काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगको सदस्यमा भागिरथी भट्टराई (ज्ञवाली) लाई नियुक्त गर्ने निर्णय गरेको छ । फागुन २६ गते साँझ बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
आयोगको सदस्यको रूपमा ५ वर्षे कार्यकाल पूरा गरेकी ज्ञवालीसँग त्यसअघि २०६९ साल कात्तिक २३ गतेदेखि खानेपानी महशुल निर्धारण आयोगको सदस्यको रूपमा ४ वर्ष काम गरेको अनुभवसमेत छ । यस्तै, त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेकी ज्ञवालीले विगतमा रत्नराज्य माध्यमिक विद्यालयको अध्यापन गरेकी र हाल ब्रुकलिन कलेज प्राध्यापनरत रहेकी छिन् । यसैगरी, सेसन बचत तथा ऋण सहकारी संस्थाको २ कार्यकाल अध्यक्ष तथा एक कार्यकाल कार्यबाहक अध्यक्ष भएर काम गरेको फरक अनुभवसमेत रहेको उनले बताएकी छन् ।
आयोगमा अध्यक्ष र एक जना महिलासहित ४ जना सदस्य गरी जम्मा ५ जना पदाधिकारी रहने व्यवस्था छ । हाल आयोग सदस्य रहेका गौतम डंगोलबाहेक अध्यक्ष र ३ सदस्य गरी ४ जना पदाधिकरीको कार्यकाल २०८१ वैशाख २५ गते सकिएको थियो । नयाँ पदाधिकारी नियुक्तिका लागि विद्युत् नियमन आयोग ऐन २०७४ को दफा ७ को उपदफा ३ बमोजिम गठित सिफारिस समितिले मन्त्रालयसमक्ष गत जेठ ३० गते प्रतिवेदन बुझाएको थियो ।
सिफारिस समितिको प्रतिवेदन अनुसार नै गत असार १० गते मन्त्रिपरिषद्ले आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल र सदस्यहरूमा डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मालाई नियुक्त गरेको थियो भने ज्ञवालीको नियुक्ति मात्र रोकिएको थियो । आयाेगमा महिला सदस्यको भने पदरिक्त भएको करिब १० महिनापछि पदपूर्ति भएकाे हाे ।