काठमाडौँ । ग्लोबल आइएमई बैंकले जर्मन सरकारको स्वामित्वमा रहेको जिआइजेडसँग सहकार्य गरी विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने भएको छ । बुधबार यससम्बन्धी सम्झौता गरेको छ ।
जिआइजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा ‘मिटिगेशन एक्सन फ्यासिलिटी’को लगानीमा ‘दीर्घकालीन विद्युतीय यातायातका लागि नेपाल’ परियोजना सञ्चालन गरिरहेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो ।
उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युत्काे उपभोगमा वृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्याउने छ । विद्युतीय सवारी साधनको संख्या वृद्धि भई सर्वसाधारणको पहुँच बिस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आई वातावरणीय प्रदूषणमा समेत कमी आउने अपेक्षा गरिएको छ ।
ग्लोबल आइएमई बैंकले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न व्यक्तिगत प्रयोजनका सवारी साधनलाई पनि न्यूनतम् ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।