काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवद्र्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले विद्युत् प्रसारण र वितरणसहित विधिध विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता विद्युत् प्रवाहका विविध आयामबारे उल्लेख गरेका थियौँ ।
१. बिजुली एक ठाउँबाट अर्को ठाउँमा कसरी लगिन्छ ?
उत्तरः जेनेरेटरबाट बिजुली निकालेपछि पोल अथवा टावरमा टाँगेको तारबाट गाउँ–शहरतर्फ बिजुली लगिन्छ । थुप्रै फलामे टुक्राहरूको प्रयोगबाट टावर बनेको हुन्छ । बिजुलीको तारले यी फलामे खम्बा वा टावरलाई छुनुहुन्न । छुन नदिनका लागि इन्सुलेटरको प्रयोग गरिएको हुन्छ । अर्थात् पोल वा टावर र तारको बीचमा इन्सुलेटर राख्नु पर्दछ ।
पावरहाउसबाट टाढा टाढासम्म धेरै बिजुली लानुपर्यो भने टावरको प्रयोग गरिन्छ । जस्तै, त्रिशुली पावर हाउस र कुलेखानी पावरहाउसबाट काठमाडौँमा बिजुली ल्याउन टावरको प्रयोग गरिएको छ । पावरहाउसबाट टावर हुँदै बिजुली सबस्टेसनमा लगिन्छ । यो टावरबाट आउने बिजुली साधारणतः ६६०००, १,३२,००० वा २,२०,००० वा ४,००,००० वा सोभन्दा बढी भोल्टको पनि हुन सक्दछ । नेपालमा हालसम्म ४,००,००० भोल्टको लाइन मात्र निर्माण भएको छ ।
उदाहरणका लागि त्रिशुली र सुनकोशी पावरहाउसबाट काठमाडौँ आउने बिजुली ६६,००० भोल्टको हो भने मस्र्याङ्दी पावरहाउसबाट आउने बिजुली १,३२,००० भोल्टको हो ।
२. घरसम्म बिजुली कसरी पुर्याइन्छ ?
उत्तरः पावरहाउसबाट सबस्टेसनमा आएको बिजुलीलाई सबस्टेसनमा राखिएको ट्रान्सफर्मरमा लगिन्छ । ट्रान्सफर्मरले ६६,००० वा १,३२,००० भोल्ट लाई झारेर ११,००० भोल्टमा सीमित गरिदिन्छ । भनाइको तात्पर्य के हो भने ट्रान्सफर्मरको एउटा मुखमा ६६,००० वा १,३२,००० भोल्ट हाल्यो भने अर्को मुखबाट ११,००० भोल्ट निस्कन्छ । यो ११,००० भोल्टको बिजुलीलाई फलामे, सिमेन्ट वा काठको पोलमा टाँगिएको तारबाट शहर–बजार, गाउँतर्फ लगिन्छ । ११,००० भोल्टको लाइनलाई छोटकरीमा ११ किलोभोल्ट (केभी) लाइन पनि भनिन्छ । शहर/गाउँको सडकको छेउको पोलमाथि राखिएको ट्रान्सफर्मरसम्म यो ११ केभी लाइन लगिन्छ । माथि भनिए झैँ सबस्टेसनमा राखिएका ट्रान्सफर्मरहरू गाउँ–शहरमा राखिएका यी साना ट्रान्सफर्मरहरूको पनि दुई मुख हुन्छ । एक मुखमा ११ केभी लाइन आउँछ भने अर्को मुखबाट ४०० भोल्ट अथवा २३० भोल्ट निस्कन्छ । घरका लागि २३० भोल्ट तर मिलहरूको लागि ४०० भोल्टको लाइन प्रयोगमा ल्याइन्छ । घर फ्याक्ट्रीसम्म बिजुली कसरी पुर्याइन्छ भन्ने कुरा प्रस्तुत चित्रबाट पनि बुझाउने प्रयास गरिएको छ :
३. फ्यूज वायर भनेको के हो ?
उत्तरः फ्यूज वायरको ठाउँ प्रायः एमसीबी/एमसीसीबीले लिइसकेको भए पनि अझै कहिँकहिँ केही मात्रामा प्रयोग भइरहेको देख्न सकिन्छ । यसले बिजुलीबाट हुने हानी–नोक्सानीबाट बचाउने काम गर्दछ । कुनै पनि लाइनमा फल्ट हुँदा एकदम धेरै करेन्ट बहन्छ । फल्ट भन्नु नै साधारण करेन्टभन्दा धेरै करेन्ट बग्नु हो । धेरै करेन्ट बग्दा फ्यूज वायर (तार) पग्लन्छ र लाइन बन्द हुन पुग्दछ । लाइन बन्द भएपछि हानी–नोक्सानी हुँदैन । खास गरेर पुरानो घरको मेन स्वीचभित्र २ वटा किट–क्याट हुन्छन् र ती किट–क्याटमा पनि फ्यूज वायर राखिएको हुन्छ । घरभित्रको वायरिङमा कुनै किसिमको फेज र न्युट्रल सोझै जुध्न गयो भने फल्ट हुन्छ र यस्तो हुँदा तारवाट धेरै करेन्ट बहन्छ । त्यो धेरै करेन्टले फ्यूज वायरलाई पगालिदिन्छ र लाइन बन्द हुन्छ र अनि आगो लाग्नुबाट घरको बचावट हुन्छ ।
बहु–वैकल्पिक प्रश्नहरु
१. करेन्ट कसरी निकालिन्छ ?
(क) भोल्टलाई ओमले भाग गरेर
(ख) ओमलाई भोल्टले भाग गरेर
(ग) वाटलाई भोल्टले भाग गरेर
(घ) वाट आवरलाई भोल्टले भाग गरेर
उत्तरः भोल्टलाई ओमले भाग गरेर
२. नेपालमा वितरण हुने विद्युत्को आवृत्ति (फ्रिक्वेन्सी) कति हो ?
(क) ५० हर्ज
(ख) ६० हर्ज
(ग) १०० हर्ज
(घ) १५० हर्ज
उत्तरः ५० हर्ज
३. लोड ‘ए’ र लोड ‘बि’लाई समानान्तर जडान गरी आपूर्ति भोल्टेजमा जोडिएको छ र यस अवस्थामा के हुन्छ ?
(क) दुवैले पाउने भोल्टेज फरक हुन्छ
(ख) दुवैको भोल्टेज एउटै हुन्छ
(ग) दुवैको करेन्ट मात्र बराबर हुन्छ, भोल्टेज हुँदैन
(घ) हाई भोल्टेज उत्पन्न हुन्छ
उत्तरः दुवैको भोल्टेज एउटै हुन्छ
४. गिलास र कप नतात्ने तर त्यसभित्र रहेको तरल तथा ठोस खाने कुरा तात्ने उपकरणलाई के भनिन्छ ?
(क) थर्मस
(ख) माइक्रो ओभन
(ग) इलेक्ट्रिक हीटर
(घ) हट प्लेट
उत्तरः माइक्रो ओभन
५. निरन्तरता जाँच गर्नका लागि कुन तरिका/उपकरण प्रयोगमा ल्याइन्छ ?
(क) मल्टिमिटर
(ख) मेगर
(ग) आपूर्ति भोल्टेज र बल्ब
(घ) माथि उल्लेखित सबै
उत्तरः माथि उल्लेखित सबै
६. विद्युत् गृह र सबस्टेशनमा डीसी आपूर्ति केका लागि प्रयोगमा ल्याइन्छ ?
(क) आपत्कालीन बत्ति (उज्यालाे)
(ख) संरक्षण र नियन्त्रण
(ग) ट्रान्सफर्मर
(घ) (क) र (ख) दुवै
उत्तरः (क) र (ख) दुवै
७. ब्याट्रीको क्षमता साधारणतः केले जनाउँछ ?
(क) एम्पियर आवर
(ख) भोल्ट आवर
(ग) वाट
(घ) एम्पियर
उत्तर : एम्पियर