images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्ड ७० प्रतिशत पूरा भएको छ । पर्वतको कुस्मादेखि रुपन्देहीको बुटवलसम्म निर्माणाधीन ८७ किलोमिटर प्रसारण लाइनको काम अन्तिम चरणमा पुग्न लागेको हो ।

अहिलेसम्ममा प्रसारण लाइनको रुटमा कूल २३३ मध्ये १७५ वटा टावरको जग खन्ने कार्य सम्पन्न भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । उनका अनुसार १४८ वटा टावर खडा गरिएको छ ।

‘अवरोध नभएका रुटमा नियमित काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘धेरै टावर निर्माण भइरहेकाले अब विभिन्न स्थानमा गरी ५८ वटा टावरको काम मात्र बाँकी छ ।’ उनले वन क्षेत्र बाहेक पर्वतमा सरकारी जग्गामा पर्ने ३ वटा र स्याङ्जामा निजी जग्गामा पर्ने एउटा टावरको काम अवरोधका कारण अघि बढ्न नसकेको बताए । 

वन क्षेत्रमा भने रुख कटानका लागि स्वीकृति पाउन भएको ढिलाइका कारण काम अघि बढ्न नसकेको हो । वन क्षेत्रको जग्गाको सट्टा भर्नाका सम्बन्धमा सहमति जुट्न समय लागेकाले रुख कटानको अनुमति पाउन ढिलाइ भएको थियो ।

अहिले रुख कटानको अनुमति दिने सम्बन्धमा वन विभागसँग सम्झौता भइसकेकाले प्रक्रिया अघि बढिसकेको घोषले जानकारी दिए । सम्झौता अनुसार डिभिजन वन कार्यालयले प्रसारण लाइनको वन क्षेत्रको रुटको रुख कटान गर्न पूर्ण सहयोग गर्ने सहमति बनेको छ ।

यस्तै, वन क्षेत्रको रुटको जग्गाको सट्टा भर्ना वन विनियमावली बनेपछि त्यसमा भएको व्यवस्थाअनुसार गर्ने सहमति विभाग र आयोजनाबीच बनेको छ । ‘आयोजनाले वन विनियमावली तयार भएपछि प्रसारण लाइनको जग्गाको सट्टा भर्ना गर्ने गरी रुख कटान गर्न पाउने गरी सहमति गरेको छ । तर, प्रसारण लाइनको रुटको एउटा रुख कटान गर्दा त्यसको बदलामा १० वटा रुख रोपिने र रोपिएका रुख विरुवाको ५ वर्षसम्म स्याहार सम्भारका लागि आवश्यक रकम वन विकास कोषमा जम्मा गर्ने सहमति पनि बनेको छ’ उनले भने ।

विभागसँगको सहमति अनुसार नै पश्चिम नवलपरासीको रुटमा रुख कटानको आदेश आउन लागेको उनले जानकारी दिए । पश्चिम नवलपरासीको रुटमा ४ हजार रुख कटान गर्नु पर्ने अध्ययनले देखाएको छ ।

यो बाहेक अन्य जिल्लामा १० हजार रुख कटानको अनुमति प्रसारण लाइन आयोजनालाई चाहिएको छ । पाल्पामा कटान हुने रुखको अनुगमन गर्न प्रदेश कार्यालयको टोली खटिएको छ । बागलुङमा अनुगमन भइसकेको छ ।

घोषले रुख कटानको आदेश आएपछि मात्रै प्रसारण लाइनको निर्माणलाई थप तीव्रता दिन सकिने बताए । रुख कटानको आदेश पाएमा र अरु कुनै प्रकारको अवरोध नभएमा बाँकी काम सम्पन्न गर्न ३ महिनाभन्दा बढी समय नलाग्ने उनको दाबी छ ।

प्रसारण लाइनको रुटमा पर्ने जिल्लामा मुआब्जा तथा क्षतिपूर्ति दिने कार्य पनि भइरहेको छ । भर्खरै प्रसारण लाइनको रुट गर्ने बागलुङको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भएको आयोजनाका प्रारम्भिक अधिकृत महादेव भट्टराईले बताए ।

‘बालगुङमा देखिएको विवाद समाधान गरेर मुआब्जा र क्षतिपूर्ति निर्धारण गर्ने कार्य सकिएको छ । आगामी साताबाट त्यहाँ मुआब्जा वितरण गर्न सुरु गर्दैछौं,’ उनले भने, ‘स्याङ्जा, पाल्पा र पर्वतमा मुआब्जा वितरण कार्य अन्तिम चरणमा पुगेको छ । पर्वतमा तारमुनिको जग्गाको क्षतिपूर्ति दिने प्रक्रिया अघि बढेको छ ।’ 

कालीगण्डकी कोरिडो प्रसारण लाइन अन्तर्गत निर्माणाधीन यो दोस्रो खण्ड हो । प्रसारण लाइनको पहिलो दाना–कुस्मा खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।तेस्रो खण्ड न्यू बुटवल–बर्दघाट खण्डको संरचना निर्माणको काम सुरु हुँदैछ ।

प्रसारण लाइनको सबै खण्ड पूरा भई सञ्चालनमा आउँदा कालीगण्डकी तथा यसका सहायक नदी बेसिनमा निर्माण भइरहेका तथा अब निर्माण हुने जलविद्युत आयोजनाको विद्युत बुटवल हुँदै देशका विभिन्न स्थानमा तथा छिमेकी भारतसम्म पनि पुर्याउन सकिनेछ । साथै, स्थानीय क्षेत्रमा विद्युतीकरण विस्तार तथा विद्युत वितरण प्रणालीको गुणस्तरमा सुधार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit