हुन त म सुकुम्वासी होइन, तर काठमाडौँ उपत्यकामा मेरो आफ्नै घर छैन । काठमाडौँ विश्वविद्यालयमा जागिर खाएको पनि करिब पच्चीस वर्ष पूरा गर्न लागेको छु । हालको स्टाफ क्वार्टरमा बसेको पनि दस वर्ष भइसकेछ ।
हिजो राति अचानक पानी पर्यो, हावा हुरी चल्यो, र मेरो क्वार्टरको छानो उड्यो । सस्तो र अस्थायी प्रिफ्याब क्वार्टर थियो । जे जस्तो थियो, त्यही थियो । सुरुमा छोटो समय बसेर अलि राम्रो व्यवस्था पाइएला भन्ने आश थियो तर दस वर्ष कसरी बित्यो, पत्तै भएन । त्यही सानो कोठामा पानी सिधै छिर्दा, परिवारसँग रातभरि जागा बस्नुपर्दा, मैले कहिल्यै कल्पना नगरेको अवस्था भोग्नुपर्यो ।
त्यो बेला सम्झिएँ, नर्वेमा विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एकबाट पिएचडी गरेर, तीन महिनाको बच्चा बोकेर, देशमा केही गर्छु भन्ने ठूलो सपना बोकेर फर्किएको क्षण । त्यसपछि टर्बाइन टेस्टिङ ल्याबलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनेदेखि हाइड्रोजन अनुसन्धानसम्म, कोरोना कालमा समेत सबै छोडेर नयाँ प्रविधिमा लागियो । हाइड्रोजन ल्याब स्थापना गरियो, नीति निर्माणमा योगदान गरियो, निजी क्षेत्र, सरकार र अन्तर्राष्ट्रिय सहयोगका तहमा काम भयो ।
नेपालको पहिलो हाइड्रोजन रिफिलिङ स्टेसन निर्माण गरेर हाइड्रोजन कारको सफल परीक्षणसम्म पुग्दा, हाइड्रोजनले भविष्यमा नेपालको यातायात, मल उत्पादन, उद्योग र ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने प्रमाण प्रस्तुत गर्न सकियो ।
पाँच वर्षअघि लिएको हाइड्रोजनसम्बन्धी जोखिमपूर्ण निर्णय आज फर्केर हेर्दा सही जस्तो लाग्छ। विश्वले पनि जीवाश्म इन्धनको सीमितता, कार्बन नीतिहरू, युद्धजन्य ऊर्जा सङ्कट र हरित ऊर्जाको आवश्यकता तीव्र रूपमा महसुस गरिरहेको छ । नेपाल पनि यही दिशामा अघि बढ्नुपर्छ भन्ने विश्वास अझ बलियो भएको छ ।
मैले गरेको कामको मूल्याङ्कन राज्य र समाज दुवैले उचित रूपमा गरेका थिए। मिडिया, नागरिक समाज र विभिन्न संस्थाहरूले ती कामहरूलाई उच्च गरिरहेको थियो । विज्ञान तथा प्रविधि सम्बन्धी विभिन्न सम्मानदेखि मन्त्रिपरिषद्को निर्णयमार्फत प्राप्त राष्ट्रिय प्रतिभा पुरस्कारसम्म, ती सबै सम्मानहरू पनि मेरो यात्राका महत्त्वपूर्ण हिस्सा बने ।
तर ती सबै सम्मानहरू हिजो रातको पानी बाट मेरो परिवारलाई थेग्न असमर्थ भए ।
त्यो रात, भित्तामा सजिएका सम्मानपत्रहरू, कदरपत्रहरू र विभूतिहरू सबै टुलुटुलु हेरिरहे। कुनै पनि सम्मानले त्यो पानी रोक्न सकेन । मैले बुनेका सपनाहरू, देश बनाउने, ऊर्जा रूपान्तरण गर्ने, स्वदेशी स्रोतबाट समृद्धि ल्याउने, सबै कताकता भिजेजस्तो लाग्यो। तर म जस्तो तसो सम्हालिन खोजेँ ।
मेरो छोरालाई सानैदेखि कुकुर पाल्ने ठूलो इच्छा थियो । तर विश्वविद्यालयको क्वार्टरमा जनावर पाल्न पाइँदैन । ऊ बारम्बार सोध्थ्यो, 'बाबा, कहिले घर बनाउने ? कहिले कुकुर पाल्ने?' हामीले उसलाई 'यो पनि घरै हो' भनेर सम्झाउँदै आएका थियौँ तर हिजो रात उसले पनि आफ्नो धैर्य गुमायो । त्यो क्षण हामी बुढा-बुढी गहिरो रूपमा छोयो ।
सुकुम्वासी बस्तीहरू उजाड भएको समाचार हेर्दा पनि मलाई कताकता आफू पनि त्यही अवस्थाको नजिक पो छु कि भन्ने अनुभूति भयो । उनीहरूलाई कम्तीमा सुरक्षित स्थान हुन्छ तर मेरो अवस्थामा त्यो विकल्प पनि थिएन । मनमा डर मात्रै रह्यो– फेरि पानी परे के गर्ने, फेरि हुरी चले के होला ? विश्वविद्यालयले कहिले मर्मत गर्ला ? अहिले उपकुलपति र रजिस्ट्रार समेत नभएको अवस्थामा मर्मत प्रक्रिया अघि बढ्ला कि नबढ्ला ? भाडा तिरेर बसेको क्वार्टरलाई आफैँ मर्मत गरेर बस्नु कस्तो होला ?
