विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
कुश्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनको उद्घाटन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । अध्ययन तथा निर्माण प्रक्रिया सुरु भएको करिब १० वर्षमा २२० केभी कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाको निर्माण पूरा भएको छ । निर्माण सम्पन्न भएको यस आयोजनाको सोमबार (मंसिर २५ गते) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे ।

आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित न्यू बुटवल सबस्टेसनसम्म करिब ९० किलोमिटर लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । यो लाइन गत असोज अन्तिमबाट सञ्चालनमा ल्याइएको थियो ।

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । यो आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को न्यू बुटवल सबस्टेसनसम्मको करिब १३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । जसले, करिब १२०० मेगावाट विद्युत् भार बोक्न सक्ने जनाइएको छ ।

उद्घाटन समारोहमा मन्त्री बस्नेतले कालीगण्डकी करिडोर प्रसारण लाइन नेपालको पूर्व–पश्चिम विद्युत्् जोड्न र अन्तरदेशीय विद्युत् व्यापारका लागि महत्त्वपूर्ण भएको बताए । ‘एक/डेढ वर्षभित्रमा सुख्खायाममा समेत विद्युत् आयात गर्न पर्दैन, २०९२ सालभित्र २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्यादेश र कार्यदिशाका साथ अगाडि बढिएको छ,’ उनले भने, ‘संघीय, प्रदेश र स्थानीय तीन वटै सरकारको एकीकृत र सामूहिक प्रयासमा सिँचाइमा देखिएको विद्युतीकरणको समस्या समाधान गरिने छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसदहरू खड्ग बस्नेत र वैजनाथ जैजवालले औद्योगीकरणको प्रचुर सम्भावना रहेको नवलपरासी, रुपन्देही लगायत जिल्लाहरूमा पर्याप्त तथा गुणस्तरीय विद्युत्् आपूर्तिको व्यवस्था गर्न आग्रह गरे । साथै, प्रसारण लाइन आयोजना निर्माणका क्रममा स्थानीयसँग गरिएका सम्झौताहरू समयमै कार्यान्वयन गर्नका लागि मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए ।

यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयरूपमा विद्युत् खपत गर्न, पूर्व–पश्चिम प्रवाह र भारत निर्यात गर्न न्यू बुटवल सबस्टेसनले ‘पावर पुल’को काम गर्ने बताए । ‘देशभर यस्तै प्रसारण लाइन निर्माण तथा सञ्जाल बनाउन प्राधिकरणले काम गरिरहेको छ,’ उनले भने, ‘यसका लागि आगामी ५/६ वर्षभित्रमा ६/७ खर्ब रुपैयाँ आवश्यक पर्ने देखिन्छ ।’

सोही क्रममा एसियाली विकास बैंक (एडिबी), नेपाल आवासीय नियोगका निर्देशक आर्नो कोस्वाले कोभिड–१९को महामारी, रूख कटानमा देखिएको जटिलता कानुनी व्यवस्थालाई पार गर्दै आयोजना सम्पन्न हुनु प्रशंसायोग्य रहेको बताए । ‘हिमाली क्षेत्रमा उत्पादन भएको नेपालको हरित स्वच्छ ऊर्जा दक्षिण एसियाली क्षेत्रमा विस्तार र औद्योगिक क्षेत्रमा खपतका लागि प्रसारण लाइनले योगदान पुग्ने छ,’ उनले भने, ‘कालीगण्डकी करिडोर निर्माणमा अवलम्बन गरिएका राम्रा अभ्यासहरूलाई अन्य आयोजनामा पनि अनुकरण गर्न सकिने छ ।’

प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको छ । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण गरिएको थियो । सोही खण्डको खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा रहेका छन् । दुवै सबस्टेसनमा १००/१०० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू जडान गरिएको छ ।

उता, कुश्मा–न्यू बुटवल खण्डमा २३६ वटा टावरहरू निर्माण गरिएको छ । सुनवल नगरपालिका–१३ बडेराबाट न्यू बुटवल सबस्टेसनसम्म २२० केभीको चार वटा सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरू निर्माण गरिएको त्यस आयोजनाले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार मुलुकभित्र उत्पादित विद्युत्‌काे आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल २२० केभी सबस्टेसनको निर्माण गरिएको हो । कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि एकीकृत विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र नवलपरासी, रुपन्देही लगायत क्षेत्रको भोल्टेज सुधार भएको स्थानीय नेता तथा व्यवसायीहरूले बताएका छन् ।

मुस्ताङ, म्याग्दी लगायत जिल्लाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् यही प्रसारण लाइनमा जोडी राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ । रूख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध, कोभिड–१९ को महामारी लगायत कारणले कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । कुश्मा–न्यू बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएकोमा सोही वर्षको पुसबाट कार्यान्वयनमा आएको थियो ।

नेपाल सरकार तथा प्राधिकरण र एडिबीको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर निर्माण गरिएको हो । जसको अनुमानित लागत करिब ११ अर्ब रुपैयाँ रहेको छ ।

नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको लाइन निर्माण सम्पन्न भएपछि हेटौंडाबाट न्यू बुटवलसम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार हुने छ । न्यू बुटवल–बर्दघाट २१ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । अहिले हेटौंडाबाट भरतपुर हुँदै बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ । भारतसँगको विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइनसमेत निर्माणाधीन रहेको छ ।

देशभित्र खपत भई बचेको विद्युत्् सोही प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्ने लक्ष्य छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत प्राप्त हुने अनुदानबाट न्यू बुटवलमा ४०० केभीको सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानीमा बुटवल–गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपाल खण्डको निर्माण गरिने छ । न्यू बुटवल–लमही (दाङ) ४०० केभी प्रसारण लाइन निर्माण चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit