लोड व्यवस्थापन गर्नुपर्ने लगायतका समस्या ट्वीन कन्डक्टर प्रविधिले समाधान गर्ने शाक्यले बताए । ‘लाइनहरू पातला भएर धेरै लोड लिन नसक्ने ठाउँमा टवीन कन्डक्टर राख्न सकिन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यो काम मेरो व्यक्तिगत प्राविधिक सोच हो । जुन भारतमा पनि छैन । नेपालमा झन् हुने कुरै भएन ।’

एउटा कन्डक्टर विस्तार भइरहेको ठाउँमा जनताले अर्को ल्याउनै नदिने वातावरण देखिएको छ । त्यही ठाउँमा कन्डक्टर थपेर अर्थात् टवीन दुई वटा बनाएर लैजाँदा लागत कम लाग्ने र सट डाउन पनि कम हुने उनले बताए । उनका अनुसार कन्डक्टरलाई पिजी क्लाम्प (जोड्ने उपकरण) राखेर एउटै जस्तो बनाउन सकिन्छ । पोल थप्न पनि पर्दैन ।

‘४०–५० मिटरको दूरीसम्म पोल र इन्सुलेटरले भ्याउँछ । गर्न सकिन्छ भनेर प्रक्रिया अगाडि बढाइयो, डबल कन्डक्टर राख्न,’ उनले थपे, ‘समस्या आउँछ कि भनेर कर्मचारीहरू डराइरहेका थिए । आवश्यक पर्यो भने बीचमा एउटा पोल ठड्याइदिने तर राख्न सकिन्छ । राख्नुपर्छ भनेपछि काम अगाडि बढेको हो ।’

अहिले ३ ठाउँमा काम गरेर नतीजा राम्रो आएको पनि शाक्यले बताए । यसो गर्नासाथ चुहावट (लस) घट्दो रहेछ । जम्पर टुट्ने समस्या पनि कम हुँदो रहेछ । टवीन कन्डक्टर गरेको ठाउँमा जम्पर टुट्ने समस्या हराएको सेवाग्राहीको प्रतिक्रिया आएको उनले बताए । गर्मीको महिनामा लोड बढिरहेको छ तर लस कम भइरहेको देखेर प्राधिकरण कर्मचारी तथा उद्योगीहरू खुसी भइरहेका छन् ।

चितवन क्षेत्रमा यो प्रविधि निकै प्रभावकारी भइरहेको भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताए । ‘औद्योगिक फिडरमा ०५ (ओ पाइभ) लाई ट्वीन प्रविधिबाट अर्को त्यही क्षमताको कन्डक्टर थपेर क्षमता बढाइएको छ,’ उनले मंगलबार ऊर्जा खबरसँग भने, ‘दुई वटा कन्डक्टरलाई पिजी क्लाम्पले टाइअप (जोडेर) गरेपछि क्षमता बढ्छ र प्राविधिक चुहावट पनि कम हुन्छ ।’

सिंहका अनुसार अहिले यो प्रविधि भरतपुर महानगरपालिका वडा नम्बर ३ को नौघरेदेखि बाह्रघरे पुलसम्म १ किलोमिटर क्षेत्रमा विस्तार गरिएको छ । यस क्षेत्रमा ‘ओ पाइभ’ कन्डक्टर थियो । त्यसमा त्यही बराबरको अर्को कन्डक्टर थपेर ५० प्रतिशत कम खर्चमा क्षमता बढाइएको पनि उनले जानकारी दिए ।

भरतपुर वितरण केन्द्रले अब लोडको समस्या भएका जहाँ–जहाँ ‘ओ थ्री र ओ पाइभ’ कन्डक्टर छन् त्यहाँ क्रमैसँग ट्वीन कन्डक्टर राख्दै जाने योजना बनाएको छ । यसबाट ग्राहकले गुणस्तरीय विद्युत् उपभोग गर्न पाउने, चुहावट कम हुने र खर्च पनि बचत हुने देखिन्छ ।

ट्वीन कन्डक्टर प्रविधि र फाइदा

११ केभी वितरण लाइनमा विस्तार गरिएको एउटा तार अर्थात् कन्डक्टरमा सोही क्षमताको अर्को तार थपेर जोडी क्षमता बढाउनु नै ट्वीन कन्डक्टर प्रविधि हो । मानौं, कुनै वितरण लाइनको तार ‘ओ पाइभ’ क्षमताको छ । त्यसमा सोही क्षमताको अर्को तार जोड्ने हो । जोड्नलाई पिजी क्लाम्प भन्ने बाँध्ने उपकरण हुन्छ ।

वितरण लाइनको क्षमता भने ठाउँ, ग्राहक वा क्षेत्रअनुसार जुनसुकै पनि हुन सक्छ । यसरी तारको क्षमता बढाउँदा यसबाट साविकको भन्दा बढी विद्युत् प्रवाह गर्न सकिने, प्राविधि चुहावटमा कमी आउने तथा लाइन विस्तारको लागत कम हुने प्राधिकरणले जनाएको छ ।

यो प्रविधि बढी जनघनत्व भएका सहरी क्षेत्र, औद्योगिक फिडर तथा विद्युत् माग बढी भएको तर कमजोर कन्डक्र रहेका ठाउँमा बढी प्रभावकारी हुने सिंहले बताए । पछिल्लो समय सहरका घना वस्ती नयाँ वितरण लाइन विस्तार गर्नु असम्भव प्रायः हुँदै गएको छ । तर, त्यस्ता क्षेत्रमा बिजुलीको माग भने बढिरहेको हुन्छ ।

नयाँ लाइन विस्तार गर्न नसकिने तर माग बढाउनुपर्ने हुँदा यस्ता ठाउँमा ट्वीन कन्डक्टर प्रविधि वरदान सावित हुने देखिन्छ । प्राधिकरणका अनुसार यो प्रविधि अपनाउँदा एउटै पोलमा दुई वटा तार राख्न सकिने, नयाँ संरचनाको आवश्यकता नपर्ने, काम गर्ने समय बचत हुने, पटक–पटक लाइन काटिने समस्या अन्त्य हुने, गुणस्तरीय विद्युत् आपूर्तिको प्रत्याभूति जस्ता फाइदा हुनेछन् ।

यसैगरी, हावाहुरीको समयमा तार चुँडिने, जम्पर टुट्ने वा ट्रान्सफर्मर जल्ने समस्यालाई पनि यो प्रविधिले न्यूनिकरण गर्न सक्ने प्राधिकरणको दाबी छ । प्राधिकरणका अरू वितरण केन्द्रले समेत यो प्रविधि अनुशरण गरेर विद्युत् आपूर्तिमा दैनिकरूपमा निम्तिने समस्या समाधान गर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit