विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १२, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

जलवायु परिवर्तनसँगै विश्वभरिको औसत तापमान वृद्धि हुँदैछ । यसले धेरै मानिसको जनजीविकालाई खतरामा पारेको छ । त्यसैले परिवर्तनशिल जलवायु र त्यसका असरबारे कुराकानी र छलफल सरल, प्रष्ट र अन्योलरहित हुनुपर्छ । तर अक्सर जलवायु परिवर्तन सम्बन्धीका बहसमा ठुला ठुला र जटिल शब्द प्रयोग हुन्छन् । धेरै प्राविधिक शब्द प्रयोग हुन्छन् । आम मानिसलाई बुझ्न गाह्रो हुन्छ र यो महत्त्वपूर्ण विषयको छलफलमा उनीहरू सहजै सहभागी हुन पाउँदैनन् ।

यद्यपि शब्द र भाषालाई सरल बनाउँदैमा यसले वैज्ञानिक तथ्य र गहिराइको सम्मान गर्नुहुँदैन भन्ने चाहिँ हुँदैन । हाम्रो वातावरणमा के कस्ता प्रभाव पर्दैछन् भन्नेबारे बुझ्न तथा यस्ता परिवर्तनलाई सम्बोधन गर्न राज्य र अन्य शक्तिकेन्द्रले अपनाएका उपायबारे आलोचनात्मक विश्लेषण विकास गर्न जलवायु परिवर्तनसम्बन्धी मुख्य अवधारणाहरूबारे दह्रो बुझाई आवश्यक हुन्छ ।

त्यसैले द थर्ड पोलले जलवायु संवादमा सहयोग पुर्याउन प्रमुख शब्दावलीहरू समेटी जलवायु परिवर्तन सम्बन्धी यो शब्दसंग्रह तयार गरेको हो । यस प्रयासले जलवायु परिवर्तन सम्बन्धी अवधारणाहरूको बुझाइलाई फराकिलो बनाउनेछ, र सबैभन्दा बढी प्रभावित मानिसहरूको चिन्ता र चासोका आवाजलाई पनि समग्र संवादमा समेट्नेछ भन्ने हामीले आशा लिएका छौँ ।

यो शब्द संग्रह नेपाली, हिन्दी, उर्दू र बंगाली भाषामा उपलब्ध छ र जलवायु परिवर्तनसम्बन्धी नयाँ शब्दावलीहरू थपिँदै गर्दा यसलाई नियमित रूपमा परिमार्जन गरिनेछ ।

अ, आ, उ, ए, ओ, औ, क, ख, ग, च, ज, ट, द, न, प, ब, भ, म, र, ल, व, श, स , ह।

१२३ (महत्त्वपूर्ण संख्याहरू)

१.५ डिग्री सेल्सियस र २ डिग्री सेल्सियस

जलवायुलाई असर गर्ने मानवीय क्रियाकलापको कारण सन् २०२२ मा पृथ्वीको सतहको औसत तापमान औद्योगिक क्रान्तिभन्दा अघिको अवस्थाको दाँजोमा १.१५ डिग्री सेल्सियस बढेको थियो । तापमान यो तहभन्दा बढी  हुँदा, तातो हावा अर्थात् लु, बाढी र खडेरीका घटना धेरै र तीव्र हुन्छन् । पानी पर्ने शैलीमा परिवर्तन आउँछ । समुद्रको सतह उठ्छ । साथै अन्य असरहरू समेत देखिन्छन् । यसले मानिस,वन्यजन्तु र प्राकृतिक प्रणालीलाई बढी असर गर्छ ।

त्यस्तो अवस्था आउन नदिन सन् २०१५ मा संसारका विभिन्न मुलुकका प्रतिनिधि जम्मा भएर छलफल गरे । त्यस छलफलमा विश्वव्यापी औसत तापमान वृद्धिलाई २ डिग्री सेल्सियस भन्दा माथि बढ्न नदिने सहमति भयो । सकेसम्म त यो वृद्धिलाई १.५ डिग्री सेल्सियसमै सीमित राख्ने प्रयत्न गर्ने सहमति भयो । यही सहमतिलाई पेरिस सम्झौता भनिन्छ । पृथ्वीको जलवायुको हकमा तापमान १.५ डिग्रीबाट बढेर २ डिग्री पुग्नुको नतिजा भयानक हुनसक्छ । विश्व औसत तापमान २ डिग्रीले बढेमा धेरै क्षति हुन्छ । कतिपय क्षति अपुरणीय हुन्छ । पुनर्स्थापना गर्न नसकिने किसिमका क्षति हुनेछन् । त्यसैले विश्वको औसत तापमान वृद्धि सकभर १.५ डिग्री सेल्सियसभन्दा बढ्न दिनुहुँदैन ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) ले जारी गरेको प्रतिवेदनमा विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न सन् २०२५ सम्ममा हरितगृह ग्यास उत्सर्जनको मात्रा उच्चतम विन्दुमा पुगी त्यसबाट घट्न थाल्नुपर्छ र सन् २०३० सम्ममा उत्सर्जनको मात्रा ४३ प्रतिशतले घटाइसक्नुपर्छ भनी लेखिएको छ ।

यसबिचमा प्रतिवद्धताहरू धेरै गरिए । तर लक्ष्य प्राप्त गर्ने गरि काम भएको छैन । सन् २०२३ को मार्च महिनामा आइपीसीसीले जारी गरेको प्रतिवेदन अनुसार, हरित गृह ग्यास उत्सर्जन थोरै हुँदा पनि यो शताब्दीमै तापमान वृद्धि १.५ डिग्री सेल्सियस भन्दा धेरै हुने सम्भावना छ ।


अनुकूलन

‘जलवायु परिवर्तनप्रति अनुकूलन’ भन्नाले विश्वव्यापी तापमान वृद्धिले वातावरण, समाज, जनस्वास्थ्य तथा अर्थतन्त्रमा पार्ने हानिकारक असर कम गर्न मानिसहरू र सरकारहरूले गरेका कामलाई जनाउँछ । यस्ता असरविरुद्ध गरिने अनुकूलनलाई अर्थपूर्ण बनाउन प्रत्येक देश, क्षेत्र र समुदायको लागि तोकिएको छुट्टा छुट्टै व्यवहारिक समाधानका उपाय चाहिन्छन् ।

अनुकूलनका लागि धेरै प्रकारका उपाय प्रयोग गर्न सकिन्छ । त्यसमध्ये दक्षिण एसियामा प्रयोग भईरहेका प्रमुख अनुकूलनका तरिकाहरू यसप्रकार छन्ः खडेरी वा सुक्खा सहन सक्ने नयाँ बाली प्रजातिहरूको विकास, समुन्द्र तट वा नदी तट वरिपरी बस्ने समुदायहरूलाई संरक्षण गर्न बाढी प्रतिरोधका उपाय विकास, जलवायु परिवर्तनले ल्याउने प्रकोपको पूर्वसूचना प्रणाली विकास र जलवायुजन्य घटनाहरू अत्यन्त तीव्र भएमा त्यसलाई सहन सक्ने पारिस्थितिक प्रणालीहरूको पुनर्स्थापना । जलवायु अनुकूलन सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

अत्यन्त सुक्ष्म कण वा पार्टिकुलेट म्याटर र पीएम २.५

पार्टिकुलेट म्याटर भन्नाले वायुमा पाइने ठोस कणहरू र तरल थोपाहरूको मिश्रणलाई बुझाउँछ । कतिपय पार्टिकुलेट म्याटर प्राकृतिक प्रक्रियाबाटै उत्पन्न हुन्छन् भने कतिपय चाहिँ इन्धन बाल्ने र निर्माणकार्य जस्ता मानवीय क्रियाकलापबाट सिर्जना हुन्छन् ।

कतिपय पार्टिकुलेट म्याटरले र विशेषगरि सास फेर्दा शरिरका कोषिका भित्रै प्रवेश गर्न सक्ने आकारका सुक्ष्म कणहरूले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन् । सबैभन्दा चिन्ताको विषय चाहिँ पीएम २.५ भनिने २.५ माइक्रोमिटर भन्दा कम व्यास भएका सुक्ष्म कणहरू हुन् ।


आकस्मिक बाढी

छोटो समयमा ठुलो पानी पर्नाले वा हिउँ वा वरफ तीव्र गतिमा पग्लनाले अकस्मात र सघन आउने बाढीलाई नै फ्लाश फ्लड वा आकस्मिक बाढी भनिन्छ । आकस्मिक बाढी कुनै सूचना वा संकेत बिना आउने भएकाले यसले ठुलो र गम्भीर क्षति पुर्‍याउँछ र मानिसहरूलाई धेरै तयारी गर्न र अर्को ठाउँमा जाने समय उपलब्ध नहुन सक्छ ।
भारतीय हिमाली क्षेत्रमा सन् १९८६ यता १७ ओटा ठुला आकस्मिक बाढी आएका छन् । गएको २० वर्षमा हिमाली क्षेत्रमा आकस्मिक बाढीको संख्या बढ्नुको कारणमा वनमा धेरै आगलागी भएकाले पनि हो भन्ने वैज्ञानिकहरूको भनाइ छ ।


उत्थानशीलता

समुदायमा जलवायु परिवर्तनले निम्त्याउने चरम मौसमी घटनाहरूबाट सहज अवस्थामा फर्किने लगायत जलवायु परिवर्तनका प्रभावसँग जुध्न सक्ने क्षमतालाई जलवायु उत्थानशिलता भनिन्छ । अनुकूलनले जलवायु परिवर्तन भएपछि त्यस परिवर्तनसँग ‘अनुकूलन’ गर्न कुनै व्यवस्थामा गरिने स्थायी परिवर्तनलाई जनाउँछ भने उत्थानशिलता भन्नाले जलवायु परिवर्तनले गर्दा भएको विपत पछि पनि पहिलेकै वा ‘सामान्य’ अवस्थामा फर्किने प्रबन्धनलाई जनाउँछ ।

उत्सर्जन

उत्सर्जन भन्नाले उत्पादन, ऊर्जा उत्पादन र यातायात वा ढुवानी जस्ता मानव क्रियाकलापका कारण वायुमण्डलमा ग्यास वा अन्य पदार्थ निस्कने प्रक्रियालाई बुझाउँछ । सन् १८०० देखि भएको मिथेन र कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्यासको उत्सर्जनले गर्दा विश्वव्यापी तापमान वृद्धि भएको हो ।

ऊर्जा संक्रमण

परम्परागत रूपले ऊर्जा क्षेत्र खनिज इन्धनमा धेरै नै भर पर्दै आएको छ । जलवायु परिवर्तनको प्रमुख कारण पनि यही हो । कोइला, तेल र प्राकृतिक ग्यासबाट सौर्य र वायु जस्ता कार्बन उत्सर्जन नगर्ने नविकरणीय ऊर्जाको व्यवस्थामा जाने रूपान्तरणलाई उर्जा संक्रमण भनिन्छ ।

भारतको नयाँ दिल्लीमा उडिरहेकाे विमान। एयरलाइन्स् कम्पनीहरूले हालैका वर्षहरूमा कार्बन क्रेडिटहरूमा हरितगृह ग्यासहरूको उत्सर्जनलाई ‘अफसेट’ गर्न ठूलो मात्रामा पैसा खर्च गरेका छन्। (तस्विर: डेभिडोभिच मिखाइल / अलामी)


एल निनो

प्रशान्त महासागरको पूर्वमध्य उष्ण भागको सतहको पानी औसतभन्दा उल्लेख्य धेरै तातेर बन्ने मौसमी प्रवृत्तीलाई अल निनो भनिन्छ । अल निनो सक्रिय भएको समयमा यसले संसार भरिकै वर्षाको स्वरूप र मौसमलाई असर गर्छ र संसारभरिकै तापमान वृद्धि गर्छ । अल निनो भनेको अल निनो–साउदर्न अस्सीलेशन भन्ने प्रक्रियाको अंश हो । यसको विपरित तापमान घट्ने चिसो चरणलाई ला निना भनिन्छ । अल निनो सधैँ हुने वा नियमित हुने प्रक्रिया होइन, तर सरदरमा प्रत्येक दुई देखि सात वर्षको बिचमा एकपटक हुनेगर्छ ।


ओजोन तह

ओजोन भनेको तीनओटा अक्सिजनका परमाणु मिलेर बन्ने वायुको एक अणु हो । पृथ्वीको समतापमण्डलको एक भाग ओजोन तहमा वायुमण्डलमा पाइने ९० प्रतिशत ओजोन पाइन्छ । ओजोन तहले सूर्यका केही हानिकारक परावैजनी विकिरणहरूलाई सोसेर पृथ्वीमा जीवन सम्भव बनाउका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।

सन् १९७० को दशकमा भएको अनुसन्धानले पृथ्वीको ओजोन तहमा कमी आएको र त्यसले पृथ्वीमा रहेको जीवनलाई नकारात्मक असर पार्न सक्ने सम्भावना रहेको देखाएको थियो । ओजोन तहमा कमी ल्याउने कारकको रूपमा रहेका क्लोरोफ्लोरो कार्बन र हाइड्रोफ्लोरो कार्बनहरू लगायतलाई मोन्ट्रियल अभिसन्धी बमोजिम क्रमश: उत्पादन तथा प्रयोगको कमी गरिँदै लगिएको थियो । उक्त सम्झौताले ती रासायनिक पदार्थहरूको उत्पादन तथा प्रयोगमा सीमा तोकेकाले पृथ्वीको ओजोन तह पुनर्स्थापित हुँदैछ ।


औद्योगिक क्रान्ति

अठारौँ शताब्दीमा सुरु भएको औद्योगिक क्रान्ति युरोप र उत्तरी अमेरिकामा एक महत्त्वपूर्ण कालखण्ड थियो जतिखेर खेतीपातीमा आधारित अर्थतन्त्रहरूले प्राविधिक छलाङ मार्दै औद्योगिक निर्माणपद्धति सहितका समाजमा बदलिए ।

यी नयाँ प्रक्रियामा प्रयोग हुने अधिकांश ऊर्जा सुरुमा कोइला र त्यसपछि तेल र वायु जस्ता खनिजजन्य इन्धन प्रयोग गरी उत्पन्न गरिएको थियो ।यसबाट वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा धेरै बढ्यो, र यो नै मानवजन्य जलवायु परिवर्तनको सुरुवात थियो ।


क्योटो अभिसन्धी

क्योटो अभिसन्धी जलवायु परिवर्तनलाई सम्बोधन गर्न हरित गृह उत्सर्जन कम गर्ने उद्देश्यले सन् १९९७ मा अंगिकरण गरिएको अन्तर्राष्ट्रिय सम्झौता हो । यो सन्धी सन् २००५ देखि कार्यान्वयनमा आएको हो । संयुक्त राष्ट्र संघका १९२ सदस्य राष्ट्रहरूले यसमा हस्ताक्षर गरेका छन् । तर संयुक्त राज्य अमेरिकाले यो सन्धी अनुमोदन गरेको छैन । क्योटो प्रोटोकोलले औद्योगिक राष्ट्रहरूको ऐतिहासिक उत्सर्जनबारे तथ्याङ्क र अन्य परिवेशको आधारमा उत्सर्जन न्यूनिकरणका अनिवार्य लक्ष्य निर्धारित गरेको छ ।

सन् २०१५ मा क्योटो प्रोटोकोललाई पेरिस सम्झौताले जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी क्रियाकलापहरू समन्वय गर्ने प्रमुख अन्तर्राष्ट्रिय सन्धीको रूपमा प्रतिस्थापन गर्याे ।

क्लोरोफ्लोरो कार्बन (सी एफ सी)

कार्बन, क्लोरीन र फ्लोरीन जस्ता वायुहरूबाट क्लोरोफ्लोरो कार्बन सीएफसी बन्दछ । क्लोरोफोल्ररो कार्बनलाई बिलिन हुने रसायनहरू, रेफ्रीजिरेटर र एरोसोल स्प्रेमा प्रयोग गरिन्छ । पृथ्वीको वायुमण्डल अन्तर्गत सूर्यका हानीकारक किरणहरूलाई छेक्ने ओजोन तह खिइनुको मुख्य कारण सीएफसी ग्यास हुन् भन्ने तथ्य २० औं शताब्दीमा यकिन गरियो ।

सन् १९८७ मा हस्ताक्षर गरिएको कोसेढुंगाको रूपमा हेरिएको मोन्ट्रियाल अभिसन्धी को नतिजा स्वरूप सीएफसीको प्रयोग संसारभरिबाट हटाइएको छ ।

क्रायोस्फियर

पृथ्वीमा अधिकांश पानी हिमवत अवस्थामा रहेको क्षेत्रलाई क्रायोस्फियर भनेर चिनिन्छ जुन ध्रुवीय क्षेत्र र हिमाली क्षेत्र हुन् । विश्वको सबभन्दा अग्लो हिमाल भएको हिन्दूकुश हिमालय क्षेत्रमा पानी हिमनदी, बरफ,  हिमपत्र, नदी र तालतलैयाको रूपमा रहेको छ ।

कन्फरेन्स अफ पार्टीज् वा सिओपी (सीओपी)

जलवायु परिवर्तनको क्षेत्रमा सिओपी शब्दावलीले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको महासन्धीको पक्ष राष्ट्रहरूको सम्मेलन भन्ने बुझाउँछ । सन् १९९२ मा पहिलो पटक अनुमोदन गरिएको सो सम्मेलनको बैठक हरेक बर्ष आयोजना गरिन्छ । यसमा १९८ मुलुकहरूले जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी कार्यका लागि आफ्नो सहभागिता जनाउँदछन् ।

जलवायु सिओपीमा मुलुकका प्रतिनिधिहरूले विश्वको तापमान वृद्धि गराउने हरितगृह ग्यास उत्सर्जनलाई कसरी घटाउने, जलवायु परिवर्तनमा कसरी अनुकूलन गर्ने, र विकासशील देशहरूलाई खनिज इन्धन कम गर्न कसरी आर्थिक सहयोग गर्ने र जलवायु परिवर्तनका असरहरूबाट बच्न कसरी जियालो बन्ने जस्ता सवालमाथि छलफल गर्दछन् ।

पछिल्लो सिओपी अर्थात विश्व जलवायु सम्मेलन सिओपी२७ इजिप्टको सामल शेखमा २०२२ को नोभेम्बर महिनामा भएको थियो । सिओपी२८ संयुक्त अबर इमिरेट्सको दुबईमा सन् २०२३ नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म हुनेछ ।

कार्बन क्रेडिट तथा अफसेट

कार्बन क्रेडिट र कार्बन अफसेट कार्बन व्यापारका दुइटा प्रमुख उपकरण हुन् । कार्बन क्रेडिट भन्नाले मूलतः कुनै निश्चित कम्पनी वा संस्थालाई भविष्यको निश्चित अवधिभित्र कार्बन उत्सर्जन गर्न सरकारले दिने इजाजत हो । आफूलाई अनुमति दिइएको भन्दा कम कार्बन उत्सर्जन गर्ने कम्पनीहरूले बचत गरेको कार्बन उत्सर्जनलाई कार्बन बजारमा बेच्न सक्छन् । यसले कम्पनीहरूलाई आफ्नो कार्बन उत्सर्जन घटाउन प्रोत्साहन गर्ने सम्भावना हुन्छ ।

कार्बन अफसेट चाहिँ कम्पनीहरू आफैँले निर्धारण गर्ने हो । कम्पनीले वायुमण्डलबाट कार्बन घटाउन वृक्षारोपण जस्ता कुनै क्रियाकलाप गर्न सक्छ र त्यसरी आर्जन भएको कार्बन बचत अन्य संस्थाहरूलाई बेचेर आफ्नो कामबाट निस्केको प्रदुषणलाई सन्तुलित गर्न सक्छन् । व्यक्तिहरूले पनि हवाइ उडान लगायतका कार्बन धेरै उत्सर्जन हुने क्रियाकलापलाई वन संरक्षण कार्यक्रम वा नविकरणीय उर्जा उत्पादन कार्यक्रममा आर्थिक सहयोग गरेर कार्बन आर्जन गर्न सक्छन् ।

कार्बन किनबेच विवादास्पद विषय हो । कार्बन किनबेचको व्यवस्थाले धनी देश, कम्पनी र व्यक्तिहरूलाई पैसा तिरेर प्रदुषणजन्य क्रियाकलापलाई निरन्तरता दिन सक्छन् । उनीहरूले वास्तविक रूपमा उत्सर्जन नघटाउन सक्छन् । यो व्यवस्थालाई प्रभावकारी बनाउन गाह्रो हुन्छ भन्ने तर्क आलोचकहरूको छ । कार्बन अफसेट  परियोजनाबाट पाइने वास्तविक फाइदामाथि पनि प्रश्न उठाइएको छ । कतिपय विश्लेषकहरूले यस्ता परियोजनाबाट हुने सकारात्मक प्रभावबारे बढाइचढाइ गरिएको तर्क दिएका छन् ।

कार्बन डाइअक्साइड सोस्ने, सदुपयोग गर्ने र संचिती गर्ने प्रविधि (सीसीएस र सीसीयुएस)

औद्योगिक प्रक्रियाबाट उत्पादन भएको कार्बनलाई सोझै सोसेर जमिनभित्र पठाउने र वायुमण्डलमा जानबाट रोक्ने प्रक्रियालाई अंग्रेजीमा कार्बन क्याप्चर एण्ड स्टोरेज (सीसीएस) भनिन्छ । यसभन्दा एक चरण अघि बढेर यसरी स‌ंकलन गरिएको कार्बनबाट अल्कोहल, जैविक इन्धन, प्लास्टिक वा कंक्रिट बनाउने प्रक्रियालाई कार्बन क्याप्चर, युटिलाइजेशन एण्ड स्टोरेज(सीसीयुएस) भनिन्छ ।

कार्बन क्याप्चर प्रविधिले प्रदुषण बढाउने इन्धन वा अन्य सामग्रीको खपत सजिलै रोक्न नसक्ने उद्योगहरूले गराउने जलवायु परिवर्तनको गति कम गरेर जलवायु परिवर्नको न्यूनिकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने कतिपय विश्लेषकहरूको भनाइ छ । जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी समूह (आइपीसीसी) ले जलवायु परिवर्तनमा विश्व औसत तापमान वृद्धि २ डिग्री सेल्सियस भन्दा थोरै राख्नमा सीसीएस प्रविधिहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछन् भन्ने अनुमान गरेको छ ।

तर अन्य कतिपय व्यक्तिहरूले भने सीसीएस र सीसीयुएस अर्थात् कार्बन स‌ंकलन गर्ने, प्रयोग गर्ने र सञ्चय गर्ने प्रविधिले पेट्रोलियमजन्य इन्धनको प्रयोग घटाउने योजना कार्यान्वयन गर्नमा ढिलाइ ल्याउन सक्ने आशंका व्यक्त गरेका छन् । त्यसैगरि यी प्रविधि आर्थिक रूपमा किफायती नरहेको पनि तर्क छ । यसलाई वृहतस्तर लागू गर्न मिल्छ कि मिल्दैन भन्ने परीक्षण गरिएकै छैन भन्ने तर्क पेश गर्नेहरू पनि छन् । सन् २०२३ को जुलाइ महिनामा युरोपियन युनियन र जर्मनी, फ्रान्स तथा न्यू जिल्याण्ड लगायतका १७ देशहरूले कार्बन क्याप्चर प्रविधि खनिज इन्धन विस्थापनको विकल्प नभएकाले यसमा धेरै भर पर्न नहुने बताएका थिए ।

कार्बन डाइअक्साइड समता (CO2e)

विविध हरित गृह ग्यासको असरलाई बुझ्न एउटै मापदण्ड प्रयोग गर्ने अवधारणालाई कार्बन डाइअक्साइड समता (CO2e) भनिन्छ । जस्तै, थोरै परिमाणले पनि धेरै हरितगृह प्रभाव पार्ने मिथेन जस्तो ग्यासको कार्बन  समता  (CO2e) उत्तिकै परिमाणको कार्बन डाइअक्साइडको (CO2e) भन्दा धेरै गुणा बढी हुनसक्छ ।

नोभेम्बर २०२२ मा काेप २७ सम्मेलनमा प्रदर्शनकारीहरूले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित समुदायहरूलाई क्षतिपूर्ति दिन धनी राष्ट्रहरूलाई आग्रह गर्दै (तस्विर © मारी ज्याकमिन / ग्रीनपीस)

कार्बन प्रभावक्षेत्र

कुनै व्यक्ति वा वस्तुको कार्बन फूटप्रिन्ट अर्थात् कार्बन प्रभावक्षेत्र भन्नाले उनीहरूले गरेको क्रियाकलापबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पैदा हुने हरित गृह वायुको परिमाण हो । यसमा उनीहरूको आहार, उनीहरूले यात्रा गर्ने तरिका, उनीहरूले किन्ने सरसामान र उनीहरूको विद्यूत र घर तताउने इन्धन उत्पादन हुने तरिका समावेश हुन सक्छन् ।

कार्बन व्यापार बजार

उत्सर्जन व्यापार कार्यक्रम समेत भनिने कार्बन बजारहरू देश र नीजि क्षेत्रका व्यवसायहरूले कार्बन डाइअक्साइड उत्सर्जन गर्न पाउने इजाजत अर्थात् कार्बन क्रेडिट खरिदबिक्री सम्झौता हुन् ।

कार्बन बजारमा तोकिएको वा सहमति गरिएको निश्चित तहभन्दा कम कार्बन उत्सर्जन गर्ने देश वा कम्पनीले आफूलाई दिइएको अनुमतिमा बचत भएको कार्बन उत्सर्जन आफ्नो सीमाभन्दा माथि गएर उत्पादन गरिरहेका अन्य कम्पनीलाई बेच्न सक्छन् । सिद्धान्ततः यसले उत्सर्जन कम गर्न आर्थिक उत्प्रेरणा प्रदान गर्छ ।

कार्बन शोषण एवं सञ्चय गर्ने प्रक्रिया

कार्बन डाइअक्साइडले हरितगृह वायुको काम नगरोस् भनी यसलाई हावाबाट सोझै तान्ने वा सोस्ने प्रक्रियालाई कार्बन डाइअक्साइड रिमुभल भनिन्छ । यसलाई लामो समयसम्म संचय गर्ने प्रक्रियालाई कार्बन सिक्वेश्ट्रेशन भनिन्छ।

जैविक प्रक्रियाले जमिन, महासागर, वन, चरण र अन्य प्राकृतिक पारिस्थितिक प्रणालीमा ठुलो मात्रामा कार्बन जम्मा भइरहेको हुन्छ । यसलाई कार्बन क्याप्चर एण्ड स्टारेज भनिने प्रविध प्रयोग गरेर मानव निर्मित प्रक्रियाबाट हासिल गर्न सकिन्छ ।

सीडीआर र कार्बन सिक्विश्ट्रेशनलाई जलवायु परिवर्तन न्यूनिकरणको अत्यावश्क साधनको रूपमा लिइन्छ । आइपीसीसी भन्छ, खासगरि कलकारखाना, लामो दूरीका यातायात र कृषि जस्ता कार्बन हटाउन गाह्रो हुने क्षेत्रमा तापमान वृद्धिलाई १.५ भित्र सीमित गर्न सीडीआर आवश्यक पर्दछ” । त्यसैगरि, सीडीआर प्राय मुलुकका कार्बन उत्सर्जनलाई समग्रमा बराबरमा ल्याउने योजनाको पनि महत्त्वपूर्ण अंश हो ।

कार्बन सञ्चय क्षेत्र

कार्बन डाइअक्साइडलाई प्राकृतिक वा कृत्रिम संचितीमा राख्ने ठाउँलाई कार्बन सञ्चय क्षेत्र भनिन्छ । कार्बन सञ्चय क्षेत्रले वायुमण्डलमा हरितगृह वायुको अनुपातलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्छन् । स्वस्थ वनजंगल, महासागर, जमिन, सिमसार सबै प्राकृतिक कार्बन सञ्चय क्षेत्र हुन् । कार्बन क्याप्चर तथा संचिती (सीसीएस) प्रविधिहरूले भने कृत्रिम कार्बन सञ्चय क्षेत्रको काम गर्छन् ।

किगाली संशोधन

वायुमण्डलको ओजोन तह संरक्षण गर्नेबारे सन् १९८७ मा अनुमोदन गरिएको  मोन्ट्रियाल प्रोटोकोललाई रुवाण्डाको राजधानी किगालीमा सन् २०१६मा भएको सम्मेलनमा संशोधन गरियो । किगाली सम्झौताले क्लुरोफ्लुरोकार्बन (CFCs) र हाइड्रोक्लुरोफ्लुरोकार्बन (HCFCs) जस्ता ओजोन तह क्षय गर्ने रसायनको स्थानमा प्रयोग भइरहेको हरितगृह वायु हाइड्रोफ्लुरोकार्बन (HCFCs)को उत्पादन र प्रयोगलाई क्रमिक रूपमा घटाउने लक्ष्य लिएको छ ।


खनिज इन्धन

लाखौँ वर्ष अघि मरेका वनस्पति र प्राणीहरूको अवशेषबाट बनेका कोइला, तेल र प्राकृतिक ग्यासलाई खनिज इन्धन भनिन्छ । त्यसैले यस्तो  इन्धन मानव समयकालभित्रमा नविकरण हुँदैनन् । मूलतः ऊर्जा उत्पादनको लागि खनिज इन्धन बाल्दा वायुमण्डलमा ठुलो मात्रामा कार्बन डाइअक्साइड र अन्य प्रकारका हरित गृह ग्यासउत्सर्जन हुन्छ । जलवायु परिवर्तनको प्रमुख कारण यही नै हो ।


ग्रीनवाशिङ

सन् १९८६ मा पर्यावरणविद् जे वेस्टरभेल्डले प्रचलनमा ल्याएको शब्द ‘ग्रीनवाशिङ’  ले कम्पनी तथा संघसंस्थाहरूले आफूले उत्पादन गरेका वस्तु तथा सेवाहरू वातावरणका लागि हानिकारक भएपनि पर्यावरणमैत्री छन् भन्ने भ्रम सिर्जना गर्ने अभ्यासलाई जनाउँछ । ‘ग्रीनवाशिङ गर्ने कम्पनीले उपभोक्ताको वातावरणमैत्री उत्पादन खरिद गर्ने चाहनालाई उपयोग गर्न वा आफ्ना अभ्यासहरू उल्लेखनीय रूपमा परिवर्तन नगरी वातावरणलाई हानि गर्ने कामका कारण सिर्जना हुने सार्वजनिक र राजनीतिक दबाब मत्थर गर्न खोजिरहेका हुन सक्छन् ।


चक्रीय अर्थतन्त्र

चक्रीय अर्थतन्त्रमा स्रोतहरू खेर जाने अवस्थालाई न्यूनीकरण गर्दै पुनः प्रयोग र पुनः प्रशोधन गरिन्छ जसबाट स्रोतहरूको उच्च सदुपयोग हुन जान्छ । परम्परागत अर्थतन्त्रमा स्रोतहरूको निष्कर्शन र प्रयोग पश्चात परित्याग गरिन्छ तर चक्रिय अर्थतन्त्रमा प्रयोगमा आइसकेका स्रोतहरूलाई पुन: उत्पादन शृंखलामा जोडिन्छ जसले गर्दा स्रोतहरूको प्रयोग र प्रशोधन चक्र निरन्तर कायम रहन्छ ।


जलवायु परिवर्तन

संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार जलवायु परिवर्तन भनेको पृथ्वीको तापमान र मौसमको प्रकृतिमा आउने दीर्घकालिन फेरबदल हो । खनिज इन्धनको बढ्दो प्रयोग र वन विनाश जस्ता मानवजन्य क्रियाकलापमार्फत हरितगृह ग्यास उत्सर्जनका कारण विश्वको औसत तापमान बढ्दो छ ।

जलवायु परिवर्तनका प्रभावहरू अत्यन्तै डरलाग्दा हुन्छन् । बारम्बार दोहोरिहने चरम मौसमी गतिविधिहरू, बढ्दो समुद्र सतह, वर्षा हुने समय र मात्रामा फेरबदल  भैरहने र ध्रुवीय क्षेत्र तथा हिमाली भेगमा तीव्रगतिमा हिउँ पग्लिने अवस्था आउन सक्छन्।

जलवायु न्याय

जलवायु परिवर्तनका प्रभावहरू असामान्य तरिकाले अनुभव गर्न थालिएको छ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा सबभन्दा न्यून योगदान रहने देश र समुदायहरू नै जलवायु परिवर्तनका असरहरूबाट सबभन्दा बढी प्रभावित छन् । अनुकूलन अभ्यासमा पनि सबभन्दा कमजोर छन् ।

जलवायु न्यायको आन्दोलनले कार्बन उत्सर्जन गरेरै विकासमा अत्याधिक लाभ लिएका जनता, कम्पनी र देशहरू नै सो वृद्धिका लागि सबैभन्दा बढी जिम्मेवार भएकाले उनीहरूले नै जलवायु परिवर्तनबाट सबभन्दा बढी प्रभावित भएका समुदायहरूलाई सहयोग गर्नुपर्छ भन्ने तर्क गर्दछ ।

जलवायु शरणार्थी

जलवायु शरणार्थी भनेको जलवायु परिवर्तनको असर स्वरूप आएको बाढीको कारण वा समुद्री सतह वृद्धि हुनाले आफ्नो घरबास छोड्न बाध्य जनमानस जनाउन कतिपय अभियन्ता तथा विश्लेषणकर्ताहरूले प्रयोग गर्ने संज्ञा हो ।

जलवायु शरणार्थीको प्रष्ट परिभाषा खासै छैन । संयुक्त राष्ट्रसंघले दिएको शरणार्थीको परिभाषाले युद्ध, हिंसा, द्वन्द्व, अभियोजनबाट भाग्न देशको सीमाना पार गरेको मानिस भन्ने जनाउँछ तर चक्रवात वा बढ्दो समुद्री सतहका कारण घरबास गुमाएका व्यक्ति जस्तो जलवायु शरणार्थीका सबै प्रकारलाई समेट्न सक्दैन ।

नेपालको याला ग्लेशियरमा ‘मास ब्यालेन्स’ मापन गर्दै जुन हिमनदी स्वास्थ्यको प्रमुख सूचक हाे। (तस्विर: ICIMOD काठमाण्डु/ फ्लिकर, CC BY NC)

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह (आईपीसीसी)

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) र संयुक्त राष्ट्रस‌ंघ पर्यावरण कार्यक्रमद्वारा सन् १९८८ मा स्थापित वैज्ञानिक निकाय हो । यसको लक्ष्य विभिन्न मुलुकका सरकारहरूलाई जलवायुसम्बन्धी नवीनतम विज्ञानबारे जानकारी गराउँदै आगामी दशकमा जलवायु परिवर्तनले पार्न सक्ने प्रभावबारे सचेत बनाउनु हो ।

हाल १९५ सदस्य राष्ट्र भएको आईपीसीसीले विश्वभरका स्वैच्छिक योगदान दिने वैज्ञानिकहरूलाई एउटै छातामुनि ल्याउँछ । आईपीसीसीले मौलिक अनुसन्धान उत्पादन गर्दैन तर यसका सयौँ वैज्ञानिकहरूले सार्वजनिक भएका अनुसन्धानमूलक लेखहरूको परीक्षण गरी तिनका आधारमा विस्तृत मूल्याङ्कन प्रतिवेदन तयार गर्छन् । यी प्रतिवेदनले जलवायु परिवर्तन के कारणले हुन्छ, समुदायस्तरमा त्यसका असर के कस्ता हुन सक्छन्  र कसरी अनुकूलन र जलवायु परिवर्तनलाई सीमित गर्नाले मानिसलाई नकारात्मक असरबाट जोगाउन मद्दत गर्न सक्छ भन्ने जस्ता विषयलाई उजागर गर्दछन् ।

आईपीसीसीबारे थप जानकारीका लागि हाम्रो यो आलेख हेर्नुहोस् ।

जैविक विविधता

कुनै निश्चित क्षेत्रमा पाइने विभिन्न प्रजातिका प्राणी तथा वनस्पतिको समूहलाई  जैविक विविधता भनिन्छ । एक अर्कासँग अन्तर्क्रिया गर्ने प्राणी, वनस्पती र सुक्ष्मजीव यसका सदस्य हुन् । यिनीहरूको अन्तर्क्रियालाई पारिस्थितिक प्रणाली भनिन्छ ।

विविध प्रजातिका जीवहरू पर्याप्त संख्यामा उपलब्ध भए मात्र हामीलाई खाने आहार, पिउने पानी र सास फेर्ने स्वच्छ वायु दिने पारिस्थितिक प्रणालीले काम गर्नसक्छ । पृथ्वीमा मानव लगायत सबै प्रजातीको जीवनको लागि जैविक विविधताको संरक्षण अत्यन्त आवश्यक हुन्छ । तर हाल मानवीय क्रियाकलापकै कारण जैविक विविधता खतरामा परेको छ । करिब १० लाख वनस्पति तथा प्राणीका प्रजातिहरू लोप हुने जोखिममा छन् ।

जैविक विविधताको क्षति हुनुका केही प्रमुख कारणहरूमा जमिन प्रयोगमा भएको परिवर्तन र वन विनाश पर्दछन् । साथै कृषि वा खानीको लागि बढी जमिन प्रयोग गर्न थालियो । जनावरहरूको प्राकृतिक वासस्थानमा रूपान्तरण भयो र शिकारका क्रियाकलापहरू बढ्न थाले । त्यसले पनि जैविक विविधतामा क्षति भईरहेको छ । यसका अतिरिक्त मिचाहा प्रजाति फैलिनाले र जलवायु परिवर्तनले पनि जैविक विविधताको क्षतिमा ठुलो योगदान गरेका छन् ।

जैविक ऊर्जा तथा जैविक इन्धन

वनस्पति र प्राणीबाट निस्कने पदार्थबाट उत्पादन हुने तरल, ठोस वा ग्यास इन्धनलाई जैविक इन्धन भनिन्छ । जैविक इन्धन उत्पादन गर्न हाल प्रयोग हुने प्रमुख स्रोतहरूमा उखु, मकै र भटमास पर्छन् । यी इन्धनबाट उत्पादन हुने उर्जा वा प्रांगारिक पदार्थलाई सिधै बालेर उत्पादन गरिने उर्जालाई जैविक ऊर्जा भनिन्छ ।

बायोइथानोल र बायोडिजेल जस्ता जैविकइन्धनले यातायात क्षेत्रमा खनिज इन्धनको न्यूनकार्बन विकल्प उपलब्ध गराउँदै कार्बन उत्सर्जन कम गर्न सक्ने अभियन्ताहरूको भनाइ छ । सन् २०२२ देखि २०२७ भित्र जैविक इन्धनको विश्वव्यापी माग २२ प्रतिशतले वृद्धि हुने देखिएको छ । यद्यपि, खाद्यान्न उत्पादनको लागि उपयोग हुने सक्ने जमिन र जैविक विविधतालाई सहयोग पुर्‍याउन सक्ने जमिनलाई जैविक इन्धनको लागि प्रयोग गर्दा हुने असरबारे विज्ञहरूले सचेत गराएका छन् । जैविक इन्धनको प्रयोग वास्तवमा उर्जा उत्पादन गर्ने न्यून कार्बन उपाय नभएको र जैविक इन्धनले कम कार्बन उत्सर्जन गर्छ भन्ने देखाउने आँकडाहरूले उत्सर्जन भएको सबै कार्बनको हिसाब नराखेको आलोचकहरूको भनाइ छ ।

जैविक पदार्थ (बायोमास)

कुनै पनि वनस्पती, जनावर, सुक्ष्मजीव साथै कृषि, वन र अन्य उद्योगबाट उत्पादन हुने जैविक तत्वलाई बायोमास भनिन्छ । बायोमासलाई सोझै बालेर ऊर्जा उत्पादन गर्न सकिन्छ वा जैविक इन्धनमा रूपान्तरण गर्न सकिन्छ ।


टिपिङ् पोइन्ट

जलवायु परिवर्तनको सन्दर्भमा टिपिङ् पोइन्ट भन्नाले एक यस्तो परिवर्तर्नको विन्दु हो जसलाई पार गरिसकेपछि ठुलो, अपरिवर्तनीय र एक पछि अर्को जलवायु परिवर्तनका गम्भीर प्रवृत्तिका घटना देखिनेछन् । अनुसन्धानकर्ताहरूले हालसम्म जलवायुका १६ ओटा टिपिङ् पोइन्टहरू पहिचान गरेका छन् । ती मध्ये कतिपय पार भैसकेकाले ग्रीनल्याण्डमा रहेको विशाल बरफ भण्डारका आइसक्याप ढल्ने र पर्माफ्रष्ट पग्लने घटना अब अनिवार्य हुने बताएका छन् ।

दक्षिण अमेरिका महादेशस्थित संसारकै सबैभन्दा ठुलो उष्ण जंगल र जैविक विविधताको हिसाबले संसारकै सबैभन्दा समृद्ध क्षेत्र अमेजन जंगल यसको एक प्रमुख उदाहरण हो । अमेजन जंगलले आफ्नो भेगको वर्षा चक्र निर्माण गर्छ, तापमानलाई स्थीर राख्छ तथा यस क्षेत्रको जलवायुमा ठुलो प्रभाव पार्छ । तर यस जंगलमा रहेका सम्पूर्ण रुखहरू मध्ये पाँच भागको झण्डै एक भाग काटिएको वा नष्ट गरिएको हुनाले हाल जंगलमा पानी पार्न आवश्यक रुख पहिले भन्दा थोरै छन् । यस परिवर्तनले वर्षा कम भएर रुखहरूको मलजलमा असर पर्न गई एक दुश्चक्र सिर्जना हुनसक्ने जोखिम रहेको छ । कतिपय वैज्ञानिकले वन विनाशको तह २० देखि २५ प्रतिशत पुगेपछि वनलाई चाहिने वर्षामा उल्लेख्य गिरावट आई वर्षा चक्र असन्तुलित हुने बताएका छन् । त्यसपछि केही दशकभित्रै ठुलो ज‌ंगलको विशाल क्षेत्रफल चरन क्षेत्रमा परिणत हुनेछ ।

खतरामा परेका प्रजातिहरूको स्थिति ट्र्याक गर्ने IUCN द्वारा ढोले वा एसियाटिक जंगली कुकुरलाई ‘लुप्तप्राय’ मानेकाे छ। IUCN का अनुसार आवास, व्यावसायिक विकास र कृषिका लागि निर्माणका कारण ढोलेको बासस्थान टुक्रिएको छ। (तस्विर: ग्रेगोइर डुबोईस / Flickr, CC BY-NC-SA)


द थर्ड पोल

हिन्दू कुश हिमालय क्षेत्रको पर्वत शृंखला र तिब्बती पठार समेट्ने क्षेत्रलाई अक्सर तेस्रो ध्रुव अर्थात् थर्ड पोल भनिन्छ किनभने यहाँको बरफ भण्डार पृथ्वीको ध्रुवीय क्षेत्र बाहिरको सबैभन्दा विशाल बरफ भण्डार हो । यो भण्डार संसारको जनसंख्याको २४ प्रतिशत समेट्ने २ अरब मानिसलाई सिँचाई, जलविद्युत र खानेपानी उपलब्ध गराउने १० प्रमुख नदी प्रणालीको स्रोत पनि हो ।

दिगो विकास लक्ष्य (एस डी जी)

संयुक्त राष्ट्र संघले सन् २०३० मा पूरा गर्ने लक्ष्य लिई सन् २०१५ मा निर्धारण गरेको १७ अन्तर्सम्बन्धित लक्ष्यहरूलाई दिगो विकास लक्ष्य भनिन्छ । त्यसले संसारका सबैभन्दा महत्त्वपूर्ण सामाजिक, आर्थिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने रूपरेखा प्रदान गर्दछ ।

जलवायु परिवर्तनसँग सबैभन्दा नजिकसँग जोडिएको दिगो विकास लक्ष्य ‘किफायती तथा स्वच्छ उर्जा’ सम्बन्धी लक्ष्यहरू हुन् । यसले संसारभरि नविकरणीय ऊर्जाको प्रयोग बढाउने, जलवायु परिवर्तनको हद र प्रभाव घटाउने गरि तत्काल कुनै जलवायु सम्बन्धी क्रियाकलाप गर्ने, र जमिन र समुद्रका जीवहरूलाई संरक्षण गर्ने लक्ष्य पर्दछन्।


न्यायपूर्ण रूपान्तरण 

उत्सर्जनलाई नियन्त्रणमा राख्न र जलवायु परिवर्तनलाई सीमित गर्न न्यूनकार्बन अर्थतन्त्र अबलम्बन गर्नु जरुरी छ । तर कार्बन उत्सर्जन बन्द (डिकार्बनाइज) गर्नु भनेको उद्योगहरूका लागि ठूलो परिवर्तन हो — जस्तै, खनिजजन्य इन्धनसम्बन्धी उद्योगले लाखौँ मानिसलाई रोजगार दिइराखेका हुन्छन् ।

‘न्यायपूर्ण रूपान्तरण एक यस्तो अवस्था हो जहाँ ठूला परिवर्तनका सामाजिक तथा आर्थिक प्रभावहरूलाई पर्याप्त रूपमा सम्बोधन गरिएको हुन्छ । यसमा श्रमिकहरूको अधिकार एवं समुदायका आवश्यकताहरूको सुरक्षा सुनिश्चित गर्ने एवं परिवर्तनका कारण रोजगार गुमाएका व्यक्तिहरूलाई सहायता तथा अवसर प्रदान गर्ने जस्ता विषय पर्दछन् ।

न्यूनीकरण

जलवायु परिवर्तन गराउन भूमिका खेल्ने वायुमण्डलमा रहेका हरित गृहग्यासहरूको अनुपात घटाउन लिइने कदमहरूलाई जलवायु परिवर्तनको न्यूनीकरण भनिन्छ । वर्तमान उर्जाका स्रोतहरूको तुलनामा नवीकरणीय ऊर्जाका स्रोतहरूको प्रयोग बढाएर न्यूनिकरण गर्न सकिन्छ । त्यस्तै न्यूनिकरणका लागि औद्योगिक प्रक्रियाहरूबाट  उत्सर्जन भएका वायुलाई संकलन तथा संचिती गर्न सकिन्छ । वन र सामुद्रिक पारिस्थितिक प्रणालीहरू जस्ता प्राकृतिक कार्बन सञ्चय क्षेत्रलाई पनि सुधार्न सकिन्छ ।

नवीकरणीय ऊर्जा

हावाको शक्ति, पानी, सौर्य विकिरण र पृथ्वी भित्रको प्राकृतिक तापलाई प्रयोग गरी उत्पादन गरिने उर्जालाई नवीकरणीय ऊर्जा भनिन्छ । नविकरणीय स्रोतहरू प्रयोग गरी उर्जा उत्पादन गर्दा खनिज इन्धन बालेर ऊर्जा निकाल्दा जस्तो वायुमण्डलमा हरितगृह ग्यासहरू उत्सर्जन हुँदैनन् । जमिनबाट उत्खनन् गरिने खनिज इन्धन जस्तो यिनीहरूको स्रोत सीमित नहुने भएकाले यिनीहरूलाई नवीकरणीय ऊर्जा भनिन्छ ।

ऊर्जा उत्पादनमा खनिज इन्धन प्रयोग छोड्दै नविकरणीय स्रोतको प्रयोगतर्फ जानु  जलवायु परिवतर्नको गतिलाई सीमित गर्ने अत्यावश्यक कदम हो । सन् २०२० मा संसारभरिनै कूल विद्युत उत्पादनमा नविकरणीय ऊर्जाको योगदान २९ प्रतिशत पुग्यो ।

जलविद्युत पनि नविकरणीय ऊर्जा त हो, तर बाँध बनाउँदा नदी प्रणाली, त्यसको पारिस्थितिक प्रणाली र तिनमा निर्भर रहने मानिसहरूको जीवनमा उल्लेख्य नकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले पनि यसलाई सधैँ ऊर्जा उत्पादनको वातावरणमैत्री स्वरूप मानिँदैन ।


प्राकृतिक वायु वा ऊर्जाको रूपमा प्रयोग गरिने खनिज वायु 

ऊर्जाको रूपमा प्रयोग गरिने प्राकृतिक वायु बिजुली उत्पादन गर्न, भवनहरूलाई तताउन, खाना पकाउन, तथा औद्योगिक प्रक्रियाहरूका लागि प्रयोग गरिने खनिज इन्धन हो । यसको अधिकांश हिस्सा मिथेनको हुन्छ र इथेन, प्रोपेन जस्ता अन्य हाइड्रोकार्बनको हिस्सा भने सानो रहेको हुन्छ ।

