काठमाडौँ । जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण हिन्दुकुश हिमालय क्षेत्रका हिमतालहरू फुटेर आउने बाढीको जोखिम तीव्र रूपमा बढेको छ । भारतका अन्य भू-भागको तुलनामा पूर्वोत्तर (नर्थ-ईस्ट) क्षेत्र र तल्लो तटीय हिमाली मुलुकहरू यसको अत्यधिक जोखिममा रहेको विज्ञहरूले औँल्याएका दिएका छन् ।
एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का सल्लाहकार प्रा. महेन्द्र पी. लामाले हिमाली क्षेत्रसँगको भौगोलिक सामिप्यताका कारण पूर्वोत्तर भारत हिमताल विस्फोटनजन्य बाढीको उच्च जोखिममा रहेको बताएका छन् । भारतका अन्य पश्चिमी वा केन्द्रीय भू-भागका लागि नेपाल र भुटानजस्ता मध्यस्थ (बफर) मुलुकहरू रहेकाले तिनले यस्ता विपद्को पहिलो धक्का झेल्ने उनको विश्लेषण छ ।
पूर्वोत्तर भारतको हकमा भने हिमाली हिमताल र त्यस क्षेत्रबीच कुनै पनि भौगोलिक अवरोध वा मध्यस्थ मुलुक नभएकाले जोखिम सिधा र तीव्र हुने पनि उनको भनाइ छ ।
हिमताल विस्फोटनको यो खतरा केवल भारतमा मात्र सीमित छैन, यसले नेपाल, भुटान र चीन (तिब्बत) सम्म ठूलो क्षति पुर्याउँदै आएको छ ।
हिमपहिरोका कारण गत भदौ १० गते भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीका कारण भोटेकोसी र त्रिशूली नदी किनारका बस्ती एवम् जलविद्युत् आयोजनासहित ठूलो मानवीय क्षति पुगेको छ । यस्तै, सन् २०२४ को अगस्ट १६ मा नेपालको सगरमाथा क्षेत्रस्थित सोलुखुम्बुको थामे गाउँमाथि रहेका दुई वटा हिमताल फुट्दा सिङ्गो थामे गाउँ बाढी र लेदोले बगाएको थियो ।
इसिमोड र यूएनडिपीको अध्ययन अनुसार कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा मात्रै ४७ वटा हिमताल विस्फोटनको उच्च जोखिममा छन्, जसमध्ये २५ वटा हिमताल चीन (तिब्बत) मा पर्छन् । तिब्बतमा हिमताल फुट्दा त्यसको सिधा असर नेपालका नदी तटीय क्षेत्रमा पर्दै आएको छ (जस्तै: सन् १९८१ को भोटेकोसी बाढी) ।
सन् २०२३ को अक्टोबरमा भारतको सिक्किमस्थित 'लोनाक ताल' फुट्दा टिस्टा नदीमा भीषण बाढी आई टिस्टा-३ जलविद्युत् बाँध ध्वस्त हुनुका साथै ठूलो धनजनको क्षति भएको थियो ।
प्रा. लामाका अनुसार पछिल्लो दुई दशकयता हिमालयका हिमनदीहरू अप्रत्यासित गतिमा पग्लिएका छन् । हिमाली क्षेत्रमा तापक्रम तीव्र गतिमा बढ्दा हिउँ र बरफ छिटो पग्लिनु, पर्वतीय क्षेत्रमा पूर्वाधार निर्माण र अनियन्त्रित पर्यटनले हिमाली वातावरण खलबलिनु तथा हिमाली क्षेत्रमा आरीघोप्टे बर्षा र हिमपहिरो जाने क्रम बढेकाले हिमतालहरूमा पानीको चाप अचानक बढ्नु जस्ता घटना बढिरहेका छन् ।
नदीको बहाब र जलविद्युत्मा सङ्कट थपिँदै गएको लामाको धारणा छ । हिमनदी पग्लिएर हिमताल फुट्ने जोखिम त छँदैछ, दीर्घकालमा भने हिमनदीहरू सुक्दै जाँदा ब्रह्मपुत्र, कोशी र सिन्धुजस्ता प्रमुख नदीहरूको बहाब सुक्खायाममा ह्वात्तै घट्नेछ । सन् २०१९ मा तिब्बतस्थित ब्रह्मपुत्रको उद्गमस्थल पुग्दा हिमनदीहरू निकै खुम्चिएको देखिएको बताउँदै लामाले यसले भविष्यमा पिउने पानी, कृषि र जलविद्युत् आयोजनामा गम्भीर सङ्कट ल्याउने चेतावनी दिए ।
लामाका अनुसार हिमताल विस्फोटन कुनै एउटा देशको सीमाभित्र मात्र सीमित नरहने भएकाले यसको समाधानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य छ ।
चीन, नेपाल, भुटान र भारतबीच हिमतालहरूको स्थितिबारे प्रत्यक्ष तथ्याङ्क आदान-प्रदान हुनुपर्ने । जोखिममा रहेका हिमतालमा पूर्वसूचना प्रणाली जडान गर्ने र संयुक्त अध्ययन-अनुसन्धानमा अघि बढ्नुपर्नेमा लामाले जोड दिएका छन् ।
यो समाचार भारतीय चर्चित पत्रिका द असम ट्रिब्यूनबाट अनुवाद गरिएको हो ।