विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाटको रेलेखोला जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको आयोजनाको सिभिल संरचना निर्माणको काम सुरु भएको हो ।

सिभिलको ठेक्का पाएको साकुरा पावर कन्ट्रक्सन कम्पनीले आयोजनाको बाँध, पाइ पलाइन र विद्युतगृहको संरचना बनाउन सुरु गरेको छ । अहिले ठेकेदार कम्पनीले सिभिल संरचनाको सुरुवाती चरणको कामको शुभारम्भ गरेको आयोजनाका इन्चार्ज आयुश शर्मा भट्टराईले बताए ।

‘सबै कानुनी प्रक्रिया पूरा गरेर आयोजनाको काम सुरु गरेका छौं,’ उनले भने, ‘अबको १८ महिनामा काम सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ ।’ उनले बाँध, पाइप लाइन र विद्युतगृको निर्माण एकसाथ अघि बढेको जानकारी दिए ।

नारच्याङको बेंशी गाउँदेखि लेकगाउँ हुदै खोपारा लेकको फेदीसम्म आयोजनाको बाँध क्षेत्रमा पुग्ने पहुँच सडक निर्माण गरिएको छ । विद्युतगृह रहने रेलेखर्कमा पनि पहुँच सडक पुर्याइएको छ ।

संरचना निर्माण हुने स्थलसम्म १७ किलोमिटर पहुँच सडक निर्माण गरिसकेको भट्टराईले बताए । २०७५ सालबाट बनाउन सुरु गरिएको पहुँच सडक गत महिना मात्रै सकिएपछि प्रवद्र्धक कम्पनीले आयोजना स्थलमा सिभिल ठेकेदार परिचालन गरिएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए ।

‘छहरा, हकनी, गौडाका अक्करे पहाडमा एक्साभेटर र कामदार परिचालन गरेर आयोजना स्थलमा पहुँच सडक बनाउन धेरै समय लाग्यो । सडक पहुँच पुगिसकेपछि ग्याबियन र मेसिनरी पर्खाल लगाई सडकको स्तरोन्नति गर्दै जाने गरी आयोजनाको निर्माण पनि सुरु गरेका हौं’ उनले भने ।

रेलेखोलाले पहुँच पहुँच सडक निर्माण गरिदिएपछि १५० घरधुरी रहेको नारच्याङको लेकगाउँ पनि सडक सञ्जालमा जोडिएको छ । यसअघि स्थानीयबासी, तत्कालीन जिबिस र गाउँपालिकाले एक करोड रुपैयाँ भन्दा बढी खर्च गरेपनि बेंशी देखि लेकगाउँ जोड्ने सडकको बिचमा रहेको पहाड छिचोल्न नसक्दा अलपत्र परेको थियो । 

पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न नसकेकोमा अहिले रेलेखोलाको प्रवद्र्धकले बनाइ दिएपछि आवत–जावत, ढुवानी, निकासी तथा हिँडडुल गर्न सहज भएको लेकगाउँका स्थानीय श्याम पुर्जाले बताए । 

बेंशीगाउँबाट लेकगाउँ पुग्न यसअघि १ घण्टा समय लाग्ने गरेकोमा सडक निर्माणपछि अब २० मिनेटमा पुग्न सकिने भएको छ । आयोजनाको संरचना निर्माण गर्न ८० रोपनी जग्गा अधिग्रहण गरिएको छ ।  आयोजनाको बाँधदेखि विद्युतगृहसम्म ४ किलोमिटर लामो पाइप लाइन निर्माण गरी विद्युतगृहमा पानी खसालिनेछ । आयोजनामा १.६ किलोमिटर लामो पेनस्टक पाइप राखिने भएको छ । आयोजना सम्पन्न गर्न प्रतिमेगावाट २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

कूल लागतको ७० प्रतिशत लगानी बैंकले गरेका छन् । हिमालय बैंकको अगुवाईमा राष्ट्रिय बाणिज्य बैंकले पनि ऋण लगानी गर्ने सम्झौता भइसकेको छ । हिमालयले कूल लागतको ५० प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकले २० प्रतिशत लगानी गरेको कम्पनीले जनाएको छ ।

आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत कालीगण्डकी कोरिडोर प्रसारण लाइनको २२०÷१३२÷३३ केभी दाना सबस्टेसनमा जोडिनेछ । दाना सबस्टेसनसम्म कम्पनीले ५ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गर्नेछ ।

नारच्याङमा हाल २ मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको घलेम्दीखोला जलविद्युत आयोजना सञ्चालनमा छन् । निलगिरि हाइड्रो पावरले ११० मेगावाटका  निलगिरि पहिलो र निलगिरि क्यासकेड आयोजना निर्माण गरिरहेको छ । 

९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माण जाने तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । 

मिस्ट्री खोलाको प्रवद्र्धक माउन्टेन इनर्जी नेपालले १२ मेगावाटको मिस्ट्री खोला–२ आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अहिले वातावरणीय अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit