विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । साझा यातायात सहकारी संस्था लिमिटेडले साझा परिसर पुल्चोकमा विद्युतीय गाडीका लागि चार्जिङ डिपो सञ्चालनमा ल्याएको छ । सोमबार एक समारोहका बीच उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त चार्जिङ डिपोको शुभारम्भ गरेका हुन् ।

डिपोमा ११ वटा चार्जिङ स्टेशन रहेका छन् । प्रत्येक स्टेशनमा २ वटा चार्जिङ पोर्ट गरी २२ वटा चार्जिङ पोर्ट रहेका छन् । त्यस्तै नेपाल विद्युत् प्राधिकरणले साझा परिसरभित्रै एउटा चार्जिङ स्टेशन राखेको छ । उक्त चार्जिङ स्टेशनका २ वटा चार्जिङ पोर्ट छन् । यसरी साझा परिसर भित्र अब एकै पटक १२ वटा चार्जिङ स्टेशनमा २४ वटा विद्युतीय गाडी चार्ज गर्न सकिन्छ । 

योसँगै साझा यातायातले ल्याएका ४० वटै विद्युतीय बस अब सञ्चालनमा आएका छन् । चार्जिङ स्टेशनको अभावमा गत कात्तिकमा चीनबाट आयात गरिएका ९ मिटर लामा ती बस बस मध्ये २० वटा विद्युतीय बस मात्रै सञ्चालनमा ल्याउन सकेको थियो । 

कार्यक्रममा उप प्रधानमन्त्री महासेठले साझालाई आवश्यक हरेक सहयोग गर्न सरकार तयार रहेको बताए । पहिला पनि बस किन्न सरकारले साझालाई ३ अर्ब रुपैयाँ दिएकाे थियाे ।

त्यस्तै,  साझाका अध्यक्ष कनकमणि दीक्षितले १२ मिटर लम्बाइनका थप नयाँ बस ल्याउन आफूहरु लागि परेको बताए । ‘हामीले साझाकै हाताभित्र तीन महिना लगाएर १.५ मेगावाट क्षमता बराबरको विद्युत् खपत गर्न सक्ने क्षमताको चार्जिङ डिपो निर्माण गर्न सफल भयौँ,’ साझाका अध्यक्ष कनकमणि दीक्षितले भने, ‘यो देशकै सबैभन्दा ठूलो चार्जिङ डिपो भएको छ, हामी १२ मिटर लम्बाइका थप नयाँ विद्युतीय बस ल्याउने तयारीमा जुटेका छौँ ।’ यसका लागि समिति पनि गठन भइसकेको उनले जानकारी दिए ।

साझालाई सरकारले लगानी गरे अनुसार त्यसको एक तिहाई रकममात्र खर्च भएको पनि दीक्षितको भनाइ छ । वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यका फाइदाका लागि ल्याइएको बसको परीक्षण साझा आफैँले गरेको छ । चीनबाट आयातित ४० वटा बसमध्ये ३ वटा गत जेठ १ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।

अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज ९फुल चार्ज० हुने जनाइएको छ । एक पटक फुल चार्ज गरेपछि २०० किलोमिटरसम्म गुड्न चल्न सक्ने संस्थाले जानकारी दिएको छ ।

संस्थाका अनुसार बस होचो (लो फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान रहेको छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । अरु बसभन्दा यी बस यात्रुका लागि बढी आरामदायी रहेको संस्थाको दाबी छ ।

पेट्रोलियम पदार्थका सवारीसाधन जस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरूमा भन्दा कम रहेको छ । बसमा थर्काइ (भाइब्रेसन) पनि कम छ । पेट्रोलियम पदार्थबाट चल्ने बसभन्दा विद्युतीय बसका लागि राम्रो सडक आवश्यक भएकाले उपत्यकाका सबै स्थानमा चलाउन कठिन हुने अध्येताहरू बताउँछन् ।

संस्थाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेको थियो । सो सम्झौतामा कम्पनीसँग बस र आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ ।

सम्झौता अनुसार कम्पनीले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ प्रदान गर्ने पनि उल्लेख छ ।

सरकारले २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सोही अनुसार २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिने निर्णय भएको थियो । यसैका आधारमा भौतिक पूर्वाधार मन्त्रालयले बस खरिद गर्न संस्थाको ३ अर्ब रुपैयाँ बराबरको सेयर खरिद गरेको थियो ।

देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारी साधनलाई बढावा दिने सरकारले योजना बनाएको छ । विद्युतीय बसलाई लक्षित गरेर प्राधिकरणले विभिन्न स्थानमा चार्जिङ स्टेशन स्थापना गरिरहेको छ । संघले मात्रै होइन प्रदेश सरकार र स्थानीय तहले पनि विद्युतीय बस खरिद गर्दै जाने योजना बनाइएको छ । तीन वर्ष पहिले नै बागमती सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको सेयर खरिद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit