विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा तथा जलविद्युत्‌ विकास एवम् ऊर्जा व्यापारका क्षेत्रमा करिब ३ दशकदेखि सक्रियतापूर्वक विभिन्न भूमिकामा रहेर योगदान पुर्‍याउँदै आएका ऊर्जाविद् प्रबल अधिकारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त भएका छन् ।मन्त्रिपरिषद् बैठकको भदौ १३ गतेको निर्णयबाट उनलाई सो जिम्मेवारी ताेकिएको र उनले शुक्रबारदेखि नै पदभार ग्रहण गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व-उपकार्यकारी निर्देशकसमेत रहेका अधिकारी आन्तरिक, सीमापार र क्षेत्रीय विद्युत् व्यापारका विज्ञ मानिन्छन् । ऊर्जा, जलस्रोत तथ सिँचाइ मन्त्री दीपक खड्काले अधिकारीलाई ऊर्जाविज्ञको जिम्मेवारी दिनुले सरकारले आगामी दिनमा यस क्षेत्रमा थप नतिजामुखी काम  गर्ने विश्वास बढेको छ । यसलाई मन्त्रीले क्षेत्रगत विज्ञताकाे उचित कदर गर्दै त्यस्ता व्यक्तिलाई देश विकासको अभियानमा सरिक गराएको पक्षसँग पनि तुलना गर्न सकिन्छ, यसबाट आगामी दिनमा अन्य मन्त्रीले पनि यो अभ्यास लागू गर्न सक्ने आधार बनेको छ ।

अधिकारी तिनै व्यक्ति हुन्, जसले प्राधिकरणमा निर्देशक तथा उपकार्यकारी निर्देशक हुँदा होस् कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफल बन्न वा चर्चाको शिखरमा पुर्‍याउन नतिजामुखी काम गरेका थिए । अझ भनौँ, हिजोका दिनमा देशलाई लोडसेडिङमुक्त गर्न हाेस् वा प्राधिकरणलाई मुनाफामुखी संस्थाको रूपमा स्थापित गर्न उनको अतुलनीय योगदान देखिन्छ ।

प्राधिकरणमा करिब २८ वर्ष सेवारत रही २०८० साल पुस १३ गते निवृत भएका उनी काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ मंगलटारमा जन्मे-हुर्केका हुन् । उनले त्यहीँबाट विद्यालय तहको अध्ययन पूरा गरेका उनले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर (डिग्री) हासिल गरका छन् ।

मन्त्रालयका योजना परिणाममुखी हुने अपेक्षा

अधिकारी मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञकाे रूपमा आउनु सरकारले यस क्षेत्रमा लिएका लक्ष्य पूरा गर्ने बलियो आधार हाे भन्न सकिन्छ । यसबाट मन्त्री खड्काले ऊर्जा विकासमा लिएका रणनीतिक योजनाकाे सफल कार्यान्वयन हुने अपेक्षा पनि गर्न सकिन्छ । मन्त्रालयमा हिजोका दिनमा जस्तो अनुभवी, दक्ष र क्षमतावान जनशक्तिकाे अभाव खड्किरहेको अवस्थामा अधिकारीको प्रवेशले विशेष अर्थ राखेको छ ।

मन्त्रीकाे अनुभव वा विज्ञता, दक्ष जनशक्तिको अभाव तथा व्यवस्थापनका दृष्टिले समेत पछिल्लो एक-डेढ वर्षयता मन्त्रालय निकै कमजाेर देखिँदै आएको छ । यही कारण पनि प्राधिकरण अझ कार्यकारी निर्देशक घिसिङ मन्त्रालयमाथि हावी हुँदै आएका छन् । यस्तै गतिविधिले विगतमा प्राधिकरण र मन्त्रालयबीचको सम्धन्ध सुमधुर बन्न सकेन । यसको असर ऊर्जा क्षेत्रकाे परिणामा देखिएकै हो ।

अधिकारी हिजोका दिनमा घिसिङलाई सफल बनाउन डटेर काम गरेको थिए । आज मन्त्रालयको विज्ञको जिम्मेवारी सम्हालिरहँदा दुवै निकायबीचको सम्बन्ध सुधारमा पनि भूमिका खेल्न सक्छन् । यसको प्रभाव फेरि पनि ऊर्जा विकासका लक्ष्य र परिणामा देखिन सक्छ । मन्त्रालयले विगतदेखि नै आफ्ना मातहतका निकायसँग प्रभावकारी समन्वयका साथ काम गर्न सकेको छैन । समन्वय भन्दा हस्तक्षेपकारी भूमिका खेल्दै आएको छ ।

अझ स्वायत्त, सार्वभाैम र आफ्नै ऐन नियममा स्थापित तथा सञ्चालित विद्युत् नियमन आयोगमा मन्त्रालयले ठाडो हस्तक्षेप गर्दै आएको छ । विगतमा शुरूका ५ वर्ष आयोगले स्वतन्त्र ढङ्गले काम गर्नै पाएन । विद्युत् क्षेत्रकाे नियामक निकायमाथिको हस्तक्षेप र प्रभावकारी सञ्चालनमा पनि अधिकारीले पुलको काम गर्न सक्ने सम्भावना देखिन्छ ।

हाल मन्त्रालयमा जिम्मेवाररत सहसचिवहरू सन्दिपकुमार देव, चिरञ्जीवी चटौत र सागरराज गौतम बाहेक परिणाम देखाउन सक्ने गरी काम गर्ने कर्मचारी नै छैनन् भन्दा हुन्छ । टिप्पणी उठाउने र जायज वा नाजायज रूपमा मन्त्रीलाई सल्लाह दिने परिपाटी पनि अन्त्य हुनुपर्ने देखिन्छ । यस खालको अभाव वा रिक्ततालाई अधिकारीले केही हदसम्म सन्तुलन मिलाउन सक्ने विश्वास गर्न सकिन्छ ।

आगामी दिनमा नेपालले ऊर्जा विकासका सन्दर्भमा भारत तथा ब‌ंगलादेशसँग गर्ने संवाद, वैठक वा औपचारिक अनौपचारिक वार्ताले ठोस् नतिजा ल्याउन मद्दत पुग्न सक्छ । अहिले भारतसँगकाे ऊर्जा संवाद तथा द्विपक्षीय वर्ता निकै पेचिलो बन्दै गएको छ । भारतमा बेच्नुपर्ने बर्खाकाे बिजुली र हिउँदमा चाहिँदा किन्नुपर्ने बाध्यताबीच सन्तुलन कायम हुन सकिरहेको छैन । याे पाटोमा पनि अधिकारीको मन्त्रालयमा भएको आगमनले विशेष महत्त्व राख्न सक्छ ।

अधिकारीकाे क्षमता तथा अनुभव

देशको समग्र ऊर्जा क्षेत्रमा प्रबल अधिकारीको नाम नयाँ भने होइन । प्राधिकरण विद्युत् व्यापार विभागमा करिब एक दशकसम्म कार्यरत रही उनले निजी क्षेत्र, सरकारी निकाय, विकास साझेदार र कूटनीतिक नियोगबीच प्रभावकारी समन्वय गरेर उपलब्धिपूर्ण काम गरेका थिए ।

विद्युत् क्षेत्र त्यसमा पनि विद्युत् व्यापारमा पूर्ण दख्खल राख्ने देशका थोरै इन्जिनियरहरूमध्ये सम्भवतः अधिकारी अग्रपङ्क्तिमै पर्छन् । हिजो देशभित्रैका विद्युत् क्षेत्रका समस्या समाधान गर्नुपर्दा, नीति निर्माण तहमा समन्वय गर्नुपर्दा होस् वा क्षेत्रीयरूपमा द्विपक्षीय तथा त्रिपक्षीय वार्ता, छलफल र बैठकहरूमा समेत उनको सहभागिता अनिवार्य जस्तै हुन्थ्यो । ऊर्जा क्षेत्रका समस्या पहिचान गरी नीतिगत एवम् कार्यान्वयन तहमै पुगेर पर्गेल्न सक्ने व्यक्ति भएकै कारण उनी आन्तरिक तथा वैदेशिक नियोगमा धेरैले खोज्ने अनुहारमा पर्छन् ।

अधिकारीले करार कर्मचारीका रूपमा २०५४ सालमा प्राधिकरणको सेवा प्रवेश गरेका थिए । सेवा प्रवेशको ३ वर्षपछि २०५७ सालमा उनको स्थायी नियुक्ति भएको थियो । स्थायी भएको २३ वर्षको अवधिमा उनले विभिन्न विभाग र कार्यालयमा रहेर महत्त्वपूर्ण जिम्मेवारी सम्हाले । प्राधिकरणलाई आजको प्रगतिको अवस्थामा पुर्‍याउन उनको भरपूर जोडबल रहेको पक्ष धेरै कोणबाट विश्लेषण गर्दा पनि प्रस्ट हुन्छ ।

मुख्यतः पछिल्ला ५–६ वर्षमा प्राधिकरणभित्र आएको उन्नति–प्रगति, चर्चा र लोकप्रियताका पछाडि उनै अधिकारी जोडिएका थिए भन्दा अन्यथा हुँदैन । कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि उनलाई सफल बनाउने पर्दापछाडिका ‘निर्देशक’ उनै अधिकारी थिए भन्दा पनि अन्यथा नहोला । अध्ययन तथा तथ्याङ्क विश्लेषण, नीतिगत एवम् कार्यगत कुशलता र सञ्चारजगतसँग सुमधुर सम्बन्ध जोडिदिएर उनले घिसिङलाई उचाइमा पुर्‍याएको वास्तविकता सधैँ चर्चा हुन्छ ।

सेवा प्रवेशको शुरूवाती चरणमा उनी प्राधिकरणको विराटनगर वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्रमा रहेर जिम्मेवारी सम्हालेका थिए । त्यसपछि, कावासोती वितरण केन्द्रको प्रमुखको रूपमा नेतृत्व गर्ने अवसर पाएका उनी कार्यजिम्मेवारी र प्रतिफलमूखी कार्यशैलीका कारण धेरै सरकारी निकायले खोज्ने व्यक्तिका रूपमा उभिन पुगे ।

