काठमाडौँ । सरकारले हिउँदको विद्युत् माग व्यवस्थापन गर्न भारतबाट विद्युत् आयातको परिमाण बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले भारतबाट करिब ६ सय ५० मेगावाट विद्युत् आयात गर्न लागिएको बताएका हुन् । नेपाल भित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउन यस्तो योजना बनाइएको उनले बताए ।
सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले विद्युत् आयातका लागि भारतसँग भएको सहमति अनुसार पुस महिनादेखि नै विद्युत् आयात गरिने बताए । गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा कमी देखिएका कारण विद्युत् अभाव हुन नदिन पुसदेखि विद्युत् खरिद गर्न लागिएको उनले बताए । सरकारले क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएको भन्दै विद्युत् माग र आपूर्ति सहज बनाउने विषयमा गम्भीर रहेको उनको भनाइ छ ।
मन्त्री खड्काले गत वर्षभन्दा ३५० मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्न नदिन कार्यतालिका बनाएको बताए ।
उनका अनुसार बेलुका साँझको बेला भारतले चार घण्टा बिजुली दिनसक्ने बताएको र यसबारे भारतसँग थप छलफल गर्ने तयारी भइरहेको छ । भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेकोले यसबारे थप छलफल हुने छ । केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा विद्युत् अपुग हुने अनुमान भए पनि भएपनि सकेसम्म हुन नदिने योजना रहेको उनले बताए ।
मन्त्री खड्काले भारतबाट नेपालले ९०० मेगावाटसम्म आयात गर्ने भन्दै आपूर्ति गर्ने गरेको भन्दै यो वर्ष ६५० सय मेगावाट आयात गरिने बताए ।