विद्युत अपडेट

  • प्राधिकरण : ८६४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४६५२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२००२ मे.वा.घन्टा
  • आयात : १५३ मे.वा.घन्टा
  • निर्यात : १७४०९ मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ६५५१७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८५१ मे.वा.
२०८३ साउन ३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
कर्णाली प्रदेशले समृद्धिको बलियो बाटो खन्दै

काठमाडौँ । नेपालको जलविद्युत्‌ विकासमा 'जनताको जलविद्युत्‌ कार्यक्रम' अन्तर्गत अघि सारिएका धेरै आयोजनामध्ये एक हो– जलदुल्ला जलविद्युत् आयोजना । कर्णाली प्रदेशको विकट डोल्पा जिल्लामा अवस्थित यस आयोजनाले संघीयताको वास्तविक मर्मलाई आत्मसात् गरेको छ ।

आयोजना निर्माणका लागि स्थापित जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले ती जनताका सपना र आशालाई यथार्थमा रूपान्तरण गर्ने दिशा समातेको छ । नेपाल सरकारका आंगिक निकायहरू (कर्णाली प्रदेश सरकार र स्थानीय पालिकाहरू समेत) को ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहने गरी नयाँ अभ्यासका साथ यहाँ काम भइरहेको छ ।

विगतमा अध्ययनको प्रारम्भिक चरणमै सीमित रहे पनि कम्पनीको नेतृत्वमा सञ्जय सापकोटाको प्रवेशसँगै जगदुल्ला आंशिकजलाशय (१०६ मेगावाट) र जगदुल्ला 'ए' (१२४.३५ मेगावाट) गरी दुई आयोजनाको कामले तीव्रता लिएको छ । दुर्गमको विकास र प्रशासनिक झमेलाका बीचमा यो आयोजना कसरी अघि बढिरहेको छ भन्ने पाटोमा बढी ध्यान दिनुपर्ने देखिन्छ । भौगोलिक विकटता, स्थानीयवासीको चेतना, राज्यका निकायले हेर्ने दृष्टिकोणले निर्माणको गतिलाई मापन गरिरहेका हुन्छन् ।

नेतृत्व परिवर्तनपछिको तस्बिर

विगतमा ३०७ मेगावाटको जलाशय आयोजनाका रूपमा मात्र अध्ययन सुरु भएको यो आयोजनामा नयाँ प्रमुख कार्यकारी अधिकृत आएपछि ठोस गति लिएको देखिन्छ । जगदुल्ला (१०६ मे.वा.) को विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन (डिपिआर) फाइनल हुनु, वातावरणीय प्रतिवेदन स्वीकृत हुनु, र विद्युत्‌ खरिद-बिक्री सम्झौता (पिपिए) सम्पन्न हुनु सुरुवाती सफलता हुन् ।

भौतिक पूर्वाधारको पाटोमा पनि २५५ रोपनी जग्गाको मुआब्जा वितरण, अडिट टनेल (सहायक सुरुङ) निर्माण, १० वटा बेली ब्रिज र २ किलोमिटर कडा चट्टान फोरेर पहुँचमार्ग बनाउनु आफैँमा चुनैतीपूर्ण थियो । यसबाट स्थानीयबासीलाई पालिकासम्म आउजाउ गर्न दैनिक १२-१४ घण्टा हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ । यो काम सबै निकायको सहकार्यमा सम्पन्न गर्न सकिएको प्रमुख कार्यकारी अधिकृत सापकोटा बताउँछन् ।

नबिल बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को नेतृत्वमा नेपाली बैंक तथा वित्तीय संस्थाहरूबाट मात्रै १६ अर्ब ६६ करोड रुपैयाँको सह-वित्तीयकरण सम्झौता भयो । यसबाट नेपाली पुँजीबाटै ठूला आयोजना बन्न सक्छन् भन्ने सकारात्मक सन्देश प्रवाह भएको छ । गत असार १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठबाट आयोजना निर्माणको शिलान्यास पनि भयो । यससँगै लट-२ को सिभिल तथा हाइड्रो मेकानिकल निर्माण कार्य प्रारम्भिक डिजाइन सकेर कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको सापकोटाले जानकारी दिएका छन् ।

आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा प्रवाह गर्न नेपाल विद्युत् प्राधिकरणको रुकुम पश्चिम बाफिकोट सबस्टेशनमा जोड्न बनाउन पर्ने प्रशारण लाइनको विस्तृत सम्भाव्यता अध्ययन पूरा भएको छ ।

जगदुल्ला 'ए' को तयारी

जलदुल्लाको निर्माण भइरहँदा १२४.३५ मेगावाटको जगदुल्ला 'ए' पनि अध्ययन सकेर उत्पादन अनुमतिपत्र र वातावरणीय प्रतिवेदन स्वीकृतिको अन्तिम चरणमा पुगेको छ । ऊर्जा लक भई नेपाल विद्युत्‌ प्राधिकरणसँग प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) को प्रक्रिया अन्तिम चरणमा पुग्नु र लगानी मोडालिटी स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हुन् । यी दुवै आयोजनाले जिल्लाबासी मात्र नभएर सिंगो प्रेदश तथा देशको भविष्यलाई नै आर्थिक समृद्धितर्फ डोर्‍याउन सक्ने आधार बन्नेछ ।

निर्माण सम्पन्न भएको ५ वर्षपछि यस आयोजनाले केन्द्र सरकारलाई १९ करोड ५० लाख, प्रदेशलाई ९ करोड ५० लाख र स्थानीय सरकारलाई ९ करोड ५० लाख रुपैयाँ वार्षिक रोयल्टी बुझाउने प्रक्षेपण गरिएको छ । यसले कर्णालीको परनिर्भरता घटाउन ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सामाजिक रूपान्तरण

जगदुल्ला 'ए' विद्युत्‌ उत्पादनमा मात्र सीमित छैन । यसले डोल्पाको सामाजिक र आर्थिक भूगोल नै बदलिदिएको छ । विगतमा नेपालगन्जबाट डोल्पा पुग्न ३ दिन लाग्ने र बर्खामा बाटो ठप्प हुने अवस्था अन्त्य भई अहिले एकै दिनमा पुग्न सकिने भएको छ । काठमाडौँदेखि दुनैसम्म रात्रिकालीन बस चल्ने वातावरण बनेको छ । रारा, शे-फोक्सुन्डो र जगदुल्ला ताल जोड्ने छोटो पर्यटकीय मार्गको समेत आधार तयार भएको छ ।

सबैभन्दा उदाहरणीय पाटो, नेपालमै पहिलो पटक प्रसारण लाइनको 'राइट अफ वे' भित्र पर्ने जग्गाधनीलाई ३ प्रतिशत र स्थानीयवासीलाई १० प्रतिशत सर्वसाधारण सेयर दिने नीतिगत व्यवस्था भएको छ । विकासमा स्थानीयलाई साझेदार बनाउने यो शैली अन्य राष्ट्रिय आयोजनाका लागि पनि मार्गदर्शक बन्न सक्छ । यसबाट सामाजिक रूपान्तरणमात्र नभई लगानीमा सरकारसँग साझेदारीको दरिलो आधार पनि बन्दै गएको छ ।

प्रशासनिक साङ्लो

भौतिक र वित्तीय प्रगति जति लोभलाग्दो देखिए पनि आयोजनाले भोगेका र भोगिरहेका नीतिगत व्यवधानहरूले नेपालको विकास प्रशासनको कछुवा गतिलाई छताछुल्ल पारेका छन् । आयोजना निर्माणका लागि रुख कटान र जग्गा भोगाधिकारको स्वीकृति लिने प्रक्रियागत झन्झट अझै पनि ठूलो चुनौतीका रूपमा उभिएको छ ।

सबैभन्दा उदेकलाग्दो विषय त के छ भने, नेपाल सरकारकै आंशिक स्वामित्वको कम्पनीले जग्गा अधिग्रहण गर्न भूमिसम्बन्धी ऐनको दफा १२ नै संशोधन गर्नुपर्ने कानुनी अड्चन देखिएको छ । सरकार आफैँले निर्माण गर्न लागेको र 'जनताको जलविद्युत्‌' भनिएको प्राथमिकताप्राप्त आयोजनाका लागि समेत कानुन संशोधन र प्रशासनिक सहजीकरणमा राज्य संयन्त्र उदासीन देखिनुले नेपालमा लगानीको वातावरण र सरकारी आयोजनाको भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।

नेपाली इन्जिनियरहरू (एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड) को डिजाइन र नेपाली बैंकहरूको लगानीमा कर्णालीको दुर्गम क्षेत्रमा जगदुल्ला हाइड्रोपावरले हासिल गरेको प्रगति निसन्देह उल्लेखनीय नै छ । यसले समग्र कर्णाली प्रदेशमा जलविद्युत्‌को ढोका खोलेको छ । तथापि, आयोजनाले लिएको गतिलाई सरकारी संयन्त्रको कानुनी र प्रशासनिक उल्झनले रोक्नु हुँदैन । सरकारले जग्गा हदबन्दी र रुख कटानजस्ता प्रक्रियागत समस्या समयमै हल नगर्ने हो भने यो पनि अन्य ठाउँमा निर्मित आयोजनामा जस्तै समय र लागत थपिँदै जाने पुरानै रोगले थलिनेछ ।

एउटा तीतो यर्थाथ के छ भने सरकारले जे जति महत्त्वाकांक्षी लक्ष्य तथा योजना तय गर्छ । जसरी कार्यान्वयनको तदारुकता देखाउँछ, त्यसरी नै सरकारको अर्को निकायले अवरोध खडा गर्छ । सरकारी काम सरकारले नै रोक्ने यो विसङ्गतिपूर्ण परिपाटी नखेलिँदासम्म जगदुल्ला जस्ता आयोजना समयमै पूरा हुनेमा जहिल्यै शङ्‌का रहन्छ । अतः यो विसंगतिको सिकारबाट बाहिर निस्किन सरकार अर्थात् तालुक मन्त्रालयले नै अग्रसरता लिनुको विकल्प देखिँदैन ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३