विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नबिल बैंक स्थापनाको ४१औँ वर्षमा प्रवेश गरेको छ । असार २८ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी बैंकले ४०औँ वार्षिकोत्सव मनाएको छ । ‘फोर्टी एन्ड फर्दर फर सस्टेनेबल फ्युचर’ नाराका साथ आयोजना गरिएको वार्षिकोत्सवअन्तर्गत ‘दिगो विकासमा बैकिङको भूमिका’ विषयमा छलफलको समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोहीअनुसार अघि बढाइएको बताए । बैंकले सुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवद्र्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकले ४० वर्ष पुगेको अवसरमा आगामी ४० दिनसम्म दिगो विकाससम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने समेत जानकारी दिए । त्यसका लागि आगामी ४० दिनमा साइकलिङ, प्रभातफेरी, ‘चार दशक नेपालको’ यात्रा झल्काउने तस्बिर प्रदर्शनीलगायतका कार्यक्रम तय भएको उनको भनाइ थियो । उनले बैंकले ४ दशकमा प्राप्त गरेको सफलताका लागि सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई धन्यवाद दिए ।    

कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर हाम्डीले दिगो विकासका लक्ष्य प्राप्तका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नबिल जस्ता बैंकले लगानी गर्नुपर्नेमा जोड दिइन् । 

‘दिगो विकासका लक्ष्य पूरा गर्नका लागि विश्वका लागि प्रत्येक वर्ष ४ ट्रिलियन डलर आवश्यक पर्छ, जुन कोरोना महामारीअघि वार्षिक २.५ ट्रिलियन डलर आवश्यक पर्ने अनुमान थियो’, उनले भनिन्, ‘नेपालका हकमा २३ अर्ब डलर आवश्यक भएको र प्रत्येक वर्ष ६ अर्ब डलर अपुग छ । जुन कुल जीडीपीको ११ प्रतिशत हो ।’ 

उनले नेपालले दिगो विकासका लक्ष्य पूरा गर्नका लागि ठूलो लगानी आवश्यक भएको र नबिल बैंकले दिगो विकासका क्षेत्रमा ठूलो लगानी बढाउन सक्ने समेत धारणा व्यक्त गरिन् । उनले बैंकको काम आर्थिक कारोबार मात्रै नभएको बरु पर्यावरण जोगाउने जिम्मेवारी समेत भएकाले त्यसतर्फ आफ्ना कार्यक्रम र सेवा प्रवाहलाई केन्द्रित गर्न सुझाव दिइन् ।

त्यस अवसरमा मुख्यवक्ता सामाजिक उद्यमी अनिल चित्रकारले पर्यावरण जोगाउन आवश्यक भएकोमा जोड दिए । नबिल जस्ता बैंकले दिगो विकासका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उनको भनाइ थियो । पर्यावरणमा हामी निर्भर छौँ, पर्यावरण नजोगाउने हो भने भविष्यमा समस्या उत्पन्न हुने उनको तर्क थियो  ।

‘चितवन राष्ट्रिय निकुञ्जमा बाघ भएकै कारणले काठमाडौँलगायतका सहरका ट्राभल एजेन्सीहरु सञ्चालनमा छन्, पर्यावरण जोगाएकै कारणले रोजगारी सिर्जना भएको छ’, उनले भने । उनले शिवपुरी राष्ट्रिय निकुञ्ज संरक्षण गरेकै कारण आज काठमाडौँबासीले दैनिक तीन करोड लिटर स्वच्छ खानेपानी प्राप्त गरेको तथ्यांक पेस गर्दै यसलाई मूल्यमा हेर्दा दिनहुँ ६० करोड रुपैयाँको भएको बताए ।

कार्यक्रममा इसिमोडका प्रबन्ध निर्देशक डा. पेमा ग्याम्त्सो, डब्ल्युडब्ल्यूएफ नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितलगायतको उपस्थिति थियो ।

सन् १९८४ मा जुलाई १२ मा नेपाल अरब बैंकका नाममा स्थापना नबिल बैंकले ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखी सेवा प्रवाह गर्दै आएको जनाएको छ । बैंकले पछिल्लो समय दिगो बैंकिङमा जोड दिएको छ । सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ सुरुआत गरेको थियो ।

नबिलले सन् १९९४ मा पहिलो पटक एटिएम, सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङ, सन् २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप सेवा सुरुआत गरेको थियो । सन् २०१६ मा कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो । बैंकले पछिल्लो पटक सन् २०२२ मा ‘एन बैंक’ सुरुआत गरी नेपालमा पहिलो पटक मोबाइलबाटै ६० भन्दा बढी बैंकिङ सेवा प्रवाह गरेको थियो । 

बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको जाएको छ । साथै नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ । 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३