काठमाडौँ । ताप्लेजुङमा निर्माण हुन लागेको २४.४ मेगावाटको मेवाखोला जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको काम इलेक्ट्रो मेकानिकल उपकरण उत्पादन तथा जडान गर्दै आएको कम्पनी फ्लोभेल इनर्जी प्रालीले गर्ने भएको छ । यसका लागि लागि आयोजना प्रवर्द्धक युनियन मेवा हाइड्रो लिमिटेड र फ्लोभेलबीच बिहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा प्रवर्द्धक कम्पनीका अध्यक्ष किरण मल्ल र फ्लोभेलका व्यापार तथा बजार निर्देशक भाष्कार गुप्ताले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार फ्लोभेलले उक्त आयोजनाका लागि १२.२ मेगावाट क्षमताका २ वटा विद्युत् उत्पादन युनिटका लागि टर्वाइनसहितका उपकरण आपूर्ति र जडान गर्नुपर्ने छ ।
आयोजना मिक्वा खोला गाउँपालिकामा निर्माण हुने छ । करिब ४ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ५२ करोड रुपैयाँ बैंकहरूमार्फत र १ अर्ब १८ करोड रुपैयाँ सेयरधनीहरू मार्फत लगानी हुने गरी वित्तीय व्यवस्थापन गरिएको छ । ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्पपुँजी लगानी रहने गरी लगानी संरचना तयार पारिएको आयोजनाका लागि लक्ष्मी बैंकको १ अर्ब ५२ करोड, नबिल र हिमालयन बैंकले १–१ अर्ब रुपैयाँ लगानी रहने छ ।
आयोजनाबाट २०८२ पुस १४ गतेभित्र विद्युत् उत्पादन गर्नुपर्ने लक्ष्य राखिएको छ । विद्युत् उत्पादन शुरू भएको पहिलो वर्ष नै विद्युत् बिक्रीबाट करिब ८१ करोड रुपैयाँ आम्दानी हुने कम्पनीकाे प्राेजेक्ट म्यानेजर शिशिर देवकाेटा दिएको छ । आयोजनाबाट वार्षिक १३६.७९ गिगावाट घन्टा (३ करोड ६७ लाख ९० हजार युनिट) हुने छ ।
आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि करिब ५ किलोमिटर दूरीसम्म १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत निर्माणाधीन १३२/२२० केभी सबस्टेसनमा जोडिने छ । आयोजनाका लागि मिक्वा खोला गाउँपालिका–५ स्थित खेस्तेम्बेमा बाँध निर्माण गरी १५३६ मिटर पेनस्टक पाइपमार्फत सोही गाउँपालिकाको छेरेक्मामा निर्माण हुने सतही विद्युतगृहमा पानी खसालिने छ ।