काठमाडौँ । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका टिमुरेमा सञ्चालनरत १११ मेगावाटको रसुवागढी जलविद्युत केन्द्रको उत्पादन २२ दिन पूर्ण रूपमा बन्द हुने भएको छ । वर्षायाम सुरु हुनुअघि नै सक्नुपर्ने पुनर्निर्माण तथा पुनर्स्थापनाका काम पूरा गर्न उत्पादन गरिएको केन्द्रको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जानकारी गराएको हो ।
कम्पनीका अनुसार मिति २०८२ साल असार २४ गते आएको ठूलो हिम बाढीका कारण जलविद्युत केन्द्रका अधिकांश संरचना तथा मेसिन उपकरणहरूमा ठूलो क्षति पुगेको थियो । सो काबु बाहिरको परिस्थितिका कारण विद्युत् उत्पादन बन्द हुनपुगेकोमा, आंशिक रूपमा पुनर्स्थापना तथा तथा पुनर्निर्माणका कार्यहरू सम्पन्न गरी हाल केन्द्रका ३ वटै युनिटबाट विद्युत् उत्पादन सुचारु भइरहेको थियो ।
आगामी वर्षायाममा समेत निर्बाध रूपमा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने योजना अनुसार वर्षायामअगावै सम्पन्न गर्नुपर्ने पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यहरू गर्न विद्युत् उत्पादन बन्द गर्न लागिएको हो । यसका लागि कम्पनीले नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) बाट मिति जेठ २२ गतेदेखि असार १३ गतेसम्म उत्पादन बन्द गर्न स्वीकृति प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विद्युत् उत्पादन बन्द गर्न स्वीकृत उक्त मिति कार्यस्थलको वस्तुस्थितिका आधारमा प्राधिकरणलाई जानकारी गराई केही परिवर्तनसमेत हुन सक्ने छ।