काठमाडौँ । जलविद्युत् विकासको केन्द्रका रूपमा उदाइरहेको रसुवामा हाल ९ वटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । ती आयोजनाबाट हालसम्म कुल ३६५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपालको जलस्रोत विकास इतिहासमै पहिलोपटक रसुवाको २० मेगावाटको चिलिमे जलविद्युत् केन्द्र निर्माण गरिएको थियो । उक्त केन्द्रका धेरैजसो संरचना भूमिगत रहेका छन् । यही केन्द्र निर्माणको अनुभव र प्रविधिका आधारमा पछिल्ला आयोजनाहरू पनि आधुनिक तथा सुरक्षित ढाँचामा निर्माण हुँदै आएका छन् ।
हाल उत्पादन गरिरहेका जलविद्युत् केन्द्रहरूमा २० मेगावाटको चिलिमेसहित ५ मेगावाटको तल्लो मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको तल्लो सान्जेन, १११ मेगावाटको रसुवागढी, १४.३ मेगावाटको माथिल्लो मैलुङ तथा ७८ मेगावाटको सान्जेन खोला रहेका छन् ।
यस्तै, २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजना हाल परीक्षण उत्पादनको चरणमा रहेको छ ।
सुक्खायाममा उत्पादन घट्यो
हाल हिउँदयामको सुक्खा मौसमका कारण हिमाली खोलामा पानीको बहाव घट्दा यहाँका जलविद्युत् केन्द्रहरूको उत्पादन घटेको छ । प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक थर्कबहादुर थापाका अनुसार हाल दैनिक करिब १ लाख २० हजार युनिट मात्रै उत्पादन भइरहेको छ । तापक्रम बढ्दै हिउँ पग्लन सुरु भएको र मनसुन नजिकिएकाले आगामी दिनमा उत्पादन लक्ष्यअनुसार बढ्ने अपेक्षा गरिएको उनले बताए ।
प्राधिकरणले सुक्खायाममा उत्पादक कम्पनीहरूलाई प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले मासिक करिब २ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्दै आएको जनाएको छ ।
पहिलो भूमिगत जलविद्युत् केन्द्र
नेपालमै पहिलो पटक रसुवामा अधिकांश संरचना भूमिगत गरी चिलिमे जलविद्युत् केन्द्र निर्माण गरिएको थियो । यही केन्द्र निर्माणबाट प्राप्त सीप र प्रविधि प्रयोग गर्दै रसुवागढी जलविद्युत् केन्द्रका बाँधबाहेक अधिकांश संरचना भूमिगत रूपमा निर्माण गरिएको छ । यद्यपि, गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले यस केन्द्रको बाँध संरचनामा क्षति पुर्याएपछि पुनःनिर्माणका लागि विद्युत् उत्पादन रोक्न अनुमति दिइएको छ ।
यस्तै, सान्जेन जलविद्युत् कम्पनीका २ उत्पादन केन्द्रका अधिकांश संरचना समेत भूमिगत गरिएका छन् ।
थप ३५६ मेगावाट निर्माणाधीन
रसुवामा हाल ३ ठूला जलविद्युत् आयोजना निर्माण चरणमा रहेका छन् । ती आयोजना सम्पन्न भएपछि थप ३५६ मेगावाट विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ ।
निर्माणाधीन आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, ६० मेगावाटको फलाखु खोला तथा १२० मेगावाटको भोटेकोसी आयोजना रहेका छन् । ती आयोजनाको निर्माण प्रगति ५० प्रतिशतभन्दा माथि पुगेको जनाइएको छ ।
रसुवागढी जलविद्युत् आयोजनाका पूर्वकार्यकारी निर्देशक माधवप्रसाद कोइरालाका अनुसार ती आयोजना सम्पन्न भएपछि रसुवाले मात्रै ७०१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पठाउन सक्नेछ ।
फेरियो स्थानीय जनजीवन
जलविद्युत् आयोजनासँगै रसुवामा सडक, रोजगारी, पूर्वाधार र आर्थिक गतिविधिमा उल्लेख्य सुधार आएको स्थानीयवासी बताउँछन् । पहिलो चिलिमे सञ्चालनमा आएपछि स्थानीयलाई यस आयोजनाको सेयर वितरण गरिएको थियो । त्यसपछि रसुवागढी र सान्जेन जस्ता आयोजनाले समेत स्थानीय बासिन्दालाई सेयर उपलब्ध गराएका छन् ।
जिल्ला विकास समितिका तत्कालीन सभापति मिलन तामाङका अनुसार जलविद्युत् आयोजनाले स्थानीय नागरिकको जीवनस्तर उकास्नुका साथै जिल्लाको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार एक समय लोडसेडिङ भोगिरहेको नेपाल हाल विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नुमा रसुवाका आयोजनाहरूको ठूलो भूमिका रहेको छ ।
‘जलस्रोत सम्भावनाले भरिपूर्ण रसुवा अब नेपालको ‘ऊर्जा राजधानी’ का रूपमा चिनिन थालेको छ,’ उनले भने ।