विद्युत अपडेट

  • प्राधिकरण : ९८३६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६१७२ मे.वा.घन्टा
  • आयात : २६९५ मे.वा.घन्टा
  • निर्यात : ५४६४ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३५२ मे.वा.
२०८३ ब‌ैशाख २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । तामाकोसी–३ आंशिक जलाशय जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया पुनः अघि बढाइएको छ । नर्वेजियन कम्पनी स्टाट क्राफ्टले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरेर हात झिकेको एक दशकपछि पुनः आयोजना अघि बढाउन लागिएको हो । लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पिडिए) का लागि वार्तामा कुरा नमिलेपछि २०७२ को अन्तिमतिर उक्त कम्पनी आयोजनाबाट बाहिरिएको थियो ।

हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा टिबिआई ग्रुपका अध्यक्ष भवन भट्टले टिथ्री हाइड्रो कम्पनीमार्फत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अघि बढाएका हुन् । नर्वेजियन कम्पनीले छाडेको ३ वर्षपछि अर्थात् २०७५ मा भट्टले ३ वटा चिनियाँ कम्पनीसँग साझेदारी गरेर टिबिआई होल्डिङको नाममा अध्ययन अनुमति लिएका थिए । २ वर्ष कोरोना महामारीका कारण काम ठप्प हुँदा आयोजनामा मुनाफा नहुने ठम्याइका साथ चिनियाँहरू बाहिरिएका थिए ।

प्रारम्भिक अध्ययन गर्दागर्दै अध्ययन अनुमतिपत्रको अवधि सकिएपछि फेरि अहिले भट्टले नयाँ कम्पनी मार्फत अनुमति पत्र लिई काम अघि बढाएका हुन् । आर्थिक रूपमा २०० मेगावाट मात्रै उपयुक्त भए पनि अहिले ६५० मेगावाटकै इआइए गर्न लागिएको कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले हालै इआइएमा समेट्नुपर्ने क्षेत्र निर्धारण गरेको छ ।

जलाशय बन्दा पर्यटन, सिँचाइ, कृषि लगायतका क्षेत्रमा समेत फाइदा लिन सकिने भएकाले ६५० मेगावाटमै बनाउन लगानीकर्तालाई स्थानीयवासीले दबाब दिँदै आएका छन् । प्रतिनिधि सभाका सांसद जगदीश खरेलले तामाकोसी–३ जसरी भए पनि बनाउन लगानीकर्तालाई आग्रह गरिरहेको बताए । २ दशकदेखि चर्चामा रहेको आयोजना ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

‘डिपिआर भइसकेको आयोजना १० वर्षअघि नै बनाउनु पर्थ्यो, लगानीकर्तालाई स्वागत गर्नुको साटो केके कारणले भगाउने काम भयो,’ उनले भने, ‘अब यस्ता ठूला आयोजनामा लगानी गर्न आउनेलाई कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ ।’ आयोजना बन्दा लगानी, रोजगारी, व्यापार, पर्यटन सबै क्षेत्रका अर्थतन्त्र चलायमान हुने उनले बताए ।

सुरुवाती चरणमा एसएन पावरले गरेको अध्ययनले आयोजना ८८० मेगावाटमा बनाउन सकिने देखाएको थियो । सन् २०१२ देखि निर्माण सुरु गरेर २०१६ मा २२० मेगावाट र अर्को एक वर्षभित्र पूरै बिजुली उत्पादन गरिसक्ने उसको योजना थियो ।

आयोजनाको क्षमता ८८० मेगावाटमा बनाउँदा सिँगटी बजार समेत डुब्ने भएपछि सिँगटी अस्पताल माथिल्लो भूभागमा निर्माण गरिएको थियो । ठूलो क्षेत्र डुबानमा पर्दा लगानी ठूलो हुने भन्दै नर्वेजियन कम्पनीले आयोजनालाई ६५० मेगावाटमा सीमित गर्न लगाएको थियो । एसएन पावरले सोहीअनुसार सर्भेसमेत गरेको थियो ।

आयोजनाको विशेषता

तामाकोसी नदीको पानी सदुपयोग गर्ने गरी अघि बढाइएको आयोजना भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाबीचको नयाँ पुलभन्दा करिब ३.५० किलोमिटर उत्तरमा निर्माणका लागि प्रस्ताव गरिएको छ । मध्य–दोलखामा पर्ने तामाकोसी नदीमा ९६ मिटर अग्लो तथा ३५० मिटर लम्बाइको क्रेष्ट बाँध निर्माण गरी जलाशय निर्माण गर्ने योजना रहेको विकासकर्ता कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आयोजनाको जलाशय १५.७ किलोमिटर लामो रहने छ । जलाशयमा पानीको सतह समुद्री सतहदेखि न्यूनतम ८९० मिटर र उच्चतम ९४० मिटरसम्म पुग्ने छ । आयोजनाको इन्टेकमा ५ वटा रोलर मेन गेट तथा ५ वटा स्लाइडिङ मेन्टिनेन्स गेट रहनेछन् आयोजनामा कुल लम्बाई ३ हजार ४५ मिटरको ७ वटा अडिट टनेल हुनेछन् । विद्युत्‌गृहबाट निष्काशित पानी नहरबाट पुनः तामाकोसी नदीमै मिसाइने प्रस्ताव गरिएको छ । आयोजनाको डिजाइन डिस्चार्ज २४५ घनमिटर प्रतिसेकेण्ड हुने कम्पनीले जानकारी दिएको छ ।

आयोजनाको औसत ग्रस हेड ३१७.२७ मिटर र नेटहेड ३०४.५९ मिटर हुनेछ । विद्युत्‌गृहमा १६२.५ मेगावाटका ४ वटा टर्बाइन जडान हुनेछन् । आयोजनाबाट वार्षिक २ अर्ब ३२ करोड ८३ लाख युनिट विद्युत् ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली नजिकैको ४०० केभी प्रसारण लाइनमार्फत न्यू खिम्ती सबस्टेसनमा जडान गरिने छ । आधा किलोमिटर दूरीमा सबस्टेसन रहेकाले प्रसारण लाइन निर्माणको लगानी न्यून रहने देखिएको छ ।

आयोजनाबाट दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५, भीमेश्वर नगरपालिकाका वडा नम्बर २, ४ र ५, वैतेश्वर गाउँपालिकाको वडा नम्बर १, ६, ७ र ८, शैलुङ गाउँपालिकाको वडा नम्बर ७, मेलुङ गाउँपालिकाको १, २, ४ र ७, गौरीशङ्‌कर गाउँपालिकाको वडा नम्बर २ र ३ तथा कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ३, ४, ७ र ८ प्रभावित हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३