काठमाडौँ । थापाथली क्षेत्रमा लामो समयदेखि गुजुल्टिएर रहेका अव्यवस्थित विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएको छ । यसको कारण भने खुल्न नसकेको भए पनि विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ घटनाको स्थलगत अनुगमन गरी अव्यवस्थित तारका समस्या तत्काल समाधान गरी दीर्घकालीन व्यवस्थापन योजना कार्यान्वयन गर्न सम्बन्धित निकायसँग समन्वयका लागि आग्रह गरेका छन् । आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गरी मन्त्री श्रेष्ठ बुधबार बिहानै घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा उनले यस्ता अव्यवस्थित तारले जुनसुकै बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले समस्या समाधानमा ढिलाइ गर्न नहुने बताए । मन्त्री श्रेष्ठको पहलमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौँ महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय अघि बढाइएको छ ।
उनले राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि गुजुल्टिएर रहेका तारलाई व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने समेत स्पष्ट पारे । स्थानीयवासीले समेत थापाथलीसहित राजधानीका अन्य क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापनको कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।