गाँस, बास र कपासजस्तै बिजुली पनि नेपाली जन-जीवनको अभिन्न हिस्सा भइसकेको छ । आधुनिकीकरणसँगै हाम्रा सम्पूर्ण कार्यहरू बिजुलीमा निर्भर छन् । यस्तो अवस्थामा एकछिन बिजुली नहुँदा मानौं, हाम्रो जीवन टक्क अडिएको महसुस हुन्छ । झन् त्यसमाथि सामाजिक सञ्जालको बढ्दो प्रयोगले एकछिन वाईफाई (Wi-Fi) को सिग्नल बन्द हुँदा त हाम्रो मुटुको धुकधुकी नै बन्द भएजस्तै छटपटी हुन्छ । मुखबाट विद्युत् प्राधिकरणका कर्मचारीको नाममा तत्कालै दुई-चार भक्ति श्लोक उच्चारण गरिहाल्न मन लाग्छ तर के अहिले बारम्बार बत्ती जानु विशुद्ध प्राविधिक कारण हो या अरू नै ? या साच्चै इन्भर्टर-जेनेरेटर व्यापारी सल्बलाएका हुन् त ? के कर्मचारीको लापरवाही वा भनौँ प्रयास नगरेरै यो सब भएको हो ? या एकजना नेतृत्व फेरिँदैमा यस्तो हुनु सम्भव हुन्छ ? यी र यस्ता प्रश्नहरूको सेरोफेरोमा रहेर यथार्थपरक ढङ्गले बुझ्ने प्रयास गरौ :
सबैभन्दा पहिले अहिले सामाजिक सञ्जालामा व्यापक फैलिएका केही प्रश्नहरूको सत्यता खोतल्ने प्रयास गरौँ :
१. पटक-पटक बत्ती जानु प्राधिकरण नेतृत्व परिवर्तनको परिणाम हो ?
- बिल्कुलै होइन, नेपाल विद्युत् प्राधिकरण वर्षौँदेखि निर्माण भएको पद्धति तथा दिन-प्रतिदिन आफूलाई परिस्कृत गर्दै गुणस्तरीय र बिनाअवरोध विद्युत् वितरण गर्न प्रतिबद्ध छ । यो एक जना कसैले चाहेर वा आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न सकिँदैन । फेरि, कसैले आफू असफल भएको वा लाखौँ जनतामाझ आफूलाई नराम्रो भएको देख्न र सुन्न कसैले चाहँदैन त्यसैले यो अफवाहमा कुनै सत्यता छैन ।
२. किन गइरहेको छ बारम्बार बिजुली ?
- बिजुली जानुका पछाडि धेरै कारणहरू छन् तर अहिले देखिएका प्रमुख कारणमध्ये सिस्टम वा प्रणाली फेल र त्यसमाथि हावा-हुरीको वितण्डा नै हो । पटक-पटक बत्ती जानु पुरानै रोग हो तर अहिले बिगत केही वर्षयताकै अधिक पटक-पटक बिजुली जानु (Frequently Tripping) को समस्या देखिएको छ । जुन एउटा स्वस्थ प्रणालीको पर्याय होइन । यसको समाधानका लागि तत्कालै कदम चालिहल्नु पर्ने देखिन्छ र कार्य भइरहेको पनि छ ।
३. किन यति धेरै सिस्टम फेल हुन्छ ?
- सिस्टम फेल बुझ्नु भन्दा पहिले, किन हुन्छ ? सामान्य कुरा बुझ्न जरुरी हुन्छ । विद्युत्को माग र आपूर्तिबीच सामन्जस्यता नहुनु वा सन्तुलन नमिल्नु नै सिस्टम फेल हुनु हो । नेपालको आपूर्ति प्रणाली नेपालको आन्तरिक उत्पादनका साथ-साथै भारतीय विद्युत्को आदान-प्रदानमा निर्भर रहेको कुरा कसैसँग लुकेको छैन । सुख्खायाम लागेसँगै हाम्रा नदीको जलप्रवाह आधाभन्दा बढीले घट्दा उत्पादन समेत घटन जान्छ । यता गर्मी बढेसँगै विद्युत्को माग अत्याधिक बढेर जान्छ फलत: भारतबाट विद्युत् आयात गरी आपूर्ति मिलाउनु पर्ने बाध्यता छ । भारतीय सिस्टममा गडबडी भई नेपालमा आयात बन्द हुनु वा भारतीय सिस्टम फेल हुने वित्तिकै त्यसको असर नेपालको सिस्टममा पर्न जान्छ र फेल हुन जान्छ । अहिले भारतीय सिस्टम पनि अस्थिर रहेका कारण नेपालको सिस्टम फेल हुनुमा महत्त्वपूर्ण भूमिका देखिन्छ । विगत एक हप्तादेखि नेपालका विभिन्न क्षेत्रमा अत्याधिक हावाहुरी र वर्षाका कारण हाम्रो प्रसारण तथा वितरण प्रणालीमा क्षति पुग्न गयो । यही कारण विद्युत् अवरोध हुन गएकोले सोको सुचारु गर्न केही समय लाग्यो । यही समयमा जनमानसमा आक्रोस देखिनु स्वभाभिक हो ।
४. लाइन जाँदा कर्मचारी के गर्छन् ?
- समस्या अउने वित्तिकै नजिकको बिजुली अफिसमा फोन गरेर लाइन किन काटेको भनेर तथानाम गाली-गलौज गर्ने चलन अत्याधिक बढेको छ । लाइन किन कटेको निर्क्योल गर्न नै कर्मचारीलाई पनि केही समय लाग्छ । सबभन्दा पहिले ग्राहकले के बुझ्नु पर्ने हुन्छ भने हाम्रो घरसम्म पुग्ने विद्युत्मा तीन महत्त्पूर्ण विभाग (उत्पादन, प्रसारण र वितरण) को संलग्नता हुन्छ । यी तीनै विभागलाई निगरानी तथा समजस्यता मिलाउने भार-प्रेसण केन्द्र हो । यी विभागमध्ये कुनै एकमा समस्या आउँदा सबै विभागमा असर पर्छ । समस्या कहाँ भएको हो भन्ने कुराको पहिचान भएपछि आ-आफ्नो कार्य गर्न कर्मचारी चौबीसै घन्टा लागिपरेका हुन्छन् । जुन कुराको जानकारी ग्राहकलाई हुँदैन । कर्मचारीहरूले उपलब्ध स्रोत-साधन तथा सिपको उच्चतम प्रयोग गरी लाइन सुचारु गर्न इमानदार प्रयास गरिरहेका हुन्छन् । कहिलेकाहीँ दूर-दराजको ठाउमा अबेला वा आवश्यक स्रोत-साधनको अभावमा तत्काल समस्या समाधान गर्न प्राविधिक कठिनाइ हुन्छ । यही कारण रातिको साटो बिहानको उज्यालोमा काम गर्नुपर्ने बाध्यता हुने गरेको छ ।
५. यो समस्याबाट पार पाउन सकिन्न ?
- सकिन्छ तर यो समस्याको दीर्घकालीन समाधान गर्न राज्यको ठुलो लगानीको आवश्यकता पर्ने छ । प्राधिकरण एक्लैको प्रयासले असम्भव छ । समस्या निराकरणका लागि सम्पूर्ण सरोकारवाला निकायबीच हातेमालो गरी अबका केही वर्षमा यो समस्या समाधोन्मुख भएको जनस्तरमै महसुस गर्न सकिन्छ । बाहिरबाट देखिएजस्तै त्यति सजिलो पक्कै हुने छैन ।
समस्याबाट पार पाउन तपशिलको सुधार अपरिहार्य देखिन्छः
क) नेपालको आन्तरिक विद्युत् उत्पादन क्षमता बढाई सुख्खायामको भारतीय विद्युत्मा रहेको परनिर्भरता कम गर्दै लग्नुपर्ने नीति आवलम्बन गर्नुपर्ने हुन्छ । अहिलेको सुख्खायाम भइरहेको भारतीय विद्युत् आयातको अनुपात घटाउँदै लगी आयात प्रतिस्थापन उन्मुख हुनु पर्दछ ।
ख) भारतीय सिस्टममा गडबडी हुँदा प्रत्यक्ष असर नगर्ने किसिमको प्रणालीको विकास गर्नुपर्ने छ ।
ग) प्रसारण प्रणालीलाई सुदृढीकरण गरी आधुनिक टेक्नोलोजी जडान गरेर सम्पूर्ण प्रणाली जुस्त-दुरुस्त गर्नुपर्ने छ ।
घ) व्यापक मात्रामा प्रसारण तथा वितरण सबस्टेसन निर्माण तथा लामो दूरीका वितरण लाइन छोट्ट्याउनु पर्ने हुन्छ ।
ङ) जिर्ण काठे पोलहरू पूर्ण रूपमा विस्थापित गरी वितरण लाइनलाई भरपर्दो बनाउनु पर्ने छ।
च) नाङ्गो तारको ठाउँमा इन्सुलेटेड कन्डक्टरको प्रयोग बढाउँदै लैजाने काम गर्नुपर्ने छ ।
छ ) गुणस्तरीय विद्युतीय उपकरणको छनोटमा सम्झौता गर्नु हुँदैन ।
यी अनेकन चुनौतीहरूको प्राविधिक रूपमा विश्लेषण गरी समस्या समाधानका उपाय खोज्नुपर्ने हुन्छ ।
६. जनताले कहिलेसम्म दुःख भोग्ने ?
- अहिले देखिएको एकै दिनमा धेरै पटक लाइन जाने समस्या short term tripping problem हो जुन हावा-हुरीका कारण प्राकृतिक रूपमा सृजित समस्या हो, मौसममा सुधारसँगै स्वतः समाधान हुँदै जानेछ । प्राविधिक समस्याका कारण हुने Tripping न्यूनीकरण तथा निमिट्यान्न पार्न प्राविधिकहरू लागि परेकै छन् । आशा गरौँ यो समस्या सक्दो छिटो समाधान भएर जानेछ ।
पक्कै पनि लाइन जानु कसैका लागि राम्रो कुरा होइन । प्राधिकरणले बारम्बार यो समस्याका कारण करोडौँको आर्थिक क्षति बेहोर्नु परेको छ । यस्तो अवस्थामा प्राधिकरणले आर्थिक नोक्सानी होस् तथा आफ्नो छबीमा दाग लागोस् भन्ने चाहँदैन । यस विषम परस्थितिमा आफ्नो तर्फबाट दिनुपर्ने साथ सहयोगमा ग्राहकवर्ग चुक्नु हुँदैन । एउटा असल नागरिकले पूर्वाग्रह नराखी सुधारका लागि सकारात्मक टिप्पणीमार्फत कुनै सरकारी संयन्त्रमा कमी-कमजोरी भए खरदारी गरिराख्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो ।
विद्युत्को महत्त्व आममानिसको जीवनमा दिनप्रति दिन बढ्दै गइरहेकाले प्राधिकरण गुणस्तरीय, भरपर्दो र बिनाअवरोध विद्युत् आपूर्ति गर्न कुनै पनि मूल्यमा चुक्नु हुँदैन । आफ्नो साख थप उचाइमा पुर्याउन प्राधिकरण जनअपेक्षामा खरो उत्रिनु पर्छ । आफ्नो काम कर्तव्यमा थप सुधार र मिहिनेतका साथ आत्मसात गरी त्यही अनुरूप कार्य गर्नुपर्ने छ ।
लेखक, नेपाल विद्युत् प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्र, चितवनमा इलेक्ट्रिकल सहायक इन्जिनियरको रूपमा कार्यरत छन् ।
रोशन चौधरी नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सहायक इन्जिनियर हुन् ।