‘उज्यालो नेपालको संवाहक’को रूपमा रहेको नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणको कार्य गर्दै आइरहेको छ । विद्युत् सेवालाई चुस्त, दुरुस्त, सुरक्षित र नियमित बनाउनु उसको मुख्य कार्य हो । सोहीअनुरूप सेवालाई सुधार गर्दै लगिरहेको छ । विगतमा भएको विद्युत् अभावको समस्या हटेपछि अब प्राधिकरणको उद्देश्य भनेकै सेवाको भरपर्दो, सुरक्षित र गुणस्तरमा सुधार ल्याउनु हो । उद्देश्य प्राप्तिका निम्ति लाग्दा–लाग्दै विभिन्न कठिनाइ, प्राविधिक समस्या लगायत कारणले विगतभन्दा सेवामा सुधार भएको छ । चाहेजस्तो सेवा नपाएको जनगुनासो आइरहेको हुँदा त्यसमा अझै सुधार गर्नुपर्ने देखिन्छ ।
विद्युत् प्रणाली Interconnected and Radialभएकोले देशको जुनसुकै स्थानमा समस्या आउँंदा पनि देशभरि वा आफ्नो क्षेत्रभित्र असर गर्ने गर्छ । जस्तै: कुनै एक स्थानको हकमा हेर्ने हो भने तलका समस्या आउँंदा सेवा अवरुद्ध हुने गर्दछ ।
१) देशको जुनसुकै स्थानको २२०/१३२ केभी प्रसारण लाइन, विद्युत्गृह वा सबस्टेसनमा समस्या आए वा माग र आपूर्तिबीच असन्तुलन भई System Collapse/Fail/Trip हुँदा ।
२) नजिकको २२०/१३२ केभी सबस्टेसन वा प्रसारण लाइनमा समस्या आउँदा ।
३) ३३/११ केभी सबस्टेसन हुने वितरण केन्द्रको हकमा ३३ केभी आपूर्ति आउने लाइनमा वा सबस्टेसनमा समस्या आउँदा ।
४) सम्बन्धित स्थानमा विद्युत् आपूर्ति गर्ने जुनसुकै लाइनमा वा सबस्टेसनमा समस्या आउँदा ।
५) वितरण केन्द्र मातहतको ३३/११/०.४ केभी लाइनमा समस्या आएमा : लाइनमा समस्या आउनु भनेको विद्युतीय संरचनाका कुनै सामान/वस्तु/उपकरण बिग्रनु वा क्षति हुनु हो । जस्तै : तार चुडिनु, डिक्स, पिन, स्याकलजस्ता इन्सुलेटर फुट्नु वा लिकेज हुनु, जम्पर फुत्किनु, तार पिनबाट छुटेर च्यानलमा पर्नु, स्टे वायर चुडिनु, पोल ढल्नु, रुखका हाँगा भाचिएर तार पोलमा खस्नु, तार–पोलमा जनावर तथा पंक्षीहरू बस्दा समस्या आउनुु । विद्युतीय संरचनाको एउटा फिडरको अन्त्यमा समस्या आएमा सो फिडर पूरै बन्द गर्नुपर्ने हुन्छ । मर्मत–सम्भार गरी लाइन सुचारु गर्नु पर्दा समस्या पत्ता लगाई हल गर्ने बेलासम्म पटक–पटक लाइन काट्नु पर्दा ।
६) सम्बन्धित वितरण ट्रान्सफर्मरमा समस्या आएमा, ट्रान्सफर्मरहरू बदली तथा अपग्रेड गर्नुपर्दा ।
७) आफ्नो क्षेत्रमा/घर वरिपरि आउने वितरण लाइनमा समस्या आउँदा ।
८) पछिल्लो समयमा सडक विस्तारका कार्यहरू बढ्ने र सो कार्यका लागि सडक छेउका पोलहरू सार्नु पर्दा लाइन बन्द गर्नुपर्दा ।
९) बर्खामा पानी पर्दा लाइन तथा मेसिन/उपकरणमा चट्याङ्ग पर्दा लाइन अवरुद्ध हुने गर्दछ (विशेषतः पहाडी जिल्लामा) ।
१०) बर्खामा हावाहुरीका कारण रुख/हाँगा भाचिएर संरचनाहरू (पोल/लाइन) माथि पर्नाले वा तारमा छुँदा ।
११) वर्षाको समयमा बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण विद्युतीय संरचनामा क्षति पुग्द ।
१२) कहिलेकाहीँ सवारी साधनले विद्युतीय संरचनामा ठक्कर दिँदा संरचना भाँचिने तथा तारहरू चुडिँदा ।
१३) मानिसहरूले अन्जानमा रुख/हाँंगा, घाँस काट्दा तार/पोलमाथि परिदिँदा पोल भाँचिने तथा तारहरू चुडिँदा (संरचनामा ठुलो क्षति नगरे पनि रुख/हाँगा लाग्दा सबस्टेसनबाट लाइन ट्रिप हुने प्रणाली मिलाइएको हुन्छ, जसका कारण एक जनाको सानो गल्तीले सम्बन्धित फिडरबाट आपूर्ति हुने सम्पूर्ण क्षेत्रमा सेवा अवरुद्ध हुन पुग्दछ ।) ।
१४) विद्युत्गृह, सबस्टेसन, प्रसारण लाइन, वितरण लाइन लगायत संरचना वा उपकरणहरूमा आपतकालीन तथा नियमित मर्मत–सम्भार, चेकजाँच, संरचना अपगे्रड, बदलीका लागि लाइन बन्द गर्नुपर्दा ।
१५) आवश्यकभन्दा कम सबस्टेसन/वितरण ट्रान्सफर्मर भएका कारण प्रसारण तथा वितरण लाइनको दूरी लामो हुनाले समस्या आउन सक्ने सम्भावना बढी हुँदा ।
१६) सम्बन्धित उपभोक्ताको घरमा जाने सर्भिस केबलमा (स्थानीय भाषामा कालो तार) समस्या आएमा सो घरको मात्र बत्ती जान्छ ।
१७) सुरक्षाका लागि राखिएका ट्रान्सफर्मरका एम.सि.सि.बि.हरू ट्रिप हुने, फ्यूजहरू जाने साथै फिडरको बीच–बीचमा राख्ने ब्रान्च फ्युजहरू जाने कारणले गर्दा । फ्युजहरू जाँदा १/२ वटा मात्र गएमा, १/२ जम्पर चुडेमा डिम/हाफ लाइन मात्र आउँछ ।
१८) सर्किट ब्रेकर, रिले जस्ता उपकरणहरू पुराना हुँदै जाँदा ठिक समयमा राम्रोसँग काम नगर्नु साथै मानवीय त्रृटिले गर्दा ।
१९) कसैको घरमा वा कतै विद्युतीय लाइन भएको स्थानमा आगो लागेमा, बाढी–पहिरो तथा ठुलो आँधी–हुरी आएमा विद्युत् आपूर्ति भइरहे पनि सुरक्षालाई मध्यनजर गर्दै लाइन काटिन्छ ।
यसबाट के बुझ्न सकिन्छ भने कुनै एक घरमा बत्ती बल्नका लागि माथिका सबै अवस्था एकै पटकमा ठिक हुन जरुरी छ । ती सबै अवस्था एकै पटकमा चुस्तदुरुस्त हुन त्यति सजिलो छैन तर लाइन जानका लागि माथिका मध्ये कुनै एक अवस्था सिर्जना भए पुग्छ । तसर्थ, सजिलै के अनुमान लगाउन सकिन्छ भने विद्युतीय सेवा/लाइनलाई नियमित बनाउने कार्य त्यति सजिलो छैन ।
यी समस्या प्रत्येक जिल्लामा हुने गर्दछन । ती समस्याले सबै ठाँउमा बत्ती जाने होइन, जसमा समस्या आउँछ, त्यसको आफ्नो क्षेत्र कति छ, त्यसमा भर पर्दछ ।
जस्तै: System Collapse/Fail/Trip भएमा पूरै देशभरि वा आंशिकरूपमा बत्ती जान्छ । एउटा ३३/११ केभी वितरण फिडरमा समस्या आएमा सो फिडरबाट आपूर्ति हुने क्षेत्रमा बत्ती जान्छ । ट्रान्सफर्मरमा समस्या आएमा सम्बन्धित गाँउ/शहरको मात्र बत्ती जान्छ । यसरी हेर्दा लाइन अवरुद्ध हुने कारण धेरै हुने, अवरुद्ध भएपछि समस्या पत्ता लगाउन समय लाग्ने र पत्ता लागिसकेपछि मर्मत गर्न समेत समय खर्चनु पर्ने हुन्छ ।
समस्या अनेक तरिकाबाट हुने तर समाधानको उपाय एउटै हुनु पनि अर्को समस्या बनेको छ, जुन समस्या समाधान गर्न विद्युत् बन्द गर्नैपर्ने हुन्छ ।
त्यहीँ माथि सीमित स्रोत–साधनको प्रयोगबाट अधिकतम नतिजा निकाल्नुुपर्ने अर्को बाध्यता छ ।
वैज्ञानिक युगमा बदलिँदो परिवेशसँगै विद्युत्को माग पनि बढ्ने गरेको छ । घरका स–साना कामदेखि ठुला–ठुला उद्योगमा सिधै असर गर्ने विद्युत् सेवा अझ आजकल त सूचना तथा प्रविधिसँग जोडिएको संसारका लागि अपरिहार्य बनेको छ । मानिसहरू एकछिन बिनामोबाइल, टि.भी., इन्टरनेट लगायत प्रविधिसँग टाढा रहन नसक्ने अवस्था छ । विद्युत् मानिसको छायाजस्तै बनेको छ तर हाम्रो विद्युतीय प्रणालीमा विभिन्न कारणले जनगुनासो आउनु नौलो कुरा भने होइन ।
मानिसहरूलाई २४सै घन्टा बत्ती चाहिने, प्राधिकरणलाई काम गर्न विद्युत् काट्नुपर्ने भएकोले सुधार भइरहे पनि, विद्युत् सेवा जनतामाझ अझै लोकप्रिय बन्न सकेको छैन ।
हुनत, विद्युत् सेवाको नियमितता एकै पटक २४सै घन्टा पुर्याउन सकिँदैन । यो विस्तारै सुधार हुने कुरा हो । अनुभव तथा तथ्याङ्कका आधारमा पहिलाभन्दा सेवाको भरपर्दो, सुरक्षितता बढिरहेको छ । यो जनमानसमा एकैचोटी महसुुुस हुने कुरा होइन । उदाहरणतः कुनै बेला दिनको १० पटक जाने बत्ती ८ पटकमात्र गयो भने ग्राहकमा लाइन पुरानै तरिकामा गइरहेकै महसुस हुन्छ । प्राधिकरणलाई भने कम्तीमा २ पटक भए पनि घटाइएको, यसरी नै अगाडि बढ्नुपर्छ भन्ने सोच हुन्छ ।
सोचअनुसार काम अगाडि बढाउँदा फेरी लाइन बन्द गर्नैपर्ने हुन्छ । यसरी सुधार भइरहेको सेवा पनि बुझाइ र मानिसहरूको बढ्दो अपेक्षाका कारण महसुस गराउन नसकिएको हो । अझ विदेश बसेर आउने उपभोक्ताले विदेशी सेवासँग तुलना गर्नाले सुधारिएको सेवा, सुधारिएझैँ नदेखिएको हो । जिल्लाभरिकै विद्युतीय लाइनहरू एकै ठाँउबाट आपूर्ति हुने हुँदा एक ठाँउमा हुने समस्या तथा फरक–फरक समस्याका कारण लाइन बन्द गरिरहनु पर्ने वा स्वाचालितरूपमा आफैँ जाने हुन्छ ।
उदाहरणका लागि मोबाइलको स्पिकर बिग्रियो भने बनाएर ल्याइन्छ । भोलि स्क्रिन बिग्रन सक्छ, पर्सि अर्को समस्या आउन सक्छ । समस्या आइरह्यो भनेर मोबाइल फालिँदैन । सकेसम्म बनाएरै चलाइन्छ ।
विद्युत् पनि त्यस्तै हो । कहिले लाइन बिग्रिएला, कहिले सबस्टेसन । कहिले अरू संरचनामा समस्या आउन सक्छ । समस्या आएपछि लाइन सुचारु गर्न लाइन लगाउँदै चेक गर्दै गर्नुपर्ने हुन्छ । लाइन आउनेजाने गर्छ ।
कहिले कुन, कहिले कुन स्थानमा समस्या आउँछ तर समस्या जहांँ आए पनि एउटै फिडरमा पर्ने सबै स्थानको लाइन बन्द हुन्छ ।
यसरी प्राधिकरणले चाहँदा–चाहँदै पनि उपभोक्ताको मागबमोजिम आपूर्ति गर्न सकिँदैन । लाइनमा लिकेज हुँदा, तारहरू चुडिँदा, अन्य समस्या आउँदा कसैलाई करेन्ट नलागोस्, जनधनको क्षति नहोस् भनेर सबस्टेसनमा रहेको Automatic Tripping System ले समस्या आउने बितिकै सम्बन्धित फिडर वा ठुलो समस्या भएमा सबस्टेसन पूरैको लाइन स्वतः काटिदिन्छ । समस्या आउँछ एक ठाँउमा, लाइन जान्छ पुरै । अब समस्या कहाँ छ ? भनेर पत्ता लगाउन लाइन दिने वा काट्ने गर्नैपर्यो । पत्ता लगाइसकेपछि पनि काम गर्न लाइन काट्न नै पर्यो । यसरी विभिन्न कारणले लाइन आउनेजाने हुनु स्वभाविक हो ।
