काठमाडौँ । नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले सोमबार (पुस २८ गते) देखि आफ्नो सक्रिय बैंकिङ जिम्मेवारीबाट अवकाश लिएका छन् । करिब ८ वर्षअघि बैंक प्रवेश गरेका उनले करिब ३ वर्ष सञ्चालक र ५ वर्ष अध्यक्षको भूमिका निष्ठाका साथ पूरा गरे । उसो त नेपालमा गर्विलो बैंकिङ व्यवसाय चलाइरहेको नबिल बैंकलाई उनले फरक उचाइमा पुर्याए । यसर्थमा उनलाई नबिलको उचाइसँगै अग्लिएका ‘सफल बैंकर’ भन्न सकिन्छ ।
बैंकको जिम्मेवारी छोड्दै गर्दा उनी भन्छन्– पदीय हिसाबले झन्डै ४० वर्ष बैंकिङ उद्योगमा बिताइयो । अब स्वतन्त्ररूपमा काम गर्छु । म यो क्षेत्रबाट बाहिर हुँदै हुन्न, मात्र भूमिका फेरिएको हो । आफूलाई निष्ठा र मूल्यमा आधारित तथा दिगो गुणस्तरीय बैंकिङ विकासमै समर्पित गर्ने मेरो प्रण छ ।
बैंक अध्यक्षको कार्यावधि सकिएर अवकाश लिँदै गर्दा उनी आफ्ना अनुयायी, सहकर्मी र पूरै वित्तीय समुदायका लागि प्रेरणाका एक दुर्लभ अनुकरणीय पात्र बनेका छन् । अर्कोतर्फ, सक्रिय बैंकिङ जीवनमा एक रिक्तताको महसुस पनि गरिएको छ । पौड्यालको बैंकिङ यात्रा केवल पद, प्रतिष्ठा वा व्यावसायिक उपलब्धिको कथा मात्र होइन, यो कठिनाइ, समर्पण, मानवीय दृष्टिकोण र दीर्घकालीन सेवाको पटकथा पनि हो । बैंकिङ क्षेत्रमात्र होइन, सामाजिक अर्थतन्त्र सशक्त बनाउन उनले खेलेको भूमिका सिङ्गो क्षेत्रकै धुरीमा राख्ने गरिएको छ ।
विश्व बैंकिङ प्रणाली परिवर्तन हुँदै आइरहँदा नेपालमा पनि यो क्षेत्र परम्परागत मोडेलबाट दिगो र मूल्यमा आधारित बैंकिङतर्फ रूपान्तरण हुँदै आएको छ । यो भूमिकामा प्रत्यक्ष एवम् अप्रत्यक्ष पौड्यालले अग्रसरता देखाए । नाफा–घाटाको व्यवसाय हेर्दै आएको क्षेत्रलाई जनउत्तरदायी बनाउन उनले गरेको मिहिनेतको परिणाम प्रस्ट देखिएको छ । उनको प्रवेशपछि नै नबिल बैंकले प्राविधिक, व्यावसायिक र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणमा कैयौँ महत्त्वपूर्ण काम गरेको छ ।
पौड्याल केबल एक सफल बैंकर मात्र होइनन्, नेतृत्व, रणनीति, दिगो विकास र अन्तर्राष्ट्रिय सहकार्यका प्रतीक पनि हुन् । उनको अनुभव र विज्ञता राष्ट्रिय/अन्तर्राष्ट्रिय संगठनको तहसम्म पुगेको छ । उनको दर्शनले नेपालको बैंकिङ क्षेत्रमा नयाँ मार्गचित्र कोरेको छ । उनकै पहलमा बैंकका लागि उच्च तहका कर्मचारी नबिल बाहिरबाट ल्याइयो । यस खालको मिश्रणले बलियो कार्यगत समूह निर्माण गर्न सक्यो । हिजो एनएमबी बैंकको जिम्मेवारी पूरा गरेर बाहिरिँदै गर्दा समेत उनले यो पद्धति बसालेका थिए ।
हिजोका दिनमा एक जना प्रमुख कार्यकारी अधिकृतको पदावधि सकिएपछि बाहिर खोज्ने प्रचलन थियो । त्यस क्रममा निजी क्षेत्रमा हुने रस्साकस्सी, आफ्नो र अरूको व्यक्ति भन्दै लगाइने ‘ट्याग’जस्ता कारणले बैंकिङ क्षेत्र धमिलिएको हिजोका प्रशस्त उदाहरण छन् । आज नबिलमा बैंकभित्रैबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया सुरु भयो । यो बैंकले निरन्तर आफ्ना जनशक्तिमा क्षमता विकासमा पाइन भर्दै आएको उदाहरण हो, जसको थिति पौड्यालले नै बसाले । यो पक्ष नबिलका लागि मात्र होइन, समग्र बैंकिङ क्षेत्रका लागि समेत पाठ हो । यस प्रकारको बैंकिङ विकासले संस्थागत नेतृत्व सबल हुनुका साथै दीर्घकालीन रणनीतिक विकासको जग थप मजबुत बनाउँदै लैजान सक्छ ।
डिजिटल प्रविधि र रूपान्तरण
पौड्यालको नेतृत्वमा नबिल बैंकले डिजिटल रूपान्तरणका विविध काम गरेको छ । परम्परागत वृद्धि विकास मात्र पर्याप्त नठानी मर्जर तथा प्राप्ति प्रक्रिया अगाडि बढाइयो । नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स नबिल बैंकसँग गाभिए । टिप्पणीहरू सुनिन्छ– नबिलले समयमै चुनौती सामना गरेर यी दुई वित्तीय संस्थासँग गाभ्ने/गाभिने प्रक्रिया सुरु गर्नु ती संस्थाहरूका लागि समेत फलदायी भएको छ । यति मात्र होइन, मर्जरपछि नयाँ संरचनामा समायोजन भएर आएका कर्मचारीलाई कुनै भेदभाव हुन दिइएन । सम्मानपूर्वक तिनको व्यवस्थापन गरियो । यो मूल्यमा आधारित बैंकिङ प्रणालीको मार्गचित्रको सिद्धान्तअनुसार नै हो भन्न हिच्किचाउनु पर्दैन ।
बैंकले मुनाफा मात्र होइन, समुदाय र अर्थतन्त्रको दिगो विकासमा पनि योगदान पुर्याउनु पर्छ । यो सेवामुखी योजनाबाटै सुरु गरियो नबिल उद्यमशीलता विकास साथै, ग्रामीण विकास र एसएमई (साना र मध्यम उद्यम) क्षेत्रको आयतन फैलिँदै गयो । बैंकिङ प्रणालीलाई विश्लेषणमूलक र नियन्त्रणयुक्त बनाउँदै, गुणस्तरीय कर्जा लगानीको दायरा समेत फराकिलो बनाउने रणनीति अपनाइयो । यही कारण पनि नबिल पारदर्शी, संस्थागत सुशासन, जनउत्तरदायी भूमिकामा अग्रणी मानिन्छ ।
उता वैदेशिक रोजगारमा गएका नागरिकमा मिहिनेत गर्ने बानीको विकास भएको छ । तिनले कुनै न कुनै सीप सिकिसकेका छन् । तिनलाई अब स्वदेश फर्काउन बैंकिङ क्षेत्रले पहल गर्नुपर्छ भन्ने पौडयालको रणनीतिक धारणा छ । उनको अनुभवी दस्तावेज भन्छ– कृषि तथा नवीकरणीय ऊर्जा क्षेत्र विकासमा बैंकको लगानी विस्तार गरी यी क्षेत्रमा फर्केका व्यक्तिलाई जोड्नुपर्ने समय आएको छ । यसैमा बैंकको दिगो भविष्य निहित छ । सोही अनुरूप बैंकले त्यस्ता व्यक्ति तथा परिवारलाई छुट्टै लाभदायी योजना पनि ल्यायो ।
