काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले धौवादी–मेघौली १३२ केभी विद्युत् प्रसारण लाइनसहित २ सबस्टेशन निर्माण गर्ने भएको छ । गैँडाकोट नगरपालिका–१० मा प्रस्तावित सबस्टेशनमा ‘लुप इन लुप आउट’ गरी त्यहाँबाट चितवनको भरतपुर महानगरपालिका–२६ मा प्रस्तावित मेघौली सबस्टेशनसम्म १४.९३१ किलोमिटर लामो डबल सर्किट लाइन निर्माण गरिने भएको हो । साथै ती दुवै प्रस्तावित सबस्टेशनसमेत निर्माण गर्न अनुमति माग्दै प्राधिकरणले विद्युत् विकास विभागसमक्ष आवेदन दिएको हो ।
प्रस्तावित लाइन निर्माण भएपछि त्यहाँबाट २०० मेगावाटसम्म विद्युत् प्रसारण गर्न मिल्ने छ । प्रस्तावित लाइन हालको भरतपुर–बर्दघाट १३२ केभी लाइनको २५४ र २५५ नम्बर टावरको बीचमा पर्ने प्रस्तावित गैँडाकोट सबस्टेशनबाट मेघौलीसम्म पुर्याइने छ । लाइनमा जम्मा ४९ वटा टावर निर्माण गरिने छ । प्रसारण लाइनको निर्माण करिब ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उक्त प्रसारण लाइन निर्माण गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकुल प्रभाव पर्ने देखिए ३५ दिनभित्र लिखित राय सुझाव पेश गर्न आह्वान गर्दै विभागले बिहीबार सूचना जारी गरेको छ ।