काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले पदबाट राजीनामा दिएका छन् । आफ्नो व्यक्तिगत तथा घरायसी कार्यव्यस्तताका कारण उनले जिम्मेवारी छोडेका हुन् ।
अधिकारीले आज (मंगलबार) नै सरकारसमक्ष राजीनामा बुझाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रीपरिषद्को गत भदौ १३ गतेको निर्णयअनुसार उनलाई मन्त्रालयको ऊर्जाविज्ञको रूपमा नियुक्त गरिएको थियो ।
अधिकारीले भदौ १४ गतेदेखि मन्त्रालयमा पदभार ग्रहण गरेका थिए । ऊर्जा तथा जलविद्युत् विकास एवम् ऊर्जा व्यापारका क्षेत्रमा करिब ३ दशकदेखि सक्रियतापूर्वक विभिन्न भूमिकामा रहेर योगदान पुर्याउँदै आएका उनी यस क्षेत्रमा सरकारदेखि राजनीतिक क्षेत्र सबैले खोज्ने व्यक्तिका रूपमा चिनिन्छन् ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व–उपकार्यकारी निर्देशकसमेत रहेका अधिकारी आन्तरिक, सीमापार र क्षेत्रीय विद्युत् व्यापारका विज्ञ मानिन्छन् । उनी तिनै व्यक्ति हुन्, जसले प्राधिकरणमा निर्देशक तथा उपकार्यकारी निर्देशक हुँदा होस् कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफल बनाउन वा चर्चाको शिखरमा पुर्याउन नतिजामुखी काम गरेका थिए ।
मन्त्रालयमा ऊर्जा कूटनीतिज्ञ प्रबल अधिकारीको प्रवेशले जगाएको 'आशाको ज्योति'
अझ भनौँ, हिजोका दिनमा देशलाई लोडसेडिङमुक्त गर्न होस् वा प्राधिकरणलाई मुनाफामुखी संस्थाको रूपमा स्थापित गर्न उनको अतुलनीय योगदान देखिन्छ । प्राधिकरणमा करिब २८ वर्ष सेवारत रही २०८० साल पुस १३ गते निवृत भएका उनले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर (डिग्री) हासिल गरका छन् ।
प्राधिकरण विद्युत् व्यापार विभागमा करिब एक दशकसम्म कार्यरत रही उनले निजी क्षेत्र, सरकारी निकाय, विकास साझेदार र कूटनीतिक नियोगबीच प्रभावकारी समन्वय गरेर उपलब्धिपूर्ण काम गरेका थिए ।
विद्युत् क्षेत्र त्यसमा पनि विद्युत् व्यापारमा पूर्ण दख्खल राख्ने देशका थोरै इन्जिनियरहरूमध्ये सम्भवतः अधिकारी अग्रपङ्क्तिमै पर्छन् । हिजो देशभित्रैका विद्युत् क्षेत्रका समस्या समाधान गर्नुपर्दा, नीति निर्माण तहमा समन्वय गर्नुपर्दा होस् वा क्षेत्रीयरूपमा द्विपक्षीय तथा त्रिपक्षीय वार्ता, छलफल र बैठकहरूमा समेत उनको सहभागिता अनिवार्य जस्तै हुन्थ्यो । ऊर्जा क्षेत्रका समस्या पहिचान गरी नीतिगत एवम् कार्यान्वयन तहमै पुगेर पर्गेल्न सक्ने व्यक्ति भएकै कारण उनी आन्तरिक तथा वैदेशिक नियोगमा धेरैले खोज्ने अनुहारमा पर्छन् ।