आगामी दिनमा सेवा नियमित बनाउन सम्पूर्ण उपभोक्ता, सरोकारवालाको सल्लाह, सहयोगको खाँचो छ । प्राधिकरणका प्राविधिकले दिनरात, घरपरिवार, घामपानी केही नभनी काम गर्नुपर्ने तर केही उपभोक्ता, व्यक्तिबाट कर्मचारीप्रति गरिने व्यवहारले मनोबल गिराउने काम भइरहेको छ । मर्मत–सम्भार तथा सुधारकै लागि लाइन काटिने हो । लाइन नकाटिनु भनेको सुधार नहुनु हो । त्यसले भविष्यमा झनै ठुलो असर गरेर विकराल स्थिति ल्याउन सक्छ ।
सुधार तथा विस्तार गर्दा त लाइन बन्द गर्नै पर्छ तर जनमानसबाट लाइन काटिएको गुनासो आउँछ । यसलाई कम गर्ने प्रयास गर्ने हो, शून्यमा झार्न सकिँदैन । सबैलाई जानकारी नै भएको विषय हो । कुनै पनि कुरा चाहे वस्तु, उपकरण, प्रणाली, विद्युत् होस्, चाहे मानिसहरू नै, कसैको पनि कार्यक्षमता शतप्रतिशत हुँदैन तर जनचाहना भने शतप्रतिशत कार्यक्षमता होस् भन्ने छ ।
यही कारण पनि काम गराइअनुसार सन्तुलन नमिलेको हो । सबैको सहयोगबिना अगाडि बढ्न असहज हुन्छ । अतः समस्या भए सल्लाह गर्न र हौसला प्रदान गरिदिने सबैको दायित्व हुन आउँछ । विद्युत् सेवा छिटो छरितो र सुरक्षित बनाउन उपभोक्ताको पनि ठुलो हात हुन्छ । जनमानसबाट निम्न सहयोग भएमा प्राधिकरणको कार्यमा सहजता आउनेछ:
१) कुनै विद्युतीय संरचनामा समस्या देखिएमा क्षति भएको, पोल ढलेको, तार चुडिएको, ट्रान्सफर्मर, लाइनको फ्युज गएको वा एम.सि.सि.बि. ट्रिप भएको वा पहिलाको भन्दा फरक अवस्था देखेमा नजिकको विद्युत् कार्यालय/नो–लाइटमा खबर गरिदिने । प्राधिकरणको हट लाइन नम्बर ११५० मा फोन गरेर कुन प्रदेशमा हो, त्यहीँ एक्टेन्सन नम्बरमा कल गरेर वा प्राधिकरणको एप वा वेब साइटमा गएर पनि जानकारी गराउन सकिन्छ ।
२) बत्ती गयो भने आफ्नो घरमात्र हो कि, वरपर क्षेत्रमा लाइन गएको छ, बुझ्ने । आफ्नो घरमा मात्र समस्या भए पहिला घरकै मिटर बक्समा भएको एम.सि.बि. चेक गर्ने । त्यो ठिक भएमा बल्ल प्राधिकरणमा पूरै विषयसहित खबर गर्ने ।
३) गाउँ/शहर लगायत स्थानमा पनि बत्ती आएको छैन भने सिस्टम गएको हो कि, लाइनमा काम भएको, फिडर ट्रिप भएको हुन सक्छ । यस्तो अवस्थामा धैर्य गरी बस्नु नै राम्रो हुन्छ ।
४) सम्बन्धित सबैलाई अनुरोध छ – लाइन जाने बित्तिकै हतार गरेर फोन नगर्ने, ५/१० मिनेट प्रतीक्षा गर्ने, सामान्य अवस्थामा लाइन ट्रिप भएमा सो समयभित्र आइहाल्छ । नआएको खण्डमा आपतकालीनबाहेक सोध्नकै लागि कम फोन गर्दा नै ठिक हुन्छ । उपभोक्ताले फोन गर्दैमा लाइन चाँडो आउने भन्ने हुँदैन । लाइन गएपछि एकै पटक सयौँ व्यक्तिले फोन गर्दा व्यस्त हुने र कामका लागि सम्पर्क गर्न ढिला हुन जान्छ ।
