विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दाङ । केही वर्ष अघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै सिँचाइ सुविधाका लागि कृत्रिम जलाशय निर्माण गरेपछि हरियाली खेतबारी हरियाली हुन थालेको हो । ‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म ४३ वटा जलाशय निर्माण भइसकेका छन् ।

घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाहीनमा ठूलो कृत्रिम जलाशय निर्माण गरिएको छ । प्रदेश सरकारको ४५ लाख, स्थानीय सरकारको ५० लाख र उपभोक्ताको ५ लाख रूपैयाँ गरी जम्मा १ करोड रुपैयाँमा उक्त जलाशय निर्माण गरिएको हो । १ बिघाभन्दा धेरै क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय निर्माण गर्नुपूर्व सानो खोल्साका रूपमा रहेको सो सिमसार क्षेत्र हाल विशाल जलाशय बनेको छ ।

जलाशयबाट सिँचाइको व्यवस्था गरेपछि सो क्षेत्रमा पानीको समस्या हटेको स्थानीयको भनाइ छ । पानीको सुविधा भएपछि ३ वर्षदेखि व्यावसायिक तरकारी खेती सुरु गरेको स्थानीय रिता चौधरीले बताइन् । श्रीमानको मृत्यु पछि आम्दानीको स्रोत नभएकी उनलाई हिजोआज जीविका चलाउन समस्या छैन । मासिक १० देखि १५ हजार तरकारी बिक्रीबाट आम्दानी लिने गरेको उनले बताइन् । ‘जमिन र समयको सदुपयोग भएको छ, आम्दानी पनि भएको छ’, उनले भनिन्, ‘जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारी खेतीमार्फत आम्दानी गरिरहेकी छु ।’

कर्जाहीन आसपासका ९५ बिघाभन्दा धेरै जमिनमा जलाशयको पानीमार्फत सिँचाइ पुगेको छ । घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमा क्षेत्र सुर्के डाँगीमा (चेपे ताल)मा ३ वर्षअघि सात बिघा क्षेत्रफलमा कृत्रिम जलाशय निर्माण गरेको थियो । उक्त जलाशय निर्माणपश्चात् खेती गर्न सहज भएको स्थानीय जुगानी चौधरीको भनाइ छ । ‘जलाशय निर्माण हुनु पहिले पिउने पानीकै समस्या थियो खेती गर्ने त कल्पना मै थिएन । जलाशय बनेपछि व्यावसायिक तरकारी खेती सुरु गरेँ’, उनले भनिन्, ‘तरकारी बिक्री गरेर मासिक १५ देखि २० हजार आम्दानी गरिरहेकी छु ।’

जलाशय संरक्षण समितिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष राममणि पाण्डेले भने, ‘जलाशय ठूलो छ, पानी पनि प्रशस्त छ । सिँचाइ गरेर स्थानीयले आम्दानी गरेका छन् ।’ दुई बाली खेती हुने जमिनमा अहिले तीन बाली खेती हुन थालेको छ । पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको वासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको उनले बताए ।

नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण प्रभावकारी बनेको घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरी बताउछन् । उनले नगरमा पानीका स्रोत बचाउन पानी सङ्कलन केन्द्रमार्फत ‘रिचार्ज’ गरिएको बताए । ‘पानीको अभावलाई कम गर्न र जनतालाई प्रत्यक्ष आम्दानीमा जोड्न कृत्रिम जलाशय निर्माण गरेका हौँ’, उनले भने, ‘जलाशयले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षा छ ।’

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३