फेरि चित्त बुझाएँ तर यो केवल मेरो व्यक्तिगत समस्या मात्र होइन । यो सायद धेरै नेपालीहरूको साझा वास्तविकता हो । हामीसँग क्षमता छ, सीप छ, सपना छ, तर स्थायित्व र आधारभूत सुरक्षा अझै कमजोर छ । सायद त्यसैले नेपाली जीवनमा घरलाई सबैभन्दा ठूलो उपलब्धि मानिन्छ ।
यही अनुभवले मलाई अझ दृढ बनाएको छ । म आत्तिएको छैन, म अतालिएको छैन । बरु आत्मबल अझ बढेको छ ।
मन मनै कुरा खेलाएँ, मेरो छोरा र उसको पुस्ताले पासपोर्ट बोकेर विदेशमा अवसर खोज्न नपरोस् । आफ्नै देशमा बसेर विश्वस्तरीय शिक्षा र रोजगारीको अवसर प्राप्त गर्न सकुन् । आफ्नै घरमा परिवारसँग, आफ्नो कुकुरसँग खेल्दै हुर्किन सकुन् । त्यो मेरो सपना हो ।
हामीसँग जलविद्युत्, सौर्य ऊर्जा, खनिज र प्राकृतिक स्रोतहरूको ठूलो सम्भावना छ। यी स्रोतहरूको सही उपयोग गरेर नेपाललाई हरित औद्योगिक राष्ट्र बनाउन सकिन्छ। हाइड्रोजन, अमोनिया, ग्रिन स्टिल, ग्रिन सिमेन्ट, ग्रिन फर्टिलाइजर जस्ता उत्पादनहरू स्वदेशमै उत्पादन गरेर स्वदेशमै प्रयोग गर्दै निर्यात गर्ने सम्भावना नेपालसँग छ ।
अब प्रश्न केवल सम्भावनाको होइन, कार्यान्वयनको हो ।
आज फर्केर हेर्दा, पाँच वर्षअघि लिएको हाइड्रोजनसम्बन्धी निर्णय केवल प्राविधिक प्रयोग थिएन, त्यो भविष्यप्रतिको विश्वास थियो । युद्ध, ऊर्जा सङ्कट र जलवायु परिवर्तनले त्यो निर्णयलाई अझ अर्थपूर्ण बनाएको छ ।
हामीले अब नयाँ सोच, नयाँ ऊर्जा र नयाँ दृष्टिकोणका साथ अघि बढ्नुपर्छ । देशले युवाहरूलाई स्वदेशमै अवसर दिनुपर्छ । उद्योगहरू हरित ऊर्जामा आधारित हुनुपर्छ । स्वदेशी स्रोतहरूमा आधारित विकास नै दिगो बाटो हो ।
त्यो रात— छानो उडेर परिवारसँग पानीमा जागा बसेको रात । मेरो लागि पीडा मात्र होइन, एक गहिरो सिकाइ बनेको छ । त्यस्ता रातहरू भविष्यका पुस्ताले भोग्न नपरोस् ।
सबै नेपालीहरूले आफ्नै देशमा सुरक्षित, सम्मानित र समृद्ध जीवन बाँच्न पाउने दिशातर्फ अझ दृढताका साथ काम गर्ने मेरो अठोट हो ।
(डा. थापाकाे लिङ्डइन खाताबाट साभार)