विद्युत अपडेट

  • प्राधिकरण : १०३६४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४७४ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४२९६ मे.वा.घन्टा
  • आयात : ११५० मे.वा.घन्टा
  • निर्यात : ६१९९ मे.वा.घन्टा
  • ट्रिपिङ : २७७५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५००६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१९१ मे.वा.
२०८१ असार ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौ‌ं । एक अध्ययन भन्छ– पाँच वर्ष पहिले जीवाश्म इन्धनका लागि जो कोहीले पनि एक अमेरिकी डलर बराबर लगानी गर्दथे । स्वच्छ ऊर्जाका लागि पनि मानिसहरूको समान लगानी हुन्थ्यो । तर अहिले आएर त्यसमा ठूलो बदलाव आएको छ । सन् २०२३ मा आइपुग्दा भने एक अमेरिकी डलर जीवाश्म इन्धनमा लगानी भए १.८ अमेरिकी डलर स्वच्छ ऊर्जाका लागि उपलब्ध हुने गरेको छ ।

विश्वव्यापी रूपमा नै अधिकांश देशले ऊर्जा सङ्कटको चरम मार भोगिरहेका छन् । साधन र स्रोत भएका देशले पनि लगानीको अभावमा प्राकृतिक स्रोतको उपयोग गर्न सकेका छैनन् । सोही कारण ऊर्जा सुरक्षाको विषय सबैभन्दा सङ्गीन प्रश्न बनेर खडा भएको छ ।

रुस र युक्रेन युद्धपछि विश्व बजारमा एकाएक बढेको इन्धनको मूल्यका कारण अर्थतन्त्र चरम चापमा पर्न गयो । बढ्दो वन विनाश, जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण विश्वव्यापी जलवायु सङ्कट गहिरिँदै गएको छ । यो अवस्थालाई ख्याल गरेर संसारभर नै स्वच्छ ऊर्जाको प्रयोग, विकास र विस्तारमा विशेष ध्यान दिन थालिएको छ ।

यद्यपि हालसम्मको परिणामअनुसार ठूला नदी भएका देशले जलविद्युत् उत्पादनलाई विशेष प्राथमिकतामा राखेका छन् । यस्तै ग्रिन हाइड्रोजन उत्पादन पनि उत्तिकै महत्त्वको विषय बनेर खडा भएको छ ।

सन् २०२३ मा मात्रै ग्रिन हाइड्रोेजन उत्पादनका हिसाबले पनि अमेरिका नै शीर्ष स्थानमा रहेको छ । अमेरिकाले ४७ दशमलव तीन टन बराबरको क्षमता विकास गरेको छ । जर्मनीले २७ टन र क्यानाडाले १४ दशमलव सात टन बराबरको क्षमता बनाएका छन् ।

सन् २०३० सम्म अस्ट्रेलियाले दुई हजार ५१ टन, अमेरिकाले दुई हजार १४ टन, स्पेनले एक हजार नौ सय ८१ टन र क्यानाडाले एक हजार पाँच सय ५५ टन बराबरको ग्रिन हाइड्रोजन विकास गर्ने लक्ष्य सार्वजनिक गरेका छन् ।     

छिमेकी देश चीनले यस क्षेत्रमा उल्लेख्य प्रगति गरिसकेको छ । हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन ९कोप २८० ले पनि शून्य उत्सर्जनलाई विशेष महत्त्व दिएपछि दिगो ऊर्जा प्रणालीको खोजी झनै व्यापक बनेर जाने अनुमान गरिएको छ । केही वर्ष पहिलेसम्म एकाध देशको मात्र चासोको क्षेत्र बनेको हाइड्रोजनमा हाल दुई दर्जन बढी देशले ‘ल्याण्डमार्क’ नै बनाएका छन् ।

