काठमाडौं । सुपरमाई हाइड्रो पावर लिमिटेड ८ वर्ष पूरा गरी ९औं वर्षमा प्रवेश गरेको छ । यसैको उपलक्ष्यमा कम्पनीले आज (असाेज २६ गते) ९औं वार्षिक साधारणसभा मनाएको छ ।
कम्पनीको साधारणसभामा आर्थिक वर्ष (आव) २०७९/८० को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह वितरणमा छलफल गरी पारित गरेको छ । यसैगरी, आव २०८०/८१ का लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।
                            
                                                                                    इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको कम्पनी आर्थिक वर्ष (आव) २०७६/७७ देखि नियमित मुनाफा आर्जन गर्दै आएको छ । यो कम्पनीले आयोजनाको काम निर्धारित तालिकाभन्दा २१ महिना अगावै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको थियो ।
आयोजनाबाट मुनाफा आर्जन भएसँगै कम्पनीले आफ्नो सेयरधनी सदस्यलाई नियमित प्रतिफल वितरण गर्दै आएको छ । आव २०७६/७७ मा ७.१५ प्रतिशत, आव २०७७/७८ मा ११.५ प्रतिशत र आव २०७८/७९ मा ३० प्रतिशत नगद लाभांस लाभांस वितरण गरेको कम्पनीका अध्यक्ष अशोककुमार खड्काले बताए । आव २०७९/८० मा भने कम्पनीले थप मजबुत, सबल र आगामी दिनमा पर्न सक्ने जाेखिम निराकरण गर्न सक्ने क्षमता बनाउने उदेश्यअनुरुप लाभांस घाेषणा नगरिएकाे जनाएकाे छ ।
                            
                                                                                    
                            यसैगरी, कम्पनीले आव २०७९/८० मा १० लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरेको थियो । जसमा १० हजार कित्ता कर्मचारी, २५ हजार कित्ता सामुहिक लगानी कोष, ५० हजार कित्ता वैदेशिक रोजगारीमा जाने नेपाली, ५ लाख कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
विद्युत् उत्पादन तथा हाइड्रो पावर सञ्चालन आफैमा एक जटित प्राविधिक कुरा भएकोले विभिन्न चुनौती तथा समस्याहरू पार गर्दै यहाँसम्म आइपुगेको खड्काले बताए । ‘यस्ता समस्या र चुनौतीलाई सहकार्य, समन्वय, सहयोग र सहभागिताका आधारमा सफलतापूर्वक सम्पन्न गर्दै आएका छौं,’ उनले भने, ‘भावी चुनौतिलाई पनि मिलेर समाधान गर्नेमा विश्वस्त छौं ।’
अध्यक्ष खड्काले लामो खडेरीका कारण विद्युत् उत्पादन भएको गिरावट, बाढीका कारण आयोजनाले बेहोरेको क्षति, बैंकको ऋणको ब्याजदरमा भएको चरम वृद्धिका बाबजुत कम्पनी नाफा कमाउन सफल भई ९औं वार्षिकोत्सवमा उपलब्धी सहितको प्रतिवेदन पेस गर्न पाएको खुसी व्यक्त गरे ।
कम्पनीको आव २०७९/८० मा विद्युत् बिक्री गरी २१ करोड ७१ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
सेयर लगानी
कम्पनीले आव २०७९/८० मा १० लाख कित्ता सेयर निष्कासन गरी प्राप्त भएको १० करोड रुपैयाँमध्ये १ करोड रुपैयाँ हिमरिभर पावर लिमिटेडद्वारा प्रवर्द्धित १६.२६ मेगावाटको लिपिङ खोला जलविद्युत् आयोजनामा सेयर लगानी गरेको छ । हिमरिभरले २०८० माघभित्र आयोजना सम्पन्न गर्ने गरी काम गरिरहेको छ । साथै, सेयर निष्कासन प्रक्रिया पनि अघि बढाएको छ ।