५) लाइन काट्नु रहर हैन बाध्यता हो । सकेसम्म लाइन चाँडो चलाउनमा प्राधिकरण आफैँलाई हतार हुन्छ । लाइन चाँडो आउनु प्राधिकरणको राजस्व/आय, सेवा, गुणस्तर र प्रतिष्ठासँग जोडिएको विषय हो । त्यसैले, विद्युत् आपूर्ति छिटो छरितो गराउने कुरामा कसैले पनि शङ्का नगरौँ । बरु आ–आफ्नो स्थानबाट सहयोग र सहजीकरण गरौँ ।
धेरै कुराहरूको ज्ञान हुँदा–हुँदै पनि बजेट अभावमा प्राधिकरणले आफ्ना कार्यहरू अगाडि बढाइरहेको छ । जसले भविष्यमा अझ गुणस्तरीय सेवा प्रवाहमा विश्वास गर्न सकिन्छ ।
जस्तै :
१) प्राकृतिक प्रकोप तथा मानवीय त्रृटिबाट हुने क्षतिबाट बचाउन तारलाई केबलको रूपमा भूमिगत गर्ने ।
२) विभिन्न स्थानमा आवश्यकता अनुसार सबस्टेसन बनाई फिडरहरूको लम्बाइ छोट्ट्याउने ।
३) रिङ्ग मेन फिडरहरू बनाउने, जसमा एकातिरबाट बत्ती बिग्रिएमा अर्कोतिरबाट ल्याउने व्यवस्था मिलाइएको हुन्छ । (अहिले नेपालमा प्रायः रेडियल फिडर छन्, जसको आपूर्ति गर्ने स्रोत एउटै हुने हुँदा फिडर वा लाइनको अन्तिमतिर समस्या आए पनि फिडरको सुरुबाटै सबै क्षेत्रमा लाइन जान्छ ।)
४) अटोमेसनमा (स्वचालित काम गर्ने पद्धति) जान मिल्ने विषयलाई अटोमेसनमा लैजाने ।
५) उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा काममा लगाउने ।
६) विद्युत् उत्पादनलाई मध्यनजर गर्दै समयमै प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्ने ।
अन्त्यमा
विकासका लागि विनास भने झैँ, सुधारका लागि विद्युतीय लाइन बन्द गर्नै पर्ने हुन्छ ।
अहिले केही समय बन्द गरेर दीर्घकालीनरूपमा फाइदा हुन्छ भने किन काम नगर्ने ? काम गर्दा लाइन बन्द गर्नुपर्ने समस्या फेरि आउँछ । तसर्थ, सधैँ एउटै समस्याबाट गुज्रिनु भन्दा अहिले सुधार गरेर पछि सहजता ल्याउनतिर अगाडि बढ्नुपर्ने आजको आवश्यकता छ ।
पुनश्च:
१) फिडर : सबस्टेसनबाट विभिन्न स्थानमा विद्युत् आपूर्ति लैजान प्रयोग गरिएको विद्युत्को मुख्य लाइन (प्रसारण/वितरण लाइन) जसलाई हामी बोलीचालीको भाषामा हाइटेन्सन लाइन भन्छौँ ।
२) System Collapse/Fail/Trip : राष्ट्रिय प्रसारण लाइन नै बन्द हुनु वा ट्रिप हुनु हो । राष्ट्रिय प्रसारण लाइनमा देशैभरिका विद्युत्गृह र ठुला–ठुला सबस्टेसनहरू जोडिएका हुन्छन्, जसका कारण एक ठाउँको विद्युत् देशैभरि पुग्दछ । प्राधिकरणमा बुझ्दा सिस्टम गयो भन्ने जवाफ आयो भने देशैभर वा देशको कुनै भागमा बत्ती छैन भनेर बुझ्नु पर्दछ । सिस्टम गएपछि आउन कम्तीमा १०/१५ मिनेटभन्दा बढी समय लाग्दछ ।
लेखक, तातोपानी वितरण केन्द्र ( ने.वि.प्रा.), म्याग्दीको केन्द्र प्रमुखको रूपमा कार्यरत छन् ।
प्रकाश काफ्ले तातोपानी वितरण केन्द्र ( ने.वि.प्रा.), म्याग्दीको केन्द्र प्रमुखको रूपमा कार्यरत छन् ।