यस क्षेत्रमा काम गर्नेहरूले दिगो र दीर्घकालीन रणनीति पनि सार्वजनिक गरेका छन् । धेरै कम्पनीले हाइड्रोजन व्यापारका लागि अवसरको खोजी गरिरहेका छन् । सन् २०५० सम्म कूल ऊर्जा खपतको १० प्रतिशतभन्दा बढी माग पूरा गर्नका लागि काम भइरहेको छ । सन् २०२० मा हाइड्रोेजनको माग विश्वव्यापी रूपमा ९० टन बराबर मात्रै थियो । हाल यो बढेर एक सय ५० टन बराबर पुगेको छ । दिन दुई गुणा रात चार गुणाका दरले मागमा बढोत्तरी भएको छ ।

विश्व बजारमा युरोपले इलेक्ट्रोलाइजरको क्षमता विकासमा एक प्रकारको नेतृत्व नै गरेको छ । विश्वव्यापी रूपमा स्थापित क्षमताको ४० प्रतिशत त युरोपसँगै छ ।

विश्वव्यापी रूपमा कूल ऊर्जा आपूर्तिमध्ये १७ प्रतिशत बराबरको हिस्सा जलविद्युत् क्षेत्रले ओगटेको छ । कोइला र प्राकृतिक ग्यासपछि तेस्रो स्थानमा रहेको जलविद्युत् क्षेत्रको विकासमा आगामी दिनहरू अझै भरपर्दो र विश्वासिलो बन्दै जाने देखिएको छ । पछिल्लो २० वर्षमा विश्वव्यापी रूपमा जलविद्युत् क्षेत्रको क्षमतामा ७० प्रतिशतले वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०३० सम्म जलाशय, नदी प्रवाही र पम्प स्टोरेज प्रकृतिका जलविद्युत् आयोजनाको विकासमा थप बढोत्तरी हुने प्रक्षेपण गरेको छ । न्यून लागतमा जलविद्युत् आयोजनाको विकासमा ध्यान दिन सके विश्वव्यापी रूपमा बढ्दै गएको ऊर्जा सङ्कटको समाधान हुनसक्ने आम बुझाइ छ ।

बिजुलीको सहज आपूर्ति, अन्तरदेशीय विद्युत् प्रसारण प्रणालीको विकास, जलाशयहरूको बहुप्रयोग पनि उत्तिकै महत्त्वपूर्ण विषय बनेको छ । यस्तै, थप ऊर्जा उत्पादनका लागि पम्प स्टोरेज जलविद्युत् आयोजनाको विकास पनि उत्तिकै चासोको विषय बनेर गएको छ । जलविद्युत् उत्पादन क्षमताका हिसाबले शीर्ष स्थानमा रहेको चीनले सन् २०२३ मा पनि आफूलाई थप सक्षम देखाएको छ ।

चीन र भारतमा ऊर्जाको मागमा सन् २०२३ मा गिरावटको बीचमा पनि नवीकरणीय ऊर्जाको विकासमा महत्त्वपूर्ण प्रगति भएको छ । जलविद्युत् उत्पादनका साथसाथै अस्थिर बिजुलीको माग र अनियमित मौसमसँग लडिरहेका पावर नियामकलाई जीवाश्म इन्धनमा बढी निर्भर हुन बाध्य पारिदिएको छ ।

प्रमुख एसियाली अर्थतन्त्रले हालैका वर्षहरूमा अत्यधिक गर्मीको सामना गर्नुपरेको थियो । चीन र भियतनामका साथै भारतको पूर्व र उत्तरको ठूलो भूभागमा कम वर्षालगायत चरम मौसमी अवस्थाका कारण विद्युत् अभावको सामना गरेका छन् ।

कोइला जस्ता प्रदूषक इन्धनको उच्च प्रयोगले बिजुलीको माग बढाउने र आपूर्तिको कमीलाई घटाउन उत्सर्जन घटाउने चुनौतीलाई जोड दिएकोछ । एसियाको जलविद्युत् उत्पादनमा झण्डै १८ प्रतिशतले गिरावट आएको थियो । परिमाणतः जीवाश्म इन्धनको मागमा चार दशमलव ५५ प्रतिशतले वृद्धि हुन पुग्यो ।

एसियामा सौर्य र वायु ऊर्जा उत्पादनमा उल्लेख्य वृद्धि भएता पनि, जलविद्युत् उत्पादनमा ठूलो गिरावटको परिणामस्वरूप यस वर्ष जीवाश्म इन्धन थर्मल पावर प्लान्टमा आपूर्ति पनि बढेको छ । चीनको जलविद्युत् उत्पादन कम्तीमा १९८९ यताकै सबैभन्दा कम अर्थात् १५ दशमलव नौ प्रतिशतले घटेको त्यहाँको राष्ट्रिय तथ्याङ्क विभागको विवरणले देखाएको छ ।

भारतमा, जलविद्युत् उत्पादन छ दशमलव दुई प्रतिशतले घटेको छ र सन् २०१६ यताकै सबैभन्दा कम भएको छ । चीनले जलविद्युत्को कमी र उच्च उर्जाको मागलाई जीवाश्म इन्धनबाट विद्युत् उत्पादन वृद्धि गरेर पूरा गरेको थियो । जबकि भारतले जीवाश्म इन्धनबाट चल्ने प्लान्टहरूबाट विद्युत् उत्पादन क्षमता १२ दशमलव ४५ बढाएको तथ्याङ्कले देखाएको छ ।

सन् २०२३ मा भारत, भियतनाम, फिलिपिन्स र मलेसियालगायत अन्य प्रमुख एसियाली अर्थतन्त्र भएका देशमा पनि जलविद्युत् उत्पादन घटेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको तथ्याङ्कले देखाएको छ । खासगरी सुक्खा मौसममा भएको वृद्धिका कारण पनि यस्तो अवस्थाको सिर्जना हुन पुगेको दावी गरिएको छ ।

भियतनाममा पनि जलविद्युत् उत्पादनको अंश घटेको थियो । कतिपय अवस्थामा, जलविद्युत् उत्पादन घट्नु पानीको संरक्षण र आपूर्तिको ढाँचामा आएको परिवर्तन पनि खास कारणका रूपमा देखिएको थियो ।

हावा र सौर्य जस्ता अन्य स्रोतको उत्पादनका विपरीत, अचानक मागमा आउने उतार चढावलाई सम्बोधन गर्न जलविद्युत् आयोजनालाई छोटो समयमा तल माथि गर्न सकिन्छ । ऊर्जा उत्पादकहरूले यसलाई अधिकतम उत्पादनको सट्टा ग्रिड सन्तुलन गर्न प्रयोग गरेका थिए ।

वर्ष २०२३ विश्वव्यापी ऊर्जा परिदृश्यमा एक गतिशील र परिवर्तनकारी अवधिको साक्षीका रूपमा विदा भएको छ । ऊर्जा उत्पादन र खपतका आधारमा भविष्यलाई आकार दिन पनि थप स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

यो वर्ष विस्तारित वायु ऊर्जाका परियोजनाहरू, विशेषगरी युरोप र एसियामा थप हुन पुगे । वायु ऊर्जाको विशाल सम्भावनाको प्रयोग गरी स्वच्छ ऊर्जा सङ्क्रमणको आधारशिलाका रूपमा आफ्नो भूमिकालाई जोड दिनुपर्ने टड्कारो आवश्यकता बनेको छ । ठूला बाँधको उद्घघाटन र स्तरोन्नति, वातावरणीय न्यूनीकरण उपायमा भएको प्रगतिले पारिस्थितिक सरोकारलाई सम्बोधन गर्दै पानीको शक्तिको दोहन गर्ने नयाँ प्रतिबद्धताको खाँचो महसुस गरिएको छ ।