उत्कृष्ट बैंकिङ सेवामा पुग्न, बिस्तारै सबै बैंकहरूले दिगो र विश्लेषणमूलक अभ्यास अपनाउन आवश्यक रहेको पक्ष उनले लिखित वा मौखिकरूपमा भन्दै आएका छन् । उनले देखाएका यी मार्गदर्शन बैकिङ क्षेत्रमा स्थायित्व र समाजसँगको सम्बद्धतालाई बलियो बनाउने कडी हुन् । उनको नेतृत्व र रणनीतिले नबिललाई मात्र होइन, नेपालको बैंकिङ क्षेत्रलाई पनि दिगो र समाजमैत्री दिशामा अघि बढ्न निरन्तर प्रेरित गरेका अनेक उदाहरण छन् ।
दिगो र समावेशी बैंकिङ
उपेन्द्र पौड्यालको नेतृत्वमा नबिल बैंकले सुरुदेखि नै दिगो बैंकिङको रणनीतिमा जोड दियो । ‘सस्टेनेबल बैंकिङ’ मोडेलमार्फत आर्थिक, सामाजिक र वातावरणीय मुद्दामा समेत ध्यान केन्द्रित गर्यो । कृषि, उद्यमशीलता, ग्रामीण वित्तीय पहुँच तथा उद्यमीलाई प्राथमिकता दिने कार्यक्रम ल्याइयो । परिणामतः सहरी र ग्रामीण कृषकले वित्तीय सहायता प्राप्त गरे । यसबाट रोजगारी सिर्जना हुनुका साथै उत्पादन वृद्धि हुँदै गयो । ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याइरहेको छ । यसले स्थानीयवासीको दैनिकीमा समेत सुधारका सङ्केत देखिँदै गएका छन् ।
पौड्याल भन्छन्– बैंकिङ क्षेत्र नाफा घाटाको जोड–घटाउ मात्र होइन, देशका पिँधमा परेका नागरिकको दैनिकी बदल्ने अस्त्र पनि हुनुपर्छ । नबिलले यही कोसिस गर्दै आएको छ । भोलिका दिनमा पनि यसले निरन्तरता पाउने छ ।
अर्कोतर्फ, नबिलले अन्तर्राष्ट्रिय अभ्यासअनुसार लगानी पोर्टफोलियो अन्तर्गत हरित ग्यास उत्सर्जन व्यवस्थापनमा समेत काम सुरु गरेको छ । यस अभियानमा जोडिने नबिल नेपालकै अग्रणी बैंक मानिन्छ, जसको श्रेय पनि पौड्यालले नेतृत्व गरेको समूहलाई नै जान्छ ।
वित्तीय समावेशिता
पौड्यालको विश्लेषण छ– आज नबिलको प्रशस्त शाखा र सेवा केन्द्रहरू छन् । तथापि, बैंकिङ लक्ष्य केवल शाखा खोल्नु वा मुनाफा आर्जन गर्नु मात्र होइन । समुदाय र अर्थतन्त्रबिच अन्तरसम्बन्ध स्थापित गर्नुपर्छ ।
यही कारण उनले बैंकलाई सामाजमैत्री, दिगो वातावरणीय तथा आर्थिकरूपले समृद्ध बनाउने उद्देश्यमा जोड्दै आए । यो दृष्टिकोणले वित्तीय समावेशिता, महिला सशक्तीकरण, ग्रामीण कृषि जस्ता क्षेत्रमा लगानी विविधीकरण हुँदै गयो । बैंकले जोखिम व्यवस्थापनमात्र होइन, सामाजिक प्रभाव विश्लेषणलाई पनि प्राथमिकता दिनुपर्नेमा उनको अडान देखिन्छ । यसले आम मानिस, विशेषतः ग्रामीण अल्पसङ्ख्यक समुदायलाई वित्तीय सेवामा पहुँच दिलाउन मद्दत गर्दछ ।
उदीयमान मोडेल
पछिल्ला वर्षहरूमा नेपालको अर्थतन्त्र र बैंकिङ क्षेत्रले विभिन्न चुनौतीहरू सामना गरेका छन्– कोरोना महामारी, तरलता समस्या, बढ्दो लगानीको माग । यी परिवर्तनीय चुनौतीहरूको एकमात्र निकास दीर्घकालीन सोच, दिगो रणनीति र प्रगतिशील नेतृत्व हो । पौड्यालले यही आधारमा नबिलको बैंकिङ मोडेल विकासमा जोड दिए ।
नबिलमा पछिल्लो ८ वर्षमा जे जति सुधार एवम् रूपान्तरणका काम भए, ती व्यवस्थापन, सञ्चालक समिति र बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीको परिश्रमको प्रतिफल ठान्छन्, पौड्याल । उनको अनुभव भन्छ– एक्लो व्यक्तिले सम्पूर्ण जिम्मेवारी र रूपान्तरणको भारी बोकेर हिँड्न सक्दैन । ऊ एउटा माध्यम वा संवाहक हुन सक्छ । आखिर परिणाम देखिने त सामूहिक कार्यबाटै हो ।
बैंकभित्र वा बाहिर तथा विभिन्न सभा–समारोहमा उनी भनिरहेका हुन्छन्– वित्तीय समावेशीकरण, पारदर्शिता, नैतिक आचरण, जोखिम विश्लेषण, दिगो परियोजना र सामाजिक उत्तरदायित्व बैंकका आधार स्तम्भ हुन् । सामूहिक प्रयासले मात्र नेपालको बैंकिङ प्रणालीले अर्थतन्त्रको सुधार, दिगो विकास लक्ष्य (एसडिजी) र रोजगारी सिर्जनामा योगदान पुर्याउन सक्छ ।
बैंकिङ यात्रा
उपेन्द्र पौड्यालले आफ्नो बैंकिङ यात्रा सन् १९८६ मा नेपाल ग्रिण्डलेज बैंक (पछि स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट सुरु गरे । त्यहाँ उनले करिब १४ वर्ष सेवा गरे । त्यसपछि एनएमबी बैंकमा प्रवेश गरे । एनएमबीमा उनले प्रमुख कार्यकारी अधिकृतको रूपमा १७ वर्षभन्दा बढी कुशल र दृढ नेतृत्वको जिम्मेवारी निर्वाह गरे । यही नेतृत्वकालमा एनएमबीलाई एक सफल व्यावसायिक बैंकको रूपमा स्थापित गर्नुमा उनको अतुलनीय भूमिका देखिन्छ ।
सन् २०१७ मा एनएमबीबाट अवकाश लिएपछि उनले स्वतन्त्र रूपमा बैंकिङ उद्योगको जग थप दरिलो बनाउने अठोट लिएका थिए । तथापि, उनको पदीय क्रियाशीलतालाई नबिलले निरन्तरता दियो । आज बैंकले रणनीति, मुद्रा प्रवाह, वित्तीय पोर्टफोलियो र दिगो बैंकिङमा नयाँ जीवन पाएको छ । यसमा पौड्यालको प्रवेशले विशेष भूमिका खेलेको दाबी गर्न सकिन्छ ।
पौड्याल लामो समय नेपाली बैंकिङ क्षेत्रमै साधनारत रहे । परिणामतः प्रोजेक्ट फाइनान्स, अन्तर्राष्ट्रिय बैंकिङ, मूल्यमा आधारित दिगो बैंकिङ, नेतृत्व तथा संस्थागत पुनर्गठनको विज्ञको रूपमा समेत स्थापित भएका छन् ।
नेतृत्व र सम्मान
उपेन्द्र पौड्यालले नेपाल बैंकर्स एसोसिएसन, बैंक तथा वित्तीय संस्था महासंघ (सिबिफिन) र ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुज जस्ता प्रतिष्ठित संस्थाको नेतृत्व गरे । यसैमार्फत बैंकिड, आर्थिक र सामाजिक रूपान्तरणमा नतिजामुखी काम गरेर देखाए । बैंक र वित्तीय संस्था मिलेर बैंकिङ सुधार, जोखिम अवस्था तथा दीर्घकालीन वित्तीय योजनाको प्रवर्द्धनमा उनले खेलेको भूमिका गहन दस्तावेजजस्तै बन्न सकेको छ ।
उनले नेपाल बैंकर्स संघको अध्यक्ष (२०१४–२०१६) को रूपमा पनि सेवा गरे । यस भूमिकामा बैंकिङ नीतिहरू, वित्तीय स्थायित्वका कार्यक्रमहरू र बैंक–सरकार संवादलाई थप मजबुत बनाउनुमा उनको योगदान उल्लेखनीय रह्यो । यस्तै, व्यवस्थापन संघ नेपाल (म्यान) को अध्यक्षको भूमिका निर्वाह गर्दै व्यवस्थापन र नेतृत्व क्षमता विकासमा जोड दिए ।
नेपाल सरकारद्वारा प्रदान गरिएको प्रबल जनसेवा श्री नागरिक सम्मान गुणस्तरीय बैंकिङ विकासको ‘उपाधि’ भन्दा अतिशयोक्ति हुँदैन । यो उनले वित्तीय क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर पनि हो ।
पौड्याल देशको बैंकिङ दुनियाँभन्दा पर अन्तर्राष्ट्रिय जगतमा समेत पुगेका छन् । ‘ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुज’ले एसिया प्रशान्त क्षेत्रको प्रतिनिधिको रूपमा नियुक्त गरेको थियो, जसलाई नेपाली बैंकर तथा बैंकिङ क्षेत्रका लागि महत्त्वपूर्ण सम्मानको रूपमा लिन सकिन्छ ।
अन्तर्राष्ट्रिय अनुभव
अन्तर्राष्ट्रियता समेत पौड्यालको गर्विलो योगदान छ । उनी ‘ग्लोबल अलायन्स फर बैकिङ अन भ्यालुज’का एसिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि हुन्, जसले अन्तर्राष्ट्रिय संगठन, मूल्यमा आधारित, दिगो र सामाजिक उत्तरदायी बैंकिङ प्रणालीलाई प्रोत्साहन गर्छ । यसले अन्तर्राष्ट्रिय समुदायमा बैंकिङ प्रक्रिया केवल मुनाफा हासिल गर्ने साधन नभई मानिस र पर्यावरणीय मुनाफासँग जोड्छ । यसको अर्थ हो । बैंकिङ जगत आर्थिक, सामाजिक, वातावरणीय, जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत जोडिनुपर्छ ।
उनले हासिल गरेको अन्तर्राष्ट्रिय अनुभव नेपालको दिगो बैंकिङ अभ्यासलाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण कडी साबित भएको छ । फलतः नेपाली बैंकिङ प्रणाली दीर्घकालीन, टिकाउ र समुदायोन्मुख हुँदै गएको छ । साथै, पर्यावरणीय जोखिम व्यवस्थापन र सामाजिक प्रभाव सूचकाङ्कको प्रयोगजस्ता अवधारणाले प्रवेश पाएका छन् ।
पौड्यालले विदेशी संस्थाको वार्षिक बैठक तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउँदै नेपाललाई पनि वैकल्पिक बैंकिङ दिशामा अगाडि बढाएका छन् । यसले नेपालको बैंकिङ क्षेत्रलाई विश्व समुदायसँग जोडेको छ । नवीनतम रणनीति र अभ्यास अवलम्बन गर्ने मार्ग समेत खोलिदिएको छ ।
अतः उनलाई एक दिगो, रणनीतिक र समुदाय केन्द्रित बैंकिङ जगतका अग्रदूत भन्दा अन्यथा हुँदैन ।
जलस्रोत, ऊर्जा तथा समसामयिक आर्थिक क्षेत्रमा केन्द्रित रहेर कलम चलाउने वियोगी सम्पादक हुन् ।