विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन शुरू गर्न अझै कम्तिमा एक साता लाग्ने भएको छ । सम्पूर्ण निर्माण पूरा भएर पनि आयोजनाले इलेक्ट्रो मेकानिकल उपकरण परीक्षणका लागि विद्युत् (ब्याक चार्ज) नपाउँदा परीक्षण समेत रोकिएको थियो । आयोजनाले कात्तिक २५ गतेबाट ब्याक चार्ज पाएपछि हाल इलेक्ट्रो मेकानिकल उपकरणको परीक्षण भइरहेको आयाेजना प्रमुख सत्यराम ज्याख्वाले बताए । 

‘आयोजना सञ्चालनमा ढिलाइ हुँदा पहिला परीक्षण गरिएका उपकरण पनि अहिले दोहोर्‍याएर परीक्षण गर्नुपर्ने भएको छ,’ उनले भने, ‘कुनै ठूलो खराबी नआए अबको ३–४ दिनभित्र आयोजनाका उपकरणको नोलोड चार्ज शुरु हुने छ ।’ विद्युत्‌काे परीक्षण उत्पादनका लागि भने अझै कम्तिमा एक साता लाग्ने देखिएको उनले बताए । 

‘मेसिनहरू जडान गरेर लामो समय राख्दा त्यसको जडित कतिपय इलेक्ट्रोनिक्स चिप्सहरुमा सिग्नल नआउने, राम्ररी काम नगर्ने जस्ता समस्या देखिँदा रहेछन्,’ उनले भने, ‘लामो सयम राखिएका मेसिनहरुको 'आईआर भ्यालु' पनि घट्दै जाँदोरहेछ । त्यस्ता मेसिन चलाउन विस्तारै  हिटिङ गर्दै चलाउनु पर्ने हुन्छ । यसका लागि केही दिन अवश्यक लिने छ ।’ 

आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरणको परीक्षणका लागि प्राधिकरणले चिलिमे हब सबस्टेशनमार्फत २०८० माघ २१ गतेदेखि नै १३२ केभी लाइनबाट विद्युत् (ब्याक चार्ज) उपलब्ध गराउनुपर्ने ठेक्का सम्झौता र आयोजनासँगको ग्रिड कनेक्सन एग्रिमेन्टको शर्त थियो । तर, झण्डै १० महिनामा विद्युत् उपलब्ध गराउँदा परीक्षण कार्य बल्ल शुरु भएको हो । 

आयोजनाको सिभिल संरचनाको सम्पूर्ण परीक्षण सकेर २०८० माघ २१ गते नै इलेक्ट्रो मेकानिक परीक्षणका लागि ‘मेन इन्लेट भल्ब’मा ‘फुल हेड’ पानी उपलब्ध गराइएको थियो । त्यतिबेलै विद्युत् पाएको भए आयोजनाको इलेक्ट्रो मेकानिकल संरचनाको परीक्षणसमेत सकिने थियो तर ती उपकरणको आंशिक परीक्षण भए पनि पूर्ण परीक्षण भने विद्युत् अभावका कारण लामो समयदेखि अलपत्र परेको थियो । 

सम्झौताका शर्त बमोजिम प्राधिकरणका तर्फबाट विद्युत् उपलब्ध नहुँदा आफ्ना कर्मचारी, प्राविधिक तथा श्रमिकको समय खेर गएको, मेसिनहरुको वारेन्टीमा लाग्ने लागत थपिने भएकोलगायत कारण देखाउँदै आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य गरिरहेको ठेकेदार कम्पनी भोइथ इन्डिया लिमिटेडले प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडसँग थप रकम र समयको माग दाबी गर्दै आएको छ । 

खास गरी आयोजनाको विद्युत् प्रसारणका लागि निर्माणाधीन चिलिमे हब सबस्टेशन (२२० केभी) र चिलिमेदेखि त्रिशूली–३ ‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माणमा ढिलाई हुँदा आयोजनाले ब्याकचाज पाउन सकेको थिएन । 

विद्युत् उत्पादन गर्न नपाउँदा २०८० माघपछि हालसम्म कम्पनीले विद्युत् बिक्रीबाट हुने झण्डै ३ अर्ब रुपैयाँ आम्दानी (साविकमा दैनिक ९० लाख र वर्षायाममा दैनिक करिब १ करोड २५ लाख रुपैयाँ) गुमाएको आयोजनाले बताउँदै आएको छ । 

साढे ३ वर्षमा सक्ने लक्ष्य राखिएकाे आयाेजनालाई ११ वर्ष

आयोजनाको निर्माण सन् २०१४ को फ्रेब्रुअरी ६ (२०७० माघ २३ गते) बाट शुरू भएको थियो भने २०१७ जुलाइ (२०७४ साउन) मा सम्पन्न गर्ने लक्ष्य थियो । यद्यपि, काम शुरू भएको ११ वर्ष पूरा हुन लाग्दासमेत आयाेजना सञ्चालनमा आउन सकेको छैन ।

आयाेजना पूरा नहुनुमा भूकम्प, नाकाबन्दी, कोरोना महामारी (कोभिड–१९), बर्खाको बाढी र पहिरो, हिउँदमै खस्ने सुख्खा पहिरो जस्ता प्राकृतिक अवरोधलाई कारण देखाउने गरिएकाे छ । प्राधिकरणले निर्माण गर्नुपर्ने प्रसारण लाइन र सबस्टेशनमा गरिएकाे ढिलासुस्तीलाई भने लुकाउने गरिएकाे छ । शुरूमा आयाेजना निर्माणमै ढिलासुस्ती भए पनि पछिल्लाे समय भने प्राधिकरणले प्रसारण लाइन र सबस्टेशन निर्माण ढिलाे गर्दा आयाेजनाकाे उत्पादन अनिश्चित बनेकाे थियाे ।   

आयोजनाकाे लट–१ अन्तर्गत सिभिल संरचनाको निर्माण सीडब्लुई कम्पनीले र लट–२ अन्तर्गत इलेक्ट्रो मेकानिकल जडान कार्य भारतीय कम्पनी भोइथले पूरा गरिसकेका छन् । त्यस्तै, लट–३ अन्तर्गत विद्युत्‌गृहदेखि चिलिमे हबसम्म जोडिने १० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण रोयल कन्स्ट्रक्सन कम्पनीले पूरा गरेको छ । 

लट–२ अन्तर्गत इलेक्ट्रो मेकानिकल उपकरणको जडान, ‘ड्राइ कमिसनिङ र वेट कमिसनिङ’का सम्भव भएसम्मका सबै काम पहिले नै सकिएका थिए ।

आयोजनाको थप विवरण

आयोजना : रसुवागढी जलविद्युत् आयोजना
प्रवर्द्धक : रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेड
आयोजनास्थल : रसुवा, गोसाइकुण्ड गाउँँपालिका
लट–१ ठेकेदार (सिभिल तथा हाइड्रो मेकानिकल) : चिनियाँ कम्पनी चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लूई) ।
ठेक्का सम्झौता : २०७० पुस २१ गते ।
लट–२ ठेकेदार (इलेक्ट्रो मेकानिकल) : भारतीय कम्पनी भोइथ हाइड्रो प्रालि ।
ठेक्का सम्झौता : २०७१ साउन १५ गते ।
लट–३ ठेकेदार (प्रसारण लाइन) : सुरुमा मुडभरि एन्ड जोशी कन्स्ट्रक्सन प्रालि । पछि एमएस रोयल कन्स्ट्रक्सन कम्पनी ।
ठेक्का सम्झौता : जोशी एन्ड मुडभरीसँग २०७४ असार १ गते । एमएस रोयलसँग २०७९ कात्तिक १५ गते ।
ऋण लगानीकर्ता : कर्मचारी सञ्चय कोष ।
प्रक्षेपित लागत : ऋण र विद्युत् खरिद सम्झौता (पिपिए) का क्रममा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ । ठेक्का स्वीकृतको चरणमा १५ अर्ब २० करोड रुपैयाँ ।
संशोधित लागत : १७ अर्ब १ करोड रुपैयाँ । पुनः संशोधित १८ अर्ब ४७ करोड ।
पिपिए : हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा ४.८० रुपैयाँ ।
वार्षिक ऊर्जा उत्पादन : ६१ करोड ३८ लाख ६० हजार युनिट
विद्युत् उत्पादन तालिका : २०७८ भित्र, संशोधितः २०८० असार, पुनः संशोधितः २०८० असोज, नयाँ संशोधितः २०८० चैत ।
प्रसारण लाइन : चिलिमे हबसम्म १० किलोमिटर, १३२ केभी ।
वार्षिक आम्दानी : ३ अर्ब २५ करोड रुपैयाँ

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३