गोरखा । गोरखामा निर्माणका लागि प्रस्ताव गरिएाको निजी क्षेत्रकै ठूलो ३४१ मेगावाटको बुढी गण्डकी आंशिक जलाशय जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण गरिएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, आयोजना प्रवर्द्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।
प्रवर्द्धक कम्पनीका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं. ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको मुआब्जा प्रतिआना ३ लाख रूपैयाँ कायम गरिएको छ । ‘चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना ४ लाख रूपैयाँ र बस्तीभन्दा बाहिर प्रतिआना १ लाख ५० हजार रूपैयाँ मुआब्जा निर्धारण गरिएको छ ।’
उनका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आँकलन गरिएको छ । उक्त भेलाले घरको मूल्याङ्कन भने गरेको छैन । गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदन अनुसार घरको मुआब्जा निर्धारण हुने छ । आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन् । विस्थापित हुनेहरूको पुनःस्थापनाका विषयमा पनि छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
‘डुबानका कारण विस्थापित हुनेहरू कसैलाई फिलिममा, कसैलाई जगतमा पुनःस्थापित गर्ने विषयमा छलफल भइरहेको छ तर निर्णय भइसकेको छैन’, लामाले भने । गाउँपालिकाका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा नं २ का अध्यक्ष रामकुमार गुरुङ, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रतिनिधि, सल्लेरी, भालुवन, जगत, नाग्चेत लगायत क्षेत्रका बासिन्दालको समयत मुआब्जा निर्धारण भेलामा उपस्थिति थियो ।
आयोजनाको बाँध सल्लेरीमा निर्माण गरिने छ । त्यहाँबाट ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ । उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिने छ । आयोजनाको कुल लागत ७० अर्ब रूपैयाँ रहने अनुमान गरिएकाे छ ।