विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

जैविक विविधताको ह्रास, ओजन तह विनाश, ऊर्जाको अन्त्य, आणविक ऊर्जाको निर्माण आदिले गर्दा विश्वभरि मौसममा आएका परिवर्तन खतराका सङ्केत भएका छन् । वातावरणीय सन्तुलन बिग्रेर त्यसको असर विश्वव्यापी भएको छ । यस्ता कुराको चिन्ताले जीवनको भित्री तहसम्म छोएर झस्काउन थालेपछि साहित्य–कला–संस्कृतिको अन्तरतह पनि प्रभावित हुँदै छ । त्यसैकारण, अहिले आएर वातावरणीय चिन्तन चेतनामूलक कार्यक्रममा सीमित नरहेर साहित्यमा र समालोचनामा पनि पुग्यो । अझ भनौँ– वातावरणीय संस्कृतिबारे चिन्तन गर्ने वातावरणीय दार्शनिकहरू पनि जन्मेका छन् । यिनीहरूको चिन्ताको विषय छ– जीव मण्डलीय क्षय (बायोस्फेरिक डिग्रेडेसन) ।

संसारका प्राचीनतम र ठूल्ठूला मत्स्यकेन्द्रको क्षय वा विनाश, भू–मध्यसागरीय जङ्गलको निरन्तर विनाश, कृषियोग्य जमिनको विनाश– परिणामस्वरूप अनेकौँ प्रजातिका प्राणी र वनस्पतिको लोप आजका डरलाग्दा चिन्ताका विषय हुन् । सांस्कृतिक लोप जस्तै हो यो कुरा । भाषिक मृत्यु जस्तै हो यो कुरा । वातावरणविद्हरू जगत्लाई यस्ता कुरा बुझाउन खोज्दै छन् । हाम्रा मूर्खताको दुष्परिणामबारे जगत्लाई सजग पार्न खोज्दै छन्, ती विनाश तर्काउने प्रयत्न गर्दै छन् ।

भारतका नर्बदा बाँध, चासनाला घटना, भोपालका नरसंहारक दुर्घटना, रूसको चेर्नोबिल दुर्घटनाका परिणाम संसारलाई झस्काइरहने घटनाका उदाहरण हुन् । हालै उत्तरको हिमराशि पग्लिँदा एकदिन यी नदीहरू सुक्न सक्ने तर्क आउन थालेका छन् । प्रकृतिसँग भएको जुनसुकै भण्डार पनि अनन्त छैन, हाम्रो स्वार्थपूर्ण हस्तक्षेपले झन् छिटो त्यसलाई रित्याइदिँदै छ ।

यस्ता प्रकारका वातावरणीय चिन्ता भोलिका गम्भीर समस्या हुन सक्छन् तर वर्तमानका तात्कालिक समस्यातिर लागेर तिनलाई हामीले पन्छाइरहेछौँ । आज पाश्चात्य जगत्का थ्रिलर (रोमाञ्चक उपन्यास) कविता, पर्यटन विषयक प्रकाशन, अन्य जीवनबारेका डकुमेन्ट्री, मूभि, बालसाहित्य आदिमा यस्ता विषय आइरहेका छन् । उताका धेरै उपन्यास, कथा र खासगरी यात्रा साहित्यले यस विषयलाई गम्भीरतापूर्वक लिन थालेका छन्, ती कुरा लेखनका प्रमुख विषय हुँदै छन् ।

हाम्रोमा पनि यस विषयका चेतनामूलक प्रकाशन आउन थालेका छन् । तापनि गम्भीर साहित्यमा तिनको प्रयोग भएको छैन । अब मात्रै त्यस्तो साहित्य आउन थालेको छ । वातावरणीय समस्या हाम्रोमा नभएका होइनन्, पर्याप्त छन् तर सुरूमा नदेखिने, तर्किने, क्रमिक रूपले बढ्ने, अत्यन्तै सूक्ष्म वा व्यापक हुने हुनाले त्यतातिर तत्काल ध्यान जाँदैन । जस्तै; रासायनिक उर्वरकको अत्यधिक प्रयोग, वनविनाश र जैविक प्रजातिहरूको लोप । यी पनि प्रकोप हुन्– भूकम्प, सुनामी, डढेलो, पहिरोजस्तै ।

एउटा पुस्ताले गरेका कार्यको दुष्परिणाम उसैले भोग्नु पर्दैन । धेरै पछि मात्र त्यो भोग्नुपर्ने दिन आउँछ । त्यसकारणले त्यसको तत्काल चिन्ता नभएकै लाग्दछ । मानव र प्रकृतिबीचको संघर्ष र विनाशको कथाले हाम्रा आख्यानमा, लिखित वा दृश्यात्मक माध्यमतिर हाम्रो ध्यान जान थालेको छैन । ती माध्यममा पर्यावरणको चिन्ता प्रकट भएको छैन । तर प्रत्येक दिन प्रत्येक रात हामी कुनै न कुनै प्रकारको विनाशमा लागेका छौँ ।

हालका महिनाहरूमै यस्ता केही घटनाहरू समाचारमा आए । नेपालमा बाँदरको संख्या घटाउन तिनीहरूको बन्ध्याकरण गरिएको कुरा आए । मुस्याहा कुकुर निमिट्यान्न हुने गरी मार्ने सस्तो प्रविधि लागू भएको समाचार आए । त्रिशुलीमा स्थानीय माछा समाप्त भएको कुरा दुःखद् समाचार पनि आए । गतवर्ष मात्रै समाचार आयो– अब चिराइतो मासिने अवस्थामा छ ।

लोक्ता (अर्गेली) पनि मासिँदै छ । टुसा बेच्ने भएर चुरेका बाँस सबै मासिए । बजारमा चुत्रो, ऐंसेलु र काफलजस्ता फलका वाइन आउन थालेका छन् । यस पालिदेखि बेलको सर्बत आयो । अझ गुराँसको थपियो । बेलकोसम्म ठिकै छ, त्यो फल हो, तर जब गुराँसका थुँगा टिपेर ‘औषधियुत्त’ भन्दै सर्बत बिक्रीवितरणको प्रयत्न सुरू भएपछि अब छिट्टै नै गुराँसको सर्वनाश हुने सम्भावना छ ।

यो देशबाट त्यो प्रजाति नै हराउने सम्भावना छ । वातावरणीय क्षयले उत्पन्न गर्ने परिणामबारे बताउने तथा देश र कालको जटिल सम्बन्धमा ती परिणाम बुझाउने कुनै तात्कालिक माध्यम छैन । त्यसकारण व्यक्तिगत जीवनलाई छोएर, ती कुराको प्रभाव देखाउने गरी लेखिएका कलाकृति हत्तपत्त पाइन्नन् । त्यसैले ‘ इकोक्रिटिक’लाई उपयुक्त सामग्री फेला पार्न मुस्किल पर्छ । अझ ‘इकोक्रिटिसिजम्’ पनि समालोचनाको एउटा क्षेत्र हो भन्ने कुरा हाम्रो परिवेशमा अवगत गराउन सकिएको छैन ।

आर्थिक वृद्धि हुने भन्दैमा ध्वंसात्मक उपाय अपनाएर गरिने विकासे क्रियाकलापको पर्यावरणीय सचेतकले विरोध गर्दछन् । अर्कातिर भने त्यस्ता क्रियाकलाप बन्द गरे मानिसको जीविका र आयआर्जनमै बाधा पुग्दछ । आवश्यक वातावरणीय सचेतताको विषयमा पुनर्विचार गर्नुपर्ने पनि हुन सक्छ ।

परम्परागत अभ्यासलाई कतिपय नयाँ संस्कृतितिर धकेल्नुपर्ने हुन्छ । त्यसकारण अर्को छुट्टै वैकल्पिक नयाँ संस्कृतिको निर्माण गरेर पनि मानिसको स्वतन्त्रताको रक्षा हुनुपर्छ । यसप्रकार वातावरण सधैँ दोधारमा छ, मानव अधिकारको पालना गर्ने कि वातावरणको अधिकार ? वातावरण पनि जीवन हो । यो जीवित रहन खोज्दछ । यसलाई जीवित रहन दिनुपर्छ ।

इकोक्रिटिसिजम् र कृति विश्लेषणका आधार

अबको लेखकले कसरी आफ्नो लेखनमा इकोप्रति सजग हुने, समालोचकले कसरी त्यो पत्ता लगाउने यी कुरा बुझ्नु आवश्यक छ । अबको समालोचकले परम्परित शास्त्र पढेको भरमा यी नयाँ कुरा देख्दैन, बुझ्दैन । उसले आफ्ना आँखा र कान चनाखा पारेर नयाँ कुरा पढ्न विश्वतिर फर्किनुपर्छ । साहित्य अब साहित्य सिद्धान्तले मात्र चल्दैन, अन्यत्र पनि हेर्नुपर्छ ।

वर्तमान समयमा यस स्कुलका अगुवामध्ये एक हुन् लरेन्स ब्युल । उनको ‘द इन्भाइरोन्मेन्टल इम्याजिनेशन’ (१९९५) शीर्षक कृति इकोक्रिटिसिजम्को एक महत्त्वपूर्ण मानक ग्रन्थ हो । यसमा उनले ड्याभिड थोरोको पालादेखिको प्रकृति लेखनको परम्पराको परीक्षण गरी इकोक्रिटिकल पोएटिक्स (पर्यावरण–चेत भएको काव्यशास्त्र) को स्थापना गरेका छन् । संसारभरिका लेखक र समालोचकलाई उपयोगी हुनेगरी उनले केही महत्त्वपूर्ण मार्ग निर्देशक बुँदा प्रस्तुत गरेका छन्, जस्तै;

१. मानवेतर वातावरण भनेको एक प्रकारको सिमाना (फ्रेमिङ) मात्र होइन तर यो एउटा यस्तो उपस्थिति हो जसले बताउँछ– प्रकृतिको इतिहासभित्रै मानवइतिहास अन्तर्निहित वा निर्मित छ । (मानव र मानवेतरको भेद रहँदैन ।)

२. मानवको इच्छामात्र अन्तिम र वैध इच्छा हो भन्ने ठान्नु हुँदैन । (अरूका पनि इच्छा छन् ।)

३. वातावरणप्रति मानिसको उत्तरदायित्व भन्नु नै उसका कृतिभित्र आउनु पर्ने नैतिक दायित्वबोध हो ।

४. वातावरण भनेको मानवलाई प्रदत्त कुनै वस्तु नभएर एउटा परिवर्तनशील ज्यादै कमजोर प्राकृतिक चक्रमा आधारित र सधैँ संरक्षण खोज्ने प्रक्रि (अस्तित्त्व) हो ।

यी सिद्धान्तसूत्र पढेपछि मानिस एकोहोरिएर स्वार्थतिर लाग्ने, स्वकेन्द्री हुने र पृथ्वीलाई आफ्नो खेलौना ठान्ने कामदेखि तर्सिन सक्छ । अलिक होसियारीले पाइला चाल्न सक्छ । अतीतका मूर्खताप्रति पश्चाताप गर्न थाल्छ ।

आज इकोसँग जोडिएका अनेक लेखनप्रक्रिया, अनेक मान्यता र विधा झाँगिदै गएका छन् । इकोराइटिङ, इन्भाइरोन्मेन्टल लिटरेचर, इको पोएट्री अकोक्रिटिसिजम् आदि सबै उत्तरआधुनिक परिवेशले जन्माएका नवपथ हुन् । गर्दागर्दै उत्तरआधुनिक परिवेशको नारी चेतना र इकोलोजीसँग जोडिएको नारीको जीवनलाई छोएर एउटा नवीन शास्त्रको स्थापना भएको छ– ‘इकोफेमिनिजम्’ ।

आजको साहित्यमा इकोक्रिटिसिजम् हेर्नेले अर्थात् इकोक्रिटिसिजम्को दृष्टिले कृति विश्लेषण गर्न चाहनेले केही नयाँ सूत्रहरू बुझ्नुपर्छ । यसअन्तर्गत ६ वटा दृष्टिकोणलाई सम्झिन आवश्यक छ । यी प्रत्येक शीर्षकको अलिकति व्याख्या गर्न चाहन्छु । ती निम्नानुसार छन् :

इकोलोजी (परिस्थितिविज्ञान/पारिस्थितिकी) को परिचय र महत्त्व

इकोलोजी (परिस्थितिविज्ञान पारि स्थितिकी) ले वनस्पति र प्राणीबिच प्राकृतिकरूपले रहने अन्योन्याश्रित स्वभावको विशेषतालाई जनाउँछ । यसभित्र प्राणी अथवा जीवात र उनीहरूले अरूसित मिलेर उपभोग गरेका वातावरणलाई जनाउँछ ।

जीवहरूले आफ्नो अनुकूल वातावरणको निर्माण गर्दछन् भने वातावरणले पनि उनीहरूलाई आफ्नो अनुकूल ज्ञज्ञघ पार्दछ । त्यसैले इकोलोजीले प्राणीहरूलाई आफ्नो वासस्थानबाट अलग्याएर प्रयोगशालामा राखी अनेक प्रकारले दुःख दिने परम्पराको पनि घोर विरोध गर्दछ । इकोलोजीले प्राणीशास्त्र, वनस्पतिशास्त्र, भूगर्भशास्त्र र मौसमविज्ञानसँग जोडिएर काम गर्दछ ।

इकोलोजीलाई प्रस्टयाउने अरू तीनवटा अवधारणा (हाँगा) छन् । ती हुन्– इकोसिस्टम, इकोलोजिकल निश र आहार– सिक्री ।

तीमध्ये पहिलो हो इकोसिस्टम अर्थात् पारिस्थितिक प्रणाली । यो भनेको जीवनलाई सञ्चालित गर्ने अनेकन स्थानीय तत्वहरूको समूह हो । उदाहरणका लागि भूमध्यसागरीय जङ्गल अथवा हिमप्रदेश, सहारा मरूभूमि अथवा गङ्गाको मैदान आदि विशाल पारि स्थितिक प्रणाली हुन् ।

स्थानीय रूपले हेर्दा पहाड, मधेस, सिमसार, बुट्यान, चुरे, उपत्यका, चारकोसे आदि बेग्लाबेग्लै इकोसिस्टम हुन् । एउटा भौगोलिक अथवा मौसमी क्षेत्रबाट अर्कोमा प्रवेश गर्दा भिन्नै इकोसिस्टम भेटिन्छ । एकठाउँमा बस्न, खान र जिउन बानी परिरहेको जीव वा वनस्पति अर्कोमा जाँदा कि आफू बदलिन्छ कि प्रणालीलाई बदल्न खोज्दछ । अथवा दुवै गर्न नसक्दा आफँै मासिएर जान्छ । नयाँ सङ्कटको सामना गर्न नसक्दा पनि त्यो मासिएरै जान्छ । ससाना स्थानीय इकोसिस्टमहरू मिलेर एउटा वृहत्तर प्रणाली (ग्लोबल सिस्टम) बन्दछ । यसलाई बायोस्फेयर अर्थात् इकोस्फेयर भनिन्छ । यो समग्र भूतल वा जीव–मण्डल हो ।

अर्को पद छ ‘इकोलोजिकल निश’ अर्थात् पारिस्थितिक खोपी । यो भनेको एउटा ससानो स्थान हो, जहाँ जीव वा वनस्पतिको विशेष प्रजाति उत्पन्न हुन्छ, फैलिन्छ, रमाउँछ, बढ्छ र आफूलाई सुरक्षित ठान्दछ । त्यो प्रजातिलाई टिकाइराख्ने अनेक तत्व हुन्छन् । खाना, आवास, तापक्रम, तिनीहरूलाई खेद्ने अरू तत्व अर्थात् परभक्षी/परजीवी अन्य प्रतिस्पर्धी । जलवायु आदि हुन्छन् । यस्ता कुराहरू आफ्नै परिवेशतिर फर्केर हेर्दा पनि हुन्छ । यता केशरमहलका चमेरा, वसन्तपुरका परेवा, पशुपतिका बाँदर, कुनै ठाउँका मुसा वा लोखर्क, सर्प वा गिद्ध, त्रिशुलीका माछा, रानी वनका कालिज, कतैका हुच्चिल वा फ्याउरा, वनढाडे वा बकुल्ला गर्दागर्दै कृष्णसार, गैँडा, बाघ, भालु, डल्फिनजस्ता ठूल्ठूला जीवसमेत लोप हुँदै गरेको सङ्केत र सूचना दिनदिनै आइरहेका छन् । किनभने तिनका खोपी (निश) मासिँदै छन् ।

त्यसैगरी, मानिस पनि निश्चित प्रकृतिको खोपीमा रमाउने हुन्छन् । जस्तै; कपडा व्यापारी, वस्तु व्यापारी, मछुवा वा पुजारी, गोठाला, कृषक वा थोत्रोमोत्रो बेचुवा, जडिबुटी खोज्नेहरू, बालुवा झिक्नेहरू, साधुसन्त, शिक्षक, विद्यार्थी । सबैको आआफ्नै निश हुन्छ । तर जुनजुन तत्वले त्यो विशेष वासस्थल निर्माण गर्दछ त्यो पनि बदलिरहन्छ– जङ्लमा सखुवाका रूखहरू समाप्त पारेपछि सुगा समाप्त हुन्छन् । सिमलसँगै बकुल्ला लोप हुन्छन् । गिद्ध सिमसार सकिएपछि बकुल्ला र हिलेमाछा समाप्त हुन्छन् । विषादिको प्रयोग भएपछि मांसाहारी गिद्धको, मुसाको विनाश हुन्छ । त्यसको असरचक्र अन्यत्र पनि सर्दै जान्छ ।

तेस्रो कुरा यसैगरी खाद्य वा आहारको सिक्री हुन्छ । कसले के खान्छ, कुन तत्व खाइन्छ, कसरी के नाश हुँदा के नाश हुन्छ । प्रदूषित खाना–पानीको कारणले गर्दा पशुपतिका बाँदर रोगी, दुब्ला र ख्याउटे अनि आक्रामक हुँदै छन् । ती अनेक चर्मरोगले डल्लो पर्दै छन् । यस्ता उदाहरण सर्वत्र छन् । नेपाली लेखनमा यी सारा कुरा आए कि आएनन्, आए भने कसरी तिनलाई हेरिन्छ ? त्यसको हिसाब हुन्छ अब ।

इकोलोजीलाई अझ गम्भीरतासाथ हेर्नेहरू पनि छन् । तिनीहरू हरित क्रानीतिसत जोडिएका छन् । ती ‘गम्भीर इकोलोजी’ का पक्षमा छन् । तिनीहरू पशुप्राणी जोगाऔँ, वृक्ष रोपौँ, फोहर नियन्त्रण गरौँ भन्नेजस्ता उपचारात्मक प्रक्रियापट्टि लाग्दैनन् । ती भन्छन्– मानिसले पृथ्वीलाई बिगार्ने, फुकाल्ने, यहाँका रूख काट्ने–रोप्ने, पानी थुन्ने, बङ्ग्याउने, मार्ग बनाउने, सुरुङ खन्ने, ग्यास छोड्ने लगायत केही गर्ने अधिकार छैन । पृथ्वीलाई छुने पनि अधिकार छैन । त्यसैले केही नचलाऊ, केही नछोऊ । प्राणी र वनस्पतिलाई तिमीले माया देखाउने होइन, ती नछोऊ । उनीहरू मानवेतर जगत्‌काे आफ्नो एक्लै जीवकेन्द्रित स्वतन्त्रताको पक्षमा बोल्दछन् । यो झन् गहिरो पक्ष छ ।

फेरि अर्काथरी पनि त्यत्तिकै गम्भीर पर्यावरणविद् बनेर निस्केका छन् । ती हुन्– सोसल इकोलोजिस्ट । अर्थात् सामाजिक पर्यावरणविद् । उनीहरू भन्दछन्– सामाजिक संरचनामा पनि जैविक पर्यावरणमा जस्तै अर्को पर्यावरण छ । यो अनेक तत्वले निर्मित छ । सामाजिक पर्यावरणमा अन्याय र अत्याचार समाप्त नभएसम्म, सबैमा समानता स्थापित नभएसम्म प्राकृतिक पर्यावरणको संरक्षण हुँदैन पनि ।

साँच्चै हो, चिडिमार केवल चरा मारेर जीविका चलाउँछन् । सपेराहरू सर्पकै सहाराले जीवन चलाउँछन् । खरायो, न्याउरी मुसा, कालेज, बनेलदेखि गैँडाका सिकारी छन् । वनको निगुरो बेच्ने छन् । काठका ठेकी भाँडा बेच्ने छन् । पात बेच्ने, घाँस बेच्ने, कोइला बेच्ने, माछा–सिद्रा बेच्ने, रातोमाटो, चुनढुङ्गा, सिङ्गमरमर, कमेरो, स्लेट, बालुवा, ढुङ्गा सबैथोक बेच्ने छन् । दाउरा काठ र जङ्गली फलफूल खोजेर जीविका चलाउने, पशुपन्छीको सिकार गर्ने छन् । अनेक जडीबुटी खनेर जिन्दगी टार्ने छन् । यी मानिसलाई समाजको माथ्लो तहले धकेलेर त्यहाँ पुयाएको छ । तिनको जीवनमा विकल्प नआएसम्म, नल्याएसम्म प्रकृतिको इकोसिस्टममा सुधार हुँदैन ।

यहाँ विभिन्न खालका यस्ता संस्कृति– जीवन पद्धति नै ‘इकोलोजी’ भएका छन् । बालुवामा सुन खोज्ने, भीरमा मह खोज्ने, सिलाजित खोज्ने, जङ्गलमा पशुपन्छी, तिनीहरूको अंग आदि खोज्ने छन् । यस्ता खाले ‘इकोलोजी’ साँच्चै इकोलोजीका घातक हुन्छन् । यिनीहरूलाई निरन्तरता दिनु हुँदैन । त्यसैले आजका लेखकले पर्यावरणीय परिवेशलाई बुझेर ती जिम्मेवारी स्वीकार्न जान्नुपर्छ । त्यसै अनुसार लेखनलाई उद्देश्यपूर्ण बनाउनुपर्छ ।

अहिलेका परिवृत्तीय समालोचकहरू विश्वभरिका लेखक तथा समालोचकसमक्ष आह्वान गर्दै छन्– हामीले वैज्ञानिक जगत्मा आएका परिवर्तनको ख्याल राख्नुपर्छ, तिनबाट सञ्चालित र निर्देशित हुनुपर्छ । ती व्यापक, तीव्र, विशाल र गतिमय छन् । त्यो गतिमयता ज्ञज्ञद्ध नबुझी गरिएको लेखन असामयिक र वास्तविक जगत्भन्दा टाढा हुन जान्छ ।

वास्तवमा विश्वको चरित्रमा, भनौँ प्रकृतिको स्वभावमा नै विविधता र बहुलता छ । आजका वातावरणविद्को उद्देश्य पनि त्यसैको संरक्षण गर्नु हो । विविधता हरेक प्रकारका छन् सौन्दर्यपरक, नैतिक, उपयोगितावादी, जैविक, पर्यावरणीय सबै मिलाएर हेर्दा यो सबै तरल र अस्थिर पनि रहन्छ । विविधता र अस्थिरता सँगसँगै हुन्छन् ।

कहिलेकाहीँ यो परिवर्तनले इकोलोजीलाई सकारात्मकरूपले योगदान पुर्‍याएको पनि पाइन्छ । जस्तो कि ग्यास चुलो र मट्टितेलको अत्यधिक प्रयोगले काठमाडौँ वरिपरिका डाँडाकाँडा पूर्णरूपले हरियालीयुक्त भइसके । त्यहाँ दाउराका लागि जङ्ल कटान प्रक्रिया हराउँदै गयो । त्यहाँ जीवजन्तु बढ्दै गए । निर्माण सामग्रीमा पनि फलाम र आलुमिनियमको अनि चुलामा ग्यासको प्रयोगले पनि अन्यत्रका सहर वरिपरिको समेत जङ्गल विनाशको तीव्रता कम हुन सक्छ । यी कर्ण शाक्यको अनुभवले बताएका कुरा हुन् ।

माओवादीहरू जङ्गलमा व्याप्त भएपछि त्यहाँ पशुप्राणी बढे । जङ्गल विनाश कम भयो । डरले मानिस जङ्गल पस्न छोडे तर फेरि उनीहरूकै हातबाट कति जङ्गल विनाशको खबर आइरहेछ । त्यो अर्कै पाटो हो । गाउँमा सौर्यऊर्जा र गोबरग्यासको प्रयोगले पनि पर्यावरणको पक्षमा विकल्प प्रदान गर्दै छन् ।

यो आलेख गोविन्दराज भट्टराई र विजय हितानद्वारा सम्पादित ‘पर्या साहित्य सिद्धान्त र सिर्जना’ पुस्तकबाट साभार गरिएको हो, जुन २०८० साल पुस १ गतेकाे ऊर्जा खबर अर्धवार्षिक पत्रिकामा प्रकाशित थियाे ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३