विश्वभर नै आफ्ना ऊर्जा नीतिहरू र जलवायु प्रतिबद्धता लागू गर्न पनि स्वच्छ ऊर्जाको विकासमा ध्यान दिनैपर्ने आवश्यकता बढेर गएको छ । प्रमुख तेल निर्यातक देशका रूपमा परिचित साउदी अरबसमेत स्वछ ऊर्जाको अभियन्ता बनेर खडा भएको छ । यो आफैँमा परस्पर विरोधी हुन पुगेको छ । धेरै राष्ट्रले नेट शून्य उत्सर्जन हासिल गर्न महत्त्वाकांक्षी लक्ष्य घोषणा गरेका छन् । निश्चित समयसीमा तय गर्दै ऊर्जाका थप विकल्पको खोजी भएको छ । नीतिगत रूपमा भएको यो परिवर्तनले स्वच्छ ऊर्जा स्रोततर्फ सङ्क्रमण गरेर जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने अत्यावश्यकताको सामूहिक मान्यतालाई जोड दिएको छ । 

सन् २०२३ मा ऊर्जा क्षेत्रले निर्णायक नीतिगत हस्तक्षेप सामना गर्नुपरेको छ । त्यसमा नवीन स्वच्छ ऊर्जा प्रविधिहरूका लागि अनुसन्धान र विकासमा बढ्दै गएको लगानी, नवीकरणीय ऊर्जा प्रयोगलाई प्रोत्साहन र जीवाश्म इन्धनमा दिइँदै गरेको अनुदानलाई चरणबद्ध रूपमा हटाउन लागिएको छ । यस्तै, कार्बन मूल्य निर्धारण संयन्त्रले विभिन्न क्षेत्रहरूमा आकर्षण गरेको छ ।

सन् २०२४ लाग्दै गर्दा ऊर्जा क्षेत्र महत्त्वपूर्ण मोडमा उभिएको छ । वर्षभरि देखिएका घटना र प्रवृतिले परिवर्तनकारी दशकका लागि थप आधार तय गरेको छ । प्राविधिको विकास, नीतिगत सुधार र जलवायु परिवर्तनको असरलाई न्यून गर्न पनि सामाजिक चेतनाको थप विस्तारका साथै थप दिगो, लचिलो र समावेशी ऊर्जाको खोजी गर्न सामूहिक प्रयत्नको खाँचो महसुस गरिएको छ । 

जलविद्युत् त्यसमा पनि खासगरी नवीकरणीय ऊर्जाको क्षेत्रमा एक अब्बल, दिगो ऊर्जा उत्पादनमा निर्णायक युगका रूपमा २०२३ ले छाप छाडेको छ । यसले जलविद्युत् क्षेत्रमा थप लचिलोपनको उदाहरण मात्र पेश गरेको छैन स्वच्छ ऊर्जाको परिदृश्यलाई पुनः आकार दिने काम गरेको छ । 

सन् २०२३ जलविद्युत् विस्तारका लागि परिभाषित वर्षका रूपमा देखा परेको छ । जलविद्युत् विकासमा विश्वव्यापी रूपमा अग्रपङ्क्तिमा रहेको चीनमा यो वृद्धिको उत्कृष्ट कोसेढङ्ंगाहरू मध्ये एक हो । चीनको जिन्सु नदीमा रहेको बैहेतान बाँधको उद्घाटनले देशको स्वच्छ ऊर्जाप्रतिको अटल प्रतिबद्धताको प्रतीकका रूपमा उभ्याइदिएको छ ।

सो परियोजना विश्वव्यापी रूपमा सबैभन्दा ठूलो जलविद्युत् स्टेशनका रूपमा स्थापित छ । यसको सञ्चालनसँगै पर्याप्त नवीकरणीय ऊर्जा क्षमता मात्र थपेको छैन, विशाल जलविद्युत् आयोजना कार्यान्वयन गर्ने चीनको विशेषज्ञतालाई पनि उत्तिकै महत्त्व दिएको छ ।  

