काठमाडौँ । ४६५ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको उत्पादन शनिबारदेखि २ दिनसम्म बन्द हुने भएको छ । जलाशयमा पानी जमाएर 'पिक आवर' (विद्युत् माग बढी हुने समय) मा सञ्चालनका लागि सफाइ लगायत तयारी गर्न केन्द्रको उत्पादन बन्द गर्न लागिएको हो । बाढी–पहिरोले क्षतिग्रस्त संरचनाको मर्मत गरेपछि उक्त जलविद्युत् केन्द्र एक महिनाअघि आंशिक सञ्चालनमा आएको हो ।
बाढीबाट क्षतिग्रस्त संरचना मध्ये बालुवा थिग्राउने पोखरी र भूमिगत कल्भर्टको सरसफाइ र आंशिक मर्मत गरेर ८८ दिनपछि केन्द्रको उत्पादन सुरुचारु भएको थियो । त्यसयता नदी प्रवाहमा आधारित भएर सञ्चालन गरिँदै आएको छ । केन्द्रबाट हाल चौबिसै घण्टा १०० मेगावाट उत्पादन हुँदै आएको छ । अब भने आंशिक जलाशय (पिआरओआर) का रूपमा सञ्चालन गर्न लागिएको हो ।
आंशिक जलाशय जलविद्युत् केन्द्र भएकाले अब विद्युतको उच्च माग हुने बिहान र साँझमा मात्रै सञ्चालन गर्ने तयारी गरिएको हो । यो जलविद्युत् केन्द्रको जलाशयमा पानी जम्मा गरेर दैनिक ४ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ । यो जलविद्युत् केन्द्र दोलखाको बिगू गाउँपालिका–१ मा रहेको छ ।
केन्द्रको प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले अब विद्युत् गृह पूर्ण क्षमतामा सञ्चालन गर्ने पूर्व तयारीमा लागेको जानकारी दिए । विद्युत् उत्पादन सुचारु गर्दै गर्दा दुई वटा पोखरीको बीचको क्षतिग्रस्त कंक्रिट वालको काम पनि जारी भएकाले त्यसमा ‘स्क्याफोल्डिङ’ गरिएको छ ।
उनका अनुसार परामर्शदाताले वालमा कंक्रिट गरेपछि कम्तिमा २१ दिन स्क्याफोल्डिङ नखोल्न सुझाव दिएको छ । अब काम गर्दा रहेका स्क्याफोल्डिङ, फर्मा निकाल्ने लगायतका फलामका टुक्रा सफा गर्न २ दिन लाग्ने भएकाले त्यो बीचमा उत्पादन बन्द गर्न लागेको उनले बताए ।
सबै स्क्याफोल्डिङ खोलेपछि केही ठाउँमा ग्राउटिङ समेत गर्नुपर्छ । पोखरी सफाइका लागि नदी फर्काएर सफा गरिन्छ । सबै पूर्व तयारीको काम गर्न कम्तिमा २ दिन लाग्ने गौतमले जानकारी दिए ।
अत्यावश्यक समयमा यो जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणलाई विद्युत्को माग व्यवस्थापन गर्न सहज हुन्छ । साँझको विद्युत्को माग पूरा गर्न भारतबाट आयत गर्दा महँगो पर्छ । क्षतिग्रस्त संरचना मर्मतपछि विद्युत् उत्पादन सुचारु गर्दा एक महिनाअघि (गत पुस ९) बाँधस्थल लामाबगरमा क्षति नहोस् भन्ने कामनासहित हिन्दु र बौद्ध धर्मअनुसार पूजापाठ समेत गरिएको थियो ।
अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीले गत असोज ११ गते साँझदेखि माथिल्लो तामाकोसीको बाँधको सबै ढोका खोलेर उत्पादन बन्द गरेको थियो । विद्युत्गृह बन्द गर्दा विद्युत्गृह र सुरुङ सुरक्षित रहे पनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको बालुवा थिग्राउने पोखरी (डिस्याण्डर) र भूमिगत नहरमा ठूलो क्षति भएको थियो ।
माथिल्लो तामाकोसी पुनः सञ्चालनमा आएपछि लोडसेडिङ गर्नुपर्ने अवस्था हटेको छ भने विद्युत् माग धान्न अर्बौँ खर्च गरेर भारतबाट विद्युत् आयत गर्नुपर्ने पनि कम भएको छ । क्षति भएको सुरुवाती दिनदेखि नै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित अपर तामाकोसीका सिंगो टिम खटिँदै आएको थियो ।
आपत्कालीन अवस्थामा रोल्वालिङ खोला जलविद्युत् आयोजनाकै निर्माण कम्पनी हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनमार्फत सफा गर्ने र मर्मतको काम गरेको हो । बढी क्षति भएको दायाँतर्फको पोखरी पुनः निर्माणका लागि भने सार्वजनिक खरिद ऐनअन्तर्गत ठेक्का आह्वान भएको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले बताए । त्यसको ठेकेदार छनौट गरी वर्षाअघि नै काम पूरा गर्ने कम्पनीको लक्ष्य छ । सुरक्षा कक्ष भवनका लागि अर्धभूमिगत रुपमा बनाउने गरी डिजाइनको काम जारी रहेको छ ।
पहिरोले हेडवर्क्स क्षेत्रको सुरक्षा नियन्त्रण गृह समेत पूर्णरूपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका २ जना र माथिल्लो तामाकोसीकै २ जना कर्मचारीसहित ४ जनाको ज्यान समेत गएको थियो । माथिल्लो तामाकोसीको २ वटा पोखरी मध्ये दायाँतर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँतर्फको २० प्रतिशत क्षति भएको थियो । हेडवर्क्समा बाढी र पहिरोले क्षति भएको १ अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरेको छ ।