काठमाडाैँ । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण पूरा भई सम्पूर्ण संरचनाको सफलरूपमा परीक्षण (ड्राई टेस्ट) गरिएको छ । चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड अन्तर्गत रसुवागढी हाइड्रो पावर प्रवर्द्धक रहेको आयोजना सान्जेन र मध्यभोटेकोसीको तुलनामा सबैभन्दा पछाडि सुरु गरिएको हो ।
चिलिमे अन्तर्गतका चार सहायक कम्पनीले निर्माण गरेका रसुवागढी सहित ४२.५ मेगावाटको सान्जेन र १०२ मेगावाटको मध्यभोटेकोसी सबैको निर्माण अन्तिम चरणमा पुगेको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयाेजनाले भने २०८० असाेज २१ गतेदेखि व्यापारीक उत्पादन गरिररेकाे छ ।
चार आयोजनामा सबैभन्दा पछाडि काम सुरु गरे पनि रसुवागढीका सिभिल, इलेक्ट्रो तथा हाइड्रो मेकानिकल उपकरणको सफलरूपमा परीक्षण पूरा भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताए । ‘हामीले सम्पूर्ण संरचनाको परीक्षण पूरा गरेका छौं, फिनिसिङका सामान्य पक्ष बाँकी रहेकोले त्यहाँ २४सै घन्टा काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘आगामी चैत मसान्तसम्म बाँकी काम पूरा गरेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।’
परीक्षणका क्रममा सिभिल, इलेक्ट्रो तथा हाइड्रो मेकानिकल कुनैमा पनि समस्या नदेखिएको र ४१८४.५ मिटरको मुख्य सुरुङमा समेत पानी भरी परीक्षण पूरा भएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताए । आयोजनाबाट उत्पादित विद्युत् २२० केभी चिलिमे हब सबस्टेसनमा जडान गरी त्यहाँबाट त्रिशूली–३ ‘बी’ हबमा पुर्याई केन्द्रीय प्रणालीमा प्रवाह हुनेछ ।
सबस्टेसन तथा प्रसारण लाइनको पनि करिब अन्तिम चरणमा रहेको हुँदा आगामी चैत मध्यसम्म सम्पूर्ण काम पूरा हुने बृहत् २२० केभी प्रसारण लाइन आयोजनाहरूको विभागका विभागीय प्रमुख थर्कबहादुर थापाले बताए । ‘रसुवागढीले पनि आफ्नो तर्फ निर्माण गर्नुपर्ने प्रसारण लाइनको केही भाग बाँकी रहेको भन्ने छ,’ उनले भने, ‘उसको काम सकिँदा हाम्रो लाइन तयार हुन्छ ।’
रसुवागढीको लट–१ (सिभिल तथा हाइड्रो मेकानिकल) को काम गर्न २०७० पुस २१ गते चिनियाँ कम्पनी चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लूई) सँग ठेक्का सम्झौता भएको थियो । यस्तै, लट–२ (इलेक्ट्रो मेकानिकल) को काम गर्न २०७१ साउन १५ गते भारतीय कम्पनी भोइथ हाइड्रो प्रालिसँग सम्झौता भएको थियो ।
सबै क्षेत्रको काम भइरहँदा बाढी–पहिरो, भूकम्प, भारतले गरेको नाकाबन्दी जस्ता प्राकृतिक प्रकोपबाट आयोजना प्रभावित हुँदै आयो । पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोरोना महामामारीका कारण आयोजनाको निर्माण एक वर्ष प्रभावित हुन पुग्यो । कोरोनाका कारण भएको लकडाउन खुले पनि चिनियाँ नाका बन्द रहँदा उपकरण ल्याउन र समय दिएर काम गर्न नसक्दा निर्माण थप प्रभावित भएको थियो ।
निर्माण क्षेत्रमा हिउँद होस् वा बर्खा बर्षको ६ महिना पहिरो गएर कामै गर्न नसकिने हुन्थ्यो । बाढीको त्रास, बर्खा वा हिउँद दुवै समयमा निरन्तर गइरहने पहिरो र यसको रोकथाम गर्दै काम गर्न सधैं नयाँ–नयाँ आयोजना निर्माण गर्नु सरह हुने गरेको थियो । लट–३ अर्थात् प्रसारण लाइनको काम गर्न कम्पनीले २०७४ असार १ गते मुडभरि एन्ड जोशी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । करिब ४ वर्ष बित्दासम्म यो कम्पनीले २० प्रतिशत पनि काम गरेन । यसपछि, उससँग ठेक्का तोडी एमएस रोयल कन्स्ट्रक्सन कम्पनीसँग २०७९ कात्तिक १५ गते सम्झौता गरी काम सुरु गरेको थियो । आयोजनाको विद्युत्गृहदेखि चिलिमे हब सबस्टेसनसम्म जम्मा १० किलोमिटर प्रसारण लाइनले पनि निकै समय लिएको छ ।
कर्मचारी सञ्चय कोषको वित्तीय सहयोगमा निर्माण भइरहेको आयोजनाको ऋण र विद्युत् खरिद सम्झौता (पिपिए) का क्रममा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । पछि कम्पनीको सञ्चालक समितिले ठेक्का स्वीकृतको चरणमा १५ अर्ब २० करोड रुपैयाँ प्रक्षेपण गरेको थियो । यही लागतमा निर्माण पूरा भए रसुवागढी प्रतिमेगावाट १३.७० करोड रुपैयाँमा सकिन्छ ।