कोइला तथा प्राकृतिक तेलको तुलनामा ऊर्जाको लागि प्रयोग गरिने खनिज वायुलाई बाल्दा कार्बनडाईअक्साइड उत्सर्जन कम हुन्छ । कतिले खनिज इन्धनबाट नवीकरणीय उर्जामा परिवर्तनतर्फ जान मद्दत गर्ने ‘सेतु’ वा ‘संक्रमणकालीन इन्धन’ को रूपमा यो वायुलाई प्रयोग गर्नुपर्छ भनी वकालत गर्छन् । तर धेरै विज्ञहरूले यस तर्कलाई अस्वीकार गर्छन् । यसले सस्तो तथा कम उत्सर्जन गर्ने नवीकरणीय उर्जाहरूमा गर्नु पर्ने लगानीलाई निरुत्साहित गर्छ भन्ने उनीहरूको तर्क छ ।

प्रकृतिमा आधारित समाधानहरू

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संगठन (आईयूसीएन) ले प्रकृतिमा आधारित समाधानलाई “मानव सुख र जैविक विविधताका लाभ उपलब्ध गराउने तथा सामाजिक चुनौतीहरूलाई प्रभावकारी र अनुकुलनसहितका शैलीमा सम्बोधन गर्ने उद्देश्यले प्राकृतिक वा परिवर्तित पारिस्थितिक प्रणालीहरूलाई संरक्षण, व्यवस्थापन तथा पुनर्स्थापाना गर्ने प्रकारका समाधान” भनी व्याख्या गरेको छ ।

वातावरणको सन्दर्भमा प्राकृतिक समाधानहरूमा कार्बन संचितीको रूपमा काम गर्ने पारिस्थितिक प्रणालीहरूको संरक्षण तथा पुनर्स्थापना गर्ने लगायतका काम पर्दछन् । जलवायु परिवर्तनलाई न्यूनीकरण तथा त्यसप्रति अनुकूलन गर्ने पारिस्थितिक प्रणालीको एक राम्रो उदाहरण म्यानग्रोभ जंगल हो जसले तटीय आँधीबाट सिर्जित बाढीबाट समुदायहरूलाई जोगाउँदै गर्दा कार्बन संचिती गर्न पनि सहयोग गर्छ ।

पेरिस सम्झौता

पेरिस सम्झौता विश्वव्यापी तापमान वृद्धिलाई औद्योगिक क्रान्तिपूर्वको समयको तापमानको दाँजोमा धेरैमा २ डिग्री सेल्सीयस भन्दा कममा कायम राखी सकभर १.५ डिग्री सेल्सीयसमै सीमित राख्ने अन्तर्राष्ट्रिय सम्झौता हो । सन् २०१५ मा तय गरिएको यस सम्झौतालाई संसारका लगभग सबै देशले अनुमोदन गरेका छन् ।

पेरिस सम्झौताको प्रावधान अनुसार सम्बन्धित मुलुकहरूले उत्सर्जन घटाउने र जलवायु परिवर्तनको असरलाई कम गर्ने योजनाहरू निर्धारण गर्दछन् । यस्ता योजनालाई राष्ट्रियस्तरमा निर्धारण गरिएका योगदान भनिन्छ । यी प्रतिबद्धतालाई प्रत्येक पाँच वर्षमा पुनरावोलकन गर्नुपर्दछ । सम्झौतामा विकासशील देशहरूलाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न आर्थिक सहयोग प्रदान गर्ने तथा विश्वव्यापी कार्बन सट्टा बजारको व्यवस्थापनका प्रावधानहरू पनि छन्।

पारिस्थितिक प्रणाली

प्राणी, वनस्पती र सुक्ष्मजीव समेट्ने जैविक समुदायका साथै पानी र माटो जस्तो तिनीहरूसँग अन्तर्क्रिया गर्ने भौतिक पदार्थ समेतको समूहलाई पारिस्थितिक प्रणाली भनिन्छ । यौटा पारिस्थितिक प्रणाली कुनै वन क्षेत्रको पूरै भूभाग समेट्ने गरि वृहत पनि हुन सक्छ वा ससाना धेरै क्षेत्रहरूमा फैलिएको पनि हुनसक्छन् ।


बसाइसराइ

जलवायु परिवर्तनले गर्दा समुद्री सतह बढ्न थालेको छ । त्यसैगरि बाढी, तातो हावाको लु, खडेरी जस्ता घटनाहरू धेरै र सघन हुन थालेका छन् । विषम मौसमी घटनाहरू हुन थालेका छन् । त्यसले गर्दा संसारका धेरै मानिसहरू आफ्नो बासस्थान छोडी बसोबासका लागि राम्रो वातावरणको खोजीमा हिँड्न बाध्य भएका छन् । यसलाई जलवायु बसाइसराइ भनिन्छ । तापमानमा वृद्धि भई जलवायु परिवर्तनका असरहरूले भयावह रूप देखाउँदा आगामी दशकहरूमा जलवायु बसाइसराइ उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ ।


भूमण्डलीय उष्णीकरण

जलवायु परिवर्तन र भूमण्डल उष्णिकरणलाई धेरैले पर्यायवाचीको रूपमा प्रयोग गर्छन् । तर भूमण्डल उष्णिकरण भनेको पृथ्वी सतहको तापमानमा हुने वृद्धि हो भने जलवायु परिवर्तनले वायु र वर्षा लगायतका अन्य परिवर्तनलाई समेत समेट्छ । वायुमण्डलमा हरितगृह वायुहरूको मात्रा बढाउने मानवीय क्रियाकलाप नै भूमण्डल उष्णिकरणका प्रमुख कारण हुन् ।

अंग्रेजीमा प्रयोग गर्दा कतिपय सञ्चार माध्यमहरूले प्रकोपको गम्भिरतालाई प्रतिबिम्बित गर्न ‘ग्लोबल वार्मिङ’ को सट्टा ‘ग्लोबल हिटिङ्’ भन्न रुचाउँछन्।


मन्ट्रियल अभिसन्धी

सन् १९८७ मा हस्ताक्षर गरिएको मोन्ट्रियल अभिसन्धी ओजोन तहलाई क्षय गर्ने रसायनबारे अन्तर्राष्ट्रिय वातावरणीय सम्झौता हो । उक्त सम्झौताले ओजोन तहलाई घटाउने क्लोरोफ्लोरोकार्बन तथा हाइड्रोफ्लोरोकार्बन जस्ता रसायनहरूको उत्पादन तथा प्रयोगलाई क्रमश: घटाउँदै लगेर अन्त्य गरी ओजोन तहको संरक्षण गर्ने उद्देश्य राखेको थियो । रेफ्रिजिरेटर, एअर कन्डिसनर जस्ता उपकरणहरूमा प्रयोग गरिने ती रासायनिक पदार्थले पृथ्वीलाई सूर्यको हानिकारक विकिरणहरूबाट जोगाउने ओजोन तहको विनाश गर्दथ्यो ।

मोन्ट्रियल प्रोटोकललाई विश्वको सबैभन्दा सफल अन्तर्राष्ट्रिय वातावरणीय सम्झौताको रूपमा हेरिन्छ । अध्ययनहरूका अनुसार यो सम्झौता नभएको भए सन् २०५० सम्ममा ओजोन तह ध्वस्तै हुन्थ्यो ।

मरुभूमिमा रूपान्तरण

मलिलो र जैविक विविधता भएको जमिन विग्रिएर सुक्खा वा अर्धसुक्खा क्षेत्रमा परिणत भई उत्पादकत्व घट्ने र मरुभूमि जस्तै बन्ने प्रक्रियालाई मरुभूमिकरण भनिन्छ । वन विनाश, चरनको रूपमा अधिक प्रयोग आदि मानवीय क्रियाकलापका साथै जलवायु परिवर्तनको असरको कारण यस्तो हुनसक्छ ।

भुटानमा छतमा सोलार प्यानल राख्दै गरेकी महिला (तस्विर: एसियाली विकास बैंक / फ्लिकर / CC BY-NC-ND 2.0)

मानवजन्य

मानवको क्रियाकलापको कारण भएका परिवर्तन जसलाइ अंग्रेजीमा एन्थ्रोपोजेनिक र नेपालीमा मानवजन्य भनिन्छ । ऐतिहासिक रूपमा हेर्ने हो भने पृथ्वीको जलवायु वर्षौं लगाएर विस्तारै परिवर्तन हुँदै आएको हो । तर, उन्नाइसौँ शताब्दीको सुरुवातसँगै पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने वायु र कोइला जस्ता थुप्रै प्रकारका खनिज  इन्धनको प्रयोग बढ्न थाल्यो । साथै वन विनाशको गति पनि बढ्न थाल्यो । यस्ता क्रियाकलापले गर्दा वायुमण्डलमा वायुका रूपमा रहने विभिन्न तत्वहरूको प्राकृतिक अनुपातमा परिवर्तन हुन गई विश्वव्यापी तापमानमा तीव्र वृद्धि हुँदै आएको छ । वायुमण्डलको सन्तुलनमा भएको यो परिवर्तन जलवायु परिवर्तनको एन्थ्रोपोजेनिक अर्थात् मानवजन्य कारणको एउटा उदाहरण हो ।


राष्ट्रियस्तरमा निर्धारण गरिएका योगदान

सन् २०१५ को पेरिस सम्झौता अनुसार सबै देशहरूले राष्ट्रिय उत्सर्जनको परिमाण घटाउने र जलवायु परिवर्तनको असरसँग अनुकूलन गर्ने आफ्ना राष्ट्रिय यत्नहरूको रूपरेखा तयार पार्नु पर्दथ्यो । ती प्रतिबद्धतालाई राष्ट्रियस्तरमा निर्धारण गरिएका योगदान भनिन्छ ।

राष्ट्रिय रूपमा तय भएका योगदानहरू हरेक पाँच वर्षमा पेश गरिन्छ ।  पछिल्ला योगदानहरू अघिल्लाभन्दा बढी महत्त्वाकांक्षी हुनुपर्ने व्यवस्था गरिएको छ । सबै राष्ट्रहरूको कुल योगदानको लक्ष्यलाई एकसाथ लिँदा  जलवायु परिवर्तनको सघनता तथा असर घटाउन संयोजित तवरले विश्वभरि नै कार्यान्वयन गरिएका कदमहरू बन्छन्  ।


ला नीना

एल नीनोको उल्टो प्रक्रिया ला निना हो । एल नीनोनामक मौसमी प्रक्रियामा अस्वाभाविक रूपमा तापमान वृद्धि भएको हुन्छ भने ला निनाेमा अस्वाभाविक रूपमा तापमान घट्छ । ला निनf भूमध्य रेखामा प्रशान्त महासागरको मध्य तथा पूर्वी भागमा हुने गर्छ । एल नीनोले जस्तै यसले पनि संसारभर वर्षा तथा वायुमण्डण्डलीय चापलाई प्रभावित गर्छ ।


वन विनाश

काठको लागि र कृषि तथा खानी सञ्चालनका लागि मानिसले रुख काट्ने कार्यलाई वन विनाश भनिन्छ । वन विनाशले वायुमण्डलमा ठुलो मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्ने भएकाले यो जैविकविविधता र हाम्रो जलवायु दुवैको लागि ठुलो खतराको विषय हो ।

वायुमण्डलमा रहेको कार्बन डाइअक्साइड सोसेर संचिती गरि जैविकउर्जा उत्पादन गर्ने प्रविधि (बीईसीसीएस)
कार्बन सोसेर संचिती गरि उत्पादन गरिने जैविक ऊर्जा उत्पादन गर्दा निस्कने कार्बनलाई वायुमण्डलमा जान नदिई जम्मा गर्ने प्रक्रियालाई कार्बन क्याप्चर भनिन्छ । यस्तो कार्बनलाई संचिती गरेर त्यसबाट उत्पादन गरिने जैविक ऊर्जालाई जैविक ऊर्जा भनिन्छ । सिद्धान्ततः यसो गर्दा ऊर्जा उत्पादनमा कार्बन प्रभावक्षेत्रको मात्रा ऋणात्मक हुन्छ । हाल संसारमा कार्बन शोषण र संचितीमार्फत उत्पादन गरिने जैविक ऊर्जाका थोरै मात्र परियोजना सञ्चालनमा छन् । खाद्यान्न उत्पादन वा जैविक विविधताको लागि प्रयोग गर्न सकिने जमिनको ठुलो क्षेत्रफललाई जैविकइन्धन उत्पादनमा प्रयोग गर्दा हुने घाटाबारे आलोचकहरूले प्रश्न उठाएका छन् ।

वासस्थान खण्डिकरण

वनजङ्गल जस्ता अविच्छिन्न रूपमा फैलिएका वासस्थानका ठूला क्षेत्र छुट्टिएर धेरै स-साना खण्डहरूमा विभाजित हुनुलाई वासस्थान खण्डिकरण भनिन्छ । साना तथा खण्डिकृत वासस्थानमामा धेरै प्रजातिहरू बाँच्न नसक्ने हुनाले यसले जैविक विविधता सिध्याउने ठूलो खतरा निम्त्याउँछ । कुनै प्रजातिबाट थोरै संख्या अलग हुँदा पनि उक्त प्रजातिको स्वस्थ दीर्घकालीन जनसंख्याका लागि आवश्यक एकअर्का सदस्यबिच हुने महत्त्वपूर्ण आनुवंशिक आदानप्रदान रोकिन सक्छ ।


शहरी क्षेत्रमा टापु प्रभाव

शहरी क्षेत्रको तापमान वरिपरिको क्षेत्रभन्दा उल्लेख्य रूपमा धेरै हुने प्रवृत्तिलाई शहरी क्षेत्र तात्ने प्रणाली भनिन्छ । यसका कारणहरूमा कंक्रिट र सडकहरूले ताप सोसेर राख्ने, इन्धन बाल्दा र अन्य मानव गतिविधिको क्रममा उत्पादन भएको ताप र वनस्पतिको कमी पर्दछन् । शहरी ताप टापु प्रभावले शहरी क्षेत्रमा आउने तातो हावाको लु चल्दाको गम्भीरतालाई बढाउन सक्छ ।


संकटापन्नता

जलवायु परिवर्तनको प्रभाव अलग अलग समुदायले अलग अलग तहमा महसुस गर्छन् । जलवायु परिवर्तनप्रतिको जोखिम भौगोलिक अवस्थिति, अर्थसामाजिक अवस्था र सामाजिक सीमान्तकरणको अवस्था अनुसार फरक पर्न सक्छ ।

समग्रमा बराबरीको अवस्था अर्थात् अंग्रेजीमा नेट जिरो

अंग्रेजीमा नेट जिरो भनिने अवधारणालाई नेपालीमा समग्रमा बराबरीको अवस्था भन्न सकिन्छ । यसको अर्थ वातवारणमा थपिने र त्यहाँबाट घट्ने हरितगृह वायुको मात्रा बराबर रहेको भन्ने हुन्छ । यसलाई जलवायु तटस्थता पनि भनिन्छ । सन् २०१८ मा जलवायु परिवर्तनका सम्बन्धी अन्तर सरकारी समूह आइपीसीसीले पेरिस सम्झौता अनुसार विश्वव्यापी रूपमा तापमानमा वृद्धि हुने सीमालाई १.५ डिग्री सेन्टिग्रेडमा राख्ने लक्ष्यलाई हासिल गर्ने हो भने सन् २०५० लाई समग्रमा बराबरीको अवस्था अर्थात् नेट जिरो  हासिल गर्ने अन्तिम समयसीमा भनी घोषणा गरेको छ ।

नेट जिरो मापन गर्ने लण्डनस्थित गैरसरकारी संस्था नेट जिरो ट्र्याकर तथा अन्य अनुसन्धान संस्थाहरूको प्रतिवेदनमा उल्लेख भए अनुसार भारत, बेलायत, संयुक्त राज्य अमेरिका, चीन जस्ता १२८ देश तथा भूभागहरूले खुद शून्यको लक्ष्य राखेका छन् । सार्वजनिक रूपमा सूचीकृत सबभन्दा ठूला कम्पनीहरूमध्ये विश्वका एक तिहाइले खुद शून्यको लक्ष्य तय गरेका छन् । तर त्यसरी खुद शून्यको लक्ष्य तय गर्ने धेरै कम्पनी तथा देशहरूले प्रष्ट तथा समयबद्ध मार्गचित्र तय नगरेको भनी उनीहरूको आलोचना भएको छ ।

समुद्रको अम्लीयकरण

पृथ्वीको वायुमण्डलमा उत्सर्जित करिब ३० प्रतिशत कार्बन डाइअक्साइड समुद्रले सोस्छ । वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्दा समुद्रको पानीमा पाइने कार्बन डाइअक्साइडको मात्रा पनि बढ्छ । त्यसले गर्दा समुद्रको रासायनिक बनोटमा परिवर्तन आउँछ र समुद्रको पानी बढी अम्लीय हुन्छ । त्यस प्रक्रियालाई समुद्रको अम्लीयकरण भनिन्छ ।

समुद्रको अम्लीयकरणले समुद्रमा रहेको जैविक विविधतामा असर पुर्‍याउँछ । त्यसका केही उदाहरणहरूमध्ये सिपी तथा अन्य प्राणीहरूले आफ्नो कडा खोल बनाउने प्रक्रियामाथि असर गर्छ । बढी अम्लीय समुद्रले कोरल रिफलाई गम्भीर रूपमा असर पुर्‍याउँछ । आय तथा आहारका लागि समुद्रलाई स्रोतको रूपमा लिने अर्थतन्त्र र त्यसका नागरिकहरूलाई अम्लीयकरणले गम्भीर रूपमा असर पार्न सक्छ ।


हरित ऊर्जा

वायु र सौर्यजस्ता नवीकरणीय स्रोतबाट उत्पन्न हुने ऊर्जालाई हरित ऊर्जा भनिन्छ । हरित ऊर्जाको उत्पादनमा खनिज इन्धनको उत्पादनमा जस्तो अत्यधिक मात्रामा कार्बन उत्सर्जन हुँदैन । नदी र नदीजन्य पारिस्थितिक प्रणालीमा पर्ने गम्भीर प्रभावलाई मध्यनजर गर्दै विशेषगरी जलविद्युत जस्ता नवीकरणीय स्रोतहरूलाई कुन हदसम्म हरित ऊर्जा मान्ने भन्ने विषयमा बहस हुनेगरेको छ ।

हरित हाइड्रोजन वायु र खैरो(ग्रे) हाइड्रोजन वायु

उपयोग गर्न चाहिने मात्रामा प्राकृतिक रूपमा उपलब्ध नहुने हुनाले शुद्ध हाइड्रोजन ग्यास इलेक्ट्रोलाइसिस जस्ता विधिबाट कृत्रिम रूपमा संकलन गरिन्छ । इलेक्ट्रोलाइसिस विधिमा विद्युतको प्रयोगमार्फत पानीको कणलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरिन्छ । सौर्य तथा वायुजस्ता स्वच्छ ऊर्जाका स्रोतहरू प्रयोग गरी यस्ता विधिमार्फत उत्पादन गरिने हाइड्रोजनलाई हरित हाइड्रोजन भनिन्छ भने खनिज इन्धनको ऊर्जा प्रयोग गरी उत्पादन गरिने हाइड्रोजनलाई खैरो (ग्रे) हाइड्रोजन भनिन्छ । थप जानकारीका लागि हाम्रो यो आलेख हेर्नुहोस् ।

हरितगृह वायु तथा हरितगृह प्रभाव

कार्बनडाइअक्साइड, मिथेन, नाइट्रोजन अक्साइड, सीएफसी, एचसीएफसी र एचएफसी लगायतका वायुमण्डलमा रहने र सूर्यको तापलाई सीसै सीसाबाट निर्मित हरितगृहले जस्तै सञ्चय गरेर पृथ्वीको सतह वरपरको वायुको तापमान बढाउने सबै ग्यासलाई हरितगृह ग्यासभनिन्छ । यी ग्यासबाट यसरी तापमान बढ्नु नै हरितगृह प्रभाव हो ।

खनिज इन्धनको प्रयोग जस्ता मानव क्रियाकलापले वायुमण्डलमा हरितगृह वायुहरूको अनुपात बढाइरहेको छ । यसले हरितगृह प्रभावलाई झन गम्भीर बनाउनका साथै थप ताप सञ्चय गरी पृथ्वीको तापमान बढाइरहेको छ ।

नयाँ दिल्लीमा धुवाँको बीचमा भारत गेट नजिकै गर्दैगरेका मानिसहरु (तस्विर: कबीर झांगियानी / अलामी)

हाइड्रोकार्बन

हाइड्रोकार्बन कोइला, पेट्रोलियम र प्राकृतिक ग्यास जस्ता खनिज इन्धनमा रहने आधारभूत रसायन हुन् । कार्बन र हाइड्रोजनका परमाणुहरू मिलेर बनेका सबै जैविक यौगिकहरूलाई हाइड्रोकार्बन भनिन्छ । विद्युत उत्पादन तथा यातायातमा इन्धनको रूपमा हाइड्रोकार्बन जलाउँदा कार्बन डाइअक्साइड लगायतका जलवायु परिवर्तन बढाउने हरितगृह ग्यास वायुमण्डलमा निस्कन्छन् ।

हाइड्रोक्लोरोफ्लोरोकार्बन (एचसीएफसी)

हाइड्रोक्लोरोफ्लोरोकार्बन हाइड्रोजन, क्लोरिन, फ्लोरिन र कार्बनका परमाणुहरू मिलेर बनेका एक रासायनिक यौगिकहरूको समूह हो । यी रसायनहरू फोमब्लोइङ र एरोसोल जस्ता यन्त्रमा प्रयोग गर्नका लागि विकास गरिएको थियो । यी शक्तिशाली हरितगृह ग्यास हुन् । ओजोन तहलाई हानि पुर्‍याउने हुनाले मोन्ट्रियल प्रोटोकल अन्तर्गत चरणबद्ध रूपमा यस्ता रसायनको प्रयोग रोकिने क्रममा छ ।

हाइड्रोफ्लोरोकार्बन (एचसीएफसी)

हाइड्रोफ्लोरोकार्बन (एचसीएफसी) पनि फ्रिज र एअर कण्डिसनजस्ता यन्त्रहरूमा उपयोग गरिने ग्यास हो । अन्य ग्यास जस्तो ओजोन तहलाई क्षति नगर्ने भएकाले यसलाई क्लोरोफ्लोरोकार्बन र हाइड्रोक्लोरोफ्लोरोकार्बन प्रतिस्थापन गर्न प्रयोगमा ल्याइएको थियो । यद्यपि यो पनि हरितगृह ग्यास हो जसको प्रयोगबाट जलवायु परिवर्तनमा गम्भीर प्रभाव पर्न सक्छ ।

सन् २०१६ मा सहमति भएको मोन्ट्रियल प्रोटोकलमाथि किगाली संशोधन अन्तर्गत विश्वका विभिन्न मुलुकहरूले हाइड्रोफ्लोरोकार्बनको उत्पादन तथा प्रयोगलाई चरणबद्ध रूपमा कम गर्न सहमत भएका छन् ।

हानि तथा क्षति

जलवायु परिवर्तनका असरहरूमा भयानक बाढीहरू धेरै आउने, तातो हावाको लु चल्ने, समुद्री सतह बढ्ने लगायतका छन् । कतिपय अवस्थामा यी परिवर्तनहरूमा अनुकूलन गर्न असम्भव हुन्छ । जीवनको क्षति हुन्छ । खेती गर्न नमिल्ने गरि जमिन बिग्रिन्छ । बासस्थानहरू स्थायी रूपमा परिवर्तन हुन्छन् । जलवायु परिवर्तनका कारण अनुकूलन गर्न नमिल्ने वा टार्न नसकिने सामाजिक तथा आर्थिक असरहरूलाई ‘हानि तथा क्षति’ भनिन्छ ।

हानि तथा क्षति आर्थिक प्रकृतिका हुन सक्छन् — जीविकोपार्जन गुम्न सक्छ वा मौसम अनिश्चित बनिदिनाले कृषि उत्पादनमा ह्रास आउनसक्छ । त्यस्तै यसले सांस्कृतिक परम्परा, रैथाने ज्ञान र जैविक विविधता जस्ता गैरआर्थिक क्षेत्रमा पनि क्षति गर्न सक्छ । गैरआर्थिक क्षति नाप्न कठिन हुन्छ ।

विश्वभरि जलवायु परिवर्तनसँग जुध्न भैरहेका वार्ताहरूमा जलवायु परिवर्तनबाट सिर्जित हानि तथा क्षतिको क्षतिपूर्ति कसले गर्ने भन्नेबारे विवाद हुने गरेकोछ ।

हिमताल विस्फोटनबाट सिर्जित बाढी (जीएलओएफ)

हिमनदी पग्लिएर निस्केको पानीलाई बरफ वा हिमनदीले बोकेर ल्याउने चट्टान र गेग्र्‍यानले छेकेर बनेको तfnबाट अचानक निस्कने भेललाई हिमताल विस्फोटबाट सिर्जित बाढी (जीएलओएफ) भनिन्छ ।यस्ता बाढी भूकम्प, हिमपहिरो वा पग्लिएको पानी अत्यधिक मात्रामा संकलित हुँदा उत्पन्न हुन सक्छन् । हिमाली जलाधार क्षेत्रमा बढ्दो खतराका रूपमा देखिएका यस्ता बाढी अत्यन्त विनाशकारी हुने गर्छन् ।

हिन्दुकुश हिमालय

हिन्दुकुश हिमालय दक्षिण र मध्य एशियाको हिमाली क्षेत्रलाई बुझाउन प्रयोग गरिन्छ । यसमा अफगानिस्तानदेखि ताजिकिस्तानसम्म फैलिएको हिन्दुकुश पर्वत शृङ्खला र पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको  हिमालय पर्छन् । 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सन् २०२३ मा हिन्दुकुश हिमालय सम्बन्धी गरेको मूल्याङ्कनले हिमनदी द्रुत गतिमा पग्लिरहेका, हिमपात हुने दिन घट्दै गइरहेका र स्थायी हिउँ (पर्माफ्रस्ट) पग्लिरहेका जस्ता जलवायु परिवर्तनका कारण यस क्षेत्रमा भइरहेका ठूला परिवर्तन उल्लेख गरेको छ । यसबाट दक्षिण एसिया भित्र र बाहिरका देश, समाज र जैविक विविधतामाथि बेजोड प्रभाव पर्नेछ । प्रतिवेदन सम्बन्धी थप जानकारी यहाँ उपलब्ध छ ।

हिमनदी

उत्तर र दक्षिण ध्रुवीय क्षेत्रमा र उच्च पर्वतीय क्षेत्रमा पाइने जमेको नदीजस्तै विस्तारै हिउँ बग्ने ‘नदी’ लाई हिमनदी भनिन्छ । जमिनमा परेको हिउँ जमेर बरफको बाक्लो ढिक्का बन्दै सैयौँ वर्ष लगाएर यो बनेको हुन्छ । यही हिउँ वा बरफ बगेर हिमनदी बन्छ ।

जलवायु परिवर्तनको कारण विश्वमा तापमान वृद्धि हुँदै जाँदा हाल हिमनदीहरू हिमपातले पूर्ति गर्ने बरफको मात्रा भन्दा तीव्र गतिमा पग्लँदैछन् । हिमनदी पग्लँदाको असर हिमनदी आफैँभन्दा धेरै परसम्म देखिन्छ । समुद्र तह बढ्दैछ, जलचक्र र मौसम प्रणालीमा परिवर्तन भैरहेको छ । हिमालयका पग्लिरहेका हिमनदीहरूबारे थप यहाँ पढ्न सक्नुहुन्छ ।

हिमभूमि वा पर्माफ्रष्ट

लगातार कमसेकम पनि दुई वर्षसम्म बरफ वा हिउँ जमेर रहने भूमिलाई हिमभूमि वा अंग्रेजीमा पर्माफ्रष्ट भनिन्छ । पर्माफ्रष्टमा माटो, बालुवा, ढु‌गा र प्रांगारिक पदार्थलाई बरफले बाँधेर राखेको हुन्छ । ध्रुवीय क्षेत्रको अधिकांश भाग र हिन्दूकुश हिमालय क्षेत्रको ४० प्रतिशत सतह पर्माफ्रष्टले ओगटेको छ । जलवायु परिवर्तनले गर्दा पर्माफ्रष्ट पग्लिँदैछ । विश्वव्यापी औसत तापमान औद्योगिक क्रान्ति पूर्वको समय भन्दा २ डिग्री सेल्सियसले बढ्यो भने पर्माफ्रष्टको मात्रा ४० प्रतिशत भन्दा बढीले घट्ने अनुमान गरिएको छ ।

पर्माफ्रष्ट पग्लियो भने ध्रुवीय क्षेत्र र पर्वतीय क्षेत्रको जलप्रणाली वा जलचक्र र पारिस्थितिक प्रणालीमा नाटकीय परिवर्तन आउनेछ । पर्माफ्रष्ट पग्लिँदा वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनको मात्रा पनि धेरै बढ्न सक्छ जसले गर्दा पृथ्वीको तापमान बढ्दै जान्छ र झन् धेरै हिउँ पग्लिन थाल्छ ।

द थर्ड पाेल

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३