लाछ्वोर (रामेछाप) । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधिन ५७.५ मेगावाटको नुप्चे-लिखू जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । बुधबार दिउँसो नुप्चे खोला र लिखू खोला र नुप्चेको सुरुङ जोडिने स्थानको बीचको सुरुङ छेडिएको हो । मंगलबार साँझसम्म दुवैतर्फबाट सुरुङ निर्माण गरी बाँकी रहेको ४ मिटर सुरुङ बुधबार दिउँसो छेडिएको हो । बुधबार सुरुङ छेडिएपछि नुप्चे खोलादेखि लिखू खोलातिरबाट आएको सुरुङ जोडिने स्थानसम्मको १ हजार ५ सय ९९ मिटर मुख्य सुरुङ खुलेको भिजन इनर्जी एण्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष सिए टिएन आचार्यले जानकारी दिए ।
यसअघि गत जेठ पहिलो साता लिखू खोलादेखि दुवैतिरबाट आएको आयोजनाको सुरुङ जोडिएको थियो । लिखू खोलादेखि नुप्चे खोलातिरबाट आउने सुरुङ जोडिने विन्दुसम्म १ हजार ४ सय २५ मिटर लम्बाइको सुरुङ रहेको छ ।
लिखू खोला र नुप्चे खोलाको पानीलाई मिसाएर नुप्चे-लिखू जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ २०७८ असोजदेखि आयोजना निर्माणाधीन छ । नुप्चे-लिखू जलविद्युत् आयोजनाको प्रबद्र्धक भिजन इनर्जी एण्ड पावर लिमिटेडका महाप्रबन्धक रमेश अधिकारीले स्वीच थिचेर विष्फोट गराएपछि सुरुङ छेडिएको हो ।
५९० मिटर सुरुङ खन्न बाँकी
आयोजनाको लागि कुल ७ हजार ४ सय ४६ मिटर सुरुङ निर्माण गर्नुपर्छ । यसमध्ये २ सय ९५ मिटर मुख्य सुरुङ निर्माणका लागि अडिट सुरुङ निर्माण गरिएको नुप्चे-लिखू जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन इनर्जी एण्ड पावर लिमिटेडका महाप्रबन्धक रमेश अधिकारीले जानकारी दिए । नुप्चे खोला र लिखू खोलातिरबाट पानी ल्याउन निर्माण हुने सुरुङको विन्दुभन्दा केही तल अडिट निर्माण गरी उत्तरतिर र दक्षिणतिर मुख्य सुरुङ निर्माण भइरहेको उनले जानकारी दिए । अडिटदेखि उत्तरतिर ३ सय मिटर सुरुङमा दुवै खोलाको पानी आउने सुरुङ जोडिने र ती सबै सुरुङ निर्माण भएकाले अब लाइनिङ र कंङ्क्रिटको काम सुरु हुने उनले बताए ।
दक्षिणतिरको २ हजार ७ सय ५० मिटर सुरुङ मध्ये बाँकी आगामी जेठभित्र ‘ब्रेक थ्रु’ गर्ने अधिकारीले बताए । आयोजनाको ४० ५१ मिटर पेनस्टक पाइप मध्ये अब ४ सय मिटर मात्रै जडान हुन बाँकी छ । विद्युत्गृहमा उपकरण जडानको काम धमाधम भइरहेको छ । आयोजनाको समग्र प्रगति ८५ प्रतिशत भएको छ । आयोजनाको २०८२ साउन अन्तिममा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेकोमा कुनै ठूलो समस्या नआए निर्धारित समयमै आयोजना पूरा गर्ने उनले जानकारी दिए ।
नुप्चे-लिखू जलविद्युत् आयोजना ३ हजार ३ सय ५० मिटर उचाइमा रहेको नुम्बुर हिमालको फेदमा रहेको छ । यो आयोजना उच्च हिमाली क्षेत्रमा निर्माण भएका संसारका थोरै जलविद्युत् आयोजना मध्ये पर्ने उच्च हेड भएको आयोजना हो । आयोजनाको खुद हेड १ हजार ५ मिटर रहेको छ ।