सरकार र प्राधिकरण आफैँले निर्माण गर्ने ऊर्जा तथा जलस्रोतसँग सम्बन्धित अनेक नीति निर्माणमा पनि सक्रिय रहेर योगदान पुर्‍याएका उनले प्राधिकरणको ‘९औँ विद्युतीकरण आयोजना’को अध्ययन तथा डिजाइन निर्माणमा विशेष भूमिका खेलेका थिए । यस्तै, २०७२ सालमा तयार भएको ‘ऊर्जा संकटकाल निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र’ निर्माणमा पनि उनको महत्त्वपूर्ण अगुवाई रहेको थियो ।

२०६६ सालमा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका डा. प्रकाशशरण महतको निजी सचिवसमेत भएर ऊर्जा तथा जलस्रोत क्षेत्रको विकासमा योगदान पुर्‍याएका अधिकारी त्यसपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा सरुवा भएर गएका थिए । मन्त्रालयले तयार गरेको ‘ऊर्जा विकास १२ वर्षे मार्गचित्र तथा कार्ययोजना २०८०’ निर्माणमा समेत उनको विशेष भूमिका रहेको थियो ।

प्राधिकरण विद्युत् व्यापार विभागमा करिब दशक लामो जिम्मेवारी सम्हाल्ने सम्भवतः उनी एक्ला व्यक्ति हुन् । उक्त विभागमा रहँदा उनले विद्युत् आयोजना प्रवर्द्धक तथा निजी क्षेत्र, सरकारका विभिन्न निकायसँग सक्रिय एवम् सहजरूपमा समन्वय तथा सहकार्यका अनेक काम गरे । सोही विभागमा रहँदा नै उनले ४ वर्षसम्म प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सफलरूपमा निर्वाह गरेका थिए । यही कारण आम सञ्चारकर्मीबीच पनि उनी उतिकै लोकप्रिय छन् ।

बहुमुखी प्रतिभा

अग्लो कद । गोरो वर्ण । हँसिलो मुहार । मीठो बोली । शालिन तथा बौद्धिक व्यक्तित्व । समग्रमा आकर्षक व्यक्तित्वका धनी छन्, अधिकारी । त्यसो त शारीरिकरूपमा मात्र सुन्दर छैनन् उनी, बौद्धिकताका हिसाबले पनि उत्तिकै प्रखर छन् । प्राधिकरणको उपकार्यकारी निर्देशक बनेका उनी सुझबुझ र बौद्धिकताका हिसाबले नामजस्तै प्रबल, प्रखर र सबल छन् । त्यसो त प्राधिकरणको विद्युत् व्यापार विभागस्थित चेम्बरमा पुग्ने प्रायः व्यक्तिहरू उनको आकर्षक व्यक्तित्वबारे नजिकबाटै परिचित छन् ।

त्यसो त, अधिकारी इन्जिनियर, प्रशासक, कुटनीतिक सामर्थ्य राख्ने व्यक्तिमा मात्र सीमित छैनन् । उनी साहित्य तथा संगीतमा गहिरो अभिरुचि राख्ने कवि पनि हुन् । कोरोना–१९ कालमा सिर्जित उनको ‘ऊ कात्रोमा खल्ती सिलाउँदै छ’, कविता नै उनको साहित्यिक, प्रखर बौद्धिकता र शालीन व्यक्तित्वको परिचय दिन पर्याप्त छ । उनका दर्जनौं कविता तथा ऊर्जा कुटनीतिमूलक लेख/रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।

कार्यकारी निर्देशकका रूपमा समेत हेरिएका

अधिकारीलाई आगामी दिनमा प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा समेत हेरिएको छ । त्यो पद पूर्णतः राजनीतिक नियुक्ति हो । क्षमता, दक्षता, समन्वयात्मक भाव, सहयाेगी र कूटनीतिक क्षमताका कारण उनी सबैजसो राजनीतिक दल तथा पूर्व मन्त्रीहरूले निकै रुचाएका  थाेरै व्यक्तिमा पर्छन् । यही कारण पनि प्राधिकरणमा अबको कार्यकारी निर्देशकमा उनको नियुक्तिको सम्भावना प्रबल देखिन्छ ।

प्राविधिक, प्रशासनिक, बौद्धिक र कूटनीतिक क्षमतायुक्त अधिकारी कार्यकारी निर्देशक हुनुपर्छ भन्ने धारणा यस क्षेत्रका विज्ञ तथा विश्लेषकले राख्दै आएका छन् । यो पक्ष धेरै समयदेखि राजनीतिक वृत्तमा समेत चर्चा हुँदै आएको छ । राजनीतिक गठजोडमा चलिरहेको सरकारले उनको बौद्धिक पृष्ठभूमि, देश र अन्तर्राष्ट्रिय निकाससँगको समन्वयलाई मनन् गर्ने हो भने अबको कार्यकारी निर्देशकमा नियुक्त गर्ने बलिया सम्भावना देखिन्छ । यद्यपि, उनी आफैँ खुलेर भने यो पदको दौडमा नरहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३