काठमाडौं । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत जडित क्षमता करिब २१ सय मेगावाट नजिक पुगेको छ । विद्युत प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रले लगानी गरेर निर्माण गरेका विद्युत आयोजनाले उत्पादन गरिरहेको विद्युतको जडित क्षमता २१ सय मेगावाट पुग्न लागेको हो ।
विद्युत (जलविद्युत) उत्पादनको ११० वर्षको इतिहासमा प्रसारण प्रणालीमा विद्युत जडित क्षमता २०९३ मेगावाट पुगेको तथ्यांकले देखाएको छ । यो जडित क्षमतामा जलविद्युत, सौर्य विद्युत, चिनी उद्योगका साथै थर्मल प्लान्टको क्षमता जोडिएको छ ।
विद्युत प्राधिकरणले निर्माण गरेका विद्युत आयोजनाले अहिले ६४९ मेगावाट बराबरको योगदान राष्ट्रिय प्रसारण प्रणालीमा गरिरहेका छन् । प्राधिकरणको यो जडित क्षमता ठूला तथा साना जलविद्युत आयोजना, सौर्य विद्युत र थर्मल प्लान्टसहितको हो ।
प्राधिकरणको सहायक कम्पनीले उत्पादन गरेको जडित क्षमता ५३८ मेगावाट छ । सहायक कम्पनीमार्फत सञ्चालनमा रहेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी र २२ मेगावाटको चिलिमे जलविद्युत आयोजना छन् । रामेछापस्थित ६० मेगावाटको खिम्तीको आधा स्वामित्व प्राधिकरणमा आएसँगै यो आयोजनालाई पनि सहायक कम्पनी अन्तर्गत भएको उत्पादन मानिएको छ ।
अरु ९०६ मेगावाटका विद्युत आयोजना निजी क्षेत्रले निर्माण गरी प्रसारण प्रणालीमा जोडेको हो । अहिले निजी लगानीमा निर्माण भएका ११९ विद्युत आयोजनाले व्यापारिक उत्पादन गरी प्राधिकरणलाई विद्युत बिक्री गरिरहेका छन् ।
पछिल्लो पटक सोलुखुम्बु र रामेछापको सीमामा निर्माण भएको २४.२ मेगावाटको लिखु खोला ‘ए’ जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको प्राधिकरण विद्युत व्यापार विभागले जनाएको छ । यो आयोजनाले गत माघ २५ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको हो ।
त्यसअघि माघ २३ गतेदेखि खोटाङमा निर्माण भएको ६.६ मेगावाटको साप्सु खोला आयोजनाले व्यापारिक विद्युत उत्पादन सुरु गरेको थियो । चालू आर्थिक वर्षको ७ महिनामा माथिल्लो तामाकोसीसहित जलविद्युत र सौर्य विद्युत गरी १४ आयोजना प्रसारण प्रणालीमा थपिएका छन् । यी आयोजनाबाट ६२९.९ मेगावाट विद्युत प्रणालीमा आएको छ । ७ महिनामा प्रणालीमा जोडिएको यो विद्युत परिमाण अहिलेसम्मकै बढी हो ।
साउन यता माथिल्लो तामाकोसीसहित २५ मेगावाटको सिंगटी, ५ मेगावाटको रिचेतखोला, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत, ९.५ मेगावाटको माइबेनी, २० मेगावाटको तल्लो मोदी, ५ मेगावाटको बेलचौतारा सौर्य विद्युत, ६.२ मेगावाटको तल्लो जोगमाई, ४ मेगावाटको माथिल्लो छ्याङ्दी खोला, ११ मेगावाटको तल्लो खारे खोला र १ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजनाले पनि उत्पादन सुरु गरेका छन् ।
आन्तरिक विद्युत उत्पादन बढेपछि यो वर्ष हिउँदमा भारतबाट आयात हुने विद्युत परिमाण ५३ प्रतिशत हाराहारीमा घटेको छ । विद्युतको उच्च माग (पिक आवर) हुने समयमा कुलेखानी जलाशय तथा तामाकोसीसहितका अर्धजलाशय आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गरी माग व्यवस्थापन गरिएकाले आयात घटाउन सकिएको हो ।
यो वर्ष हिउँदमा आपूर्ति व्यवस्थापन मिलाउन करिब ३१५ मेगावाट हाराहारीमा विद्युत आयात भइरहेको छ । गत वर्ष सुख्खा याममा अधिकतम साढे ८ सय मेगावाटसम्म विद्युत आयात गरिएको थियो । प्राधिकरणले गत वर्ष विद्युत आयात गरेबापत भारतलाई २२ अर्ब रुपैयाँ बुझाएको थियो ।
विद्युतको जडित क्षमता बढ्दै गए पनि हिउँदमा अपुग हुने र बर्खामा खेर जाने असन्तुलन अझै कायमै छ । गएको बर्खामा ५ सय मेगावाट बढी विद्युत खेर जाँदा हिउँदको माग व्यवस्थापन गर्नु पर्ने बाध्यता प्राधिकरणलाई छ ।
४ आयोजना प्रणालीमा जोडिन परीक्षणको चरणमा
अबको १ महिनाभित्र निजी क्षेत्रले निर्माण गरेका ४ जलविद्युत आयोजना प्रसारण प्रणालीमा जोडिँदै छन् । यी आयोजनाको जडित क्षमता ५९ मेगावाट छ । विद्युत उत्पादन सुरु गर्न यी आयोजना अहिले संरचना तथा उपकरण परीक्षणको चरणमा छन् ।
३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’, १० मेगावाटको काबेली ‘बी’–१ क्यासकेड, ८ मेगावाटको माथिल्लो हेवा र ५ मेगावाटको तल्लो तादी परीक्षणको चरणमा छन् । यी आयोजनाको विद्युत प्रणालीमा थपिएपछि कूल विद्युत जडित क्षमता २ हजार १ सय ५२ मेगावाट पुग्नेछ ।
यस्तै, प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएका करिब २५ सय मेगावाटका आयोजना अहिले निर्माणाधीन छन् । यी आयोजना अबको १ देखि ३ वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेका हुन् ।