दक्षिण अमेरिका उपलब्धताका हिसाबले आफैँमा प्रचुर सम्भावना भएको क्षेत्र हो । जलविद्युत् आयोजनाको विकास र विस्तारमा पनि उल्लेखनीय प्रगति भएको छ । ब्राजिलले नयाँ परियोजना सुरु गरेर दिगो ऊर्जाका लागि आफ्नो प्रतिबद्धतालाई थप बलियो बनाएको छ । मडेइरा नदीमा अवस्थित जिराउ बाँधले वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दक्षता अभिवृद्धि गर्न नवीन प्रविधि प्रयोग गर्दै आफ्नो क्षमता विस्तार गरेको छ । त्यस्तो प्रगतिले विश्वव्यापी जलविद्युत् उत्पादन क्षमतामा महत्त्वपूर्ण योगदान गरेको छ ।

स्वच्छ ऊर्जाका लागि जलस्रोत प्रयोग गर्ने प्रवृत्तिलाई निरन्तरता दिँदै अफ्रिकाले २०२३ मा महत्त्वपूर्ण प्रगति गरेको छ । इथियोपियाको ग्रान्ड इथियोपियन रेनेसान्स बाँध अन्तिम चरणमा पुगेको छ । त्यसले अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत् परियोजनाको नाम स्थापित गरेको छ । नाइल नदीमा अवस्थित त्यस मेगाप्रोजेक्टले इथियोपियाको ऊर्जा सुरक्षाका लागि मात्र नभई क्षेत्रीय ऊर्जा स्थिरताका लागि अपार सम्भावना उजागर गरिदिएको छ । त्यसले दिगो ऊर्जा पूर्वाधारमा उक्त महादेशको बढ्दो महत्त्वाकांक्षालाई बढावा दिएको छ ।

जलविद्युत् उपयोगको समृद्ध इतिहासका साथ युरोपले आफनो दक्षता र दिगोपनका लागि विद्यमान सुविधाको नवीनता र स्तरवृद्धिको काम जारी राखेको छ । सो महाद्वीपमा रहेका पुराना बाँध र पावर स्टेशनलाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ केही नयाँ परियोजना अगाडि बढाउन र ऊर्जा उत्पादन अनुकूलन गर्न अत्याधुनिक प्रविधि एकीकृत गरिएको छ ।

परम्परागत जलविद्युत्को दायराभन्दा बाहिर, धेरै आयोजनामा नवीनतम परियोजना सतहमा आएका छन् । त्यसबाट जैविक विविधता संरक्षणमा देखिएको नवीनतम प्रयासलाई पनि सार्थक बनाइदिएको छ । आयोजनामा स्मार्ट निगरानी प्रणाली र भविष्यवाणी विश्लेषण, अनुकूलित परिचालन दक्षता, सुरक्षित र दिगो जलविद्युत् उत्पादन सुनिश्चितता पनि हुँदै गएको छ ।

यद्यपि, वातावरणीय सरोकार, सामाजिक प्रभाव र समावेशी निर्णय प्रक्रियाको आवश्यकता देखिएका चुनौतीलाई सम्बोधन गर्नु जरुरी छ । ऊर्जाको आवश्यकता र वातावरणीय दिगोपनाबीच सन्तुलन कायम राख्दै जलविद्युत् क्षेत्रको विकासमा केन्द्रीत गरिनु पनि उत्तिकै महत्त्वपूर्ण छ ।

सन् २०२३ मा जलविद्युत् क्षमतामा भएको वृद्धिले थप आशा र प्रगतिको ज्योतिका रूपमा काम गरेको छ । हामीलाई सफा, हरियाली र थप दिगो संसारतर्फ डोर्याउनका लागि पानीको शक्ति प्रयोग गर्ने निर्विवाद सम्भावनालाई जोड दिएको छ । यो वृद्धिले ऊर्जा उत्पादनमा कोसेढुङ्गा मात्र नभई विश्वव्यापी ऊर्जा पोर्टफोलियोको आधारशिलाका रूपमा नवीकरणीय ऊर्जालाई अँगाल्ने सामूहिक सङ्कल्पका रूपमा पनि सङ्केत गरेको छ ।

सन् २०२२ देखिको सुक्खा मौसमले २०२३ मा युरोपेली जलविद्युत् उत्पादनलाई औसतभन्दा कम राखेको छ । जबकि अमेरिकी क्षेत्रमा उत्पादन गत वर्षको समान स्तरमा रहेको छ । जलविद्युत् उत्पादनमा यसअघि भएको प्रक्षेपणमा भएको परिमार्जनले चीनलगायत धेरै देशमा सन २०२३ का अघिल्ला महिना निराशाजनक देखिएका थिए । त्यसअघि ब्राजिल, संयुक्त राज्य अमेरिका, क्यानाडा, टर्की र भियतनामका सबै प्रमुख जलविद्युत् उत्पादनमा वृद्धि हुने भविष्यवाणी गरिएको थियो ।

जलविद्युत् स्वच्छ ऊर्जाको सबैभन्दा ठूलो विश्वव्यापी स्रोत हो, त्यसैले खडेरी र उच्च तापमानका कारण केही देशमा ऊर्जा सुरक्षाका जोखिम बढाइदियो । जीवाश्म इन्धनमा आधारित ऊर्जा उत्पादनको खाडललाई भर्न पनि उत्तिकै आवश्यक छ । चरम मौसमी घटनाको बढ्दो आवृत्ति र तीव्रताले जलविद्युत् उत्पादन प्रक्षेपणमा ठूलो नकारात्मक जोखिम देखिएको छ ।

सामान्यरूपमा चीनको आधाभन्दा बढी जलविद्युत् उत्पादन गर्ने दक्षिणपश्चिमी भाग सबैभन्दा बढी प्रभावित भएको थियो । विश्वव्यापी जलविद्युत् उत्पादनमा चीनले करिब एक तिहाइ हिस्सा ओगटेको छ । त्यसैले यो गिरावट विश्वका अन्य भागमा हुने कुनै पनि लाभलाई कमजोर बनाउन पर्याप्त हुनेछ ।

एसियामा सुक्खा अवस्थाको सबैभन्दा खराब अवस्था भियतनाममा महसुस भएको छ । जलविद्युत् उत्पादनका सघन क्षेत्रमा जारी खडेरीले भियतनामको जलविद्युत् उत्पादनलाई २०२३ मा उल्लेख्य मात्रामा घटाइदियो । अमेरिका र क्यानाडाका धेरैजसो क्षेत्रमा तातो र सुक्खा मौसमका कारण जलविद्युत् उत्पादनको क्षमतालाई घटाइदिएको छ ।

क्यानाडामा ऊर्जाको प्रमुख स्रोत मध्ये जलविद्युत्को हिस्सा ६० प्रतिशतको हाराहारीमा छ । जीवाश्म इन्धनको आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण विश्व बजारमा परेको नकारात्मक असर न्यूनीकरण गर्न युरोपले पनि वैकल्पिक उपायको खोजी गरिरहेको छ । यद्यपि त्यो प्रभावकारी हुन सकेको छैन ।

रसियाले युरोपलाई दिँदै आएको इन्धनको कोटा कटौती गरेपछि युरोपेली बजारमा एक प्रकारको सङ्कट नै देखा पर्यो । त्यसो त गरिबी र अभावमा रहेको दक्षिण एसियाले पनि स्वच्छ ऊर्जाका तमाम स्रोतको खोजी कार्यलाई निरन्तरता दिएको छ । स्रोत र साधनको उपलब्धताका हिसाबले क्षेत्रीय बजारलाई नेतृत्व गर्न सक्ने क्षमता भएका देशमा लगानीको विस्तार हुन सकेको छैन । सोही कारण ऊर्जाका स्रोतको खोजीका लागि राष्ट्रिय ढुकुटी नै रित्याउनुपर्ने अवस्थाको सिर्जना भएको छ । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)  
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३